Monday, June 16, 2025

लेखराम सापकोटा



गजल

म  पत्थरहरु  जोडेर  उचाइ  दिन  चाहन्छु

त्यो दोस्रो सगरमाथा हुनेछ बताइदिन चाहन्छु

 

बालक, बृद्ध, असहाय जो जो भेटिन्छ सडक छेउ

बाटो  कटाउन  उसको हात समाइदिन चाहन्छु

 

भरिया बिसाउँदै फेरि बोक्दै देउराली पुग्छ

कुनै मोसा उसको भारी उठाइदिन चाहन्छु

 

तिमीले रोजेको बाटो गलत ठान्दैछ दुनियाँ

कसरी भनूँ तिम्रो याद मेटाइदिन चाहन्छु

 

छुट्ने बेला मनमा थुप्रै शब्दहरु त्यसै थिए

 तिनै शब्द पोको पारी जलाइदिन चाहन्छु ।

                                   लेखराम सापकोटा

 

सुमनका शेरहरु



         

✎ गजलकार - अविरत सुमन 

 कति बाचाहरू छन् अधूरा हाम्रो, पूरा नभएको

यो कस्तो नाता तिमीसँग मेरो, कुनै नाता नभएको

केही कुरामा डुबे जस्तो, कतै हराए जस्तो

एक्लो जस्तो, म अधुरो खै के-के जस्तो

 

आधा उमेर कटेपछि, लगभग थाहा भयो

गर्नु पर्ने रहेछ कति कुरा त, नजाने जस्तो

 

बदलिनेहरू समयसँगै एकाएक बदली गए

बाँकी रहे केही यादहरू, चिने-जाने जस्तो 

 

यो पनि , थाहा छ मलाइ

तिमिलाइ फुल, काँडा छ मलाइ

 खुशी हो मेरो भागमा आधा परेको

दु : ख त, सारा को सारा छ मलाइ

 

आँखा कुन, मुटु कुन, धड्कन कुन, तिम्रो मेरो 

उही धर्ती, उही आकाश, उही जुन , तिम्रो मेरो 

 

उसले छोडेर गएको दिनदेखी , हरेक रात आज भोली

मलाइ निँदले पनी आँखा तरेर , आउँछ आँखामा

 

यस्तै हो, जिन्दगी गुज्रिरहेको जसोरी, ठिकै छ

तिमी पनि तिमी रहिनौ, म पनि छैन म जस्तो अब त

 

   प्रतिक्षा गर्नुहोस  .....

 


 

 

Friday, June 13, 2025

रामकृष्णको गजलसङ्ग्रह ‘अनायास’ आउँदै


भरतपुर, ३० जेठ ।
नेपाली गजल साहित्यको समकालीन अभ्यासमा नवीन उर्जा भर्ने उद्देश्यका साथ स्रष्टा रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । गजल मञ्च चितवनले प्रकाशन गरेको यो कृति समालोचक, कवि तथा गजलकार रमेश प्रभातको सम्पादनमा कलात्मक रूपले पाठकसामु ल्याउन लागिएको हो ।



साहित्यमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय अनायासले यस गजलसङ्ग्रहमार्फत प्रेम, वियोग, देशप्रेम, सामाजिक चेतना र समसामयिक यथार्थका अनेक तहलाई गहिरो भावबोधका साथ प्रस्तुत गरेका छन् । उनका गजलहरू भाषिक सादगी, भावनात्मक घनत्व र समाजप्रतिको उत्तरदायित्वका दृष्टिले उल्लेखनीय छन् ।

पुस्तकको आवरणले ग्रामीण सौन्दर्य, सांस्कृतिक संवेदना र स्त्रीपात्रको बिम्बमार्फत पाठकमा गहिरो प्रभाव पार्ने उद्देश्य बोकेको छ । गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश प्रभातको सम्पादनले कृतिको साहित्यिक गाम्भीर्यलाई अझ सुदृढ बनाएको छ ।

गजल मञ्च चितवनद्वारा प्रकाशित यो कृति सम्पूर्ण किताब, नारायणगढमार्फत देशव्यापी रूपमा वितरण गरिने छ । पुस्तकको मूल्य रु. २५१ तोकिएको छ ।

गजल मञ्च चितवनका पूर्वअध्यक्ष लेखराम सापकोटाका अनुसार रामकृष्ण अनायासले गजल लेखनमा भाषिक प्रयोग र विषयगत विविधता दुबैमा सशक्त उपस्थिति जनाएका छन् । यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले अनायास नेपाली गजल साहित्यमा थप सशक्त हस्ताक्षर बन्ने दिशातर्फ अघि बढिरहनुभएको धारणा राखेका छन् । अनायास हाल गजल  मञ्च चितवनका अध्यक्ष रहेका छन् ।

यस सङ्ग्रहमार्फत गजलमा रम्ने पाठकहरूले समकालीन नेपाली गजलको गहिरो स्वाद लिन सक्नेछन् ।



Thursday, January 2, 2025

गजल

 

मन छ मुटु छ धड्कन हराएपछी

एक्कासी प्रेमिका हराईन धन हराएपछी

 

मैले आफैलाई हेरेर  मन  बुझाउदै  छु

बाँच्नु त आखिर पर्दो रहेछ जीवन हराएपछी ।

 

यो आँखा  यति धेरै किन उदास  देखिन्छ   ?

खै महोदय, उत्तर के दिउ कारण हराएपछी ।

 

 मान्छेले  गुन बिर्सन्छ नाता अनि खुन  बिर्सन्छ

बुढा बाआमालाई आश्रम छाड्छन् संवेदन हराएपछी

Sunday, January 9, 2022

थोत्रो साईकल

 


रामकृष्ण अनायास

 

हिजो थोत्रो साईकलमा

थोत्रै साईकलकै घन्टी बजाउदै

हिडेको राम बाहादुर

आज

गरिबको सपना उडाउदै

रातो कारमा बेगले  हुईकिन्छ

 

कठै मेरा बा को चप्पल फाट्यो

गाँस काटियो, बास नै फुस्कियो

आज नेता बनेको

 

एक मुठी भटमासले पेट अघाएकी मनमाया

आफ्नो छातीको दुइवटा दुध चुसाउदै सन्तानको

पेट भर्दा सम्म

हिजो उही थोत्रो साईकलमा यहि गाउँ चार्ने

राम बहादुर आज सम्म अघाएन

 

अर्थात राम बहादुर कहिल्यै चाहदैन

गरिब ले सपना देखुन

त्यसैले कहिल्यै निदाउनै दिएन

कलिलो हातमा आश्वासनको झण्डा थमाइदियो

अनि भोक बिर्साउन बारम्बार उखान सुनाइरह्यो

 

घाम त्यो डाँडामाथि पुग्दै गर्दा

सधै भोलि कति बेला बिहान हुन्छ भन्छु

मेरा प्वाल परेका सबै सपनाका छानोहरु बाट

बारम्बार गरिबिले घोचि रहदा निकै पिंडा हुन्छ

 

हरक रात मेरा आँखाहरुले गाला भिजाउदै

बाध्यता बिवसतामा पौडिदै दौडिएका

आँसुमा खेल्ने बानि परेको राम बहादुर

एका बिहानै गरिबले देखेको सपनाको बहाल

उठाउदै टुप्लुक्क आइपुग्छ

 

बिचरा कैयौ सपनाको मलामी बनेका मनहरु

गाँठो पार्दै भक्कानिदै भगवान् सम्झिन्छन्

अनि आशाको दियो बाल्दै भोको पेटले

चदाएको एक सुका

राम बहादुर अझै मन्दिर बनाएर पैसा कमाउने दाउ सोच्दै

 

कविडाँडा,कैलासनगर

भरतपुर चितवन

 

 

 

  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Friday, October 12, 2018

परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै

गजल
आमाले फोनमा भनेकी थिईन आउछस् आउदैनस्
पोहर त्यस्तै भयो अहिले छुट्टि पाउछस् पाउदैनस्

चोकमा पिंङ्ग र हिजै घरमा जमरा राख्यौ बाबु
'बा'ले भन्दै थिए यसपाली टिका लाउछस् लाउदैनस्

परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै
बैनीले भनेकी छ मोवाइल पठाउछस् पठाउदैनस्

तोते बोल्न सिक्दै गरेकी छोरि अनि श्रीमती छाडेर
साथि सम्झाउदै भन्छ खोइ दिन कटाउछस् कटाउदैनस्

रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु