Saturday, November 1, 2014

राष्ट्रियस्तरमा हस्तक्षेप गर्ने कविडाँडाका स्रष्टाहरु



रामकृष्ण पौडेल ‘अनायास’
        नेपालको साहित्यिक परिप्रेक्ष्यमा चितवन आज अग्रस्थान ओगट्न सफल छ । त्यसो त, अन्य जिल्लाहरु पनि कमजोर छैनन् । त्यसमा पनि चितवनको साहित्यिक उर्वर भूमिमा कविडाँडा निकै सक्रियताका साथ तीव्र गतिमा अघि लागिरहेको छ र राष्ट्रियस्तरमै चर्चामात्र होइन हस्तक्षेपसमेत गरिरहेको छ । कविडाँडाका प्रत्येक घरधुरीमा कवि, कथाकार, निबन्धकार, गजलकारहरुको प्रतिनिधित्व छ, नभएका घर बिरलै भेटिन्छन् ।
कविहरुको संख्या अधिक रुपमा रहेको भरतपुर नगरपालिका वडा नंं १३ भित्र पर्ने कल्याणपुर, आनन्दपुर, कैलाशनगर, रामबाग, गुलाफबाग, मंगलपुरका केही भाग र वडा नं. १४ मा पर्ने तोरीखेत र गाविस फूलबारी र श्रीपुर क्षेत्रलाई राष्ट्रिय रुपमै सम्पूर्ण सर्जकहरुले ‘कविडाँडा’ नामकरण गरेका छन् ।
नारायणी नदीभन्दा दक्षिण र राप्ती नदीबाट उत्तरतर्फको क्यान्सर अस्पतालबाट चार किमी भित्रपट्टि पर्ने केही समथर भूभागभन्दा माथि उठेको र प्राकृतिक रुपले पनि निकै सुन्दर, हराभरा र हरियालीले आकर्षित गर्ने उक्त स्थान आज साहित्यिक जगत्मा असाध्यै चर्चित स्थान हो । साहित्यकारहरुको पुण्यभूमिका रुपमा समेत लिइने कविडाँडाको उपस्थिति अब अन्तर्राष्ट्रिय रुपमा समेत देखिन थालेको छ । पछिल्लो समयमा भएका साहित्यिक गतिविधिहरुले कविडाँडाको नामलाई पुष्टिसमेत गरेको देखिन्छ । कविडाँडाबाट नेपाली साहित्यलाई अगाडि बढाउनका निम्ति कम्मर कसेका पछिल्ला नवपुस्ताका सर्जक र कविडाँडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा ल्याउन नेपाली साहित्यमा स्थापित रहेका वरिष्ठ स्रष्टाहरुको अतुलनीय योगदान छ । नेपाली साहित्यका केही प्रतिनिधि लेखकहरु कविडाँडामै बसोबास गर्छन् भन्दा गर्व बोध हुन्छ । धन्य छ कविडाँडा, जसले चर्चाको शिखरमा पुगेका लेखकहरुलाई आफूमा समाहित गरेको छ !
समग्र चितवनको इतिहास पल्टाउँदा कलानाथ अधिकारी र प्रेमविनोद नन्दन पछि २०३३ सालमा कविडाँडाका अनिल सिग्देलको ‘केही समालोचनात्मक रेखांकन’हरु चितवनकै पहिलो समालोचनात्मक कृतिका रुपमा प्रकाशित भएको देखिन्छ । हालसम्म कविडाँडाबाट १०० भन्दा बढी कृतिहरु बाहिर आइसकेको पाइएको छ । अझ, दर्जनौँ साहित्यिक पत्रिकाहरु पनि प्रकाशित भएका छन्, यहाँबाट । केहीले त निरन्तरता पनि दिँदै आइरहेका छन् ।
यस्तो साहित्यिक महायज्ञमा सरिक भई कविडाँडालाई चर्चामा पु¥याउने चर्चित स्रष्टाहरु निम्न छन् ः
कवि तथा समालोचक अनिल सिग्देल, कवि डा. खुमनारायण पौडेल, कथाकार डा. हरिहर पौडेल, कवि तथा निबन्धकार सङ्गीत आयाम, समालोचक उदय अधिकारी, समालोचक पूर्णबहादुर अधिकारी, गजलकार गोपाल पौडेल, कवि सिर्जन अविरल, कथाकार सीताराम कोइराला, कथाकार एलबी क्षेत्री, कवि सुरेन्द्र अस्तफल, कवि गणेश शर्मा, कवि युवराज भुषाल, गजलकार सजल नयन, गजलकार मिथिला प्याकुरेल, गीतकार अर्जुन अस्तफल, गजलकार तथा समालोचक रमेश प्रभात, गजलकार युवराज अर्याल, कवि नवराज ढुंगाना, गजलकार रामकृष्ण पौडेल ‘अनायास’ लगायत धेरैले राष्ट्रियस्तरमै ख्याति कमाइसकेका छन् । यस्तो पुनीत अभियानमा बाहिरी जिल्लासँग कविडाँडाको सहकार्य रहँदै आएको छ, जसले चितवनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
समग्र चितवन जिल्लालाई साहित्य जगतले पूरै ढाक्ने वातावरणको लागि ठूलै भूमिका समेत खेलेको छ, कविडाँडाले । चितवनको साहित्यिक उन्नयनमा कविडाँडाको योगदानलाई केन्द्रबाट समेत सकारात्मक रुपले हेर्दै प्रशंसा गर्नेहरुको संख्यामा समेत अकल्पनीय रुपले वृद्धि भएको छ ।
यसरी समग्र चितवनको प्रतिनिधित्व हुनेगरी कविडाँडाले जन्माएका स्रष्टाहरु र ती स्रष्टाहरुका कृतिहरुलाई सरसरती नियाल्दा निम्न स्रष्टाहरुलाई यहाँ स्मरण गर्न सकिन्छ–
अनिल सिग्देल ः
जिल्लाकै समालोचना विधाका आरम्भकर्ता एवं खण्डकाव्य, लामो कविता तथा गद्यकवितामा कलम चलाएर पाँच दशक समयअगाडिदेखि कविडाँडामा बसी समग्र जिल्ला र देशमा समेत मह¤वपूर्ण स्थान बनाउन सफल कवि एवं समालोचक अनिल सिग्देलका प्रकाशित कृतिहरुमा ‘मिलन’ खण्डकाव्य (२०३३), ‘केही समालोचनात्मक रेखांकनहरु’ समालोचना (२०३३), ‘जीवन क्षितिज’ धारावाहिक लामो कविता हो भने राष्ट्रिय रुपमा केन्द्रबाट प्रकाशित भएका विभिन्न पत्रपत्रिका मधुपर्क, रुपरेखालगायत अन्य साहित्यिक पत्रिकाहरुमा पनि उनका रचनाहरु प्रकाशित भएको पाइन्छ ।
डा. खुमनारायण पौडेल ः
कविडाँडामा रही कविता विधामा राष्ट्रिय पहिचान बनाउन सफल डा. खुमनारायण पौडेल हाल राजधानीमा भएता पनि निरन्तर रुपमा साहित्यमा लागिरहेका छन् । यिनका कृतिहरु ‘अन्तिमेत्थम’
(२०४९) कवितासंग्रह, ‘नरमेध’
(२०५६) कवितासंग्रह हुन् ।
डा. हरिहर पौडेल
विशेषतः कथा विधामा राष्ट्रिय पहिचान बनाएका डा. हरिहर पौडेल कवितामा समेत अगाडि देखिन्छन् । उनका प्रकाशित कृतिहरुमा ‘इतिवृत्त’ (२०५१) कथासंग्रह, ‘कालो उज्यालो’ (२०६९) लघु कथासंग्रह, ‘अनुभ्रम प्रतिभ्रम’ (२०६६) लगायत छन् ।
सङ्गीत आयाम ः
लेखन तथा पत्रकारितामा उत्तिकै सक्रियता देखाउने सङ्गीत आयाम मूलतः राष्ट्रिय रुपमा लेखकका रुपमा बढी चर्चित छन् । आयामका रचनाहरुले देशैभर उज्यालो दिन सफल भएका छन् । कविता, निबन्ध, कथा, समीक्षा, गजलजस्ता विधामा करिब विगत ३० वर्षअघिदेखि सक्रियतापूर्वक कलम चलाउँदै आएका आयामका ‘चक्रव्यूह र युद्धपीडाहरु’ लामा कवितासंग्रह
(२०६२), ‘शरणार्थी उज्यालो’ कवितासंग्रह (२०६७) र हालसालै अत्यधिक चर्चामा आएको ‘दासहरुको कुम्भमेला’ निबन्धसंग्रह (२०७०) प्रकाशित कृतिहरु हुन् ।
गोपाल पौडेल ः
‘छातीभरि तिम्रो माया’ गीत–गजलसंग्रह २०५९ र ‘शब्दहरु अविराम यात्रामा’ (२०५७) प्रकाशित कृति रहेको देखिए पनि गोपाल पौडेलको साहित्यिक सक्रियता आजभोलि त्यति देखिँदैन । उनी पलायन नै भएका हुन् कि भन्ने महसुस भैरहेको अवस्थामा उनको सक्रियता कविडाँडाका लागि आवश्यक देखिन्छ ।
सिर्जन अविरल ः
चितवन जिल्लाको सञ्चारमाध्यममा निकै लोकप्रिय रहेका सिर्जन अविरल कविता कथा जीवनी आदिमा कलम चलाउने स्रष्टा हुन् । उनका प्रकाशित कृतिहरुमा ‘म आकाश हेरिरहेछु’ कवितासंग्रह (२०६१), ‘आदि गायक सेतुरामदेखि दिलमाया खातीसम्म’ जीवनीसंग्रह (२०६२) र ‘क्यान्टोनमेन्ट र अरु कविताहरु’ कवितासंग्रह (२०७०)
छन् । चितवनका कविहरुमा यिनको अलग पहिचान छ ।
एलबी क्षेत्री
कविडाँडा साहित्य समाजका संस्थापक अध्यक्ष रही कविडाँडाका अभिभावकका रुपमा ठूलो भूमिका खेलेका एलबी क्षेत्रीले शिक्षा र प्रशासनिक कार्यमा परिपक्व अनुभव बटुलेका छन् । क्षेत्रीको प्रकाशित कृति ‘त्रिशङ्कुको देशमा’ लघु कथासंग्रह (२०६४) हो भने नयाँ कवितासंग्रह छिटै नै बजारमा आउने तर्खरमा छ । मूलतः कथा विधामा अगाडि देखिएका उनका राष्ट्रियस्तरका पत्रिकाहरुमा कथाहरु प्रकाशित भएका छन् । पछिल्लो समयमा कवितामा निकै सक्रियतापूर्वक उनी लागिरहेको देखिन्छ ।
सुरेन्द्र अस्तफल
कविडाँडामा रहँदै चितवनको गरिमामय संस्था चिसाप, नारायणी कला मन्दिर र अन्य संस्थामा रही कविडाँडाको समग्र साहित्यको विकासका निम्ति अगाडि बढेका अस्तफलको ‘बिम्बशिविर’ कवितासं्रग्रह, ‘शब्दहरु अविराम यात्रामा’ संयुक्त कवितासंग्रह प्रकाशित छ । उनी गीत, गजल, मुक्तक, समीक्षा विधामा पनि अगाडि देखिन्छन् ।
गणेश शर्मा
युवापुस्ताका क्रियाशील कवि अझ पछिल्लो समयमा विशेषगरी लघुकथामा दक्षता हासिल गरेका गणेश शर्माको ‘शब्द क्रान्ति’ २०६६ कवितासंग्रह प्रकाशित छ । उनी अहिले युवापुस्तामा सशक्त हस्ताक्षरका रुपमा देखिन पुगेका छन् ।
रमेश प्रभात ः
कविता, गजल, हाइकु र समालोचनामा सक्रियताका साथ कलम चलाउन सफल रमेश प्रभातले हाइकुसंग्रहसमेत प्रकाशित गरिसकेका छन् भने चितवनका साहित्यिक कृतिहरुको अभिरेखांकनसमेत प्रकाशित गरी सिंगो साहित्यिक फाँटमा राष्ट्रियताका साथ लागेका उनी गजल मञ्च चितवनका अध्यक्ष पदमा रही हाल चितवनको गजल क्षेत्रको विकासका निम्ति सक्रिय देखिन्छन् । उनको अन्य साहित्यिक संघसंस्थामा पनि सक्रियता रहेको पाइन्छ ।
सीताराम कोइराला ः
चितवन जिल्लाको गरिमामय पत्रिका ‘पल्लव’को प्रथम अंक आफैँ सम्पादन गरी अगाडि बढाएका कोइरालाले कथा विधामा कलम चलाउँदै ‘अनर्थ’ कथासंग्रह र ‘स्रष्टासँग संवाद’ प्रकाशित गरेका छन् । आफूलाई सफल साहित्यकर्मीका रुपमा उभ्याउन सफल रहेका उनको २०७१ मा ‘पागल प्रेमी र मेरो देश’ कवितासंग्रह बजारमा आएको छ ।
रामकृष्ण पौडेल ‘अनायास’
चितवनका विभिन्न साहित्यिक संस्थामा क्रियाशील र संलग्न रहेका रामकृष्ण पौडेल ‘अनायास’ समर्पण साहित्य परिषद्का संस्थापक उपाध्यक्ष हुन् । चितवनको पहिलो कृतिका रुपमा गजलमा सवाल जवाफसंग्रह ‘धमिलिएका डोबहरु’ फुच्ची जमुनासँगको सहकार्यमा यिनले प्रकाशित गरेका छन् । उनी कथा, मुक्तक, कविताजस्ता विधामा पनि आफूलाई उभ्याउन सक्रिय रहेका छन् ।
शम्भु गिरी ‘निर्दोष जीवन’ ः
यिनले विविध विधामा कलम चलाए पनि सम्पूर्ण विधालाई एकै ठाउँमा राखी ‘आशीर्वाद’ नामक कृति प्रकाशित गरेका छन् ।
पूर्णबहादुर अधिकारी
संस्मरणसंग्रह ‘अनुभूतिका त्रिवेणी’ २०६६, र २०७० मा कथासंग्रह प्रकाशित गरेका पूर्णबहादुर अधिकारी विभिन्न नेपाली साहित्यका स्थापित स्रष्टा हुन् । उनी अरु विधामा पनि सक्रिय देखिन्छन् ।
कविडाँडालगायत सम्पूर्ण साहित्य जगतमा जल्दोबल्दो तवरले कलम चलाई साहित्यको उत्थानका निम्ति कम्मर कसेर लागेका अरु क्रियाशील कविडाँडाका सर्जकहरुलाई सरसरती हेर्दा निम्न छन् ः
– अर्जुन अस्तफल
– नवराज ढुंगाना
– सजल नयन
– कला पौडेल
– सुजन अनिमेस
– मन्जु पौडेल आदि ।
कविडाँडाको इतिहास हेर्ने हो भने २०३० सालअगाडिदेखि नै साहित्यिक क्षेत्रमा कृति प्रकाशितसमेत भएको पाइएको छ । यसमा अनिल सिग्देल र अन्य कविहरु रहेको पाइएको छ । उक्त समयपछि साहित्य सिर्जनामा जुर्मुराएका चालीसको दशकका स्रष्टाहरुमा टीकाराम सापकोटा, युवराज भुसाल, युवराज अर्याल, कृष्णप्रसाद सापकोटा आदिको नामलाई यहाँ उल्लेख गर्नुपर्ने हुन्छ ।
यही तवरले कविडाँडाको साहित्यलाई निकै अगाडिदेखि सक्रिय रुपमा अगाडि बढाउन सफल व्यक्तित्वहरुमा २०४१ सालमा ‘समाजसेवा युवा क्लब’ खोली साहित्यको विकास गराएका राजनीतिज्ञ तथा समाजसेवी मुक्तिनाथ अधिकारी र उदयनाथ अधिकारी रहेको पाइन्छ भने २०४६ सालमा कविडाँडाका सालिकराम पौडेलद्वारा ‘दुर्गा युवा वाचनालय’ २०५१, ‘चितवन वाङ्मय प्रतिष्ठान’ २०५९, ‘अभिव्यञ्जना साहित्य प्रतिष्ठान’ २०५९, ‘समर्पण साहित्य परिषद्’ २०५९, ‘देवकोटा अध्ययन केन्द्र’ २०६०, कविडाँडा साहित्य समाज आदि रहेको देखिन्छ ।
त्यस्तै, पत्रपत्रिकामा २०३३ सालमा अनिल सिग्देलद्वारा सम्पादित ‘बुलबुल’ पत्रिका (२०५१), ‘मधुलिका’ (२०५७), सौदामिनी (२०५९), ‘सिरेटो’ साहित्यिक पत्रिका (२०६०), ‘अभिव्यञ्जना’, ‘चरैवेति’ र सीतारमा कोइरालाद्वारा सम्पादित भएको ‘पल्लव’ साहित्यिक पत्रिकाको पहिलो अंक २०५२ कथासंग्रह विशेषांकका रुपमा कविडाँडाबाट प्रकाशित प्रत्रिकाहरु हुन् । हाल ‘चरैवेति’, ‘अभिव्यञ्जना’, ‘पल्लव’लगायत कविडाँडाबाट प्रकाशित अरु पत्रपत्रिकाले देशव्यापी रुपमा चर्चा कमाउन सफल बनेका छन् ।
चितवन हाल साहित्यमा निकै अगाडि देखिएको छ । चितवनको साहित्यको विकासका निम्ति कविडाँडाबाट पनि उत्तिकै लागिरहेका स्रष्टाहरु दर्जनौँको संख्यामा छन् । त्यसमध्ये त कयौँ स्रष्टाहरुको योगदानलाई निकै प्रशंसा गर्नुपर्ने हुन्छ ।
पचासको दशक र साठीको दशकमा कविडाँडामा देखिएका अरु स्रष्टाहरु निम्नअनुसार छन् ः
रवीन्द्र लामिछाने, एमएन निशा, स्व. लोकेश अन्जान, प्रकाश प्राञ्जल, नवीन न्यौपाने, गायत्री अधिकारी, यादव सापकोटा, नारायण खनाल, सीताराम बुबा, विश्व न्यौपाने, प्राध्यापक कृष्णप्रसाद सापकोटा, अर्जुन पौडेल, दीक्षा सापकोटा, दीपेन्द्र अधिकारी, कला पौडेललगायत अन्य स्रष्टाहरु पनि कविडाँडाकै उपज हुन् ।
अझ विशेषतः गजल विधामा नै निकै क्रियाशील स्रष्टामा शिव सापकोटा, सरिना, सृजन अनिमेष, प्रतिमा अधिकारी, बसुन्धरा गौतम, रश्मीलता प्याकुरेल, लक्ष्मण भुजेल, शारदा चौलागाईं, अन्जु आदि युवापुस्ताका स्रष्टाहरु समेत रहेका छन् ।
नेपालको साहित्यमा चितवनको कविडाँडामा जन्मिएर कविडाँडालगायत जुनसुकै स्थानमा रहिआए पनि चितवनको साहित्यमा प्रभावकारी भूमिका निर्वाह गरी साहित्यको उत्थानका लागि क्रियाशील यहाँका पाका, नयाँ स्रष्टाहरुले ठूलो योगदान दिएका
छन् । चितवनका गरिमामय साहित्यिक संस्था, साहित्यिक पत्रिका र अन्य संघसंस्थामा रही प्रशासनिक कार्य गरी कविडाँडालाई चर्चामा पु¥याउन सफलसमेत भएका छन् । दुई दर्जनभन्दा बढी पत्रिका र १०० भन्दा बढी कृतिसमेतको प्रकाशनले पनि कविडाँडालाई असाध्यै सफल ठाउँ मान्न सकिन्छ ।
अघिल्लो समयमा जुन उत्साह देखिएको थियो, त्योभन्दा बढी उत्साह पछिल्लो समयमा पनि उत्तिकै देखिएको छ । साहित्यमा बाढीपहिरो नै ल्याउन सफल आजका युवा स्रष्टाहरु निकै क्रियाशील भई लागिपरेका देखिन्छन् । आगामी दिनमा साहित्यमा अझ जोड दिने हो भने कविडाँडाको साहित्यिक भविष्य सधैँका लागि इतिहासमा स्वर्णिम अक्षरमा लेखिने निश्चित छ ।

सल्लाह सुझावको अपेक्षा राख्दछु