Tuesday, September 16, 2014

गजल

पुरु लम्साल 

यी मान्छेहरूको लस्कर सम्झेर ।
रोकिन्छन् पाइला सफर सम्झेर ।।

झरी परे पछि मन पोल्न थाल्छ ।
बुढी आमा र चुहिने घर सम्झेर ।।

कहिले ठोकिन्छु कहिले टुक्रिन्छु ।
अचम्म लाग्छ यो खप्पर सम्झेर ।।

माझीको जिन्दगी नाउमै बित्यो ।
कोही पनि फर्केनन् बगर सम्झेर ।।
मैले फूलै फूलको उपहार पठाएँ ।।
उनले मिल्काइदिइन् पत्थर सम्झेर ।।

हज़ज़[बिधाता]बहरमा एउटा गज़ल :-


बूँद राना

हजारौं नाममा एउटा छ प्यारो नाम सम्झन्छु !
गज़लको बन्दना गर्दै म मोतीराम सम्झन्छु !

कतै एकान्तमा पर्दा मलाई aपीर लाग्दैन ,
म संगै साथमा हिंडने युवाको लाम सम्झन्छु !

कहाँ भौंतारिंदै जानु र गोता के भनी खानु ,
म मैले पूजने माटो धराकै धाम सम्झन्छु !

तुवाँलोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो ,
म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु !

हमेशा मात दी ठग्ने मदीरा के गरूँ मैले ,
नशा हो सिर्जना मेरो गज़ल हो जाम सम्झन्छु !

अरू पालो गरी आए खडेरी चैं मिची आयो ,
अझै पत्तो न लागेको बसन्ती याम सम्झन्छु !

उसैको चोटले गर्दा छ आफै घाइते किन्तु ,
शहरमै जिन्दगी छर्ने गरेको गाम सम्झन्छु !

पराइ स्वार्थमा जीवन दिनेको नाम के बिर्सुं ,
चिठीको नाममा शूली सकार्ने खाम सम्झन्छु !

कुनै केही कुरा आफ्नो भनेको ठाउँमा छैन ,
यहाँ आराम के सम्झुं छ धेरै काम सम्झन्छु !!!!

बहार वनेर


अर्जुन दृष्टि पौडेल 

 कविता
म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले 
झरेको फूल सम्झेर 
मलाई कुल्चीदियौं÷पाउमा राखी दियौं । 
म तिम्रो नयनमा बसेको थिए  
तर तिमिले 
आशुले पखालेर वगाई दियौं । 
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु 
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।

पोखरा

सल्लाह सुझावको अपेक्षा राख्दछु