Saturday, March 29, 2014

कविता - ताल हराएको बाजा

कविता - ताल हराएको बाजा 

बर्षौ देखि जिन्दगीका धुनहरु जन्माई रहेको छ 
पारि डाँडामा लुक्न दौडेको
घाम हेरेर उ,
आज पनि सपनाको सुन्दर कल्पना
गर्न पक्कै छाडेको छैन
सास रहुन्जेल आफ्नो रगत सुकाएर
अरुको अनुहारमा खुशी भर्न चाहन्छ
थोपा थोपा पसिना संग
आफ्ना खुशी हरु पखालेर
दुनियाका ढोकाहरु चाहरिरहेको छ

घुम्ने मेच माथि चिसो हावा खादै
ईन्टरनेटको दुनियामा रमाई रहेको
एउटा विद्वानले कसरि बुझोस् त
उसको पसिनाको परिचय

सदियौ देखि बजाउदै आईरहेको छ
कहिले प्रेमका गीत गाउँछ
कहिले देश दुखेका ब्यथा
कहिले कुमारी आमाका कथा
तर उसको कथा कहिल्यै लेखियएनन्

उ सम्झिदै छ पुराना दिनहरु
उड्दै गएका चराहरु हेरेर टोलाउदै
जीवनको गीत गाईरहेको छ
सुम्सुम्याउदै औलाहरुले बाजा
ताल हरु खोजि रहेको छ /

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर -१३ ,कविडाँडा चितवन

(तस्बिर वास्तविक)

सल्लाह सुझावको अपेक्षा राख्दछु