Thursday, September 25, 2014

बडा दशैं २०७१ को हार्दिक शुभकामना !!!"


"विजया दशमी २०७१ को शुभ अवसरमा नयाँ आशा,उत्साह अनि उमंग पलाओस्,निरन्तर सफलताले शिखर चुमिरहोस् ,हिम्मत अठोट र आत्मबिश्वास जागोस् , सुख ,शान्ति ,सम्वृदी सुस्वास्थ्य उत्तरोत्तर प्रगति एंव दिर्घायूको कल्याण होस भन्ने आकांक्षाका साथमा मेरो तर्फ बाट यहाँहरू सबै लाई बडा दशैं २०७१ को हार्दिक शुभकामना !!!"
रामकृष्ण पौडेल ''अनायास''

Monday, September 22, 2014

मेरी आमा

कविता

दु:ख संगै उदाएको
मेरी आमाको कहानी
साँझा सम्म पनि आफ्ना पसिना
खडेरीले सुकेर पट्पटि फुटेका
बाँझो बारीमा आफ्नो शरिर बाट
निस्केको पसिनाको नारायणीले
संचित गरेर दस नङग्राले
सपना खोस्रिदै
आलीको कान्लामा ठुसुक्क नगरी
घाम ओढार परेपछि
ढोको संगै सपना बोकेर
उही प्रिय गोरेटो हुदै
भोलिको दिनको कल्पना गर्दै
पुन फर्किन्छिन आफ्नै घर

दलिन सम्म पुग्दा नपुग्दै
च्यातिएको गुन्यु चारैतिरबाट
तानातान गर्दै छातीमै टाँसिएका
स्तन भेट्न हानथाप गर्छन
दुधे बालक,

दिनभरी एकमुठी परालले पेट भरि
दाम्लोंमै झुन्डिएर
मालिक्नी आउने बाटो हेरेर बसेका
गाई,बस्तु
मेरी आमाको आवाज संगै
एकोहोरो कराउन थाल्छन /

परानले मात्र धानिएकी
मेरी बृद्धा हजुरआमा
बुहारी आएपछि औषधि खानपाउने आशामा
मझेरीमा पटुकीको सिरानी राखेर
लामो सुस्केरा संगै सुतिरहेकी छन् ,

दु:ख र बेदनाले भरिएका
कहानीहरु हृदयमा सजाउदै
आँखाबाट खसेका मूलले
प्यास मेटाउदै कैयौ चोटी
आफ्नो र परिवारको
प्राणको भिक माग्दै
अभावको झुप्रोमा
कैयौ रात हरु बिताई रहेकीछन्
मेरी आमा !

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर-१३,कविडाँडा,









Sunday, September 21, 2014

सम्पर्क/पत्राचार

सम्पर्क/पत्राचार

रामकृष्ण पौडेल ''अनायास''
paudelramkrishna6@gmail.com
ramkp175@gmail.com
ramkrishnap1@yahoo.com
ramkrishna_poudel2044@yahoo.com

Saturday, September 20, 2014

मोडन भक्त

कविता 
एक हुल मुन्द्रेहरुको बथान
अट्टाहास हाँसोमा
थोरै अस्लिन शब्दहरु मिसाउदै
पैताला भेट्नै लागेको कट्टु समाएर
जंगल सफारी लज भित्र
प्रवेश गर्छन् /

अनुहारमा धेरै चिन्ताको कालो दाग
टाढै बाट टल्किरहेको देखिन्छ,
"पोहोर सालको दशैं त झुर भयो
तर त्यो भन्दा एड्भान्स बनाउन
यो साल स्मरणीय
बनाउदैछौ सुमन दाई" /
भन्दै थियो
सायद समुहको उँ नाइके हुनु पर्छ,
सुमन दाईलाइ चन्दाको बिल थमाउदै
भन्दै थियो "बिषय दुर्गा पुजा राख्नुहोस दाई",
तर प्रयोग सिर्जनात्मक काममा नै हुने छ '',
सायद दशैं नजिकिदै भएर होला
बिषय बस्तुको शीर्षक दुर्गा पुजा जुरेको

सुमन दाईको अनुहारमा
अटुट राप्तिहरु बगिरहेका छन्
दुर्गा,शिब,राम,लक्ष्मी लगाएत कैयौ
भगवानका भक्तलाई
रसिदमा चन्दाको भेटि चदाउदा /

यहाँ पुजा निरन्तर चलिरहन्छ
अनि भक्तहरु
जिर्णोंद्दार भएको मन्दिर निर्माणका लागि
स्रोत खोजीको प्रस्ताव उपर
छलफल गर्न
प्रत्येक दिन होटेल क्याफेमा
बिदेशी अमृत लिदै
गम्भिर चिन्तन संगै
दुर्गा,लक्ष्मी,काली का
एकहुल भक्तहरु
ठुलै बहसमा सदियौ देखि
जुटिरहेका छन्

रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा

Friday, September 19, 2014

कृति परिचय

चितवनको गजल सवाल जवाफ विधामा पहिलो कृति 
''धमिलिएका डोबहरू''
कृतिकार -रामकृष्ण पौडेल''अनायास '' र फुच्ची जमुना 

मैले खुसी किन लेखेँ ?

म कहिले राजनीतिक विषयमा लेख्न चाहन्थें त कहिले उपन्यास लेख्ने सपना देख्थें। 




विजय कुमार
‘हामी सबै जे भन्न सक्छौं, त्यही कुरा अभिव्यक्त गर्नु लेखकको काम होइन। हामी जे भन्न असमर्थ छौं, त्यो व्यक्त गर्नु लेखकको दायित्व हो।’ –अनेस निन–

एउटा पुस्तक लेख्ने रहर थियो। कस्तो पुस्तक? कसरी लेख्ने? मसित उत्तर थिएन। कुनै दिन पुस्तक लेख्नेछु भन्ने बालसुलभ चाहनाबाहेक मसित अरु केही थिएन। न विषय, न शब्द, न त बिनाविषय पाठकलाई बाँधेर राख्न सक्ने शब्दकला। केही पनि त थिएन, सिवाय एक रहर।

सपनाको बिजारोपण भएको वर्षौंवर्ष पछि पनि मैले ‘त्यो’ पुस्तकको एक अक्षर लेख्न सकिनँ। कागजमा अक्षर नलेख्दा नलेख्दै, वर्षौं साथीभाइलाई ‘म पुस्तक लेख्दैछु, लेख्नेछु’ भन्दै हिँडें।

कोसिस नगरेको होइन। कागजमा नकोरे पनि उकुसमुकुसको मसीले मनको भित्तामा नलेखेको होइन। भरिन त पूरै भरिएको थिएँ, पोखिन पो सकेको थिइनँ। भरि हुनु र नपोखिनुको वेदना, त्यसको छटपटाहट म शब्दमा अनुवाद गर्न असमर्थ छु।

बिस्तारै समय यस्तो आयो, म स्वयंलाई आफूले पुस्तक लेख्ने कुरा पत्यार लाग्न छाड्यो। सपनाको कागजमा रहरको मसीले लेख्दैमा किताब लेख्न सकिने भए सबै लेखक बन्थे भन्ने साधारण सत्य बुझ्न मलाई वर्षौं लाग्यो।

अनेकौँ पल्ट लेख्न सुरू नगरेको होइन। आधा पेज पनि भरिन नपाउँदै आफैंलाई चित्त नबुझेर दर्जनौं पटक च्यातें। घरमा लेख्न सकिन्न भन्दै शान्त ठाउँहरुमा भौंतारिएँ। स्थान फेर्दैमा लेख्न सकिन्न भन्ने शिक्षाबाहेक कुनै उपलब्धि भएन। मेरो मनमा गर्भाधान भएको बिनाविषय, बिनाशब्दको पुस्तकले वर्षौंसम्म कुनै आकार नलिएको देखेर पछिल्लो समय म आफैंसँग निरास भएँ।

लेखनमा दुई बाधा थिए। पहिलो, पुस्तकको विषयबारे मेरो मनको अन्तरद्वन्द्व। म कहिले राजनीतिक विषयमा लेख्न चाहन्थें त कहिले उपन्यास लेख्ने सपना देख्थें। अनि बेलाबखत आध्यामिक दर्शनलाई विषयबस्तु बनाउने जोश चल्थ्यो। सबथोक पेन्डुलमझैं अस्थिर र क्षणिक उत्तेजनाबाहेक केही थिएन।

हुन त पुस्तकका निम्ति मसँग अनेक विषयबस्तु हुनुपर्ने। म पत्रकारिताको यस्तो स्थानमा वर्षौंदेखि उभिएको थिएँ, जहाँ मलाई नयाँनयाँ ‘आइडिया’ सुनाउने मानिसको कमी थिएन। सर्सर्ती हेर्दा पत्रकारिताको अनुभवले मानिसलाई पुस्तक लेखनमा सघाउनुपर्ने हो। तर यथार्थ त्यस्तो नहुने रहेछ।

पत्रकारिताले एउटा निश्चित अवधिपछि हामीजस्ता पत्रकारलाई नयाँ सिकाउन बन्द गरिदिन्छ। न भाषा न शैली, न विद्या न बुद्धि, न ज्ञान न त विज्ञान। यो पेसाले नितदिन उही पुरानो सतही राग रटिरहने थोत्रो टेप रेकर्डमा परिणत गरिदिन्छ, धेरै पत्रकारलाई। आफूसँग जोडिन आएका धेरैलाई पत्रकारिताले यताबाट उता, उताबाट यता भौंतारिइरहने ‘पेन्डुलम’ बनाएर छाडिदिन्छ।

म पनि थाहै नपाई यस्तो पेन्डुलम बन्न पुगें, जसलाई अस्पताल जाँदा डाक्टरको, एयरपोर्ट देख्दा पाइलटको, बैंक छिर्दा धनीमानीको, अदालतको बिल्डिङ अगाडि आउँदा वकिलको, संसद ढुक्दा नेताको र मन्दिर, गुम्बाका उकालीओराली गर्दा अध्यात्मका विषयबस्तुमा पुस्तक लेख्ने जोश चलेर आउँथ्यो। जोश जति छिटो आउँथ्यो, त्योभन्दा बढी रफ्तारमा बिलाउँथ्यो।

म आत्मलाप शैलीमा लेख्न चाहन्थें। तर आफ्ना सबै कमजोरी लुकाएर लेखक कहलिन चाहन्नथें, न त तिनलाई सार्वजनिक गर्ने आत्मबल मसित थियो। आफ्नो र परिवारको दालभात जोहो गर्ने क्रममा मेरो हातबाट हुन पुगेका सानातिना कर्महरुलाई सञ्चार जगतमा ठूलै योगदान गरें भन्दै आत्मरतिको कागजी पुलिन्दा तयार पार्ने आँट पनि मैले गर्न सकिनँ।

जर्ज अरवेलले भनेका छन्– ‘कुनै पनि अटोबायोग्राफीलाई त्यस बखतमात्र विश्वास गर्न सकिन्छ जब त्यसभित्र लेखकले आफ्ना विषयमा केही लज्जास्पद (डिसग्रेसफुल) सत्य उद्घाटित गरेको हुन्छ।’

अरवेल मेरा प्रिय लेखक हुन् तर उनको यो चुनौतीलाई धेरथोर रुपमा भए पनि स्विकार्ने आँट गर्न मलाई निकै समय लाग्यो।

लेखनको दोस्रो बाधा थियो, आलस्य। आलस्य मेरो जिन्दगीको अविभाज्य अङ्ग हो। ५२ मा चल्दै गरेको मेरो जिन्दगीको अधिकांश भाग केही नगरी त्यसै बितेको छ। वेस्टेज अफ ट्यालेन्ट (प्रतिभाको बर्बादी) ठान्छे, सुषमा मलाई। जीवनसङ्गिनीको कुरा सुन्दा एकछिन त हो क्यारे भन्ने लाग्छ। तर फेरि सोच्छु, मेरो चरित्रमा आलस्य नभएको भए बाँकी रहेको मानिस म हुन्थें वा हुन्नथें?

यस्तैयस्तै तर्क–कुतर्कको सहारा लिएर म समय बर्बाद गरिरहेको थिएँ। तर्क, वितर्क, कुतर्कको बैसाखी टेकेर मानिसले आफ्नो सही वा गलत जीवनशैलीलाई न्यायोचित ठहर्‍याउने प्रयत्न त गर्न सक्छ तर मनभित्र बलेको आगो निभाउन नसक्ने रहेछ।

बाहिरबाट हेर्दा म आफ्नो पेसाको सफलतम मानिसमध्ये एक थिएँ। मेरो शैलीका प्रशंसकको सङ्ख्या ठूलै थियो। आलोचक पनि यथेष्ट थिए। वर्षमा हजारौं मानिस मलाई इमेल लेख्थे। शक्तिशाली पुरूष, रुपवान महिला र धनवान व्यक्तित्व मेरा निम्ति कुनै दूर क्षितिजमा देखिने आश्चर्य र विस्मय नभएर दिनचर्याका सामान्य कुरा थिए।

यति हुँदाहुँदै पनि म आफूभित्र खालिपन महसुस गर्थें। सबथोक भएर पनि जीवनमा चाहिने मुख्य कुरा नभएजस्तो। अनेक गोरेटोमा हिँडिसक्दा पनि मूलबाटो नपाएजस्तो। आफ्नै मनभित्र कता हो कता हराएजस्तो। असजिलो महसुस गर्थें म। अनौठो खालिपन मेरो अचेतन मनमा गहिरोसँग लुकेर बसेको थियो।

मेरो निम्ति किताब लेख्ने कुराले कागजमा अक्षर छर्ने अर्थमात्र राख्दैनथ्यो। म त आफ्नो मनको भारी अक्षरमार्फत पोखेर हलुका हुन चाहन्थें, मनभित्र बलेको आगो निभाउन चाहन्थें। कसैले पढिदेला, लेखकका रुपमा मेरो नाम चल्ला भन्ने आशले मात्र लेख्न चाहन्नथें। अन्तर्मनको आनन्द स्वान्तसुखायका निम्ति लेख्न चाहन्थें।

तर मेरो मन, बचन, शरीर र पेसा एकआपसमा यति नराम्ररी विभक्त थिए, लेख्न बस्दा मेरो कलमबाट अक्षर झर्दैनथ्यो। म विभक्त नभइकन लेख्न चाहन्थें। त्यही लेख्न चाहन्थें जो म सोच्थें। मभित्र मन, बचन र शरीरमा अलगअलग विभाजित जिन्दगी होइन, एकाकार जीवनको खोज थियो।

मन, बचन र कर्मले पुरापुर एकाकार त सन्त मात्र हुन्छन् भन्ने थाहा नभएको होइन। जीवन एकोहोरो रेखामा होइन प्याजझैं पत्रपत्रमा विभाजित छ भन्ने शङ्कर लामिछानेको ‘एब्स्ट्र्याक्ट चिन्तन: प्याज’ नपढेको होइन। यति सब हुँदाहुँदै पनि, म आफ्नै सुरमा हिँडिरहें भनूँ या बेसुरमा भौंतारिइरहें।

समय बित्दै जाँदा लाग्न थाल्यो, जबसम्म म विभाजित जिन्दगी बिताइरहेको हुन्छु तबसम्म लेखनमा अन्तर्मनको आनन्द आउने छैन। स्वान्तसुखाय उपलब्ध हुने छैन। त्यो उपलब्ध नभएसम्म लेख्न बस्दा मेरो कलमबाट कागजमा अक्षर होइन, औपचारिकता छरिनेछ।

म मस्तिष्कले होइन हृदयको मसीले पुस्तक लेख्न चाहन्थें।

आज सम्झँदा अनौठो लाग्छ, अलिकति लाज पनि लाग्छ — जीवनका धेरै वसन्त मैले हृदयको होइन आफ्नो मस्तिष्कको सेवाचाकरीमा बिताएँ। जीवनको एक कालखण्डसम्म मलाई आफ्नो मस्तिष्कको क्षमतामा गर्व थियो। अरु धेरै मानिसले पनि ‘हो हो विजयबाबु त कस्तो ट्यालेन्टेड’ भन्दै मेरो सोचलाई यथेष्ट मलजल नगरेका होइनन्।

तर एक दिन यस्तो घटना घट्यो, मेरो जीवनको जगै हल्लियो।

करिब १४ वर्षअघिको कुरा। ती वर्षहरु मेरा निम्ति परम आश्चर्य र दुःखका वर्ष थिए। मेरो दुःखको कुनै शारीरिक वा भौतिक कारण थिएन। बाहिरबाट हेर्दा म वर्षौंदेखि जुन स्थानमा खडा थिएँ, त्यहाँ एकैछिन बस्न पाए लालायित हुने मानिसको सङ्ख्या सानो थिएन होला। छापा, रेडियो र टेलिभिजन — सञ्चार जगतका यी तीनै विधामा जुन सरलता र सहजतासाथ म विचरण गर्थें, त्यो धेरैका निम्ति आश्चर्य, इर्ष्या र विश्मयको विषय बन्न सक्थ्यो।

एकातिर व्यावसायिक रुपमा त्यो स्थिति, अर्कातिर पारिवारिक रुपले माया गर्नेहरुबाट घेरिएको थिएँ। यो सब भएर पनि, शब्दमा भन्नै नसकिने विचित्र अतृप्तताबाट पीडित थिएँ। एक हिन्दी गीतझैं थियो जीवन:

मेरे नयना सावन भादों

फिर भि मेरा मन प्यासा

आफूभित्र रहेको अपूर्णता भर्न म वर्षौं भौंतारिएँ। शक्तिवान, धनवान, रुपवान र बुद्धिमान मात्र होइन, गरिब र निसहायबीच पनि समय बिताएँ।

चरम निरासाले भरिएका मात्र होइन, पत्याउनै नसकिने साहस, आशा र उपलब्धिले परिपूर्ण मानिस पनि भेटें। तीमध्ये केही त टेलिभिजनमार्फत देखाएँ पनि। यी सब घटनाको केन्द्रविन्दुमा रहेर पनि मेरो मनको शून्यता मेटिएन। भौंतारिन रोकिएन, सोचेको ठाउँमा पुगिएन। पुग्न त परै जाओस्, पुग्न चाहेको ठाउँको नामठेगाना समेत पत्तो लागेन।

भौंतारिँदा–भौँतारिँदा एकदिन मैले आफूलाई बौद्धनाथपछाडि रहेको सेतो गुम्बामा पाएँ। म त्यहाँ जान घरबाट निस्केको थिइनँ, बरालिँदा–बरालिँदै पुगेछु।

गुम्बामा लामाले भने– ‘तपाईंले चोकीनिमा गुरूको दर्शन गर्नुपर्छ।’

लामाको पछि लागेर म चोकीनिमा रिम्पोचेका अगाडि पुगें। उनले मलाई अङ्ग्रेजीमा सोधे:

‘तिमी को हौ ?’

टेलिभिजनमा लामो समय काम गरेकाले होला, काठमाडौँ सहर वा नेपालका कतिपय स्थानमा ‘तपाईं को हो’ भन्ने प्रश्न मैले कमै सामना गरेको छु। झर्को मान्दै आश्चर्य र अहङ्कारमिश्रित स्वरमा जवाफ दिएँ:

‘म विजय कुमार हुँ।’

‘तिमी विजय कुमार हौ वा विजय कुमार तिम्रो नाम हो?’

मुसुक्क हाँस्दै रिम्पोचेले सोधेको यो प्रश्नले मलाई दस हजार भोल्टको झट्का दियो। त्यसअघि, म विजय कुमार हुँ अथवा त्यो मेरो नाम मात्र हो भनेर कहिल्यै सोचेको थिइनँ।

मेरो मुहारमा छाएको अनिश्चय देखेर रिम्पोचेले भने:

‘तिमी त आफूलाई निकै जान्नेसुन्ने ठान्छौ। मलाई यति मात्र भन, तिमी विजय कुमार हौ वा त्यो तिम्रो नाम मात्र हो?’

साधारणझैं सुनिने असाधारण गहिराइको यो प्रश्नका अगाडि मेरो अहङ्कार लज्जावती झारझैं भयो।

‘खै रिम्पोचे, अहिले यसै भन्न सक्दिनँ, म विजय कुमार हुँ वा त्यो मेरो नाम मात्र हो।’

‘केही हतार छैन, आज दिनभरि र रातभरि सोच। भोलि यही ठाउँ यही समय फेरि भेटौं। प्रश्न उही रहनेछ।’

‘विजयजी, तपाईं टेलिभिजनमा कसैलाई प्रश्न सोधेपछि उत्तर दिन तीस सेकेन्ड समय पनि दिनुहुन्न। गुरूबाट तपाईंलाई पूरै २४ घन्टा समय बक्सेको छ, भोलिचाहिँ उत्तर पक्कै लिएर आउनुहोला नि!’ म चुपचाप कोठाबाट निस्कने बेला त्यहाँ बसेका एक सज्जनले व्यङ्ग्यात्मक स्वरमा भने।

कुनै अरु ठाउँ भएको भए मैले त्यो बाजेलाई रूखो स्वरले के पो जवाफ दिने थिएँ होला। तर त्यस दिनचाहिँ आफ्नो पराजित अहङ्कारको घाउमा उसले नुनखुर्सानी छर्केको महसुस गर्दै घर फर्कें।

सारा दिन र राति अबेरसम्म रिम्पोचेले सोधेको प्रश्नको उत्तर खोज्ने असफल प्रयत्न गरें। भोलिपल्ट निर्धारित समयमा सेतो गुम्बा पुग्दा मलाई आफ्नो ज्ञानको सीमितता र अहङ्कारको विराटता दुवैका विषयमा धेरथोर महसुस भइसकेको थियो।

‘उत्तर ल्यायौ त?’

‘म क्षमाप्रार्थी छु, रिम्पोचे। मैले तमाम प्रयत्न गर्दा पनि उत्तर ल्याउन सकिनँ।’

‘तिमीले आफूलाई क्षमाप्रार्थी होइन भाग्यमानी ठान्नुपर्छ। भाग्यमानी यस अर्थमा, कमसेकम त्यो प्रश्नबारे सोच्ने मौका त पायौ। अधिकांश मानिस उनीहरु वास्तवमा को हुन् भन्ने सर्वाधिक महङ्खवको प्रश्नका विषयमा एकछिन पनि विचारै नगरी कैयौँ पटक यो पृथ्वीमा आउने र जाने गर्छन्। तिमीले कमसेकम त्यो प्रश्नबारे विचार त गर्‍यौ। अब कुनै दिन गुरू रिम्पोचेको कृपा भयो भने उत्तर पनि प्राप्त गर्नेछौ। आऊ, यात्राको थालनी गरौं।’

जुन दिन मैले यो लामो यात्राको पहिलो पाइला चालें, त्यसदिनदेखि मेरो निम्ति संसार बिस्तारैबिस्तारै बदलिँदै गयो। पत्रकारिताले मलाई अरुका दोष पत्ता लगाउन सिकाएको थियो। तर, यो नयाँ यात्राको नियम ठीक उल्टो थियो।

यहाँ अरुको होइन, आफ्नै दोष मनन गर्ने शिक्षा दिइन्थ्यो। मेरा दोष यति धेरै थिए, तिनलाई पत्ता लगाउन कुनै भारी चिन्तनको दरकार थिएन। यसो हल्का नजर दिए पुग्थ्यो। तर आफ्ना अवगुण हेर्न त मानिस मरेतुल्य हुँदोरहेछ। आँखाको बनोट नै बहिर्मुखी रहेछ। हुन त बिचरा आँखालाई पनि के दोष दिनु!

मानिस आफ्नो आँखाले होइन मनले संसार देख्छ। कठैबरा, आँखा त लाचार क्यामेराझैं रहेछ। मन भन्ने क्यामेरापर्सनले जता फर्कायो, जे देखायो, जति देखायो, त्यति मात्र हेर्न सक्ने!

दुईचार वर्षअघिसम्म मैले आफूबाहेक अरु सबै मानिसमा दोषैदोष मात्र देख्थें। प्रायः पत्रकारमा पाइने ‘विश्वनिन्दक’ प्रवृत्तिको मात्रा मभित्र सामान्यभन्दा धेरै बढी थियो। जति ठूलो ‘विश्वनिन्दक’ उति नामी पत्रकार!

पत्रकारिताका विद्यालयहरुमा मलाई अरुका गल्ती हेर्न सिकाइएको थियो, आफ्ना कमजोरी मनन गर्न होइन। तर चार वर्षअघि मेरा मूलगुरू नाम्खा रिम्पोचेले भनेः

‘आफ्ना कमजोरी पनि हेर्न सिक। आफ्नो मनले आफ्नै मनलाई हेर्न सिक। यो मन जे गर्दैछ किन गर्दैछ थाहा पाउने कोसिस गर।’

धेरै प्रयत्न गरेपछि मैले अरुको शरीरमा हात्तीजत्रो दोष देख्ने बेला आफूमा पनि कमिलाबराबर गल्ती देख्न थालें।

आफूले आफैंलाई हेर्ने क्रममा मलाई हल्का थाहा भयो, मेरा कमजोरी यथार्थमा कमिलाजत्रा सानामसिना छैनन्। जब मैले आफ्नै कमजोरी हेर्ने यात्राको पहिलो पाइला चालें तब अचानक, अनायास, क्षणभरमा मलाई यो पुस्तकको विषयबस्तु प्राप्त भयो।

जुन विषयबस्तु मैले वर्षौं सोचेर, खोजेर अनेक कोसिस गर्दा पनि पाउन सकेको थिइनँ, त्यही विषय एक दिन मलाई बिनाकुनै प्रयास फुर्‍यो।

१६ माघ २०६५ पछि पुस्तक लेख्नु मेरो बाध्यता बन्यो। त्यस दिन दिउँसो चिया खाँदाखाँदै, मैले बिनाकुनै पूर्वयोजना डा. उपेन्द्र महतोलाई भनें:

‘डा. साब, म वर्षौंदेखि एउटा पुस्तक लेख्न चाहिरहेको छु। नमच्चिने पिङको सय झट्का भनेझैं मैले अनेकौं बहानामा त्यो काम गरिरहेको छैन। अहिले तपाईंसँग बस्दाबस्दै मलाई यस्तो लाग्यो, एक वर्षसम्म केही अरु काम नगरी किताब मात्र लेख्न बसे, एउटा राम्रो पुस्तक लेख्न सक्छु। मेरो समस्या के भने काम नगरी दुईतीन महिनाभन्दा बढी जीवन चलाउने पैसा मसँग कहिल्यै हुँदैन। मलाई लाग्छ, तपाईंले मलाई एक वर्षका निम्ति आर्थिक चिन्ताबाट मुक्त गराइदिनुभयो भने सायद मेरो सपना पूरा हुने थियो। पुस्तकले पैसा कमाएछ भने फिर्ता गरौंला। केही भएन भने, लक्ष्मीको अभावले सरस्वतीको सेवा गर्न सकिनँ भन्ने आत्मगुनासोबाट त मुक्त हुने थिएँ।’

यो सुनेर उपेन्द्र मुसुक्क हाँसे। र, एकछिन पनि नअलमलिइकन भने:

‘हुन्छ विजयजी, तपाईं एक वर्षसम्म अरु केही नगरी आनन्दले किताब लेख्नुस्।’

उपेन्द्रको उदारताले मलाई एक यस्तो भाग्यशाली स्थितिमा पुर्‍याइदियो, जहाँ म वर्षदिनको निम्ति रोजीरोटीको कुनै चिन्ता नगरी किताबै लेखेर मात्र बस्न सक्थें! तर विडम्बना, मैले रोजीरोटीको चिन्ता नगरी वर्षदिन बिताइदिएँ तर लेख्न केही सकिनँ।

आर्थिक समस्यारहित हुँदैमा सृजना गर्न सकिने भए त हुनेखानेजति सबै सर्जक बन्थे भन्ने जीवन्त बोध उपेन्द्रको उदारताले गराइदियो। उपेन्द्र महतोप्रति आभारी छु, उनको आर्थिक सहयोगका निम्ति होइन। यसै पनि उनले मद्दत गर्नुपर्ने र नपर्ने धेरैलाई सहयोग गरेका छन्। म एक जना पुरानो सहपाठीलाई पनि गरे, कुनै ठूलो कुरा होइन।

उपेन्द्रप्रति कृतज्ञ छु भने त्यो विरलै पाइने अनुभवका लागि छु, जसले मलाई सिकायो– भाग्यमा छ भन्दैमा डोकोमा दूध नअडिने रहेछ! त्यो उखान मैले किताबमा कैयौं पटक नपढेको होइन। उपेन्द्रले भोगाइदिए। सौभाग्य मानिसको घरभित्र आफैं जबर्जस्ती घुसेर आए पनि, पौरख गरिएन भने नतिजा ननिस्कने रहेछ।

नतिजा ननिस्केपछि म आफैंसित निरास भएँ। आफूमाथि आफ्नै विश्वास उठिसक्दा पनि सुषमाको विश्वास ममाथि कायमै रह्यो। सुषमा मेरो पत्नी मात्र होइन, ‘बेस्ट फ्रेन्ड’ पनि हो। कुनै पनि पुरूषले एकै स्त्रीभित्र पत्नी र सबैभन्दा असल साथीको मिश्रण प्राप्त गर्नु ठूलो अहोभाग्य हो।

‘टेलिभिजनले तपाईंलाई दिएको सबैभन्दा ठूलो कुरा के हो?’ मानिस सोध्छन्।

म निशङ्कोच घोषणा गर्न सक्छु– सुषमा नै टेलिभिजनले मलाई दिएको सबैभन्दा ठूलो उपहार हो। सुषमालाई एकताका फिल्म अभिनेत्री अंशुमाला शाही भनेर चिनिन्थ्यो। २०४४ सालतिर चलचित्र अभिनेत्रीहरुका विषयमा कार्यक्रम बनाउने क्रममा मैले सुषमालाई पहिलोपल्ट देखें। देख्नेबित्तिकै बेहिसाब मन पराएँ। ‘लभ एट फस्ट साइट’ भन्ने शब्दावली मैले किताबमा पढेको होइन, जीवनमा भोगेको कुरा हो। सुषमाले चाहिन् भने म अर्को जुनीमा पनि उनैसँग विवाह गर्न चाहन्छु। सायद अर्को जुनीसम्म म अलि सुध्रिसकेको हुनेछु।

सुषमा जसको आज म यति धेरै तारिफ गर्दैछु, त्यही सुषमाभित्र जीवनको एउटा खण्डमा मैले अवगुण मात्र देख्न थालेको थिएँ। आज इमानदारीपूर्वक फर्केर हेर्दा आत्मबोध हुन्छ, सुषमाको निर्दोष मुहारमा मैले देख्न पुगेका अवगुणहरु यथार्थमा मेरो आफ्नै दोषहरुको प्रतिविम्ब मात्र रहेछन्।

कतिपय लोग्नेमानिस आफ्नो जीवनका अप्ठेरा, असफलता र कुण्ठाका निम्ति अरु कोही नपाएर आफ्नै पत्नी वा घरपरिवारलाई दोषी ठहर्‍याइरहेका हुन्छन्। यो सत्य कसैले मुखले अभिव्यक्त गर्लान्, कोहीचाहिँ मनमनै दोष देलान्, फरक त्यति मात्र हो।

मेरा तमाम कमीकमजोरीका बाबजुद मप्रति सुषमाको मायाप्रवाह चारै ऋतुमा एकैनास रह्यो। मौसम चाहे बर्खायामको होस् वा सुख्खा, हिउँद आओस् या बसन्त, उसको प्रवाहमा मैले मौसमअनुसार घटबढ महसुस गर्न पाइनँ।

म आफैंचाहिँ एक यस्तो मानिस हुँ जसको मुड पलपलमा बदलिरहन्छ। स्वभावका हिसाबले म खहरेखोला हुँ, सुषमा समुद्र हो।

सुरूका वर्षहरुमा उसलाई मसँग बस्न सजिलो थिएन। घरबाहिरका मानिसहरुका निम्ति म एक प्रसिद्ध, मनमौजी र सनकी मानिस थिएँ भने घरभित्र चाहिँ जिद्दी बच्चाजस्तो। मेरी आइरिस धर्मदिदी ब्रिजिट चर्को आवाजमा भन्थी– ‘सुषमाले घरमा दुई होइन तीन वटा बच्चा हुर्काउनुपर्छ। तेस्रो बच्चा हुर्काउन असम्भव छ। म भए डिभोर्स दिइसक्थें।’

ब्रिजिटले भनेको ‘तेस्रो’ बच्चा अरु कोही नभएर म नै थिएँ।

मेरो सम्बन्धमा ब्रिजिटको भनाइ धेरै अर्थमा साँचो थियो। तर डिभोर्स सम्बन्धमा भने ब्रिजिट प्राविधिक रुपले नै गलत थिई। किनभने ऊ आफैँ एक असफल प्रेमी थिई। एक रात, कुनै राजनीतिक विषयमा पछिल्लो प्रेमीसँग चर्को विवाद भएको भोलिपल्ट उनीहरु सदाका निम्ति छुट्टिएका थिए।

आजभोलि प्रेमीहरु के भयो भने आपसमा जुट्छन् र के भयो भने फुट्छन्, यसै भन्न सकिन्न।

जीवनमा धेरै उतारचढाव देखेपछि मलाई महसुस भयो– प्रेम भनेको अपेक्षारहित रुपले दिने भावना र क्रियाको नाम रहेछ। मैले यति गरेवापत उसले मलाई कति फर्कायो भन्ने हिसाबकिताब मनमा आउनेबित्तिकै बुझ्नुस् तपाईं प्रेममा होइन कुनै बिजनेस डिलमा हुनुहुन्छ।

जब एक जोडी, बिना कुनै हिसाबकिताब एकअर्कालाई एकोहोरो रुपले दिइमात्र राख्छन् तब भन्न सकिन्छ– वाह, क्या प्रेम छ !

कुनै अपेक्षा नराखी निरन्तर दिइमात्र राखे, तत्काल वा भविष्यमा कुनै दिन, दिएको भन्दा धेरै गुना प्रेम स्वचालित रुपले आफैं आइपुग्छ। यसविपरीत, तपाईं आफ्नो प्रेमीसँग अपेक्षामात्र राख्नुहुन्छ र प्रेमी पनि तपाईंसँग माया पाउनमात्र चाहन्छ, दिन जान्दैन भने दुवैको भागमा निरासाबाहेक केही हात लाग्ने छैन। एउटा मगन्तेले अर्को माग्नेलाई के पो दिन सक्छ र !

हुन त आजभोलि दुनियामा प्रेमको नयाँ परिभाषा आएको छ, जसले भन्छ– प्रेम भनेको लिनेदिने बराबर हुनुपर्छ। यो सुनेर मलाई हाँसो लाग्छ। मानौं प्रेम भनेको अरु केही नभएर लेखापालको ‘ब्यालेन्स सिट’ हो जहाँ डेबिड र क्रेडिट बराबर हुन अनिवार्य छ।

दिव्य खालिङको एउटा गीत छ:

मायाको आधारमा

सम्झौता नै हुन्छ

लिनुपर्ने जे छ

दिनुपर्ने जे छ

त्यो बराबर हुन्छ !

नारायण गोपालसँग एकदिन ठट्टा गर्दै सोधें– ‘यो गीत कुनै चार्टर्ड एकाउन्टेन्टले लेखेको हो कि क्या हो ?’

सुनेर मस्त हाँसेका थिए नारान दाइ। एकछिनपछि जवाफ दिए– ‘यो एक व्यावहारिक सत्यको गीत हो, पारमार्थिक सत्य (अल्टिमेट ट्र्युथ) होइन।’

नारान दाइको त्यो मस्त हाँसो सम्झेर आज पनि मेरो ओठमा एक मुस्कान स्वचालित रुपमा उत्पन्न हुन्छ। सुषमा मलाई भन्छे– ‘जबजब तिमी मस्त भएर खुसीले मुस्कुराउँछौं, मेरो सारा संसार उज्यालिन्छ।’

सुषमालाई देखेर महसुस हुन्छ, साँचो प्रेम गर्न कोरा ‘आई लभ यु’ भनेजस्तो सजिलो रहेनछ। जब प्रेमी, कुनै हिसाबकिताब नगरी दिइमात्र राख्छ, तब न भन्न सकिन्छ– वाह, क्या प्रेम छ!

कतै पढेको थिएँ– ‘जब तिमी कसैलाई साँचो अर्थमा प्रेम गर्छौ तब उसका कमजोरी र गल्तीका बाबजुद ऊप्रतिको भावना फेरिँदैन। मस्तिष्क क्रोधले भरिए पनि हृदयको प्रेम पखालिँदैन। दिमाग ताते पनि मुटु शितल नै रहन्छ।’

हुन त यस्तो अवस्था नारीपुरूष सम्बन्धमा विरलै आउन सक्छ। मेरो जीवनमा त्यस्तो विशेष अवस्था आयो भन्ने मुर्खतापूर्ण दाबी म गर्न चाहन्नँ। स्वीकारोक्ति यति मात्र हो कि त्यो सम्भावनाबाट हामी मेरै कारण बन्चित भयौँ। सम्भावना थियो तर मेरै कारण त्यो सृजनामा परिणत भएन।

म आफू जे छु, जस्तो छु र जति छु — त्योभन्दा बलियो हुन सकिनँ भनेर सुषमाले मलाई कहिल्यै दोष लगाइन। मैले चाहिँ सुषमा जेजस्ती र जति छे त्यसैमा खुसी नमानेको अवस्था पनि आयो।

प्रेम मेरा निम्ति ‘लिने’ विषय थियो। सुषमाका निम्ति प्रेम ‘दिने’ भावना थियो। आजसम्म, कुनै पनि क्षण सुषमाले मलाई यो भनिन– ‘मैले तिमीलाई यति धेरै माया दिएँ तर खोइ तिमीले के दियौ र?’

यो पुस्तक मेरा गुरूहरुको आशीर्वाद, सुषमाको प्रेम र उपेन्द्र महतोको उदारताबाट उत्पन्न भएको त्रिवेणी हो। यो त्रिवेणी सरल प्रवाहमा बगेको छ। यसमा समेटिएका अनुभव व्यक्तिगतझैं देखिए पनि समाजको एउटा ठूलो हिस्साले त्यसमा कतै न कतै आफ्नो छाया देख्नेछ। नयाँ र पुराना दुवै पुस्ताले यो कृतिमा कतै न कतै आफूलाई पात्रका रुपमा पाउनेछन्।

धेरैलाई थाहा छ, मैले सारा जीवन टेलिभिजनमा प्रश्न मात्र सोधें। अनेकौं पृष्ठभूमिका अनगिन्ती मानिसलाई असङ्ख्य प्रश्न सोधें। प्रश्न सोध्नुबाहेक मैले जीवनमा केही गरेजस्तो लाग्दैन। काम, क्रोध, लोभ, मोह, अहङ्कार — यी पाँचै मानवीय प्रवृत्तिसँग निथ्रुकै भिजेका प्रश्नहरु सोधें।

यी प्रश्न सोध्ने क्रममा जेजति उत्तर पाएँ, ती उत्तरको वर्षाले मेरो मन जमेर पोखरी भएको छ। यस्तो तलाउ, जसको पानी निकास नभएर मलाई उकुसमुकुस भएको छ।

सारा जीवन मैले प्रश्न मात्र सोधें, अब उत्तर दिन चाहन्छु। मेरो मनको पोखरीमा जमेको पीडालाई पुस्तकरुपी निकास दिएर अलिकति हलुका हुन चाहन्छु। धेरै वर्ष पोखरी भएर बिताएँ। बाँकी जीवन नदी भएर बाँच्न चाहन्छु। गोपाल योञ्जन भन्थे:

भरि छु साथी

म त भरि नै भरि छु

बग्नै नपाई पो

पोखरीसरि छु।

गोपाल योञ्जन यो पनि भन्थे– ‘बग्नुपर्छ है विजय भाइ, बग्नुपर्छ। तालबाट नदी र नदीबाट समुद्र बन्नुपर्छ। त्यसका लागि बग्नुपर्छ।’

आज, यसबखत म तालबाट नदीमा रुपान्तरित भएको अनुभव गर्दैछु। सोच्दैछु, गोपाल योञ्जन बाँचेका भए कति खुसी हुन्थे !

अनियन्त्रित मदिरापानको बेहोसीमा डुबेको मेरो जीवनकथाबाट सुरू भएको यो पुस्तक त्यत्तिकैमा सकिँदैन। मदिराको बेहोसीभन्दा धेरै गुना खतरनाक हो जीवनप्रतिको बेहोसी, जीवन बाँच्ने कलाप्रति अज्ञानता। जीवन बाँच्ने कला धेरथोर जानियो भने तमाम अभाव र अप्ठेराहरुबीच पनि सार्थक जीवन बाँच्न सकिन्छ। जीवन बाँच्ने कला सिकिएन भने सांसारिक वैभव र सफलता पाएर पनि व्यक्तिको जीवन निरर्थक हुन सक्छ।

समाज र हाम्रो शिक्षा पद्दतिले ‘सफलता’ को जुन परिभाषा दिन्छ, त्यो परिभाषा आधारभुत रुपले नै ‘अधुरो’ छ। परिभाषा पूरै गलत नहोला तर अधुरो छ। मेरो पेसाले मलाई अनेकौं क्षेत्रका ‘सफल’ मानिसलाई नजिकबाट हेर्ने मौका दियो। हरेक चम्कने बस्तु हिरा नहुने रहेछ। बाहिरी तिरिमिरीले मात्र जीवनलाई साँचो अर्थमा नचम्काउने रहेछ।

आजको दिनमा, मैले नेपालका सबैभन्दा दुःखी मानिसको सूची बनाउनुपर्‍यो भने त्यसमा समाजले ‘ठूलो र सफल’ ठानेका विभिन्न पेसाका मानिसको बाहुल्य हुनेछ। हामी अधुरा छौं, त्यसकारण दुःखी छौं। हामी दुःखी भएकाले अधुरा भएका होइनौं। अधुरा भएकाले दुःखी भएका हौं। अधुरा यसकारण छौं किनभने जीवन बाँच्ने कलाप्रति बेहोस छौं।

तपाईंको हातमा आज जे छ, त्यो कुनै दिन मैले लेख्ने रहर गरेको नामी दामी पुस्तक नभएर नितान्त सरल, साधारण र जीवनोपयोगी विषयबस्तु बोकेर आएको छ। जीवन आधारभुत रुपले सरल रहेछ। हामी नानाथरि अनावश्यक उपद्रोको डङ्गुर आफ्नो मनमस्तिष्कमा जम्मा गरेर जीवनलाई बेकारमा जटिल बनाउन खोज्दारहेछौं! यति साधारण सत्य बोध गर्न मलाई त्यतिका वर्ष लाग्यो।

हुन त म यो सारा पुस्तक आफूले भेटेका ‘ठूला’ भनिने देशीविदेशी राष्ट्राध्यक्ष, मन्त्री, प्रधानमन्त्री, विपक्षी र विद्रोही नेता, कार्यकर्ता आदिका विषयमा पनि लेख्न सक्थें। अथवा ‘सेक्सी विषयबस्तु’ ठानिएका धनवान, रुपवान, शक्तिवान, बुद्धिमान, नैतिकवान, अनैतिकवान स्त्रीपुरूषका प्रसङ्गले हरेक पाना सहजै रङ्गाइदिन सक्थें।

त्यस्ता प्रसङ्ग यो पुस्तकमा छँदै छैनन् भन्ने होइन। छन्, तर प्राथमिक होइन ‘दोयम’ भूमिकामा। प्राइमरी होइन सेकेन्डरी रोलमा। संसारका अधिकांश मानिसझैं मलाई पनि धेरै कालसम्म जीवनमा कुन कुरा प्राथमिक हो र कुन कुरा दोयम हो, होशै भएन।

‘पहिला जे जरूरी छ त्यो काम गर, त्यसपछि जे सम्भव छ त्यो गर’ भन्ने बोध त मेरो जीवनमा भर्खरै पो प्रवेश गर्दैछ। जीवनको एक कालखण्ड मदिराको बेहोसीमा बिताएँ। आजभोलि जीवन बाँच्ने कलाप्रतिको बेहोसीसित सङ्घर्ष गर्दैछु।

कसैले पठाएको एउटा कार्डमा लेखिएको थियो:

‘जीवन कठोर से कठोर शिक्षकभन्दा पनि कठोर हुँदोरहेछ। शिक्षकले पहिला पाठ पढाउँछ अनिमात्र जाँच लिन्छ। मलाई त जीवनले पहिला जाँच लियो अनि पाठ पढायो।’

मेरा अनुभव पनि कार्डमा लेखिएका अक्षरसित बिल्कुलै मिल्दाजुल्दा रहे। म ती भाग्यशालीमध्ये परिनँ, जसले जिन्दगीबाट पहिला सिक्ने अनि जाँच दिने मौका पाए। यसअर्थमा मैले उल्टो बाँचें।

हुन त मारग्रेट यङले दशकौं अघि नलेखेकी होइनन्:

‘धेरैजसो मानिस जीवनलाई उल्टो दिशाबाट बाँच्ने प्रयास गर्छन्। फेदबाट नबाँचेर टुप्पोबाट जिउने प्रयत्न गर्छन्। उनीहरु ठान्छन् कि धेरै बस्तु, धेरै पैसा र धेरै नाम भएपछि उनीहरु खुसी हुनेछन्। यथार्थ यसको ठीक उल्टो छ। मानिसले सर्वप्रथम आफू त्यो हुन सक्नुपर्छ, जो उसको वास्तविकता हो। त्यसपछि मात्र आफूले गर्नुपर्ने कामको कुरा आउँछ।’

म चाहन्छु, मेरा सन्तान सारांशिका र सारांशको नयाँ पुस्ताले जीवनलाई मझैं टुप्पोबाट नबाँचेर फेदबाट बाँचून्। नाम, दाम, यौवन र कुलतको मायाजालमा फसेर आफू हुनुको अर्थ (एसेन्स अफ बिइङ) नबिर्सून्!

हुन त मलाई थाहा छ, हरेक नयाँ पुस्ताले आफ्नो बाटो आफैं तय गर्छ। कोही चलनचल्तीको मार्गमा हिँड्न रूचाउलान्, कोही आफैँ बाटो खनेर अगाडि बढ्लान्। त्यति थाहा हुँदाहुँदै, कुनै आम अभिभावकझैं म पनि, आफ्ना छोराछोरीले सामना गर्नुपर्ने संसारका चुनौतीको सही वा गलत पूर्वानुमान गरेर बेलाबखत झसङ्ग हुन्छु।

झसङ्ग हुन्छु, किनभने आजको नयाँ पुस्ताले सामना गर्नुपर्ने ‘डिस्ट्र्याक्सन’, चुनौती र सम्भावनाको तीव्रता अभूतपूर्व छ। आकर्षण वा विकर्षणका जति धेरै साधनको सामना अहिलेको पुस्ताले गर्दैछ, त्यो मानव इतिहासमा कहिल्यै भएको थिएन। यति धेरै विविधता भएका बजारी ग्याजेट र विचार यसअघि पृथ्वीमा कहिल्यै एकत्रित थिएनन्।

कम्प्युटरको एक क्लिकमा उपलब्ध सामाजिक सञ्जालको चक्र यति बेगले कहिल्यै घुमेको थिएन। घुमाइको बेग यस्तो तीव्र छ, सम्झनेबित्तिकै रिङटा लाग्छ।

‘बाटो फेला पार्नुभन्दा हराउन धेरै सजिलो। त्यसैले त हामी खोजी मात्र रहन्छौं, भेट्टाउँदैनौं केही। जीवनमा कति धेरै ताल्चा र यति थोरै साँचो !’ लेखिका सारा डेसन भन्छिन्।

यस्तो द्रुत बेगको जीवनयात्रामा उत्पन्न हुने रिङटाबाट बच्न मानिस पहिला त्यो हुन जरूरी छ जो उसको ‘वास्तविकता’ हो। ऊ ‘हुनु’ को अर्थ हो। उसको ‘बिइङ’ हो। जीवनलाई टुप्पोबाट नबाँचेर फेदबाट जिउने बोध हो।

जसोजसो पुस्तकका पाना थपिँदै गए — केही यस्ता कुरा लेख्न बाध्य भएँ, जो लेखूँला भनेर कहिल्यै सोचेको थिइनँ।

कृति परिचय

मेरो बैसको क्यालेन्डर 
कृतिकार --सुमन घिमिरे

कृति परिचय

ECHOES
कृतिकार -ईश्वर कंडेल 

Thursday, September 18, 2014

बुद्धिसागर को “कर्णाली ब्लुज” माथीको पाठकिए टिप्पणी :



उपन्यास - कर्णाली ब्लुज

फुच्ची जमुना
जुन कुनै कृती पढिसकेपछी अगाडिको पेजमा रातो पेनले साइन गर्ने गर्छु म । पढी सकेपछी ठिकै लाग्यो भने एउटा साइन, राम्रो लाग्यो भने दुइ वटा साइन र उत्कृष्ट लाग्यो भने तीन वटा साइन ।

यो उपन्यास हर्षबहादुरको जिवन वरिपरी रहेर लेखिएको छ । उसको बालापन देखी युवावस्थासम्मको समग्र जिन्दगीलाई निकै मसिनो गरी केलाईएको छ । हर्षबहादुर - वृषबहादुर को छोरो । एक्लो छोरो । आमा, बा, दिदी र भाई गरी जम्मा चार जनाको सानो र सुखी परिवार छ उनिहरुको । जहाँ हर्षबहादुरका बा डाक्टर हुनुहुन्छ । उनिहरुको परिवारमा ममता दिदिको ममताले निकै सर्हानिय भूमिका खेलेको छ । उनि पर्वतिकी साथी हुन् र पनि पारिवारिक सदस्य भन्दा कम थिइनन् तर यो आत्मियता रहनुले पनि स्पष्टै थाहा हुन्छ कि उनिहरुको परिवार कती मिलनसार र मायावी छ भनेर । आफ्नो जिन्दगीदेखी थकित छिन ममता । आफ्नै जन्मदाताले गरेको अपहेलनाले उनको कालीलो मस्तिष्कमा नराम्रो प्रभाव परेको छ ।

पैसा पाएको दिन ममता दिदी हाम्रा बालाई रातो रिबन ल्याइदिनु भन्थिन् । बाले चुपचाप ल्याइदिनु हुन्थ्यो । "क्यार्छेउ दिदि, यत्तिका रिबन ?" म सोध्थे ।
"एकदिन यिनैमा झुन्डेर म र्छु " भनेर एकछिन चुप लाग्थिन् ।

यो वाक्यांशबाट नै थाहा हुन्छ कि ममता दिदिको जिवन र ज्युनुसँगको समग्र दृष्टिकोण । आखिर, उनले भने झै नै उनि चाडै नै मर्छिन तर रिबनमा झुन्डिएर हैन ज्वरोले थला पारेर । आमा बाले औषधोपचार नगरेर ।

यहाँनिरको यो प्रसंगले मेरो मुटु हल्लिएको थियो जहाँनिर मगर मामाले भन्नु भो - ममताले खाल्डोमा पुर्ने बेला श्वास फेरेकी थिइन् ।

हर्षबहादुर पढ्नमा लद्दु छ तर चकचक गर्न खुब तेजस्वी छ । पढ्दापढ्दै दिदी पार्वती पोइला जान्छिन । यस घटनाले बा आमाको मनमा पहिरो जान्छ । त्यसपछी हर्षबहादुरको परिवार कालिकोट बसाइ सर्छ । कालिकोटबाटै उसले एस एल सि पास गर्छ र उ काठामाण्डौ पढ्न जान्छ । काठमाण्डौ बाटै +२ पास गर्छ र ब्याचलर दोस्रो वर्षमा पढ्दै छ उ अहिले । यही बेला उसको हातमा एउटा चिट पर्छ । जहाँ लेखिएको हुन्छ -'तुरुन्त कोहलपुर टिचिङ हस्पिटल जाने । ड्याडी बिरामी हुनुहुन्छ । २:३० मा फोन आएको थियो ।' उ तुरुन्त हस्पिटल पुग्छ । बा बिरामी हुनुहुन्छ । बेडमा सुतिरहनु भएको हुन्छ । बा'को पिरले आमा बिरामी झै हुनुहुन्छ । बा लाई सन्चो नहुने थाहा पाएपछी मनको घिट्किसो नातिको मुख हेर्ने रहर पुरा गरिदिन सुर्खेत लईजादै गर्दा बाले बाटोमै अन्तिम हिक्का छोड्नुहुन्छ ।



यही कथावस्तुको वरिपरी घुमेकोछ उपन्यास । जहाँ कर्णाली छेउछाउका बासिन्दाहरुको गरीबिलाई पनि स्पष्ट रुपमा देखाउन खोजिएको छ भने केहि प्रसंगहरुबाट जनयुद्धलाई मिसाएको छ । मटेरादेखी कटासे बजार र कालिकोट सम्ममा भेटिएका चन्द्रे, ममता दिदि, भागिराम, बाटु, मन्दिरे, छोट्कु जस्ता फरक फरक पात्रहरुको भिन्न भिन्न परिवेशले उपन्यासलाई पुर्णता दिन साथ दिएका छन् । आफ्नो परिवारको लागी विशेष गरी बाले गर्नु भएको संघर्षलाई उतार्न खोजिएको यस उपन्यासमा सन्तानको लागी बा आमाले गर्ने त्यागलाई पनि उठाउन खोजिएको छ भने बाटुको कथाले छोरी मन्छेहरु अझै पनि आफ्नो इच्छा , चाहना र रहरलाई आफ्नै पैतालाले कुल्चेर हिड्न बाध्य छन भन्ने बाध्यात्मक परिस्थितिलाई दर्शाउन खोजिएको छ । पढिरहदा - प्रसंग जहाँ जहाँ पुग्छ त्यही त्यही आफु पुगेको भान भयो मलाई । पाठकलाई अकर्षित गर्न नसक्ने लेखहरु असफल लेख हुन तर बुद्धिसागर यसमानेमा सफल लेखक सावित भएका छन । उसो त लेखक स्वयम आफु जन्मे हुर्केको ठाउँ मै केन्द्रीत रहेर लेखेको भएर पनि होला स्थान र प्रसंगहरु को अनुकुलता अनुसार पात्रहरुको संयोजन कही कतै झुक्किएको छैन न अलमलिएको नै छ । र सोही अनुरुप पात्रहरुलाई उभ्याउन सक्षम देखिएका छन लेखक । जुन सक्षमता सबै लेखकहरुले सहजताका साथ पार गर्न कठिन पर्छ ।

लेखाइ एकदमै सरल छ । पाठकलाई आकर्षित गर्ने कलामा निपुर्ण देखिन्छन बुद्धिसागर । उसो त सबै पाठकहरुको माग एकै प्रकारको हुँदैन न त लेखकले त्रुटी रहिर बनाउन नै सक्छ आफ्नो लेख तर पनि म चाहान्छु - हरेक उपन्यासहरुको अन्त्य सुखद होस । पढिरहदा जती सन्तुष्ट थिए म त्यती नै असन्तुष्ट यो दु:खद अन्त्यले बनायो मलाई । तसर्थ उपन्यासको अगाडिको पानामा मैले दुइ वटा साइन गरेर राखे ।

''ECHOES''नामक अंग्रेजी novel कृति प्रकासित

भरतपुर,''अनायासका पानाहरु''
नेपालको परिपेक्षमा सरसरती हेर्दा अंग्रेजी साहित्य धेरै कमै रुपमा भएपनि चितवनका युवा शशक्त क्रियासिल अंग्रेजी कवि ईश्वर कंडेलले केहि समय आगाडी ''बाया''नामक अंग्रेजी कविताको पुस्तक प्रकासन गरिसकेका छन् भने पछिल्लो समएमा फेरि ''ECHOES''नामक अंग्रेजी novel
 कृति प्रकासित गरेर एउटा अंग्रेजी साहित्यमा सफलता थपेका छन् नेपालको लागि यसलाई एउटा गौरवको बिषय मान्न सकिन्छ,आगामी दिनमा अंग्रेजी कवि ईश्वर कंडेलले यसैगरी सफलताका खुड्किलाहरु पारगर्दै आगाडी बढुन
''अनायासका पानाहरु''

कुमार नगरकोटीको पहिलो उपन्यास 'ब्लु बोयज' आउँदै



          नेरुदा, म खत्तम भएँ यार कुमार नगरकोटीको पहिलो उपन्यास 'ब्लु बोयज' बुक-हिल पब्लिकेशनले प्रकाशन गर्ने भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा बुक–हिल पब्लिकेशन र नगरकोटीबीच उपन्यास लेखन र प्रकाशन सम्बन्धी सम्झौता भएको हो।

आफूलाई फिक्सन डिजाइनरको रुपमा चिनाउ“दै आएका नगरकोटीले यो उपन्यास अतियथार्थवादी र प्रयोगात्मक रहेको बताए। 'स्वप्नमय फर्म्याटमा लेखिएको युवाको कथा हो, ब्लु बोयज,' उनले भने– 'युवाका लागि लेख्दालेख्दै यो उपन्यास वयस्क र साहित्यका गम्भीर पाठकका निम्ति समेत उपयोगी छ।'

साहित्यको बजारमा साहित्यिक गुणवत्ता कम भएका कृतिको वर्चस्व रहेको समयमा नगरकोटीको यो उपन्यासले गम्भीर लेखक र पाठकलाई समेत प्रेरणा थप्ने पब्लिकेशनका अध्यक्ष भूपेन्द्र खड्काले बताए। उनले भने,'नगरकोटी कल्पनामा बौद्धिकतालाई प्रयोग गर्ने नेपालकै एकमात्र लेखक हुन्। बुक–हिलले उनको किताब सगर्व प्रकाशन गर्नेछ।'

प्रकाशकले नगरकोटीलाई मन खोलेर लेख्नका निम्ति आकर्षक प्रस्ताव गरिसकेको छ। अध्यक्ष खड्काले भने,'ब्लु बोयजको प्रकाशन, सार्वजनिकीकरण र प्रचार प्रसार अहिलेसम्मकै अभूतपूर्व हुनेछ। कुमार नगरकोटीको लेखकीय उचाइको समानान्तर रहेर पुस्तकको बजारीकरण हुनेछ।'

पुस्तक आगामी चैत्र मसान्तभित्र बजारमा ल्याउने तयारी बुक–हिलको छ। पब्लिकेशनले यसअघि विश्वसाइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको यात्रा–कथा 'संसारलाई साढे पा“च फन्को' सार्वजनिक गरिसकेको छ।



एकाबिहानैै अस्कर वाइल्ड अलि बढी नै वाइल्ड देखियो।

म चाहिँ केही माइल्ड नै थिए“। ऊ केही चिन्तित एवं आतङि्कत देखिन्थ्यो। डर्मिटरीको सुनसान करिडरमा उसले मलाई च्याप्पै समातेको थियो र भनेको थियो, 'नेरुदा, म खत्तम भएँ यार।'

स्कूलमा साथीहरूमाझ हामी पछिल्लो नामको सम्बोधन गथ्यौर। पुलिस स्कूलको यस्तै फुलिस प्रचलन थियो। जेम्स जोयसलाई केबल जोयस मात्रै भन्नुपर्थ्यो। अल्वेयरलाई कामु मात्रै भनिइनुपर्थ्यो। उसलाई कसैले 'कामुक' भन्यो भने सजायको भागिदार भैहाल्थ्यो। हामीहरूको प्रथम नाम उच्चारण गर्ने कार्यकारी अधिकार त केवल शिक्षक/शिक्षिकासित मात्रै थियो।
...

मीन–पचासको विदा चाँडै नै सकियो।

म स्कुल फर्कें। अस्कर वाइल्ड फर्केर आएन। स्कुल छोड्यो। डाक्टर जिभागोले अस्करको बारेमा धेरै पछिसम्म पनि मसित कुरा गरिरह्यो। गुस्ताव फ्लवर्टले चार्ल्स डिकेन्सको होमवर्क नगरेकोमा क्लास मनिटरबाट हात धुनुपर्‍यो।
म्याडम बोभारीले क्लासमा भन्नुभयो, 'लौ त बोयज! लेट्स सी। तिमीहरूमध्ये को–को पुतली बन्यौ? को–को झुसिलकीरा नै रह्यौ? दोज हू ह्याभ विकम अ बटरफलाई, प्लिज स्ट्यान्ड अप।'
म उठे“।

बाँकी झुसिलकीराहरू आ–आफ्नो डेस्क र कुर्सीमा घिसि्ररहे।
setopati

होष्टेल इन्चार्जद्वारा दृष्टीविहिन छात्रा बलात्कृत




आफूले भनेको विषय पढ्न नमानेको भन्दै कास्कीमा एक छात्रा बलात्कारको शिकार बनेकी छन्। कास्कीको लेखनाथमा रहेको एकिकृत दृष्टीविहिन छात्राबासमा बस्ने छात्रालाई छात्राबास कै इन्चार्जले बलात्कार गरेको आरोप लागेको छ। छात्राबासँका इन्चार्ज दण्डपाणी ढकालले कोहि नभएको मौका पारी बलात्कार गरेका हुन्। ४७ वर्षिय ढकालले ति १८ वर्षिय छात्रालाई छात्राबासको अथिति कक्षमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए।

ढकालले नेपाली विषय पढ्न भने पनि नमानेर अंग्रेेजी विषय पढेपछि मैले भनेको नमान्ने भन्दै बलत्कार गरेको ति छात्राको उजुरीमा उल्लेख छ। जनप्रकाश उच्चमावि भण्डारढिकमा कक्षा ११ मा अध्ययनरत छात्रा एक महिना पहिले मात्रै होस्टेलमा आएकी थिइन्। ढकाल होस्टलेका इन्चार्ज, शिक्षक र आफू पनि दृष्टीविहिन हन्। छात्रालाई भदौ १९ गते ढकालले बलात्कार गरेका थिए। उजुरीमा छात्राले भदौ १९ गते क्याम्पसबाट साढे तीन बजेतिर होस्टेलमा आई पढ्नका लागि बाहिर निस्किने क्रममा ढकालले जर्वजस्ती अतिथि कक्षमा लगेको उल्लेख छ।

छात्रालाई ढकालले गाला मुसार्ने, सम्बेदनशिल अङ्ग चलाएको र मुख थनेर बलत्कार गरेको छात्रको उजुरीमा उल्लेख छ। बलत्कार पछि पनि अन्य दिन एक्लै भेट्ने वित्तिकै सम्बेदनशिल अङ्ग चलाउने गरेपछि छात्रालाई मानसीक तनाव भएको थियो।

तनाव खेप्न नसकेपछि उनले १० दिन पछि होस्टेलमा बस्ने दिदिलाई भनेकी थिइन्। त्यसपछि मात्रै भदौ ३१ गते प्रहरीमा छात्राले उजुरी दिएकी हुन्। उजुरी पछि प्रहरीले ढकाललाई मंगलबार नै पक्राउ गरेको छ। उनलाई ५ देखि ७ वर्ष कैद हुन सक्ने प्रहरीले जानकारी दिएको छ। 
सागर राज तिमिल्सिना पोखरा, असोज २


प्रकाशित मिति: बिहीबार, आश्विन २, २०७१ ०८:२१:४१

Tuesday, September 16, 2014

गजल

पुरु लम्साल 

यी मान्छेहरूको लस्कर सम्झेर ।
रोकिन्छन् पाइला सफर सम्झेर ।।

झरी परे पछि मन पोल्न थाल्छ ।
बुढी आमा र चुहिने घर सम्झेर ।।

कहिले ठोकिन्छु कहिले टुक्रिन्छु ।
अचम्म लाग्छ यो खप्पर सम्झेर ।।

माझीको जिन्दगी नाउमै बित्यो ।
कोही पनि फर्केनन् बगर सम्झेर ।।
मैले फूलै फूलको उपहार पठाएँ ।।
उनले मिल्काइदिइन् पत्थर सम्झेर ।।

हज़ज़[बिधाता]बहरमा एउटा गज़ल :-


बूँद राना

हजारौं नाममा एउटा छ प्यारो नाम सम्झन्छु !
गज़लको बन्दना गर्दै म मोतीराम सम्झन्छु !

कतै एकान्तमा पर्दा मलाई aपीर लाग्दैन ,
म संगै साथमा हिंडने युवाको लाम सम्झन्छु !

कहाँ भौंतारिंदै जानु र गोता के भनी खानु ,
म मैले पूजने माटो धराकै धाम सम्झन्छु !

तुवाँलोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो ,
म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु !

हमेशा मात दी ठग्ने मदीरा के गरूँ मैले ,
नशा हो सिर्जना मेरो गज़ल हो जाम सम्झन्छु !

अरू पालो गरी आए खडेरी चैं मिची आयो ,
अझै पत्तो न लागेको बसन्ती याम सम्झन्छु !

उसैको चोटले गर्दा छ आफै घाइते किन्तु ,
शहरमै जिन्दगी छर्ने गरेको गाम सम्झन्छु !

पराइ स्वार्थमा जीवन दिनेको नाम के बिर्सुं ,
चिठीको नाममा शूली सकार्ने खाम सम्झन्छु !

कुनै केही कुरा आफ्नो भनेको ठाउँमा छैन ,
यहाँ आराम के सम्झुं छ धेरै काम सम्झन्छु !!!!

बहार वनेर


अर्जुन दृष्टि पौडेल 

 कविता
म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले 
झरेको फूल सम्झेर 
मलाई कुल्चीदियौं÷पाउमा राखी दियौं । 
म तिम्रो नयनमा बसेको थिए  
तर तिमिले 
आशुले पखालेर वगाई दियौं । 
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु 
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।

पोखरा

Monday, September 15, 2014

''प्रकृतिको आवहान''

विवश एस.बि चौलागाईं

कहीले चिसोसिरेटो बनेर
कहीले झम झमी बर्खे झरी झै
पुर्णीमाको रातमा बगरका ढुङ्गा
टल्क टल्के झै
थकित बटुवाको थकान मट्ने
चौतारि बनेर
कसैलाई जिउने आधार
कसैलाई पिउने आधार
तराईको फाट फाटमा
पहाडको टाकुरा टाकुरीमा
विश्वको सबोच्च शिखर बनेर
टिलीक्क टल्कीरहन्छीन
उनी
भेटीन्छीन
बस्ती बस्तीमा कवि मेरो
अस्मीता छेकीदेउन तिम्रा
ति शुन्दर शब्दले रङ्गीएको
पाना पानाले भन्दै
सुन्दैछु चारकोसेका मृगशाबक हरु
लन्च डिनर गर्न शहर पस्दैछन
आज नागबेली यार्सागुम्बा फल्ने ठाउमा
भोली चिल्ला चिप्ला मोटर गुड्ने छन
धुवॉको मुस्लो छोड्दै
तिमि आजको फोटो कैदगर
अनी भोली पल्टाएर हेर
सोच फरक के पायौ?
तिमि कविता भन्दा धेरै
मेरो स्याहार सुसार गर
हो कवि फेरि पछुताउने छौ
उनले त बिन्ती गरेकी थिइन भन्दै
नत्र जलीरहेको मरुभुमीमा
तिर्खाएको उंट झै
बौलाउन पर्ला प्रकृति प्रकृति भन्दै
कवि मेरो बेदनाको कविता लेख

/bibashchaulagain1994@gmail.com
Hetauda-5 ,now
Banepa-10, Kavre

गजल

घनश्याम परिश्रमी 

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब
अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब

पीर होस् कि खुसी सँगै भोग्नु पर्दछ
मधेस, पहाड र हिमालले अब

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नु पर्छ नयाँ सुर तालले अब

हामी लक्ष्य भेट्न हिँड््रयौँ बेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब

युद्धको सञ्जाल टुटोस् मनहरु मिलून्
ज्योति छरोस् शान्तिको मसालले अब

Sunday, September 14, 2014

यादको गुलाब

ईश्वरमणि अधिकारी , 

कविता

 यादै यादमा फक्रन्छ गुलाब 
प्रेमगीत गुन्गुनाउँछ हृदय 
अमर हुने भनेको त 
यादहरू न हो ! 

यादहरूको शृंखला अनन्त छ 
याद गर्दैमा हर्जना तिर्न नपर्ने 
कर तिर्न नपर्ने सपनाको
 भो , भैगो 
मलाई सपनाको आधा चेहरा काफी छ ! 

सपना कै आकाश मार्ग भएर
 एक जोर सपना
 उड्दै गरेको देखेथें सपनामा
 त्यही सपनाको प्यासले 
सपना पर्खन्छु म हर रात
 अमर हुने भनेको त
 पर्खाई पनि हो !
 
हर याम , हर बखत
 हृदय भरि फुल्छ , फुलिरहन्छ 
कहीं आधा , कहीं सिङ्गै 
अजम्बरी 
यादको गुलाब !!

पोखरा

गजल





निरज भट्टराई

सबथोक पाएर पनि केहि नपाए जस्तो गर्छ
जिन्दगीले घरि घरि चित्त दुखाए जस्तो गर्छ

हावाका हातहरु हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाए जस्तो गर्छ

चाहेको भए सिङ्गै नदि पिउन सक्थ्यो बगरले
अरुको तिर्खा सम्झेर ओठ भिजाए जस्तो गर्छ

एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोले जस्तो गर्छ औंला चलाए जस्तो गर्छ

गज़लको गला त उहिल्यै देखि थिचिएको छ यहाँ
गज़लकार भने ठुलो स्वरले चिच्याए जस्तो गर्छ

गजल

तिमी जस्तै य‍ो संसार फेरिएको कहाँ छ र?
जीवन बाँच्ने अाधार फेरिएको कहाँ छ र?

भत्काएर झुप्राहरू महल खडा गरे पनि
उही पुरानो सँस्कार फेरिएको कहाँ छ र?

दुर्योधन दुशासन् र रावणहरू रहुञ्जेल
अहङ्कारको व्यापार फेरिएको कहाँ छ र?

मात्र सपिङ्ग-सेन्टरहरू नयाँ बनेका हुन्
भ्रष्टाचारको बाजार फेरिएको कहाँ छ र?

भन्नेहरू भन्छन् युगले काँचुली फेर्यो"ऊषा"
तर धर्तीको अत्याचार फेरिएको कहाँ छ र?

विष्णु तिवारी "उषा"

मेरा किसान बा

मेरा किसान बा 

उनी
धानको बिरुवासँगै जिन्दगी रोप्छन्
रोप्छन् हरिया सपनाहरू
पसिनाले हो कि पानीले
भिजाउँछन् पहाडी खेतको छाती !
एक दिन
त्यहीँनेर फुलाउँछन् खुसी
सुनजस्ता धानका बालाहरूमा !

मेरा बा
भकारीभरि मंसिर थन्क्याउँछन्
र, भित्र्याउँछन् घरभित्र-
भोकको ईश्वर !

मैले देखेदेखि
नागीजस्तो उनको निधारबाट
सिनाको खहरे बगिरहेकै छ
खोल्सीखोल्सी भएर फुटेका कुर्कुच्चा
चक्र मेटिएका पाइतालाबाट
निस्किरहेकै छ श्रमको संगीत !
उनलाई-
जाडोले कहिल्यै चिस्याएन
गर्मीले कहिल्यै पोलेन ।

मेरा बा
थुप्रै घामपानी छेलिरहेछन्
र, मिलाइरहेछन्
जिन्दगीको लय !

उनलाई पनि लाग्यो होला
दु:खले तगारो नाघेर
कहिल्यै घरको आँगन नटेकोस्
चाडपर्वहरू हाँस्दै हाँस्दै आऊन्
आफ्ना सन्तानको आङमा
कहिल्यै नपरोस् दु:खको घाम
लाग्यो होला
यो बाटो भएर अभाव कहिल्यै नहिँडोस् ।

मेरा बा
जिन्दगीको मोर्चामा लडिरहेछन्
र, कुँदिरहेछन्
सन्तानको सुकिलो भाग्य !

सन्दर्भ : 'बुवाको मुख हेर्ने दिन'

('नेपाल' साप्ताहिक, २०७१)

Thursday, September 11, 2014

नव स्त्रीको सुगन्ध




ए हावा नजिस्कान
मलाई, तेरो यो
उनमत्त बैँशले
किन किन
तेरो बहावमा कुनै
नव स्त्रीको सुगन्ध
भेट्छु
ए हावा ! न नछर्किन
मेरा
यि दुई नयनलाई
तिनीहरूको नशादार
अत्तर, जुन तँ
हर हमेशा बोक्दै
छरि बस्छस् म माथि ।

कविता "सम्बन्ध"

सुमन लम्साल 

हामी भेटिने बेला
मैले भनेको थिएँ
म आगो छु
तिमि पानी छौ
हामीहरु कहिल्यै एक हुन सक्दैनौं

तिमीले बादलबाट झरेको
चट्यांगको झिल्को देखाउदै भनेकी थियौ
बदल्न चाह्यो भने पानी आगोमा बद्लन्छ
आगो पानीभित्रै हुन्छ

बिस्तारै तिम्रो संगतले
मलाई तिमि जस्तै बन्न मन लाग्दै गयो
सायद तिमीलाई पनि मेरो संगतले
म जस्तै बन्न मन लागेछ

अहिले आएर
हामीहरु फेरियौं
म तिमि जस्तो भएँ
तिमि म जस्तो भयौ
फेरी पनि हामीहरु एक हुन नसक्ने बन्यौं
पोखरा

बालकविता- असिना

रमेशचन्द्र घिमिरे  

डल्ला-डल्ला सेता-सेता ठूला अनि मसिना
आकाशबाट आँगनीमा बर्से हेर असिना

नूनको स्वाद छैन तर हेर्दा नूनको डल्लो
मिठाई भनी खान खोज्दा लाग्यो खल्लो-खल्लो

कपूर ठानी सुँघ्न खोजूँ बास्ना आउँदैन
सेतो थियो पग्लिएर सेतो पनि छैन

पानी नै हो हातमा राख्दा ठ्याक्क अटाउने
पानी नै हो दुख्ने गरी साह्रै ठटाउने

बादलभित्रै अड्किएको हुन्छ अति राम्रो
भो-भो नझर् तँलाई ल्याउने विचार छैन हाम्रो

हिउँको डल्लो पग्ली अहिले निस्कँदैछ पसिना
पानी जमी बन्छ भन्छन् यै त हो नि असिना ।
-भोर्लेटार, लमजुङ

गजल

निमेष निखिल

के छ दाजै हाल भनी कुनै मैतालुले सोधिन्
जान्छौ भने हिँड भनी उनै तीर्थालुले सोधिन्

जिन्दगीमा धेरैधेरै बिरक्तिएँ जब म
जप्छौ राम नाम भनी कुनै श्रद्धालुले सोधिन्

भक्कानिँदै रोइरहेँ रातभरि जब एक्लै
किन रोयौ बाबु भनी उनै दयालुले सोधिन्

जसका लागि सारा जीवन अर्पिदिएँ मैले
विवाहमा आउँछौ भनी उनै मायालुले सोधिन् ।

कविता - 'कविकुनाको सौन्दर्य '

रमेस प्रभात 

तिमि देख्न सक्छौ यतिबेला
गोधुलीमा गाई बस्तु
चरन बाट फर्केझें
झम्के साँझमा खेताला
खेतबाट फर्केझै
एकहुल कविहरु हिंडेका छन् कविकुना
काव्यात्मक सौन्दर्यको रसास्वादन गर्न /

भन्नेहरु भनुन्
कविकुना मदिरालय हो
मान्नेहरु मानुन्
कविकुना वकवास थलो हो
ठान्नेहरु ठानुन न्
त्यहाँ अराजक कविहरु आउँछन्
देसी अर्गानिक झोल पिउँछन्
र चपाउछन्
सुकुटी, भटमास र चिउरा
साथमा थप्छन्
लसुन र डल्ले खुर्सानी
उनीहरुले हामिले गरेको
कविताको सौन्दर्य
खै तिमीले देख्न सकेको ?

साँच्चै
मातेर कविता लेखिने भए
म आज यसरी मात्न चाहन्छु
फेरि सामान्य अबस्थामा
कहिल्यै फर्किन नपरोस्
फुरोस् कविता ह्वार ह्वाररी
र बढ़ारोस् मेरा कविताले
देश भित्रको बेथिति
निम्त्याओस् मेरो कविताले
सुशासन र समुन्नति
यस्तै यस्तै जपना गरेको बर्षौ भैसक्यो /

अब मैले
कविकुनाको सङ्घारबाट
फर्नु छ कविताको पुरातन परिभाषा
देखाउनु छ समकालीन कविहरुलाई
एउटा बिद्रोहको रन्को
पुर्याउनुछ सत्ताधारी सम्म
बिद्रोहको नवीन हुङ्कार
हो ,मात्नु छ
घरपालाको स्वादले
तिमी सम्म जो स्वर पुर्याउनु छ /

यतिबेला मेरो मथिङ्गलमा
फनफनी रिङ्गिरहेछ
युगीन प्रटनका प्रलयहरु
के साहित्य कसैको पेवा हो ?
के देश कसैको पुर्ख्यौली सम्पति हो ?
यदि हो नै रहेछ भने
म खोसेर लिन्छु
तिमीहरुको हातबाट
के तिमी सक्छौ
एकलौटी पर्न अवको साहित्य ?
सक्छौ सधैभरि लुकाएर राख्न ?
पोल्टा भित्रको यो देशको सत्ता ?
म हेर्न चाहन्छु
तिम्रो सामर्थ /

कविकुनाको साँघुरो टेवुल बाट
घोषणा गर्छु एउटा बिद्रोह
हेर,
म तिम्रो खोकिलामा
पड्काउँदै छु कविताको वारुद
त्यसपछि
साँच्चै देख्नेछौ कविताको शाक्ति
शीत निन्द्रा बाट
कविता जागेपछि
को निस्कन्छ थाम्ने ?
''एक युगमा एक दिन एकपटक आउँछ
उलट पुलट उलट पुलट हेरफर ल्याउछ ''
यो हस्तक्षेपकारी अभियान लाई
जीवन्त पार्नुछ
र थमाउनु छ
पछिल्ला दिनका कविहरुलाई
र बुझाउनु छ कविताको सौन्दर्य
ए सुषुप्त बसेका कवि !
के तिमी पनि आउँछौ हाम्रो साथमा ?
आउ
खाली छ एउटा मेच
कवि कुनामा !

भरतपुर ,चितवन

गजल

पुष्प अधिकारी ''अञ्जलि''

तिम्रो त हातैभरि हरिया चुरा छन्
मेरो त सपनाहरू पनि अधुरा छन् ।

अघाएको छ र त खुशी छ काठमाडौँ ,
दुखी त कठै ! यहाँ अछाम र बाजुरा छन्

रोइरहेको छ त्यो बस्ती उसैगरी अझपनि
हेर त त्यहाँ बा आमा गुमाएका टुहुरा छन्

बुहारीहरू निद्रामा छन् घरभित्र घाम आउँदा
ब्युँझिएका त बिचरा तिनै सासु ससुरा छन् ॥

सङ् संगै का साथीहरू त कहाँ कहाँ पुगिसके
उसको भने जहिले पनि बाहृ थरीका कुरा छन् ॥

दसैंको मुखमा

सुमन घिमिरे

प्रत्येक दसैंको मुखमा
आमाले सोध्ने प्रश्न, एउटै हुन्छ,
यसपाली त आउँछस् नि छोरा?

म बझछु ,
आमाको प्र्श्नको चाहना
दसैं सँगै भित्रिने दौतरीको हुलमा
आमा मलाई पनि देख्न चाहनु हुन्छ ।

त्यो चंगा, त्यो लट्टे
मैले चचहुई गर्ने पींगका डोरी
अझै कतै मिल्केका हुन्
आमा चाहनु हुँदो हो
म दसैंमा आएर खेलिदियोस् ।

आमाको प्रश्नले,
नसम्झाएको होईन मलाई
आमाको माया,
गाउँको माया,
अनि एक्लिदै गरेको
मेरो देशको माया ।

म हरेक दसैंलाई
अर्को साल तिर सारिदिन्छु ,
अनेक बाहनाहरु छन् मँ सँग
भनिदिन्छु बिदा मिलेन,
कहिले भनिदिन्छु भिसा मिलेन,
आमालाई भेट्दै नभेट्ने
मेरो ईच्छा होइन ।

मैले हवाईजहाज सँगै परदेशमा
ल्याएको थिएँ
थुप्रै समस्याका पोकाहरु
त्यही पोकाहरु खोल्दै जाँदा
भेटेको छु,
अनगिन्ति जटिलताहरु,
जुन दसैं भन्दा निकै प्रिय छन् ।

जे कुरा पनि सजिलै पत्याउने
मेरी आमालाई
घरको आकास माथि उडेका
हवाईजहाजहरु देख्दा पनि रिस उठ्दो हो,
मेरी आमालाई के थाहा ?
हवाईजहाज सँगै रातारात उडेका छन्
अनगिन्ति आमाका हजारौं सपनाहरु ।

हरेक दसैंको मुखमा,
आमा यस्तै गर्छिन
आमा यस्तै भन्छिन्
हेरिरहिन्छिन् आँगनीको सिमलको बोट
सयपत्रीले सजिएको फुलबारी,
अनि पहेलैं भएको जमरा ।

आमालाई रिस उठ्दो हो
देश नपर्कने छोरा सँग
अझ त्यो भन्दा बढि त ,
गरिबीहरु सँग,
अराजकताहरु सँग,
अनि
बेरोजगारीहरु सँग,
जसले छोरालाई मुग्लान पठाएको छ ।


सौराहा , चितवन

खडेरी

भुपिन भुपिन


यो खेत हो
कि कुनै गरीब आदमीको
पट्पटी फुटिगएको कुर्कुच्चा ?'

कि हो कुनै चित्र ?
खेतको थोत्रो कपडामा
खडेरीले ध्यान से बनाएको ?

मेरे दोस्त !
ए तो नदी हो नदी
जहाँको पानी हिउँदभरी
पडोसीको खेतमा निमेक गर्न जान्छ
र बर्सात भएपछि पगला सा बिदामा फर्कन्छ ।
तिमी त्यस्तो ठाउँमा उभिएछौ
जहाँ नदी पनि
दासहरूझैं बन्धकी पर्छ ।

आऊ अब नजिकै देहात छिरौं
त्यता पनि काकाकुल फाँट
यो नदीझैं वारिस पर्खेर बसिरहेछ ।
दाना नलागेको गहुँको खेतमा
आग लाग्लाझैं भएकोछ ।
मौसमसँग हारेका मकैका पोथ्राहरू
बाजु लत्राएर घुँटना टेक्दै उभिइरहेछन् ।
मिट्टीमुनी कोई रस नभेटेर
कुपोषणग्रस्त छ गन्नाको झाडी ।

देहातका किसानहरू
सधैझैं बहुत चिन्तित छन् इसबार पनि
देख्नू उनीहरूको आँखमा
भुखमरीको साया कसरी बेसरम नाचिरहेछ ?

दोस्त !
चरचरी फाटेको यो खेतमा
उनीहरूले सिर्फ देख्छन् आफ्नै चेहरा
र खराब तक्दिर ।
पता छ उनीहरूलाई
यसको जिम्मेवार छन् मुखिया
उनैले गरिदिएछन् पडोसीसँग
आधा पानी र बिजुलीको झुठा कागज ।
इसकारन हरेक हिउँदमा
नदी तरेर पारी गै जान्छ हरियाली ।

बहुत तकलिफको बात छ मेरे दोस्त
जब भारी बर्सात हुन्छ
थुनिदिन्छ पडोसीले बाँधको दरबाजा
र बाढ पसेर हाम्रो खलिहान बगाँउँछ ।

मेरे दोस्त !
यो यस्तै गाव हो
जहाँ प्रत्येक हिउँदमा
खडेरीले किसानहरूको तक्दिर फुटाउँछ
र बर्सातमा बाढले उनीहरूको बास उठाउँछ ।

लेकिन सुनेकोछु-
'मेरो देहातमा बहुत बढियाँ छ'
साला मुखियाले
पापी पडोसीलाई
अभितक यस्तै तार पठाउँछ ।

एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

 -राजा पुनियानी
कश्मीर। 


संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो।
तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको।
रगत जति बाटै-बाटो झरिसकेपछि
कठ्याङ्ग्रिएको नसा छ उसको।
बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो
जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ उम्रेको छ।
यो हो कश्मीर।

आजादी तिम्रो हक हो बाबु -
काँधमा झोला, झोलामा सिलेट र सिलेटमा डर भिरेर
सरकारी स्कूल गइरहेको नानीहरूको कानमा भनेको छ
हजार वर्षदेखि वास खोज्दै उड़ेको
घाइते परेवाले।

हरप्पा, काराकोरम, झेलम
चेरी, आइफल, काजु
भेड़ा, शेर-ओ-शायरी, चरार
कशीदा, सिकारा, बोटहाउस
एउटै कश्मीरमा कत्ति-कत्ति कश्मीर!

एउटा शताब्दीको अन्तिम हिउँबर्खालाई जसरी
बारूद सुँघाएर विदा दियो तिम्रो देब्रेतिरको छिमेकीले
उसरी नै अर्को शताब्दीको पहिलो हिउँबर्खालाई स्वागत जनाउन
तयार छ नाल तेर्साएर तिम्रो दाहिनेतिरको छिमेकी।

निरूत्तर डाँड़ाहरूको बीचबाट निस्किएको
एउटा उदास रूखको
थर्थर कामिरहेको हाँगामा झुण्डिबस्छ
भारत, पाकिस्तान र चीनको टाटेपाङ्ग्रे कट्टु।

साँढ़े देशको काँढ़ेतार ताक्दै
आगोको आतङ्कवादी पाइलाहरू
सुकुमवासी चुह्लाको मुख छाड़्लाझैँ गर्दैछन् यत्तिखेर।
ढुक्कको बिहान आउने बाटो ढुक्ने ढुक्कुरले
पखेटामा बोकेको छ यत्तिखेर
अन्धा ए.के. फोर्टिसेभेन।

गुलाब सुँघ्दै गुलाबो र गालिब
भुसभुसे हिउँबर्खामा झीलको किनारै-किनार
कतै गएका हुन् इतिहासको ओढ़ारतिर।
कश्मीर, के उनीहरू फर्कलान् घर?
वा फर्कन चाहे पनि फर्कन दिइएला?
उनीहरूलाई आफ्नै घरमा गुलाम बनाइएको कथाबाट
बलात्कृत आत्मनिर्णयको योनिगन्ध आइरहेको छ।

तिम्रो घरमा शहर छ। देश छ। देशको संविधानको मृताक्षरहरू छ।
देशको शिक्षा प्याकेज छ। देशको अनुदान कोष छ।
कात्रोजस्तै तिमी वरिपरि बेरिएको तिरङ्गा छ।
सबथोक छ कश्मीर तिमीसँग
एउटा शासकले कैदीलाई दिएको हुनुपर्ने जति
बस, तिम्रो घरमा घर छैन।

तिम्रो ऐनामा खुनको पत्रै-पत्रा परेको छ।
गुलाबी गालामा गुलाबी रङ हेर्न नपाएको
कति जुनी बित्यो हँ ए कश्मीर?
भन त तिम्रो चुन्नीमा लागेको विदेशी रगतको टाटा
कुन अन्तर्राष्ट्रिय शिखर सम्मेलनको धारामा पखाल्छौ?
दिनहुँको बलिदानको धागोले बिस्तार सिलाइरहेको होला
तिम्रो तीन फ्याक जीऊ।
तिमीलाई बाँधेको सिक्रीहरू चुँड़ाउँछ कि
एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

चिहानजस्तै तिम्रो बागमा
फुलेका छन् आजाद जङ्गली फूलहरू -
ती फूललाई फुल्न देऊ, ए स्वार्थी संसार।

-राजा पुनियानी
(१३ जनवरी, सन् २०००) —

आमाका सपनाहरू

कविता
दीप ज्योति थापा

सानो छँदा
बाले भन्नुहुन्थ्यो-
"देशभन्दा ठुलो
अरू केही हैन बाबु !"
कैयौँपटक
कसम खाएँ-
"देश छोड्दिनँ ।"

उकालीओरालीमा भेटिने
सामलीहरू भन्थे-
"जिन्दगी यस्तै हो"
कैयौँपटक
देउरालीको देउतालाई
सोधेँ-
"के लेखिएको छ भाग्यमा ?"

आँखाभरि कैद गरेर
पाठशालाको चित्र
गोठालोमै लेखेँ
क माने कचिया
ख माने खर्क
ग माने गरिब
कैयौँपटक
पानीले मेटाइदियो
माटोका अक्षरहरू ।

वर्षभरि कुटोकोदालो गर्दा पनि
पेटभरि अन्न नपुग्दा
जब अतालिन्थेँ
बुनिरहेको सुकुल देखाउँदै
आमा भन्नुहुन्थ्यो-
"दुःखसुख परालझैँ
बेरिएर आउँछ
धैर्य गर्नुपर्छ लाटा !"

धैर्य गर्न सकिनँ
मैले
कसम तोडेँ
देश छोडेँ ।

अहिले
झुन्डिएको होला
मूलढोकामाथि
मेरो तस्बिर
बाडुली लाग्छ
तस्बिरमाथि हात फेरेर
सायद, आमा मलाई
सम्झी रहन्छिन् ।

अनगिन्ती प्रश्नहरूले
लखेटी रहन्छन्
जीवन बाँच्दै छु
वा
जीवनलाई बचाउँदै छु ?

मध्यरातमा चिच्याउन पुग्छु-
"आमा !" भनेर ।

सम्झँदा मन पोल्छ
गाउँको
गोधूलिको रङ्गीबिरङ्गी छटा
सुगन्ध बोक्ने फूलहरू
घिन्ताङ मादल बज्ने निमाको रोदी
कत्रो भयो होला ?
मैले रोपेको बकाइनो !
उस्तै होला ?
जुनुको मप्रतिको प्रेम !
उनलाई सुनाउने छु-
"हाम्रो पसिना रेगिस्तानमा मिसिएछ
त्यसै नुनिलो भएको हैन त्यहाँको बालुवा ।"

जिन्दगी मदारी बनेर
बाँदरझैँ नचाई रहेछ ।

घर फर्केर पुरा गर्नुछ
आमाका सपनाहरू
निखनिएको खेत
ओत लाग्ने आफ्नै झुपडी
जस्केलोबाटै देखिने तुलसाको मठ ।

आमाले कैयौँपटक
भनेकी छिन्-
"तँ जन्मदा खुसीले खुबै
रोएको थिएँ बाबु !"

के साँच्चै पुरा गर्न सकुँला ?
मैले 
आमाका सपनाहरू !

रचनाकालः २०७१ जेठ २२
हेटौँडा-६, मकवानपुर (नेपाल)
E-mail: deepjyotithapa94@gmail.com

किन ताक्छौ बन्दुक

युवराज लामिछाने 'प्रदिप'
गजल

लुटिदैछ मेरो देश पर्दा पछाडि बाट
सुटुक्क पत्तो पाँए पर्दा पछाडि बाट

हे नामर्दहरु शक्ति भए अगाडि आऊ
किन ताक्छौ बन्दुक पर्दा पछाडि बाट

प्राय: दलका नेताहरु मिलेकै देख्छौ हामी
किन आउँछ विवाद पर्दा पछाडि बाट

कुसंस्कार र कुप्रथाले ग्रसित निकै हुदैछ
भित्र भित्र यो समाज पर्दा पछाडि बाट

कलमको सट्टा चुरोट समाएछ बालकले
भनेछन स्याबास पर्दा पछाडि बाट।

युगीन साहित्य समाज,रुपन्देही।

मलाई माफ गर



कविता
आर. आर. चौलागाईं
मलाई माफ गर

तिमी आकाशमाथिको चन्द्रमा
मैले छुन खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी समुद्रभित्रको मोती
मैले टिप्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी गुलाफको फूल
कहाँ म धर्तीको धूलो
कहाँ तिमी झरनाको पानी
कहाँ म टुकुचाको भेल
तिमी सारङ्गीको मसिनो तार
मैले रेट्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी भेट्न नसकिने मान्छे
मैले भेट्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी सुनको असर्फी
कहाँ म खोटो सिक्का
कहाँ तिमी मन्दिरको शिला
कहाँ म बगरको ढुङ्गा
तिमी कोइलीको मीठो आवाज
मैले सुन्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी बगिरहेको स्वतन्त्र हावा
मैले थुन्न खोजेँ तिमीलाई
मलाई माफ गर ।


कहाँ तिमी वसन्तको पालुवा
कहाँ म शिशिरको पतझड
कहाँ तिमी सहरको रमझम
कहाँ म पाखे र अनपढ
तिमी इन्द्रेनीको अलौकिक दृश्य
मैले हेर्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी एउटा लुकेको रहस्य
मैले बुझ्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी रङ्गीन तस्बिर
कहाँ म सिसाकलमको खेस्रा
कहाँ तिमी सबको आँखाको नानी
कहाँ म फ्याँकिएको बेसहरा
छुन खोज्दा तिमीलाई
दाग लाग्यो होला
मलाई माफ गर
बोल्न खोज्दा तिमीलाई
बात लाग्यो होला
मलाई माफ गर
हेर्न खोज्दा तिमीलाई
आँखा लाग्यो होला
मलाई माफ गर
नजिक हुन खोज्दा तिमीसँग
तिमीलाई पाप लाग्यो होला
मलाई माफ गर ।

मलाई माफ गर
मलाई माफ गर
मलाई माफ गर ।

Thursday, September 4, 2014

उ हतारमा छ,

रामकृष्ण पौडेल''अनायास''
पख !नारायणी

उँ हतारमा छ
सागर भेट्ने आशमा
बगेको नारायणी
थुप्रै सपनाहरु आँखामा बोकेर
गरिबका झुप्र भत्काउदै हिडेको नारायणी
के थाहा उसलाई
कतिको सपना उजाड बनेकाछन् .

पोहोर बगाएको छोरो सम्झिदै
सुन्तली भाउजु गालि गर्दै थिइन्
बिचरा हर्के बेपत्ता भएको
आलै छ घाउ
गाँउ शोकमा छ
तर आकर्सित छन् सहर बासि हरु
यो नारायणी संग

अझै दाउ हेरिरहेको छ नारायणी
कैयौ माइलीका सिन्दुर बगाउन
कैयौ आमाका कोख रित्तो बनाउन

माइला बा को खेत बाँझै छ अझ
एक हाल गोरु बगाएकोले
अनुहारमा त्रास बोक्दै
लए हराएको गीत गाउदै
यस्ता रातहरु मारेको दाग ब्युझन्छ
माइला बा को आँखामा .

रहरका बिस्कुन सुकाएर मनमा
घामको प्रतिक्षा गरिरहेका छन्
काभ्रे घाटका बासीहरु
बिस्कुन भिजाउने दाउ हेरिरहेको छ
अझै नारायणी
तर पनि मुस्कुराउछन्
किनकि सदियौ देखि
यहि जुहारी चलिरहेको छ .

बर्षौअघि सपनाको सिंगो आकाश बोकेर
यहि किनारामा सानो झुप्रो भित्र
गुजारा चलाउदै आएका सन्त दाइ
नारायणी को अस्लिल रुप बोकेर
फेरि फर्किन्छन् उही पुरानै ठाउमा

पख !नारायणी अब तेरो
धेरै बरालिने दिन गए
ढुंगाले छेकियोस नछेकियोस
तर संविधानका पानामा छेकिनेछस्
लेखिनेछस्
पख ! नारायणी /


कविडाँडा,भरतपुर ­१३ 

Monday, September 1, 2014

चितवन देखि चिसंकु सम्म

नियात्र 
चितवन देखि चिसंकु सम्म
रामकृष्ण पौडेल ''अनायास''

      धारिवाल कमिज लगाएका हातमा बन्द गरिएको कालो छाता बोकी रामबजार बस स्टपमा मेरो प्रतिक्षामा बसिरहेका भोर्लेटारका कवि मुसुक्क मुस्कुराउँछन्  म बस बाट झर्ना साथ् /
अनि आ-आफ्ना सन्चो बिसंचोका कुरा साटासाट गर्छौ, हामीमा गहिरो भावनात्मक नाता थियो जुन भगवान कृष्ण र सुदामा बीच थियो कवि रमेस दाइ निकै मिठो बाल कविता लेखेर धेरैका मनमा बस्न सफल पनि उत्तिकै हुनुहुन्छ /
          हामि गफमा मस्त थियौ घर आइ पुगेछ बाटो काटेको पत्तै पाएनौ त्यति बेला घाम बास बस्न क्षितिज भित्र पसिसकेको थियो झ्याउकिरी हरुले एक प्रकारको संगीत छरिरहेका थिए, 
रमेस दाइ र म घर भित्र के पस्न पाएका थियौ रमेस दाइका ठुला दाइ प्रकास दाइ खाजा खानका निम्ति हामीलाई लिन आउनु भयो जुन दिन २०७०-१२-२५ गते रामनवमी अर्थात चैते दशैंको आगिल्लो दिन थियो हामीलाई खाजा खाने बन्दोबस्त भोर्लेटारकै कवि जो रमेस दाइका कान्छा भाइ हुनु हुन्थ्यो नविन चन्द्र घिमिरे उहाँकै घरमै थियो,
आमा,भाउजु ,छोरा छोरि सबै संग भेट घाट भयो वाताबरण निकै रमाइलो थियो रामनवमी को संघरमा भएर पनि हुन सक्छ /
        म लम्जुङ्ग को चिसंकुमा हुने परम्परागत साहित्यिक मेला अर्थात् लेखक संघ लम्जुङ्गले राखेको साहित्यक कार्यक्रम जुन रामनवमीका दिन लाग्थ्यो उक्त मेला कार्यक्रममा रमेस दाइ र लम्जुङ्गका अन्य कवि ज्यु हरुको निमन्त्रणा लाइ स्वीकार गरेर उक्त कार्यकरमका निम्ति गएको थिए 
२०७०\१२\१५ गते बेलुकी नविन दाइको घर बाट खाजा खाइ भोलि पल्ट बिहानै चिसंकु जाने सल्लाह गरि रमेस दाइकै घर तर्फ फर्कियौ /
        रातको ८ बजीसकेको थियो रामनवमी चैते दशैंको आघिल्लो दिन रमेस दाइ खानाका परिकार तयार गर्दै हुनु हुन्थ्यो र म्याडम माइत गएर थोरै न्यास्रो लागेको र म आएकोमा खुशी लागेको कुरा मिसाउदै गफ चलेरहेको थियो / त्यतिकैमा पारि डाँडाबाट अजिव कुरा कानमा अचानक पर्यो म छक्क परे जुन पुरानो परम्परा आज पनि त्यो ठाउमा अझै जिवितै रहेको रहेछ /
मैले पढेको थिय कुरा गर्दा सुनेको थिय आज सुन्न पनि पाए त्यो ठाउमा अझै कटुवाल लगाइदो रहेछ 
''ए गाम्ले हो भोलि बिहान सबेरै ७ बजे सबै जना आ-आफ्ना घर बाट चामल,गुन्द्रुक,तरकारी,गोरस साथ् लीइ चिसंकु माझ मैदान घुमाउने चौतारमा घरका सबै परिवार साहित्यिक मेलामा उपस्थित हुनु होला है /''
जुन कटुवालको आवाज थियो यस बिषयमा धेरै कुरा जिज्ञासा राखे तर रमेस दाइको आग्रहमा फेरि थोरै खाजा खादै कुरा गरौ भन्नु भयो हामि भुजा मासु लियौ साथमा रमेस दाइ ले कविताको अर्गानिक झोलले गिलास सजाउनु भएको थियो नकार्न सकिन दुवै जना उक्त कार्य सफल बनाउन तिर लाग्यौ / बिस्तारै कविताको अर्गानिक झोलले शारिर तताउदै थियो खाजा खादै थियौ र मैले कुरा हरुको बेग बिस्तारै बढाउँन थाले र रमेस दाइलाई सुनाउन लागे /

 २०७० -१२-२४ गते बिहान हंस बहूउधेश्यले नारायणगढ गंगोत्रीमा राखेको साहित्यिक कार्यक्रममा उपस्थिति भै कवि सुमन लाइ मोटरसाइकल दिई म पोखरा हानिदै पुगे / जहाँ चितवनका मित्र सुदिप,पोखराका मित्र अर्जुन,र किसान जी आदि साथीहरु पृथ्बीचोकमै भेटघाटका निम्ति पर्खिएर बस्नु भएको थियो उक्त भेटघाट कार्य लाइ समापन गरि म र सुदिप पोखरा घुम्न तिर लाग्यौ त्यस दिनको बसाइ पछि म पोखरा जुन बिशेस कामले गएको थिए भोलि पल्ट बिहान उक्त काम सकाएर म र भाइ रामचन्द्र पोखरा खुब डुल्यौ /

रमेस दाई मेरा कुरा सुनी राख्नु भएको छ बीच बिचमा जिज्ञासा राख्दै भन्नु हुन्छ ''पछिको कुरा भन्नु न के भयो''

मैले भने हजुरहरुको कार्यक्रम सम्म आउनको लागि पोखराबाट बेगनास बसपार्कमा पुगे त्यहाँ पुग्दा २ बजेको थियो गाडी भर्खर छुटेको कुरा थाहा पाए त्यस पछि ४ बजे जाने रहेछ म व्यबाहरिसे अवस्थामा बसपार्कतिरै निकै भौतारिए ४ बजे लम्जुङ्ग जाने गाडीमा ३ बजेनै चढेर बसे ४ बज्न लाग्दा त प्यासेन्जरले गाडीको स्वरुप नै देखिन छाड्यो बस्न र झुन्दिन मिल्ने ठाउमा प्यासेन्जरले भरिएको थियो लम्जुङ्ग त्यस ठाउँ बाट २५ के.मि .भएपनि बाटोको असुविधाले ३ घण्टामा रामबजार आईपुगीयो /

रमेस दाई प्वाक्क बोल्नु भयो ''त्यस्पछि म भेटिए /''

''पोखराको तपाइको बिशेस काम के थियो भन्नु भएननी ? ''/

मैले हजुरलाई यो बिषय सरप्रार्इज राखे कुनै दिन भनुला है /त्यस पछि कविताको अर्गानिक झोल अन्तिम पल्ट थप्ने निर्णय गर्दै दुवै जनाले खादै चितवनका कवि रमेस प्रभात ,कवि भुपिन 

,कवि ईस्वर र कवि सुमनको सम्झना स्वरूप घुटुक्क पारियो र एक आपसमा कविता सुनाईयो र उक्त कार्यलाई बिश्राम लिदै थोरै खाना खाइ भोलिको कार्यक्रमको कल्पना गर्दै सुतियो /
        चराहरुको चिरबिर आवाज झ्याल बाट चिरेको चिसो हावाले उठ्न बाध्य तुल्यायो २०७०-१२-२७ गते बिहानको समय थियो हतार हतार चिसंकु जाने तयारि गरियो रमेस दाई ,नबिन दाई ,बीच बिचका खोला तर्दै ईशानेश्वर मन्दिर हुदै चिसंकु तिरको ठाडो बिचमा रामबजारका कवि हरु भेट हुनु भयो र सुन्दर दृष्य बन हिमालको नजिक बाट अवोलोकन गर्दै फोटो खिच्दै रमाउदै ,गफ गर्दै ३ घन्टाको उकालो काटियो र चिसंकु मैदान आइपुगियो जुन परम्परागत साहित्यिक मेला लाग्ने स्थान थियो कार्यक्रम स्थल वरिपरि धेरै स्थानिय गाउँले हरुको बाक्लो उपस्थिति थियो कोहि केराको बोटको स्वागत गेट बनाउदै,कोहि छेउकै घरमा खाना पकाउदै थिए म त्यस ठाउको चलन र बासिन्दा देखेर निकै खुशी भए किनकि पाहुना लाई गरिने स्वागत ,सत्कार ,सम्मान बोलि व्यवहार बिल्कुल प्राकृतिक थियो अनि प्रत्येक घरघर बाट कविता सुनाउन उपस्थित भिड निकै उल्लेखनिय थियो 
हाल शहर तिरका साहियिक कार्यक्रम ठुला होटेलमा रक्सीको मात संगै गरिन्छ कविता वाचन गर्न बोलाइने कविलाई आउने जाने खर्च दिइन्छ बोलाउदा फोन ,इमेल ,फेसबुक प्रयोग गरिन्छ तर चिसंकुको कार्यक्रममा प्रत्यक घर धुरीबाट चामल, गुन्द्रुक,तरकारी गोरस बोकी स्वतफुर्त कार्यक्रममा उपस्थिति हुदा हामीलाई नौलो लग्दोरैछ, पाहुना लाइ घरबाटै उठाईएको चामल तरकारी गुन्द्रुक पकाई ख्वाइदो रहेछ भने पाहुनाको स्वागतको लागि ठाडो भाकाको गीत ,भजन स्थानिय परम्पराका गीत गाउदै आँगनका छेवैमा फुलेका फूलका थुँगाहात हातमा राख्दै घुमाउने चौतारोको आसनमा आथिथ्य ग्रह्रण गराइदो रहेछ मलाई त्यो देखेर निकै खुशी लाग्यो नेपालको कुनै ठाउमा परम्परा भने बाँचेको छ जस्तो पनि लाग्यो /
 अचेल शहरमा लाखौ खर्चेर स्टेज कार्यक्रम गरिन्छ तर चिसंकुको डाँडा काँडा परेको जमिनमा छमछम नाच्ने बैनीहरु भेटे आफै मनमनै सोच्छु सहरका नानिहरुले भएको भए यस्तो जमिनमा के नाच्थे र ? बास्तवमा मैले अझै रहस्य यहाँ खोलेको छैन आजभोलि साहित्य कार्यक्रममा बोलाउदा निकै भाउ खोज्छन प्राय कविहरु साहित्यमा रुचि राख्ने कमै र राख्नेहरु पनि अर्धबैसेको मास देखिन्छ चिसंकुमा ५ वर्ष उमेरका बालक देखी ८५ सम्ममा हजुरबुवा हजुरआमाले नहेरी मनछुने मन रुवाउने कविता वाचन गरेको देख्दा मुटुनै चसक्क भयो ,र देख्नेहरु सबैको हुन्थ्यो पनि होला कविता वाचन गर्ने त्यहाँका प्रत्यक घरका सबैनै हुदा रैछन म चितवन बाट गएको गएर पनि कता कता लागेको थियो त्यहि तरिका हो भने मेरो पालो भोलि पनि आउदैन तर अथिति भनेर प्रथामिकतामा परेको भने रहेछु है आज पनि याद आइरहेको छ लेखक संग लम्जुङ्ग को संयोजनमा भएको त्यो कार्यक्रममा ८५ बर्षे हजुरआमा को कविताको गुञ्जन आजपनि कानमा गुन्जीइ रहेको छ मलाई आउने बेलामा ति हजुरआमाले आशिर्वाद दिनु भएको थियो ''बावु कविता भनेरै जीवनमा ठुलो नाम कमाए है र मैले किताब निकाल्दै छु आए पछि खोजेर पढे है/' ८५ बर्षे हजुरआमाको कुराले अकमक्क बनायो मलाई 
           बास्तवमा मैले जीवनको परिचय भेटे जस्तो लाग्यो उक्त ठाउमा गएर मौलिक थिए सबै कुरा हरु ,र धेरै धन्यवाद पनि दिन चाहन्छु यतिबेला कवि रमेश चन्द्र घिमिरे ,र कवि नबिन चन्द्र घिमिरे दाईहरु लाई वास्तविक मौलिक परम्परा लाई नाजिकबाट नियाल्ने मौका प्रदान गर्नु भएकोमा /
मैले त्यहाँ गएर ''मनमायाको सपना नामक सिर्सकको कविता सुनाए त्यसपछि झन् धेरैले परिचय गर्नु भयो मेरो खोजीनिती पनि ह्वात्तै बढ्यो धेरैले सम्झना स्वरुप आ-आफ्नो कृतिहरु दिनु भयो धेरैले धेरै माया दिनु भयो र चितवन आउदा भेट्ने वाचा पनि दिनु भयो /

कार्यक्रम समाप्त पछि त्यहाँ धेरै उपस्थित धेरै अग्रजहरुले ''अर्को साल हामि नमरे पक्कै यहि ठाम मा देख्न पाम है बाबु'' भन्दै बिदाइ गरेको आजै हो जस्तो पनि लाग्छ /

बिदाइ पछि भोर्लेटार फर्किदा निकै अबेर भएको थियो थकाइले होला खाना खाएर सुतिहाल्यौ 

२७ गते बिहान उठेर चितवन फर्कने तयारि गरे र रमेस दाइले सम्झना स्वरुप केहि पुस्तक दिदै बसपार्क सम्म ल्याई गाडीकै सिटमा राखी बिदाइ गर्नु भयो र गाडीबाट चितवन तर्फ लागे गाडीको क्याबिन सिटमा बसेको थिए गाडी अल्ली पर पुगेपछि गाडीको इन्जिन चिस्याउन प्रोयोग हुने पानि टंकी फुटेर गाडी नचल्ने कुरा थाहा भयो तैपनि ठाउँ ठाउँमा रोक्दै पानि ओसार्दै लगातार इन्जिनमा पानि हाल्दै दमौली सम्म आइपुग्यो क्याबिनमा बसेकाले इन्जिनमा लगाता पानि हाल्ने जिम्मा भने मेरो परेको थियो , दमौलीमा गाडी बनेपछि गाडी चल्यो ५ बजे नारायणगढ पुगे कवि सुमन श्रेष्ठकोमा राखेको आफ्नै मोटरसाइकल बाट कविडाँडा अवस्थित आफ्नै निवास पुगे /



अचानक २०७१ सालको १० गते कवि रमेशचन्द्र घिमिरे दाइ लाई फोन गरे दाई 

सरप्रार्इज हजुरलाई 

आत्तिदै केहोला भाइ भन्नु न ..........

मैले हजुरलाई पोखरा गएको बिशेस कामबारे गोप्य राखेको थिए नि हो त्यहि कुरा हो के 

रमेस दाइ मुटुनै फुट्ने गरि आत्तिदै भन्नु भयो'' छिटै भन्नु न मलाई सुन्न नै हतार भयो के ''

म पोखरा गएको बिशेस काम मेरो बिबाहको लागि केटि हेर्न भनेर गएको थिए उक्त कुराको सकारात्मक परिणाम आएकाले मेरो पोखरा निवासी मञ्जु अर्याल संग यही बैसाख १३ गते बिबाह हुने पक्का भयो हजुर जसरि भए पनि मेरो बिबाहमा आउनु है 

रमेस दाइ खुशी हुदै शुभकामनाका शब्द संगै बिबाहमा आउने सहमति जनाउदै फोन राखे /, 



भरतपुर -१३ कबिडाँडा,कैलाशनगर 















































मैले देखेको सपन


कविता
मैले देखेको सपना

म तिमि ले बनाएको
सानो महलमा थिए
अनि
मेरा हत्केलामा तिम्रो हत्केलाको
स्पर्सले
मेरो पुरै रक्त नालीमा
उर्लिरहेको एउटा नदीको वेग
समुन्द्रको छाल झैँ
सुनामी बनेर
मस्तिस्क सम्म आइ पुग्दा
आँखाका ढकनिहरुबाट
एकाएक सपनाहरु बाहिरिदा
चरम बिन्दुमा पुगेका
मेरा बैसालु यौवनहरु
अकस्मात् बेखबर हुन्छन् /

आदि रातको मस्त निन्द्रामा
तिम्रो रहर र रहर संगै
तिमि भित्रको उज्यालो मुहार संगै
मेरा सपनाहरु दाँज्न
जबरजस्ती आँखा बन्द गर्दै
सोचिरहेको छु /

मैले देखेका आदि सपनाहरु
मस्तिस्कमा बन्द गरेर
भोलि देख्ने सपनाहरु संग
जोड्ने छु,
अनि पुरा गर्ने छु
चरम बिन्दुमा पुगेका मेरा चाहनाहरु
तिम्रो तलाउमा डुबुल्की मारी
एउटा गहिरो समुन्द्रको तिर्खा
पलभरमा सम्बोधन हुनेछ /
ए आदि रात हरु
अब प्रकाश संगै
प्रेमको बिहानी भएर आउ
सपनाहरु पुरा गर्नको निम्ति
कैयौ रातहरु संगै हराईसकेको छु,
अब बिहानी संगै आरम्भ गर्नेछु
अनि बनाउने छु वास्तविकताको महल /

रामकृष्ण पौडेल अनायास''''
कबिडाँडा ,भरतपुर



सल्लाह सुझावको अपेक्षा राख्दछु