Saturday, January 10, 2015

‘इकोज’ उपन्यास : अङ्ग्रेजी साहित्यको विस्तार









रामकृष्ण पौडेल ‘अनयास’
         नेपालको अंग्रेजी साहित्यमा स्थापित हुँदै गएका कवि तथा उपन्यासकार ईश्वर कँडेलले दुई दशकभन्दा बढी अंग्रेजी शिक्षाको सेवामा समय बिताइसक्दा अत्यन्त उल्लेखनीय कार्य गरिसकेका छन्, जुन उनको जीवनको गौरव र प्राप्ति पनि हो । उनले विगतदेखि वर्तमानसम्म हुर्काउँदै ल्याएको श्रृंखला कविता, उपन्यासको सृजनकर्म नै हो भन्दा अन्यथा हुँदैन । अंग्रेजी माध्यमद्वारा कलम चलाएर अंग्रेजी साहित्यमा क्रमशः प्रभाव छोड्न सफल कवि, उपन्यासकार ईश्वर कँडेलजस्ता व्यक्तित्वलाई चितवन र अझ त्योभन्दा पनि नेपालले नै पाउनु भनेको गौरवको विषय पनि हो । चितवनको सुन्दर प्राकृतिक काखमा जन्मिएर विशेष रुपमा प्रकृतिप्रतिको मोह र रूचि राख्ने उनको ठूलो सोख हो । त्यसले पनि प्रकृतिमा भेटिएका अजीव र मनमोहक विषयवस्तुलाई टपक्क टिपेर शब्दले पाना भर्ने उनको कला, कुची र त्यसलाई अंग्रेजी भाषामार्फत ढाल्ने कुशल र बहुमुखी क्षमता उनमा रहेको कुराको पुष्टि हालसम्म उनले गरेका र हामीले देखेका उनका कार्यबाट पुष्टि हुन आउँछ । कँडेलको प्रथम कृति अंग्रेजी कविताहरुको संग्रह ‘बाया’ आएको केही समयपछि अंग्रेजी साहित्यप्रेमीमा समेत क्रमशः लोकप्रिय बन्दै गएको उपन्यास ‘इकोज’ले उनलाई सफलताको मार्गमा अग्रसर बनाउँदै लगेको देखिन्छ । ‘इकोज’ उपन्यास आफ्नो व्यक्तिगत स्वार्थमा नलेखेको अभिव्यक्ति दिँदै कँडेल भन्छन्– ‘समाजको हितका लागि हजारपल्ट मर्ने र हजारपल्ट जन्मन सक्छु ।’ साँच्चै उच्च विचारका धनी कवि, उपन्यासकार कँडेल समाजसेवामा पनि अग्रसर रहेको कुरा देखिन्छ । अंग्रेजी साहित्य विकासका लागि विभिन्न संघसंस्थामा रही काम गर्दै आइरहेको पनि पाइन्छ । यस्ता लेखकको उपन्यास ‘इकोज’ मेरो हातमा केही दिनअघि प¥यो र यसभित्र केही समय बिताउँदा मनमा लागेका कुराहरु मैले अभिव्यक्त गर्ने जमर्को गरेँ । जीवनको यथार्थ भोगाइ र सामाजिक परिपे्रक्ष्यमा लिखित ‘इकोज’ उपन्यास पढ्दा आनन्द पनि आयो । जोकोही आममान्छेले गर्न नसक्ने काम कँडेलले गरेर देखाएका छन् । मलाई लाग्छ, नेपालबाट थुप्रै अंग्रेजी पुस्तक प्रकाशन भए पनि थोरैमात्रैले चर्चा पाउँछन् । यो उपन्यास त्यसमध्ये एक हो । ‘इकोज’ एकैरातमा पढेर सकेँ मैले । पुस्तक पढेर नसकुन्जेलसम्म मैले पुस्तक बन्द गर्न सकिनँ । अंग्रेजी साहित्यको लेखन क्षेत्रमा थुप्रैथुप्रै सम्भावना बोेकेको लेखकका रुपमा पाएँ मैले उपन्यासकारलाई । उपन्यास पढ्दा कताकता मलाई आफ्नै समाजको घटना, परिवेश र विषयवस्तु झल्किएको जस्तो लाग्यो । बिलकुलै कुनै बनावटी र श्रृंगारले नसजाइकन जस्ताको तस्तै सामाजिक परिवेशलाई समाजबाट टपक्क टिपेर उपन्यासका पाना भरेका छन्, उपन्यासकारले । त्यसैले पनि उपन्यास कृति र उपन्यासकार पाठकमैत्री रुपमा प्रस्तुत भएका छन् । त्यसो त ‘इकोज’भित्र समावेश मुख्य पात्र हरिको भूमिकामा लेखक आफैँ नै हो कि जस्तो आभास पनि भयो । यस कृतिभित्र संघर्ष, वियोगान्त घटना र सामाजिक विषयवस्तुले अलि धेरै नै ठाउँ ओगटेको पाइन्छ । हुन त, कृति आफैँ कृतिकारको विचार हो । त्यसैले पनि उपन्यासका प्रमुख पात्रलाई लेखकले स्वयं आफैँ बनाएर अभ्यास गरेका होलान् र आफ्नै कतिपय व्यक्तिगत विषयवस्तुलाई प्राथमिकता दिएका होलान् जस्तो लाग्छ । कृतिकारले आफ्नो कृतिमार्फत कुनै एक निश्चित सोच र विचार सम्प्रेषण गर्ने गर्छन्, तर जब त्यस विचारलाई प्रकट गर्ने कुनै माध्यमको चयन गरिन्छ, सोही माध्यमअनुसार प्रकट गरियो भने रचनामा स्वाभाविकता आउँछ । ‘इकोज’मा यसको अभाव हुन पाएको छैन । उपन्यास मूलतः सामाजिक यथार्थको चित्रणमा केन्द्रित रहेको आभाष हुन्छ । हाम्रो समाज अनि देश र नागरिकले अझै पनि ठूलो दुःखको सामना गरिरहेका छन् । राज्यले त्यतातिर कुनै पनि गम्भीरता देखाएको छैन । उपन्यासभित्र पनि यस्तै कुराहरुलाई लिएर बुलन्द आवाज उठाइएको छ । उपन्यासभित्रको मुख्य पात्र हरिले ठूलो संघर्ष गरेको छ । त्यस्तो संघर्ष आजका कयौँ मानिसले पनि गरिरहेका छन् यहाँ । सामान्य मास्टर भएर जीवन चलाउन कति कठिनाइ हुन्छ । राज्यले सबै सुखसुविधाबबाट वञ्चित गराउँदागराउँदै पनि जीवन चलाउनै पर्ने बाध्यता छ । उक्त बाध्यता र समस्याको उचित समाधान खोज्न नसक्दा कुनैकुनै ठाउँमा बाध्यतावश नशाको सहाराले आफ्नो दुःख बिर्साउने कोसिस गर्छ, मुख्य पात्र हरि । उसलाई धेरै धैर्यवान् र शिक्षित व्यक्तिका रुपमा उभ्याएका छन् उपन्यासकारले । हरिको जीवनले हजार ठाउँमा अनेकौँ मोडहरु लिएको छ । कुनै मोडमा राम्रा र कुनै मोडमा नराम्रा व्यक्ति भेटिए पनि उसलाई माया गर्ने सीमा आफ्नै विद्यार्थी भेटिँदा पनि उसले विद्यार्थी सीमाको प्रेमलाई अपनाउन सकेन । यहाँ कृतिकारले थोरै प्रेमप्रसंग पनि जोडेको पाइन्छ । क्रमिक रुपमा ‘इकोज’लाई नियाल्दै जाँदा कृतिकारले समाजमा अझै पनि नारीले विद्यमान परिस्थितिको सामना गरेको कुरा पनि झल्काएर नारीको आवाजलाई मूलतः नउठाए पनि नारीले भोगेका पीडा र रुढीवादी संस्कारले नारीलाई चेपेर राखेको र हेपेर राखेको कुरा पनि सशक्त रुपमा देखाएका छन् भने कतै नारीले चाहेको खण्डमा समाज र विचार पनि परिवर्तन गर्न सक्छे भन्ने विषयवस्तु पनि सँगसँगै उठाइएको छ । कृतिकारले उपन्यासको मुख्य पात्र हरिकी आमालाई समाजले गरेको घृणा, तिरस्कार र रुढीवादीले ग्रसित समाजले गरेको अन्यायको पीडालाई सहेर बाँचेको पात्रको भूमिकाका रुपमा उभ्याएको पाइएको छ । यहाँनेर धार्मिक आस्थालाई जोड्न खोजिएको छ । आमाले धार्मिक विधिद्वारा हरिको जन्म दिई समाजलाई चुनौती पनि दिएकी छन् र विभिन्न व्यक्तिका सोच र दोधारे मानसिकताका बाबजुद हरि नामकरणसमेत गरिन् । वास्तवमा हाम्रो नेपाली समाज अझै पनि भित्रभित्रै रुढीवादले धेरै ग्रसित छ । यहाँ कृतिकारले धेरै समयअगाडिको विषयवस्तु समेटेर उपन्यास तयार गरे पनि अचेल २१औँ शताब्दीमा यो समस्या नदेखिएको पनि होइन । अचेल समय, विषयवस्तु, माध्यम, माग परिवर्तन भने भएको छ । हरिकी आमालाई त्यतिबेला बोस्सीको आरोप मुख नै फोरेर नलागे पनि व्यवहारमा समाजले प्रस्ट रुपमा देखाएको थियो । बच्चाको मृत्युको कारणले जन्म दिने आमालाई कति पीडा दिन्छ, तर हरिकी आमाले पाँच–पाँचवटा सन्तान गुमाउनुको पीडा सहँदा पनि बाँच्नुको महानता देख्दैन, यो कायर समाजले । अझ, बदलामा उल्टो निर्दोषलाई दोषी ठान्ने समाज आज पनि जीवितै छ जस्तो लाग्छ । म यतिबेला थोरै भावुक पनि बनेको छु । कृतिकारले मेरो मन यहाँनेर नरूवाएका पनि होइनन् । ठूलो विषयवस्तुलाई लिएर आजका सभ्य मान्छेलाई घचघच्याउन समेत पछि परेका छैनन्, लेखक । त्यसैले पनि उपन्यासकारलाई सफल मान्नुपर्छ । अर्को पाटोमा यस समाजमा नारीले संघर्ष पनि गर्न सक्छे भन्ने शिक्षा दिन कृतिकारले शीला पात्रलाई उभ्याएका छन् । हजार सपना बोकेर विदेशिएको श्रीमान्ले पैसा कमाएर पठाउला भन्ने बेलामा बाकसमा लास आउँदा शीलाको अवस्था कस्तो भयो होला, म सोच्न पनि सक्दिनँ । त्यो पीडालाई थन्काएर शीला सामाजिक कार्यमा लाग्छिन् । ग्रामीण भेगमा स्कुल खोलेर शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षा प्रदान गर्नु भनेको ठूलो महानता र धर्म हो । कृतिकार शैक्षिक पेसामा संलग्न भएकाले पनि शिक्षाको विषयलाई उपन्यासमा बुलन्द रुपमा उजागर गराएका हुन सक्छन् । यस उपन्यासमा पात्रहरुको भूमिका र विषयवस्तुलाई एकदमै मिलाएर राखिएको छ । कृतिकारको यस्तो कलालाई प्रशंसा नगरीकन सकिन्न । वास्तवमा हो, थोरै चाहना लिने मान्छे सुखी हुन्छ र धेरै चाहना लिने मान्छे दुःखी हुन्छ । हाम्रो आफ्नो चाहनाले हामीलाई नै झुलाइरहेको छ । कृतिमा यी कुराहरु पनि प्रस्ट रुपमा भल्काइएको छ । वास्तवमा मान्छेका चाहना असीमित हुन्छन्, तर पूरा गर्ने साधन र स्रोतहरु सीमित हुन्छन् । यो उपन्यासमा अर्थशास्त्रका केही सिद्धान्तलाई समेत आत्मसात् गरेको पाइएको छ । जे होस्, कृतिले पाठकको तिर्खालाई परिपूर्ति गरेको पाइन्छ र समाजलाई जुन शिक्षा र आजका युवालाई जुन परामर्शको आवश्यकता छ, त्यो आवश्यकता पनि उपन्यासका कृतिकारले यसमार्फत प्रकट गरेका छन् । दुःख नझेल्ने मान्छे कमै हुन्छन् र दुःखको परिस्थितिमा बाँच्न सक्ने मान्छे पनि कमै हुन्छन् । तर, यहाँनेर दुःख मान्छेको बाँच्ने आधारको अर्को पाटो हो भन्ने कुरालाई उजागर गरिएको छ । जीवन भनेको फूलजस्तै निर्दोष छ जस्ता भनाइहरुले मान्छेलाई बुझाउने कोसिससमेत गरिएको छ । हरि पात्रलाई जुन पीडा हुन्छ, त्यो पीडा र उसको समस्याका बाबजुद पनि ऊ बाँच्न सफल छ । त्यो सफलता भनौँ या विवशता, तर अन्तिममा आफ्नो परिवारको अन्त्येष्टि निकै दुःखदायी भएको पीडाले ऊ आफू पनि भित्रभित्रै जल्छ । उपन्यासमा नेपालको भौगोलिक वनावट र प्राकृतिक प्रकोपले आमनेपालीलाई कस्तो सजाय दिइएको छ भन्ने कुराको समेत कृतिकारले उल्लेख्य रुपमा चित्रण गरेका छन् र प्राकृतिक प्रकोपले परिवारै नास गराउँदा मुख्य पात्र हरि जीवनमा एक्लै परेको र आफ्नो परिवारको निर्जीव शरीर जलेको र बलिरहेको चिताबाट आएको आगोको तातोले उसको हृदय डढाएको अनुभवसमेत गर्दछ । त्यस्तो कहालीलाग्दो अनुभव उपन्यास लेखकले हरिका माध्यमबाट नेपालको वास्तविक कथाका रुपमा उजागर गरेका छन् । यस उपन्यासलाई लिएर बुँदागत रुपमा यसरी पनि भन्न सकिन्छ ः ‘इकोज’ समाजका लागि आवश्यक कृति हो । ‘इकोज’ जीवन परिवर्तन गर्ने स्रोत हो । ‘इकोज’ आममान्छेको बाँच्ने आधार हो । ‘इकोज’ दुःखको सामना गराउने अभिभावक हो । माथिका यी सबै विषयवस्तु अनि इकोजभित्र समावेश भएका पात्रहरुको राम्रो मेल र परिवेश, भूमिका निकै सान्दर्भिक र उचित ठहरिएको छ । उपन्यासमा केही वास्तविक जीवनको चित्रण गरिएकाले अझ रोचक बनेको छ । बिग्रिएको जिन्दगीका पाना च्यातेर फेरि सुकिलो पानाबाट जिन्दगी बिताउन प्रेरित हरि पात्र सफल व्यक्तिको पंक्तिमा उभिन सक्षम भएको छ । ‘इकोज’ उपन्यास नेपालीहरुको साँचो कथा हो । इतिहास बोधको जीवन्त गाथा हो । कसरी र कत्तिको निर्ममतापूर्वक नारीहरु, गरिबहरु सताइन्छन् भन्ने कुराको चित्रणसमेत यो उपन्यासमा पाइन्छ । जीवन्त प्रस्तुति हो, ‘इकोज’ । समाजका निम्न वर्गीय पात्रहरु र संघर्षको मैदानमा दौडन उत्रेका पात्रहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखसँगै लड्न सक्ने शक्ति, नारी, पुरूष, समानता अनि समस्याको समाधान पहिचानका लागि शङ्खघोष गर्नु प्रगतिवादी चिन्तनअन्तर्गत जीवनलाई सही मार्गमा लगेर सही पहिचान गर्न सक्ने मूल चुरो हो भने यो उपन्यास निम्न वर्गीय जीवनको उच्चतम रचना हो । यिनै दृष्टिकोणबाट आमपाठकले यसको उच्चतम मूल्याङ्कन र विश्लेषण गर्न आवश्यक ठान्दछु । ‘इकोज’भित्र केही समय बिताउँदा खासै नराम्रो पक्षको पाटो मैले देखिनँ उपन्यासमा । यो सरल छ र कृति आमपाठकले बुझ्न सक्नेछन् । अंग्रेजीमा उपन्यास कृति प्रकाशन गर्नु उपन्यासकार ईश्वर कँडेलको महानता र क्षमतालाई मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनमा यो क्षमता विश्वभरि नै फैलिन सफल रहोस् भन्ने शुभकामनासमेत यहाँ व्यक्त गर्न चाहन्छु । अझै, लेखनयात्राले सफलताको शिखर चुमोस् भन्ने कामना पनि छ ।

सल्लाह सुझावको अपेक्षा राख्दछु