Sunday, August 25, 2013

कथा : वर्गसङ्घर्ष






                             कथा : वर्गसङ्घर्ष

-लेखक रामकृष्ण पौडेल ‘अनयास’
ramkrishnap1@yahoo.com

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।
प्रभा एक्लो बाबुको आमाबिनाकी टुहुरी छोरी थिई । त्यसैले, बिचरी प्रभा एक्लै बर्बराउने गर्थी । आफ्नो छोरीलाई आफ्नो खुशीले छाडेर गएकी होइनन्, उनलाई भगवान्ले आफूसँगै बोलाएर उनी गएकी हुन् । त्यसैले आमाको होइन, दोष भगवान्को हो जसले प्रभा ३ वर्षकी हुँदा आमालाई खोस्यो । प्रभा प्रायः भन्ने गर्छे–
‘यो कस्तो अन्याय हो ? यो कस्तो सजाय हो ? यो कस्तो अत्याचार हो ? एउटा सानो बच्चासँग उसको आमा खोस्नु योभन्दा ठूलो अत्याचार अरु के हुन सक्छ !’
जब ईश्वरले नै यति ठूलो अन्याय गर्छ, तर ईश्वरलाई नै दोषी ठह¥याउने साहस कसैको हुँदैन । यसलाई भाग्यको खेल, विधिको विधान भनिन्छ । जे भए पनि भातको माड ख्वाएरै भए पनि आज १८ वर्षकी पु¥याउँछन् प्रभालाई उनका बाबुले । त्यसैले, यो १८ वर्षको कलिलो बैँस देखेर भुतुक्क हुन्छ प्रशान्त । सधैँ आफ्नो घरको कौशीबाट चिहाएर हेर्छ प्रभाका हरकुरा । सायद, घर पनि आमुन्ने–सामुन्ने भएर उसलाई धेरै सजिलो भएको छ ।
प्रशान्तको हेराइमा कता–कता स्वार्थको आभाष लुकेको थियो । वर्षौंदेखिको तिर्खाको प्यास मेट्ने जवानीको मीठो रसको खोजीमा मात्र तड्पिरहन्थ्यो । त्यसैले, आँखाअगाडि नै सुन्दरी, राम्री अनि अल्लारे र सोझी मायालुपन बोकेकी प्रभालाई के छाड्थ्यो र ! धेरै समयको पर्खाइ, हेराइ र कुराइपछि आज पाएरै छाड्यो प्रशान्तले प्रभालाई र आफ्नो मायाजालमा फसाइहाल्यो । नारी कोमल हृदयकी हुन्छे, कसैको आग्रह र भावुकतालाई किन नकार्थी र ऊ ।
ऊ पनि माया चाहन्थी । प्रभाको आँखामा प्रशान्तका लागि माया सलबलाइरहेको थियो । दुःखी र बेसहारा मान्छेको जीवन जति शून्य हुन्छ, त्यसैले पनि बाबुबाहेक अरुको मायाबाट वञ्चित थिई । अझ त्यमसा आज प्रशान्तले आफूप्रति माया दर्शाएपछि मन पग्लिएको पत्तै पाइन प्रभाले । प्रशान्तले अनेक तरहले उसको नौनीझैँ मनमा सानो आगोको झिल्को फाल्दथ्यो । नौनी नै हो, पग्लिहाल्थ्यो मन ।
प्रशान्तले प्रभालाई भन्थ्यो– ‘एउटा दुःखीको दुःखलाई कुनै अर्को दुःखीले नै बुझ्न सक्छ । मलाई पनि यस घडीमा तिम्रो जरूरत थियो र तिमी पनि आमाबिनाकी टुहुरी छोरीका रुपमा एक्लो मायाबिना भौँतारिरहेको देख्छु । अब हामी दुई जना सँगै मिलेर एकअर्काको दुःख आपसमा बाँड्नुपर्छ । आजैदेखि तिमी र म दुःख र सुख मिलेर बाँड्नुपर्छ ।’
धन–सम्पत्ति, ऐश–आराम सबै थियो, किनकि डाँडागाउँको मुखियाको छोरो यति पनि नहोस् कसरी ! मुखिया गरिब किसानको घाँटी निचोरी–निचोरी आफ्नो भण्डार भर्दथ्यो । मुखियाकी श्रीमती ठूलो छोराबुहारीसँग अमेरिका बस्ने गर्थी, त्यसैले पनि प्रशान्त बाबुको व्यवहार अनि आमासँगको बिछोडले एक्लो थियो । तर, मुखियाको छोरो नै हो, अलिअलि रगत त गइहाल्थ्यो नि । ऊ पनि गरिब किसानको तमसुकको मिति हेरेर बस्थ्यो । हुन त, बाबुले काम गराएपछि उसले पनि त गर्नैप¥यो नि ।
मुखियाले जालझेल गरी धेरै किसानको खेत आफ्नो नाममा पारेको थियो । त्योभन्दा पनि गाउँका सरकारी जग्गा उसकै नाममा थिए । चुनावमा मनग्य पैसा खर्च गथ्र्यो र आफ्नै मान्छेलाई जिताउँथ्यो । सबै उसकै थिए, प्रधानपञ्चदेखि अड्डासम्म ।
प्रभाको बाबु मुखियाको घरमा काम गर्थे र ऋण पनि मुखियाबाटै चलाउँथे । प्रभा पढाइमा पनि तेज र सुशील थिई । स्कुलमा सबैकी प्यारी साथी, प्यारी छात्रा बन्न सफल थिई अनि हरेक बाहिरी क्रियाकलापमा पनि अगाडि थिई । सधैँ खेलकुद, नाचगान आदिमा स्थान पहिलो नै ओगट्थी । स्कुलको छुट्टी र घरको कामबाट फुर्सद हुनासाथ प्रभा र प्रशान्त डाँडागाउँ तलको सुनसान, मनोरम र निकै सुन्दर अनि आकर्षक सुन्दरी मादीको छेउको खोलामा भेट्ने गर्थे । उनीहरु लुकीछिपी माया साटासाट गर्थे, धेरै सपनाहरु सजाउँथे, सुन्दर भविष्यको कल्पना गर्थे । प्रभा प्रशान्तको काखमा बसेर सारा जिन्दगी सुम्पिने भइसकेकी थिई । उसका चाहना, भावना, इच्छा सबै प्रशान्तकै भैसकेको थियो । यस्ता हरेक पल भेट्ने क्रियाकलापले निकै नजिक भएका थिए उनीहरु । नजिक हुँदाहुँदै प्रभाको यौवनको रस प्रशान्तले बिस्तारै–बिस्तारै सिध्याइसकेको थियो । उसले उत्तेजनामा संसार बिर्सेकी थिई । दिन जति ढल्दै गएको थियो, उति नै प्रभाको पेट बढ्दै गएको थियो । बिचरी आत्तिन्छे, उसको खुट्टाले जमिनसम्म टेक्न पनि गाह्रो हुँदैथियो । अनुहार फुङ्ग उडेको जस्तो देखिन्थ्यो, जस्तो कि ऊ बिरामी भएकी छे ।
यी सबै लक्षणले आफू आमा बन्ने कुरा सहजै अनुमान लगाउन सक्थी उसले । त्यसैले, आजको भेटमा प्रशान्तलाई घरको बुहारी बनाएर भित्र्याउने आग्रह गर्दछे उसले । प्रभा भन्छे– ‘नत्र, मेरो संसारमा बाँच्नका लागि कुनै ठाउँ छैन, यदि तिमीबिना मलाई एक पल पनि बाँच्न गाह्रो हुन्छ ।’ अब प्रशान्त नाजवाफ हुन्छ । अनुहारबाट पसिनाका धारा बगाउँछ उसले । प्रभाबाट पाउनु पर्ने हरेक कुरा पाइसकेको थियो, अब के नै छ र उसमा ! रित्तोसिवाय ।
त्यसैले, प्रशान्त पन्छिन पुग्छ । त्यसमा पनि पेटको बच्चा उसका लागि ठूलो चुनौती थियो । मुखियाले के बुहारी बनाई भित्र्याउला, आफ्नो घरमा काम गर्न बसेको एक मामुली हर्कनाथको छोरीलाई । त्यसैले, बाबुको शासनमा ऊ डराउँथ्यो । त्यसैले पनि प्रभालाई अपनाउने कुरामा इन्कार गर्न खोज्छ । प्रभाको विकल्प अब मर्नुसिवाय अरु केही बाँकी छैन । बिचरी रून्छे, कराउँछे, आत्तिन्छे, आफैँलाई धिक्कार्छे । भाग्य र कर्मले ठगेपछि दैवले पछ्याउँदो रहेछ । बिचरी प्रभा, प्रशान्तको खुट्टा छाड्नै मान्दिन । तर, प्रशान्त प्रभाको जिउँदो लास र पीडामा चिच्याइरहेको स्वर अनि केही आशाका नजरबाट ओझेल पर्दै प्रशान्त डाँडागाउँतिर ठडिन्छ ।
बिचरा, के मुख लिएर जाओस् घरमा । उसको हालत र अवस्था देखेर बाबु हर्कनाथ निकै आत्तिन्छ । छोरीका हरेक खुशीका लागि आफैँ बन्दगी बसेर उसको चाहना, आवश्यकता पूरा गरिदिएका थिए । आजसम्म आफैँ आमा बनेका थिए । आँखामा एक थोपा आँसु पनि देख्न नसक्ने हर्के आज छोरीको अवस्थाप्रति चासो दिँदै सोध्छन्– के भएको हो ? एकाएक हर्के छाँगाबाट खसेजस्तो हुन्छ । पूरा ब्रह्माण्ड नै हल्लिएको अनुभव गर्छ । सारा आकाश खसेर टाउकोमा थिचेको अनुभव गर्छ । सबै रहस्य पत्ता लागेपछि के गरोस् हर्के, तत्काल मुखियाको घरमा गई आफ्ना सारा कुरा बिन्ती के बिसाएको थियो, मुखिया मेघ गर्जिएझैँ गरी गर्जिन लागिहाल्यो–
‘कसको पापको भारी बोकेर मेरी बुहारी बनाउन खोज्दैछ छोरी । दुनियाँसँग जीउ बेच्दै हिँड्छे, अन्तिममा कोही पाइनस् र भिडाउने मेरो छोरालाई ? टाँसो लगाउने कुरा गर्छस् तँ ? यहाँबाट जाने भए जा, नत्र म संसारबाटै टाढा पु¥याइदिन्छु ।’
यस्ता कडा शब्दले हर्कनाथ डराउँछ, बिलौना गर्छ । प्रशान्त पनि उसकै बाबुको स्वरमा स्वर मिलाउँछ । बिचरा हर्कनाथ, के पो गरोस् ! गरिबको आफ्नो को नै पो हुन्छ र, जता गए पनि रित्तो नै हो । रूँदै न्यायका लागि प्रत्येक गाउँको ढोका ढकढक्याउन पुग्छ, तर सबैले बलेकै त आगो ताप्छन् । त्यो बिचरो गाउँको मुखियाको कमैयाको उल्टै नानाभाँती कुरा गर्दै फर्काउँछन् । यता, बाबुछोरीमाथि अन्याय र अत्याचार छ भने उता मुखिया षड्यन्त्र र जाल रच्दैछ । निकै रिस र क्रोधमा प्रशान्तलाई निकै थर्काउँछ– ‘चुनावको बेलामा मेरो अनुहारमा कालो पोत्ने गर्छस् ?’
मुखिया तत्काल आफ्ना भरौटेलाई घरमा बोलाउँछ, उसका नजिकका मान्छे काजी रामनाथ र गोविन्द पण्डित । काजी रामनाथलाई आफूले पैसा खर्च गरी–गरी चुनावमा उठाएर जिताउँथ्यो र काम लगाउँथ्यो, काम लिन्थ्यो । जालझेल, नियम कानुन उसको हातमा थियो । बेइमानीको धन्दा गथ्र्यो र उसलाई नै त्यसमा फसाउँथ्यो मुखिया । काजी रामनाथ नेताले बोलेपछि कसको मुख चल्ने । गोविन्द पण्डित गाउँका सम्पूर्ण मान्छेका एक–एक रिपोर्ट राख्दथ्यो र नानाभाँती कुरा लगाउन निकै चलाख थियो । गाउँको प्रधानपञ्च भैकन हैकम जमाउँथे ।
आज यहाँ त्यही प्रभा र हर्कनाथको विषयमा बहस छ । यी तीन जनाको त्रिपक्षीय वार्ता षड्यन्त्रका योजनाकार काजी रामनाथ भन्छ– ‘त चुनावको मुखमा यस्ता समस्यालाई पन्छाउनुपर्छ । त्यसका लागि प्रभा र हर्कनाथलाई हाम्रो बाटोबाट सिध्याउनुपर्छ ।’
होमा हो मिलाउँदै गोविन्द पण्डितले बीचैमा मुख फो¥यो– शत्रुलाई रहन दिएर हाम्रो सुखमा कहिल्यै पनि जिउँदो रहन सक्दैन । बरू, शत्रुलाई एकैचोटि स्वाहा पारिदिए सधैँको झमेलाबाट मुक्त हुन्छौँ ।’
मुखियाले सोच्दै भन्छ– ‘ठीकै छ, यसपालिको चुनाव पनि जित्नुपर्छ । यदि हारियो भने तल स्कुलको नाममा रहेको जग्गा पनि खुस्किन्छ । जितियो भने हाम्रो कब्जामा आउँछ । र, यी गाउँलेका लालपुर्जा सबै हाम्रो नाममा पार्नुपर्छ । त्यसैले, यस्ता साना झिनामसिना कुराले हाम्रो योजनामा हानि पु¥याउँछ । त्यसैले, आजै राति हर्कनाथलाई यो संसारबाट मुक्त गरिदिनुपर्छ । छोरीको कुकर्म देख्न नसकेर आत्महत्या ग¥यो भनेर मुचुल्का उठाइदिऊँ । त्यो प्रभालाई गाउँबाट भगाइदिऊँ ।’
योजनाअनुसार नै उसका भरौटे लगाएर बिचरा हर्कनाथलाई रातमै हत्या गरी बिहान आत्महत्याको अभिनय गराउँछन् र गाउँलेको अगाडि आत्महत्या नै सावित गरी हर्केलाई सदासदाका लागि बिदा दिन्छ । बिचरी प्रभा पागल हुन्छे, एकसुरे हुन्छे । दुनियाँ गाउँलेले प्रभाकै मुखमा थुक्छन् । दुनियाँलाई शरीरमा चढाएर पेटमा कसको पापलाई पाल्दैछस् ? गाउँबाट तँ गइहाल । हाम्रा छोराछोरी सबै बिगार्छे फेरि भन्दै लखेट्छन् । बिचरा, ओरालो लागेको बाच्छालाई मृगले पनि लखेट्छ भन्थे, आज प्रमाणित हुँदैछ ।
आफूले चुनाव जितेर गाउँलेको सारा जग्गा र सरकारी जग्गा कब्जा गर्नका लागि कसैलाई संसारबाट मुक्ति दिन्छन् र कसैलाई पागल बनाउँछन् । हुन त, जहानियाँ शासन गरिखान पल्केका यी पञ्चेका पूजारीहरु हुन त कतिलाई बर्बाद गर्लान् र ! अब चारैतिर क्रान्तिको चर्को ज्वाला पनि सल्केको छ । पञ्चायत व्यवस्था ढाल्नका लागि धेरैले विरोधका स्वरहरु चर्काउन थालेका पनि छन् ।
हर्कनाथ र प्रभामाथि भएको अन्यायका कारण पक्कै एक दिन ठूलै दशा लाग्नेछ । बिचरी प्रभा ! अबोध र अबला, कसले सुन्छ र उसका कुरा ! ऊ त अन्यायमा पिल्सिएकी नारी नै त परी । यो पुरूषप्रधान समाजले यस्ता पीडित र आफन्तविहीनका कुरा सुन्न कहाँ जानेको छ र, बरू उल्टै घाउमा अझै नुनचुक छर्केला । तर यो समाजको आँखाबाट कहिल्यै न्याएको पक्षमा बोल्ने हिक्मत उठ्दैन । प्रशान्तजस्ता यौनपिपासु र नारीको चरित्र हत्या गर्न खोज्ने, स्वच्छ माया गर्ने मुटुको अन्त्य गर्ने खोज्ने नरपिचाशहरु धेरै छन्, यही समाजमा । अत्याचारी मुखिया, दमनकारी काजी रामनाथ र गोविन्द पण्डितजस्ता नरपिचाशहरुको अत्य गर्न युगको अन्त्य हुनैपर्छ, पञ्चायती व्यवस्था ढल्नैपर्छ ।
आज पनि पागलझैँ गरी एक हातले माग्दै र अर्को हातले शरीरको खस्नै लागेको कपडा समाउँदै माग्दै हिँड्छे प्रभा । उसलाई रूने, माग्ने त कहिले हाँस्ने आदत भैसकेको छ, किनकि उसको दिमागले पूर्ण रुपमा काम गर्दैन । तर, दिन प्रतिदिन पेटको बच्चा यो संसारमा आउने बेला पनि नजिक भैसकेको छ । उसको पेटको आकारले गर्दा अनुमान गर्न सकिन्छ ।
त्यो डाँडा गाउँभन्दा केही माथि ढकाल गाउँको सानो मन्दिरमा आफ्नो पीडा खपेर रूँदै रात कटाउँछे प्रभा । बिचरा ! उसको रूवाइ, पीडा र दर्द देखेर त्यस मन्दिरका पूजारी सधैँ खानेकुरा दिन्थे । आफूलाई खान मागेर ल्याएको दूध प्रभालाई दिन्थे पूजारी । कहिलेकाहीँ सुर पाउँदा पण्डितलाई सबै व्यथा सुनाउँथी । आफ्नो जीवनमा घटेका सारा यथार्थ भन्थी, बिचरी प्रभा । पूजारीले के नै गर्न सक्थे र, सुन्थे अनि आफू पनि मलिन हुन्थे ।
प्रभाले आफूले संसार त्यागेर एउटा छोराको जन्म दिई । त्यसै दिनको भोलिपल्ट बिहानीपख त्यस ढकाल गाउँका मान्छेले प्रभाको मृत शरीरलाई त्यहीँ नजिकको बाङ्गे पीपलको फेद रहेको बगरमा सनाखत गरिदिन्छन् । तर, त्यो बच्चालाई कसैले आँट गर्दैन पाल्न । बिचरा पूजारी ! जसरी हर्कनाथले प्रभालाई पालेको थियो, त्यसरी नै पाल्छन् बच्चालाई । आफ्नो गाँस काटेर माग्दै भए पनि पेट भराउँथे । नाम पनि कानुन राखिदिएका थिए, ताकि भोलि ती राक्षससँग लडेर आफ्नो अधिकार, हक पाउन सकोस् अनि पञ्चायतको जञ्जीरबाट यो देशलाई मुक्ति दिलाउन सफल होस्
पण्डितले दिन प्रतिदिन बच्चालाई कथा, प्रवचन, देश, राज्यका हरेक कहानी बताउँदै हुर्काउँछन्, बढाउँछन् । उसको आमा र बाबुमाथिको चिथोमिचो र आमा अनि हजुरबाप्रतिको मुखिया, काजी, पण्डितजस्ता अपराधीसँग लड्न दह्रो र बलियो मुटु बनाउन कानुनलाई हौसला दिन्छन् ।
पण्डित भन्छन्– ‘समाजमा, देशमा क्रान्तिको राँको बालेर ती हत्याराहरुलाई त्यही क्रान्तिको आगोमा जलाउनुपर्छ र देशलाई मुक्ति दिलाउनुपर्छ, तबमात्र तिम्रो आमा र हजुरबाबाको आत्माले शान्ति पाउने छ ।’
कानुन अन्यायको विरूद्धमा आवाज निकाल्न सक्ने भैसकेको थियो । पण्डितले दुःखले हुर्काउँदै देशलाई मुक्ति दिलाउने एक कर्मठ युवालाई ठूलो बनाइसकेका थिए ।
त्यही डाँडागाउँमा पढाउँदै छ आज कानुन । क्रान्तिको आगो फुक्न डाँडागाउँमा सामाजिक परिचायकजस्तो बनेर गएको थियो ऊ । क्रान्तिको आगो हातमा बोकेर बिस्तारै गाउँलेको पक्षमा बोल्दै जान्थ्यो र सबै गाउँलेले त्यस्तो भावनाको कदर गर्थे । भित्रभित्र गाउँको अत्याचार, अन्यायको विरूद्धमा लड्न र बोल्न हौसला दिँदै हिँड्थ्यो । कतिले त कानुनको साथ दिए भने कति कानुनकै विरूद्धमा उल्टै विद्रोह गर्दथे ।
ती मुखिया, काजी, रामनाथ, गोविन्द पण्डितका भरौटे थिए । उनीहरुको वृद्ध अवस्था भए पनि उनीहरुको व्यवहार उही अत्याचार गर्ने नै थियो । कति प्रभाहरुको चरित्रलाई हत्या गरे, कति हर्कनाथहरु अकालमै मर्नुप¥यो । उनीहरुको दमन आज पनि ठूलो जरो गाडेर बसेका छ ।
यस समयमा प्रशान्त गाउँको मुखिया भैसकेको थियो । उसको व्यवहार पनि उही आफ्नै बाबुको जस्तै थियो । कानुन सबै गाउँलेका घरघरमा साँझ–बिहान पुग्थ्यो र उही दमन, अत्याचार र पञ्चायती व्यवस्थाले दिएको अन्यायको कुरा उठाउँथ्यो ।
समय पनि कोल्टे फेर्दै जान्छ । कानुन पनि गाउँलेको मन जित्न सफल हुन्छ । काुननका विरूद्धमा ती सबै मुखियाका मान्छे एक हुन्छन् । तर, विगतका दिनहरुमा घटेका उनीहरुका कुकृत्य समाजको आँखाअगाडि नै छ । गाउँका सोझा र अबोध नारीलाई हातपात गर्ने, हर्कनाथजस्ता सोझा गरिब किसानलाई घाँटी दबाएर मार्ने, किसानको माटो लुट्ने र समाजमा हजार रुढीवादी होहल्ला फैलाएर फाइदाको खेती गर्ने त्यस्ता दमनकारी, हत्यारा, लुटेरा, बलात्कारीहरु पञ्चे युगका आदर्श बनेका थिए । यही आदर्शका कारण मुखियाको युगले जरा गाडेको थियो । आफ्नो युगको अस्तित्वका लागि भए पनि काजी, गोविन्द पण्डित, मुखिया यी आदर्शसँगै आज हौसेका हुन् । उनीहरुको आदर्शलाई आगामी दिनमा पनि जीवित राख्न कयौँ हर्कनाथहरु मर्नुपर्छ । कयौँ प्रभाहरु बलात्कृत हुनुपर्छ । कयौँ किसानको माटो खोसिनुपर्छ । यी अमानवीय क्रियाकलापहरु नै उनीहरुको बाँच्ने आधार हो ।
तर, कानुनले सबै कुरालाई नाङ्गेझार पार्दछ । उनीहरुको अस्तित्वको अन्त्य गर्न विद्रोहको राँको बाल्दछ । चारैतिरबाट दमन र अत्याचारका विरूद्धमा चर्को स्वरसँगै विद्रोहको राँको बलिसकेको छ । त्यो आगोको रापले भतभती पोल्न थाल्छ, ती अत्याचारीहरुलाई । अन्त्यमा, जरा गाडेर बसेको आफ्नो शासनसत्ता पञ्चायतको यात्राबाट आफ्नो मुख र मुठीमात्र लिएर गुहार–गुहार गर्छ ।
उनीहरुका निम्ति वर्तमानमा महाखडेरी सिर्जना भएको छ । हार र पराजयको वर्तमानले उनीहरुलाई भतभती पोल्न थाल्छ । कानुन आज उनीहरुको कात्रोका रुपमा भविष्य भनेर आएको छ । सबै गरिबहरुले मुक्तिको लामो स्वास फेर्छन् । सबैले आफ्नो माटोमा आज पसिना बगाउन पाउँछन् । कानुनले आफ्नो युद्ध जितेरै छाड्छ । त्यो युगको अन्त्यपछि आजको युगको सुरूवात गराउँछ ।

 साभार चितवनपोस्ट

चर्चा परिचर्चा कार्यक्रम

हरेक हप्ताको आईतबार बिहान १० बजे रेडियो अर्पण बाट प्रासरण हुने कार्यक्रम "मेरो रचना " मा मिति: २०७०/5/9 गते चितवनका गजलकार रामकृष्ण पौडेल "अनयास" र फुच्ची जमुना सँग दिपेन्द्र जी ले गर्नु भएको भलाकुसारी जस्ताको त्यस्तै अनि नेपाली गज़ल ईतिहाँसमा नौलो क्रीती सवाल जबाफ गजल संग्रह धमिलिएका डोबहरुको चर्चा परिचर्चा कार्यक्रम सुन्न नभुल्नु होला

Monday, August 19, 2013

कार्यक्रम गजलका थुँगाहरु~१२

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु"  (गाईजात्रा विशेष)  
नमस्कार साथीहरु, आज मिति २०७०।5।4 गते मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।


Download Here :- Click Here

Saturday, August 17, 2013

कोही नरोउन कसैका नहोस मलिन चेहेरा

रामकृष्ण पौडेल ''अनायास''

पलपल रुवाएर छाड्नु भन्दा मारी जाउ
मारेर नै मूर्त शारीर चिता माथि सारी जाउ

सारा शारीर खरानी भै अस्तु पनि बगाईदिनु
बगाएर जादा खेरि तेर्हौ तिथि बारी जाउ

तड्पीएर तिम्रो फेरि छायाँ बनि घुम्छु होला
त्यसै कारण कर्म गरि मेरो आत्मा तारी जाउ

कोही नरोउन कसैका नहोस मलिन चेहेरा
तिमि जादा अन्तिम पल्ट आसु झारी जाउ

तिम्लाई लिन सौभाग्य र पन्चे बाजा डोली बोकी
आईपुगेका होलान् जन्ती छिट्टै तिमि पारी जाउ

गजलकुञ्ज

तोडेर बन्धन पराई सग सुहाई छाड्यौ नि

गजल

मायाको बदला आँसुमा तिम्ले डुवाई छाड्यौ नि
भुलमा परे सजाय दिदै   रुवाई छाड्यौ नि

विश्वास गरि मुटु नै दिए मेटाउदै चाहना
काखमा राखी मलाई बिस खुवाई छाड्यौ नि

यो देह मेरो जलेर अब खरानी हुदैछ
त्यो झुटोमाया देखाउन आँसु चुहाई छाड्यौ नि

हे प्रभू तिमीलाई दुखले अब आत्तिन नपरोस्
तोडेर बन्धन पराई सग सुहाई छाड्यौ नि

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,चितवन —

जितको आज बधाई ठान्यौ

gajal

हिजो तिम्रै मुटु बने आज पराई ठान्यौ
घात आफुगरि उल्टै दोशि मलाई ठान्यौ

संसार मा सबै भन्दा बादी माया मैले दिदा
उसैलाई दिलमा राखी आफ्नो सजाई ठान्यौ

मेरो जिबन तिम्रो भन्थ्यौ हिजो संगै हुदा
त्यो दिलबाट गलत सोची आज हटाई ठान्यौ

म रोएर तिम्रै अघि तप्प तप्प आँसु झर्दा
मेरो दुख तिम्रै जितको आज बधाई ठान्यौ

रामकृष्ण पौडेल ''अनायास''

Wednesday, August 14, 2013

मुक्तक


मुक्तक
यहाँ ढुंगा लाई पुजा गर्ने को तँति देखिन्छन
अबिर धसी पैसा चढाउने जाति देखिन्छन
कस्तो न्याय दिन्छौ स्वार्थी भएछौ भगवान
जो राम्रो होला भन्यो त्यहि घाती देखिन्छन


यहाँ ढुंगा लाई पुजा गर्ने को तँति देखिन्छन
अबिर धसी पैसा चढाउने जाति देखिन्छन
कस्तो न्याय दिन्छौ स्वार्थी भएछौ भगवान
जो राम्रो होला भन्यो त्यहि घाती देखिन्छन


रामकृष्ण

Monday, August 12, 2013

कथा– निलो साइकल





कथा– निलो साइकल


रामकृष्ण पौडेल ''अनायास''

समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्नु फेरी बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु जाँडियाँ पो परेछ रोकेर व्यर्थै निउपो खोज्न थाल्छ म सुरुक्क फेरी फर्कन्छु घडी हेरेको ९ बजेर २७ मिनेट भएको रहेछ । २०६० सालमा के को मोवाइल लिन पाइन्थ्यो नत्र फोन हजार चोटी हान्थे होला अब एसएलसी आउन जम्मा ५ दिन बाँकी छ । आज मेरो घरमा नौ दिन पुग्थ्यो प्रतिभा बस्ने गरी आउन थालेको हामी रात अबेरसम्म पढ्थ्यौँ, अनि निन्द्राले अतिनै आँखा हेर्न नदिए म जहाँ पढ्थे त्यही निदाउँथ्ये प्रतिभा मेरी वहिनीसँगै सुत्थीन् म गणितमा जान्ने थिए प्रतिभा अँग्रेजीमा धेरै अगाडि थिइन् । हामी एक अर्कालाई पढाउँथ्यौँ पढ्थ्यौँ ट्यूसन पनि सँगै पढ्थ्यौँ । कक्षा कोठा पनि एउटै थियो । चारवटा सेक्सन भए पनि, स्कूल जाँदा मन्दिरको चोकमा भेट हुन्यौँ र छट्टीन्थ्यौँ पनि । यो क्रम पनि झण्डै दुई वर्ष चल्यो, तर रातीसँगै पढ्न लागेको धेरै समय भएको थियो । आज मेरो घरमा साइकलको घण्टी बजेन किनकि प्रतिभा खाना खाएर सधै आठ बजे मेरो घरको आगनमा सानो निलो साइकल लिएर आइ पुग्थिन् र घण्टी बजाउँथिन। म हत्तपत्त साइकल राखिदन कुद्थे, आमाले प्रतिभा आएको देखर दुई ओटा गिलासमा दुध बोकेर आउनुहुथ्यो । विचारमा आमा आज एउटा गिलासको दुध त्यसै फर्काउनु भयो । कतै विरामी पो परिन् कि त आउनु पर्ने हो भन्दै जानु भयो ।

सम्बन्ध पनि त्यति धेरै प्रगाढ भै सकेछ आज बल्ल थाहा । भयो यति गहीरामइमा यति गहिराइमा पर्दा पनि पत्तै भएनछ । मुटु त लगभग एउटै भै सकेछ खै कहिले यसरी गाँसिएछ थाहै भएन । अव त सास फेर्न नै अप्ठ्यारो भै सक्यो मणि हराएको नागको झै एकै ठाउँमा फन्को कतिमारे कति मेरो सम्पूर्ण परिवारको सदस्यको मन पनि जितिसकेकी थिइन् उनले । सायद लाग्छ । उनलाई पनि सामान्य नै लाग्थ्यो मेरो घर अनि परिवार र मेरो घर परिवारले पनि समान्य नै मान्थ्यो । त्यसैले होला एक दिन त त्यस्तै परेर राती साँडे नौ (९ः३०) बजेतिर शंकरलाई लिन पठाएको थिए ऊ पनि हाम्रो आत्मीयता देखेर छक्क पथ्र्याे । मेरो तड्पाइ देखेर साइकल कुदाई हाल्थ्यो प्रतिभाको घरतिर अनि पछाडी राखेर ल्याई हाल्थ्यो । सायद घर पनि नजिक नै थियो । पढाइमा ठ्याक्कै शून्य नै थियो । कसो कसो १० मा पुग्यो ए.एल.सी. त विचराको फलामकै ढोका थियो केही क्निको करले गर्दा पनि मेरो कुरा काट्दैनथ्यो । राति निरन्तर दिदैन थियो कहिलेकाँही आइ पुग्थ्यो । आज त किन आउँथ्यो र ऊँ पनि मलई मर्का परेको बेलामा फकाउने बेला मात्र आउँथ्यो नि । दुई वर्ष वितेको पत्तै भएन, तर त्यो मेरा लागि एक वर्ष भन्दा पनि लामो बनेको थियो । माया र प्रेममा निकै तड्पिएर पागल बनेका कथा सुनको थिएँ तर वास्तवमा आज आँफैमा अनुभूति हुँदैन । जाउँ भने राति ११ बजेको छ २०६० सालको चैत्र ५ गते मेरो कालो रात होला । बाहिर आर्मीहरुको गस्ती पनि शुरु भए जस्तो छ । बुटको आवाज सुन्छु, हत्तपत्त झ्याल बन्द गर्छु अनि स्वास पनि भित्रभित्र फेर्छु। द्वन्द पनि निकै चर्केको थियो । झ्यालबाट नै गोली छिर्ने होकि भन्ने डर कहिलेकाहीँ त विनासित्ति बस्तीका मान्छेलाई निन्द्रबाटै उठाएर लैजान्थे, विचारा कति फर्किए कति बेपत्ता । अझ त्यो भन्दा पनि मेरो घरमा अर्का आर्मी पक्षका विद्रोहीहरु त उनकै घर झै गरी थर्काई थर्काई खाने, बस्ने सुत्ने गथ्र्ये, त्यतिबेला दिएको दुःखका कारणले अचेल त मुखमा हेर्न पनि मन लाग्दैन । होस् आफ्नो मनमा राँको बलेको थियो ।
विहान पो भएछ कतिबेला निदाएँ पत्तै भएन । हेर निधारमा कलमको विर्काेको डाम उठेपछि पो दुख्न थाल्यो त । केको मुख धुने उठेर नाग मणि खोज्न कुदेझैँ गरी म पनि बुझ्न हानिन्छु प्रतिभाको घरमा । धारामा प्रतिभाकी भाउजु पनि पानी भर्दै थिइन्, बाबु किन आउनु भयो यति विहान तपाईं ? अनि प्रतिभा खोइ त ? म झसंङ्ग हुन्छु पूरा वर्माण्ड नै पर्लय भएजस्तो सारा आकाश खसेजस्तो हुन्छ । थाहा भयो प्रतिभा हिजो राति अपहरणमा परिछन् । घरकाले त पढ्न गएकी छोरी केको अपहरण राति सोच्ने कुरै भएन र हल्ला खल्ला मच्चियो, निकै मान्छेको भीड देखिन थाल्यो विचरा प्रतिभाको आमाको त आधा होस गुमी सक्यो, त्यो भन्दा त मेरो नै होस गुमिसक्यो । पत्तो छैन कुन पक्षले लगेको हो । सधै हतियार बोकेर सिकार गर्ने शिकारीलाई के थाहा घर, परिवार ममता अनि आत्मीयता वास्तवमा उनीहरुको आत्ममा राक्षसले बास गरेको हुन्छ होला र त निर्दाेश अवोधलाई बेपत्ता पारी निर्मम यातना दिन्छन् । सुन्छु कतिले त आफ्नो राक्षसी यौन प्यास मेटेर चरम यातना दिन्छन् नारीलाई । अन्तिममा उसको सारा शक्ति र पूरै अस्तित्व मेटेर धर्तीबाट विदा दिइन्छ । त्यतिबेला पूरै शक्ति पलाए झै हुन्छ । जसले लगेको हो त्यसैलाई मेटाइ दिन्छु, बरु आँफै मेटिन किन नपरोस् ।
धेरै मान्छेको धेरै आउँछन्, कतिले त आश मेट्न भन्छन् त कतिले फर्किने झिने आसा देखाउँछन् । विभिन्न कुराहरु सुन्दा सुन्दै म आँफै घुमेको हो या यो पृथ्वी नै घुमेको हो पत्तै पाउँदिन । राति खाना खाएर घरबाट हिँडेकि प्रतिभा निलो सानो साइकलसँगै अपहरणमा
परिछन् । मेरो मनमा हजारौँ तर्क वितर्कहरु उठ्न थाल्छन्, के गरेका होलान् र के गर्दै छन् होला ? त्यसै विचमा क्षितिज पारी बाटोमा सानो आकृति देखा पर्दछ । आकृति बाटो हुँदै नजिक नजिक आइ पुग्छ । त्यो आकृति पक्कै लाग्छ मलाइ बास्तमा निलो साइकलमा प्रतिभा नै आएकी रहिछन् । म त एक्कासी उफ्रिएँ खुशीको सीमा रहेन ममा । सबै मान्छेहरु मुखामुख गर्न लागे। कतिले मृत्युको मुखबाट पनि फर्किइ कतिले त कति जनाको इच्छा मेटाएर आइ, जे जस्तो होस् प्रतिभा आउनुमा नै मेरो लागि ठूलो थियो । बेलिविस्तार लगाउन लागिन् थाहा भयो द्वन्द्वकाल भएकाले होला राति एक्लै हिँडेकाले झण्डै सुरक्षाकर्मीले सोधपुछका लागि इज्जतका साथ लगेको रहेछ र विहानै छाडि दिएछ । मेरो मुटुले विस्तारै रक्तसञ्चारमा सुचारु रुप दिन थाल्यो । नसाहरु बल्ल चलबलाउन थाल्छन् एक हिसाबले त मेरो होस नै गुमि सकेको थियो । स्थिति सबै सामान्य बन्दै जान्छ ।
त्यसपछि मेरो घरमा राती आउनका लागि अनुमतिमा ठूलै तगारो आउँछ परिवारबाट । तर प्रतिभा के मान्थिन जिद्धि थिइन्, फेरी उही शंकरको काम आइ प¥यो बेलुका सधैँ ल्याउने । हुन त एस.एल.सी. सम्म मात्रै हो भन्थ्यो । म पनि शंकरको लागि रातभरी चिट बनाइदिन्थेँ नि ! ऊ सुत्न पाउँथ्यो र बिहान उसको लागि चिट तयार हुन्थ्यो । परीक्षामा चिट चोर्न माहिर थियो । मख्ख पनि पथ्र्याे किन कि मैले बनाएको चिटबाट लगभग धेरै पथ्र्याे । भोलीबाट एस.एल.सी. शुरु हामीले परीक्षा पनि दियौँ, अन्तिम दिन परीक्षा सकेर आउँदै थियौँ बाटोमा । कालै लटरम्मै काफल पाकेको देख्यौँ, एक हिसाबले काफलकै खेति थियो त्यहाँ । म प्रतिभा, शंकर, मुना, विजया, लक्ष्मी, गोपाल सबै काफल घारी भित्र पस्यौँ त्यहाँ गएर काफल खान्थ्यौँ र एक अर्काले काफल टिप्दै हान्थ्यौँ, काफल निचथ्र्याै र कपडा भरी त्यसको रस हालिदिन्थ्यौँ । अझ त प्रतिभाको ड्रेसको सट देखिएकै थिएन । जिउँमा पनि हालिदिएँ कता कता भिज्यो पत्तै भएन काफलको रसले । आज पनि हेर्छु त्यो सट उनले पनि भिजाइ दिएकि थिइन् मेरो सट काफलको रसले । हाम्रो भोक, तीर्खा र सारा सन्सार एक अर्काको स्पर्श मायाले विर्सिएका थियौँ । हामी आफैमा हराइरहेका थियौँ त्यो घना काफल घारी भित्र ।
घर फर्किएपछि त्यस दिन त्यसै वित्यो । एस.एल.सी. सकिएकाले सन्सार जितेजस्तो लाग्थ्यो । समय विस्तारै क्रमिक रुपमा अगाडि बढ्दै थियो । समयसँगै हाम्रो माया पनि अगाडि बढ्दै थियो प्राय भेट्थ्यौँ, कहिले मन्दिर जान्थ्यौँ कहिले बजार । म कम्प्युटर सिक्न शुरु गरेँ भरतपुरमा । प्रतिभा पनि घरमा अंग्रेजी भाषा सिक्ने बाहना पारेर मलाई भेट्न सँधै आउँथिन् । कता कता डर पनि लाग्थ्यो । सँगै हिड्दा कुरा काट्ने पो हुन् कि, जे होस् कुनै प्रवाह छैन । हामी आफ्नो दिनहरु शुन्दर र स्मरणीय बनाउँदै मायाको पालुवा जलमल गर्दै अगाडि बढिरहेका थियौँ, सबैले हाम्रो माया माथि आँखा पनि उत्तिकै गाडेका थिए । हामी मा माया, प्रेम, मिलन त कहिले रीस एक अर्कामा साटासाट गथ्र्यौँ दिनहरु बितेका पत्तै पाएनौँ । एस.एल.सी.को नतिजा प्रकाशित भयो । हामी सबै पास पनि भयौँ । म प्राविधिक शिक्षा स्वास्थ्य क्षेत्रतिर प्रवेशका लागि तयारी भएँ, उनी शिक्षा शास्त्र तिर । हाम्रो पढाइको क्षेत्र भने अलग हुँदा समय पनि हामीबाट धेरै अलग भएको छ । म सदरमुकाम पढ्न जान्थे, उनी गाउँकै प्लस टु मा अध्ययन गर्थिन् । हाम्रो अध्ययनकै कारणले विवस भएर हामी छुट्नि बाध्य रह्यौँ । हामी एक अर्का बिना बाँच्नै नसक्ने जस्ता भएका थियौँ । गाउँ, डोल, छिमेक, साथिभाइ हाम्रो सम्बन्ध बारे सबै परिचित थिए । हामी आआफ्नो पढाइमा पनि उत्तिकै मन लगाएका थियौँ । त्यसै क्रममा मेरो समय पनि व्यस्त हुँदै गयो, भेट्न क्रम पनि विस्तारै कम हुँदै जान थाल्यो, दिनभरीको कलेज, पढाइ, थकाइ, साँझ पर्नासाथ भुसुक्कै निदाइ हाल्थ्एँ । विहान उठ्न साथ उही क्रम मेरो हस्पिटलमा ड्युटि, कलेज, परीक्षा त्यस्तै त हो हाम्रो सम्बन्धको बाधक भनेको । त्यही पनि माया त काहाँ कम हुन्थ्यो र विचारा प्रतिभा आफ्ना सपनाहरु भित्रभित्रै सजाउँथिन् होला मसँगको साथ पछि आफ्नो भविष्यको योजना वनाएकी थिइन् होला । मान्छेको सोचाइ, विचार र बुझाइ त हो कहिले काहीँ त चुकि हाल्थ्यो नि । त्यसै क्रममा म पनि विस्तारै दुब्लाउँदै गए । विस्तारै विस्तारै रोगले च्याप्दै गयो । शुरु शुरुमा त त्यति ख्याल नै भएन । समय, खाना र व्यस्तताले गर्दा कमजोरीको अनुभव भए जस्तो लाग्यो । त्यसै क्रममा कलेजले प्रयोगात्मक अभ्यासका लागि पठाएकै अस्पतालमा जाँच गराएँ । थाहा भयो मलाई त मैले नै काम गर्ने अस्पताल, ल्याव,विरामी अन्य केही बाट टि.वि ९त्गदभच ऋयिकभक० सरेको रहेछ । म टि.वि.को विरामी भएको कुरा थाहा पाउँदा म आफै छायाँबाट खसेजस्तो भएँ । हुन त औषधिले निको हुन्छ भन्ने झिनो आशा त थियो, जे जस्तो भए पनि रोग रोग्नै हो पीडा त भइहाल्थ्यो । घर परिवार,प्रतिभा सबैलाई थाहा भयो । औषधीपनि शुरु गरेँ उक्त क्रममा दुब्लो, कालो, ख्याउटे, खोकिमात्र रहने, बेला बेला ज्वरोले च्याप्थ्यो, साँच्चिकै यस्ता कारणले प्रतिभा मप्रति विस्तारै टाढा हुँदै गएको अनुभूति पनि गर्दै गएको छु र राम्री थिइन् । धेरैले मन पनि पराउँथे, सबैसँग मिल्थिन । त्यसक्रममा मेरो अवस्था, स्थिति र विरामी पना प्रतिभाको व्यवहारले झन् झन् थाला नै परेँ । समय पनि कति निष्ठुरी हुँदै रहेछ । हिजो हामीलाई नजिक बनाउने समय आज छुटाउन पनि सक्दो रहेछ । आफ्नो रोग भन्दा प्रतिभा अरुसँग सम्बन्ध बढाएको जानकारीले मानसिक रुपमै धेरै ग्रसित बन्न पुगेँ । मलाई यसक्रममा लामो समयसम्म दुवैतिरको रोगले विस्तारामै सुतायो । जति जति म घरपरिवार, अस्पताल मेरो साथीको सहयोगले निको हुँदै जान्छु त्यति प्रतिभा म बाट टाढा र अर्कैसँग सम्बन्ध नजिक्याउँदै गएकी पनि थिइन् । यसको प्रमुख दोष मेरो रोग, क्षमता र शारीरिक अस्वस्थता नै थियो । हुन त दिन वित्तै गएका थिए मलाइ उनको यादले बाँच्न पनि लाग्दैनथ्यो । कस्तो स्वार्थी रहेछ उनको मन मैले त सोच्न पनि सक्दिनथे । वस्तमा नारी त कोमल हृदय भएका हुन्छन्, अरुको मर्म, भावना बुझ्न सक्ने
हुन्छन् भन्थे । त्यसैदिन देखि नारी प्रतिको विश्वास केही घटेको महशुस हुन्थ्यो म मा मलाई धेरैले सम्झाउँथे, “आज धोका दिनेले पछि पनि भन्न सकिँदैन । बरु ठिक भयो कृष्ण आज छाडी दिई कमसे कम पछि गएर त तेरो जिन्दगी तहस नहस हुँदैन नि” त्यताबाट हामी खुशी हुनु पर्छ । हुन पनि हो जस्तो लाग्यो मेरो पढाइ सुचारु गरेँ मैले मेडिकल फिल्डको पढाइ पनि पुरा पनि भयो । कहिले काहिँ यादले सताउँथ्यो । पूरानो चिनो हेथ्र्ये त्यै काफलले भिजेको सट, कहिले त रातभरी रोएर बस्थे, कस्तो अभागी रहेछुँ माया पनि गर्न नपाउँने मैले । उनी बसेको कुर्चि टेबुल, सुतेका बेडसिटहरु हेर्दै भक्कानिन्थ्े, कते प्रतिभा छन् कि भनेर तर उसलाई के थहा एउटा सच्च प्रेम के हो तर मैले गरेको छु, किनकि सँगै भएको भए यति धेरै यादमा मुटुमा गेडेको हुँदैनथ्यो होला । कुनै बेला पाएर गमाए पनि वास्तवमा पाउनु भन्दा गुमाउनुमा प्रेमको यथार्थ चित्रण छर्लंग देखिँदो रहेछ ।
म नजिकैको अस्पतालमा जागिर खान थाले यादमा डुबेर क्यौँ रातहरु त्यसै खेर गै सकेको थियो । अब जागिरले पनि व्यस्त बनायो । उता प्रतिभाको पनि उनी मलाई छाडी प्रेम गरेकै केटासँग बिहे भएछ । लगभग २ महिा पछि मात्रै थाहा पाएँ, त्यति नै बेला थाहा पाएको भए बीच बाटोमै गएर भए पनि हेरेर बस्थेँ होला नि, बेहुलीको पहिरनमा कस्ति देखिएकी रहिछन् ? त्यो अवसरबाट पनि वञ्चित भएँ । जे जस्तो भए पनि कुनै बेला खाने गास र बास एउटै थियो नि हाम्रो तर माया कहिल्यै मर्दाे रहेनछ ।
समय,दिन यादहरु टाढा पुगे, जागिरको पनि ४ वर्ष पार गरेँ । एक दिन अचानक प्रतिभा मैले काम गर्ने अस्पतालको बेडमा सुतिरहेको देखेँ । रातो विहेको पहिरन त देख्न पाइन तर आज सेतो पहिरनमा अस्पतालको बेडमा देख्दा आधा आकाश खसेर शरीरि थिचेको अनुभव पाएँ मैले । उनलाई सोधेँ तर उनी कोल्टे फर्केर रुँदै भक्कानिँदै मुख छोपिन् । उसको दाईबाट थाहा पाएँ प्रतिभाको श्रीमान् एच. आइ.भी. भएर मृत्यु भएको रहेछ र प्रतिभालाई पनि ऊ बाटै सरेकाले एच.आइ.भि. संक्रमित भएकि रहेछिन् । त्यसैले गर्दा विरामी परेर आज सेतो कपडामा एच. आइ. भि. संक्रमित विरामी भएर जिउँदो लास सरी लडि रहेकी छिन् । बेलैमा विदुवा अनि विरामी भाग्य र समयले कसलाई कहाँ पु¥याउँछ थाहा हुँदो रहेनछ ।

ramkrishnap1@yahoo.com

माया पनि आज आखिर बेकार हुदैछा


गजल

अदालतमा मलाई किन केरकार हुदैछ
माया पनि आज आखिर बेकार हुदैछा

सबुत प्रमाण देखा भन्छन सबै पत्र पेस गरे
मलाई दोसी भन्दै बयान फेरफार हुदैछ

मुलुकी येन ज्यान मारेको दफा कति लगाउदै
सच्चा प्रेमी थुन्नलाई जेल, बेरबार हुदैछ

बाहिर नारा जुलुस गर्दै मुद्धा ममा पल्टाउन
भन्छन ''कृष्ण'' हार्यो भने बेसार हुदैछ

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

मुक्तक


मुक्तक


पराईको सिन्दुर सिरमा टल्काउदा तिम्ले
खुशी हुन्छौ मेरो चिता सल्काउदा तिम्ले
जलाउदा आगाडी नै मुटु झिकी लैजानु है
हेर्नु हुन्छ मेरो यादले झल्काउदा तिम्ले


न त कसै संग बोल्नु नै मन छ
न त दिलकोकुरा खोल्नु नै मन छ
के गरायौ तिमीले यस्तो खोई
न त तिम्रो चिनो पोल्नुनै मन छ


यहाँ कस्को पैसाले तारा किन्न सक्छ र
जुन आकास अनि सारा किन्न सक्छ र
सबै उस्तै उस्तै हुन् गफ जतिनै गरेपनि
धनिलेनि कहाँ सुनको चारा किन्न सक्छ र ?



लौ आउछु अब तपाई कै घरमा
एकघर एकभोट हजुर हरुकै भरमा
जिताउनुहोस मालामाल बनाईदिन्छु
छानो ढलानको हुनेछ बस्नु पर्दैन खरमा


ढल्दै छ'रे यो सरकार अब
खुल्दैछ सुन्छु दरबार अब
आउने नै भए ज्ञाने दाई
बन्ने भो मेरो घरबार अब


सुन्दर फूलको बासना नि हराउछ कुनैदिन
बोटले पनि ओईलाएसि झराउछ कुनैदिन
ख्याल गर तिम्रो पनि जीबन मर्न सक्छ
आफै देक्दा आफ्नै मननि डराउछ कुनै दिन

म पनि त तिम्रै यादमा रोएरै बाँचि रा'छु
सारा सपना आँसु ले नै धोएरै बाँचि रा'छु
गल्ति तिम्रो र मेरो दुवै को थियो
तिमि बसेको यो मुटु छोएरै बाँचि रा'छु


खोइ अझैँ आइनन् उनि जलाउनलाई तैयार भाछन
धरै पर्खे मलामि ले कराउनलाई तैयार भाछन
मुटु झिकी उनकै हात मा पार्दिनु है भन्दै
जान्छु अब चितामाथि चढाउनलाई तैयार भाछन

रामकृष्ण

कार्यक्रम गजलका थुँगाहरु~११

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु" 
नमस्कार साथीहरु, आज मिति २०७०।4।29 गते  मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here:- Click Here !

सल्लाह सुझावको अपेक्षा राख्दछु