कविता
समुद्घाटन
नेताज्यू करोडौंको पजेरोमा
सवार हुँदै
वरिपरि सुरक्षार्थ तैनाथ
अंगरक्षकहरू सहित
समुद्घाटन कार्यक्रममा
रिबन काट्दै
शुभकामना दिन आउनुभो।
सयौं संयन्त्र प्रयोग पश्चात
उर्लिएको नदीमाथि
तुइन बनेको देख्दा
हर्षका आँसु चुहाउँदै
माला–खादा लगाइरहेछन्
किशोर–किशोरीहरू।
दैनिक स्कुल जान पाउने
खुसीयालीमा
बिजयोत्सव मनाएझैं
अनुहारभरि छरिएका छन्
निर्लिप्त मुस्कानहरू।
किशोर–किशोरीहरू
हर्षित छन्
पूरा हुँदै गरेका
सपनाहरूका कारणले।
बा–आमा खुसी छन्
छोरा–छोरी अब नदीमा
नबग्लान् भन्ने आशाले।
नेताज्यू
हर्षित हुनुभो
गर्दनभरि नअटाउने
मालाहरूले,
खादाहरूले,
जनताको भव्य स्वागत
र सम्मानहरूले।
चुनावी आश्वासनकै भरमा
पर्खिरहेका
निर्दोष, निश्चल मनहरू
यसरी नै रूमल्लिएका हुन्।
पक्की पुलजस्ता
आफ्ना मजबूत विश्वासहरू
समर्पण गरेर
बिजयको माला पहिराएका हुन्।
सोझा–सिधा जनतालाई
कंक्रिटको पुलको सपना देखाएर
चुनाव जितिसकेपछि
फेरि अर्को भ्रमको नदी तर्नका लागि
झिनो तुइन बोकेर,
चुनावपछि पहिलोपटक
नेताज्यू
समुद्घाटन गर्न आउनुभो।
No comments:
Post a Comment