Thursday, December 24, 2015

शिर्षक - प्रश्न

कविता
जहाँ
तिम्ले र मैले एउटै सपना देखेका थियौ
लुकामारि खेल्दा कैयौ पटक
अंगालोमा बेरिएका थियौ
जुन आकाशको बिचतिर पुग्दा पनि
हामि ताराहरू सँगै मुस्कुराउदै
यौवनका रसहरू छताछुल्ल भुईभरि छरेर
हराइ रहेका थियौ
आज पनि उत्तिकै यादहरू घुमिरहेको छ आँखामा


उत्तरतिरको चिसो हावाको वेगले
उडाएर दक्षिण पुर्याएको तिम्रो आत्मा
जोडिएको मेरो मुटुको ढुकढुकि खोज्दै
यस्तो बगरमा आइपुगेको छु
जहाँ हजारौं प्रेमिहरूका
चिस्कारहरू आइरहेका थियो
कतै पिडा अनि बिछोडका धुनसँगै
सयौ बर्ष पुराना गितहरू गाइरहेका थिए /

महसुस गर्छु
कालोबादल घोप्टीएर आफैलाइ थिचेको

शरिरको एकमुठि तातो रगत पनि
त्यहि बगर बिचको सानो नदिमा
लाग्छ बगिरहेको छ /

उत्तिकै संझिरहेको छु आज पनि
म सानो हुदा आमाले बगरका ढुंगाहरूमा
भगवान हुन्छ भन्नु भएको थियो
तर आज मैले भेटेका ढुंगाहरूमा
मात्र उनकै आकृति देखेको छु
अब प्रश्न सोध्नेछु आमालाइ
कतै उनै हुन त
ढुंगामा देखिएको भगवान ?

म सँग सयौ प्रश्नहरू लाइन बध्द छन्
अचेल म प्रश्नहरू मात्र जन्माउछु

जव पश्चिम तिर उज्यालो पार्न
यता कालो च्यादर ओढाउछ
अनि झर्ल्यास्स ब्युझन्छु
पर्दा हटाउदै झ्यालबाट चिहाएर
त्यो जुनलाइ एकनाशले हेरिरहन्छु
मलाई मेरा बा ले जुन दिन
भन्नु भएको थियो
टाढा हुनेहरूको अनुहार जुनमा भेटिन्छ भनेर
म लगातार कैयौ रातको प्रतिक्षामा
दिन मारिरहेको छु /

रामकृष्ण अनायास
कविडाँडा

Sunday, December 13, 2015

कमरेड

भूकम्पले चर्किएर बाँसको टेको लगाएको
घरभित्रको एउटा अँध्यारो कोठामा बसेर
म तिमीलाई लाल अभिवादन टक्रर्याउछु कमरेड
म मृत्युको आँगनमा बस्दा
तिमी महलको कुन कोठामा रूमलिएर
कुन पहाडियालाई भोकै राख्ने
कुन मधेशीको रगत बगाउने योजनामा
मस्त छौ ।

तिमीलाई जनताले आशाको दियो मानेर
देशको साँचों सुम्पेका थिए

तिमीलाई थाहा छैन होला मेरो गाउँ
जहाँ तिमी बसेका छौ कमरेड
त्यहाँबाट सात डाँडा पारिको
अँध्यारो गाउँमा हो ।

त्यो पनि थाहा छैन होला
हिजो भर्खर बिहेको मिति तोकिएकि
हर्के कि छोरि मनमायाको इज्जत लुटिएको थियो
माईला बा को छोरो
औषधी नपाएर पखालाले लगेको थियो
उता बिरे तेल लिन जादा
जिउदै जलेर मरेको थियो
हो कमरेड म त्यही गाउँबाट हो
तिमीले अखबारका अक्षरबाट थाहा पायौ होला
त्यो अवोध मनमायाको ईज्जत लुटिदा कराएको चिस्कार
अनि माईला बा को सन्तान प्रतिको माया

बिरेको पीडाले मलाई पोलेको छ कमरेड

म ननिदाएको कैयौ रातहरू भैसके
निदाउदा केवल सधै मेरो सपनामा
कैयौ रातहरूले
लुटिएको ईज्जत फिर्ता माग्छन्
हर्केको छोरा आफ्नो परिवार र
जीवनजल लिन सधै धाइरहन्छ ।

कमरेड तिमी चियाको चुस्किसँगै
जनताको विश्वास हरूपनि थुप्रै पिएका छौ
कुनै रात तिम्रो सपनामा पनि
यसै गरी कैयौ मनमायाहरू
आउने छन् जीवन रक्षाको भिक माग्नेछन्
मधेशीहरू गोलि र रगतको
मूल्य माग्नेछन्

बेलैमा आफ्नो कुर्चीबाट
उठेर हेर कमरेड
हिमाल,पहाड,मधेस
नत्र कैयौ नेपालीको चिस्कार
पीडा र प्रश्नहरूले
आत्महत्या गर्न बाध्य हुने छौ  ।


रामकृष्ण अनायास
कविडाँडा कैलाशनगर

Wednesday, December 9, 2015

गजल

मधेस जलाएर पहाड ढलाउदैछन् छिमेकिले
यहाँ झन्डा गाड्नेछन् अनि शासन चलाउदैछन् छिमेकिले

राष्ट्रभक्ति नेता पनि यसरि बेचिदैछन् नेपाल बाट
बुद्ध हाम्रो होइन् उनिहरू बाटै भन्न लगाउदैछन् छिमेकिले


जव सिहँदरबार बाटै देशको लिलामि गरिन्छ भने
कुनै दिन सिता हरण गरि बस्त्र जलाउदैछन् छिमेकिले

राष्ट्रीयता स्वाभिमान र शिर झुकाउदैनन् जनताले
तर काठमान्डु घूणा टेक्दा देश ढलाउदैछन् छिमेकिले /

रामकृष्ण अनायास

Thursday, November 26, 2015

ए आमा

मुक्तक 

ए आमा रोए तिम्लाइ भाग्यले छल्दा
चिता माथी तिमी बसि भत्भती जल्दा
दैबले नि मै माथी किन अन्याय गर्यो
बेहोसी नै भए तिमी मेरै अगि ढल्दा

2)

आमा तिम्ले छोडे पछि डाकै छोडि रोए
अन्तिम क्षणमा तिमी बाट काखै छोडि रोए
तिम्रो सास चल्न बाट मन्द हुदा खेरी
तिमी बाट धडकनको चालै छोडि रोए

                                      अर्जुन आचार्य
                          बाणगङा 16 जिनुवा कपिलवस्तु
                   हाल :- बुटवल 5 रुपन्देही

Monday, September 21, 2015

कविता – मनमाया

कविता

पुर्वको लाली र घामको क्षितिजले
धर्तीलाई नचुम्दै
रातभर नसुतेर
बिहानै उठ्छे मनमाया ,

कम्मरमा पाँच फेरो पटुकी कस्दै
दुई पसर मकै र भटमास
गुन्युको टुप्पोमा बाँधेर
ठाडो उकालो लाग्छे
अपेक्षाको उचाइ र आस्थाको परिधि
भन्दा धेरै माथि
उसको मनमा
राता,पहेला,हरिया,गुलावी
हिउदे फूलहरु कहिल्यै फूलेनन्
शीरै माथि आएर पोलेका घामले
उसको मन यसरि डडालेको थियो
जसरि मरुभूमिको बालुवा तातेर धुवाले
बादल लागेझैँ,

ध्वजा फाटेको मुटुभित्र
मडारिएको त्यो कालो बादलले
आँखाबाट बर्षात गराएका
आँसुका ढिक्काहरु
बग्दा बग्दै सीमाहीन समुन्द्रमा हराउछन्

मनमाया आलिका कान्लामा
फुलेका आफ्ना सपनाहरु
गोडमेल गर्दै
मनमा खेलेका तर्क बितर्कका
शब्दहरु सुन्दै टोलाउदै बस्छे /

मनमा थुप्रै प्रश्नहरु जन्माउछे मनमाया
किन आँखा देक्दैनन् देवताहरु ?
किन मौन छन् आज ?
बिचारा ! मनमाया लाई के थाहा
उसले कहिल्यै पैसा चढाइन
मात्र फूल र अक्षता बाहेक
अचेल पैसामा बिक्ने जमाना छ
भनेर सोच्दै सोचिन मनमायाले /

बिचरा मनमाया !
अभावले पोतिएका अँध्यारा कुनाहरूमा
खरानी बुंङ बुंङ उडाउदै
चिसो चुल्होमा ढुम्रो वाट
बचेको एक मुठी स्वास खर्चेर
भुम्रो बनाउछे
अनि मनले पाकेको एक गास
पस्किन्छे थालभरि रहरहरु /

मरिसकेका थिए उतिनै बेला आशाहरु
जतिबेला उसको गाउँ हरायको थियो
जतिबेला भेडीगोठ र चौरीको बथान बगेको थियो
जतिबेला सिन्दुर र सौभाग्य खोसिएको थियो
आज
उ बाँच्ने एउटै साहास थियो
ति भेडी र चौरीको बथान
त्यो गाउँको याद
लोग्नेको भित्तामा टाँसिएको तस्विर ////


रामकृष्ण पौडेल ''अनायास ''
कविडाँडा,भरतपुर


Sunday, September 6, 2015

गजल


सायद ति ओठहरु अब मुस्कुराउने छैन 
पक्कै तिज आउछ जान्छ दिदि आउने छैन

आफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन् 
छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन

ज्यानमारा हरु खुलेआम सडकमा हिड्दा खेरि
जन्ता धिक्कार्दै भन्छन् यस्ले बाँच्न पाउने छैन

सरकार मौन बस्नुको कारण केहि हुनु पर्छ होला ! 
जे होस् मेरो माटोमा बिदेशीले झण्डा फुकाउने छैन

'सत्यको बिजय हुन्छ' उहिले भगवान् कृष्ण भन्थे
यहाँ असत्य हावी हुदा निर्धोले खुशी मनाउने छैन

रामकृष्ण पौडेल ''अनायास'' 
गजलकुञ्ज ,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु