Wednesday, February 25, 2015

सवाल

याद दिलायौ मन्दिर देखाएर पिरती साटेका कुरा
कसैलाई नभन्नु भनेकी थियौ दुवैले हात काटेका कुरा /

हिजो तिम्रो र मेरो पुतलीको बिहे गराएका थियौ
सम्झन्छु तिम्रो सिउदो बालुवाले भर्न आँटेका कुरा /

कहिले पिरतीमा दुब्थ्यौ अनि हराउथ्यौ आफै भित्र
अचेल आँखामा घुमिरहन्छ त्यति बेला मातेका कुरा /

घन्टौ पर्खिन्थ्यौ नारायणी किनारमा भेटहुदा ठुस्स पर्थ्यौ
कत्ति सम्झन्छु आज तिमीलाई फकाउन ढाँटेका कुरा /

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर

Saturday, January 10, 2015

‘इकोज’ उपन्यास : अङ्ग्रेजी साहित्यको विस्तार









रामकृष्ण पौडेल ‘अनयास’
         नेपालको अंग्रेजी साहित्यमा स्थापित हुँदै गएका कवि तथा उपन्यासकार ईश्वर कँडेलले दुई दशकभन्दा बढी अंग्रेजी शिक्षाको सेवामा समय बिताइसक्दा अत्यन्त उल्लेखनीय कार्य गरिसकेका छन्, जुन उनको जीवनको गौरव र प्राप्ति पनि हो । उनले विगतदेखि वर्तमानसम्म हुर्काउँदै ल्याएको श्रृंखला कविता, उपन्यासको सृजनकर्म नै हो भन्दा अन्यथा हुँदैन । अंग्रेजी माध्यमद्वारा कलम चलाएर अंग्रेजी साहित्यमा क्रमशः प्रभाव छोड्न सफल कवि, उपन्यासकार ईश्वर कँडेलजस्ता व्यक्तित्वलाई चितवन र अझ त्योभन्दा पनि नेपालले नै पाउनु भनेको गौरवको विषय पनि हो । चितवनको सुन्दर प्राकृतिक काखमा जन्मिएर विशेष रुपमा प्रकृतिप्रतिको मोह र रूचि राख्ने उनको ठूलो सोख हो । त्यसले पनि प्रकृतिमा भेटिएका अजीव र मनमोहक विषयवस्तुलाई टपक्क टिपेर शब्दले पाना भर्ने उनको कला, कुची र त्यसलाई अंग्रेजी भाषामार्फत ढाल्ने कुशल र बहुमुखी क्षमता उनमा रहेको कुराको पुष्टि हालसम्म उनले गरेका र हामीले देखेका उनका कार्यबाट पुष्टि हुन आउँछ । कँडेलको प्रथम कृति अंग्रेजी कविताहरुको संग्रह ‘बाया’ आएको केही समयपछि अंग्रेजी साहित्यप्रेमीमा समेत क्रमशः लोकप्रिय बन्दै गएको उपन्यास ‘इकोज’ले उनलाई सफलताको मार्गमा अग्रसर बनाउँदै लगेको देखिन्छ । ‘इकोज’ उपन्यास आफ्नो व्यक्तिगत स्वार्थमा नलेखेको अभिव्यक्ति दिँदै कँडेल भन्छन्– ‘समाजको हितका लागि हजारपल्ट मर्ने र हजारपल्ट जन्मन सक्छु ।’ साँच्चै उच्च विचारका धनी कवि, उपन्यासकार कँडेल समाजसेवामा पनि अग्रसर रहेको कुरा देखिन्छ । अंग्रेजी साहित्य विकासका लागि विभिन्न संघसंस्थामा रही काम गर्दै आइरहेको पनि पाइन्छ । यस्ता लेखकको उपन्यास ‘इकोज’ मेरो हातमा केही दिनअघि प¥यो र यसभित्र केही समय बिताउँदा मनमा लागेका कुराहरु मैले अभिव्यक्त गर्ने जमर्को गरेँ । जीवनको यथार्थ भोगाइ र सामाजिक परिपे्रक्ष्यमा लिखित ‘इकोज’ उपन्यास पढ्दा आनन्द पनि आयो । जोकोही आममान्छेले गर्न नसक्ने काम कँडेलले गरेर देखाएका छन् । मलाई लाग्छ, नेपालबाट थुप्रै अंग्रेजी पुस्तक प्रकाशन भए पनि थोरैमात्रैले चर्चा पाउँछन् । यो उपन्यास त्यसमध्ये एक हो । ‘इकोज’ एकैरातमा पढेर सकेँ मैले । पुस्तक पढेर नसकुन्जेलसम्म मैले पुस्तक बन्द गर्न सकिनँ । अंग्रेजी साहित्यको लेखन क्षेत्रमा थुप्रैथुप्रै सम्भावना बोेकेको लेखकका रुपमा पाएँ मैले उपन्यासकारलाई । उपन्यास पढ्दा कताकता मलाई आफ्नै समाजको घटना, परिवेश र विषयवस्तु झल्किएको जस्तो लाग्यो । बिलकुलै कुनै बनावटी र श्रृंगारले नसजाइकन जस्ताको तस्तै सामाजिक परिवेशलाई समाजबाट टपक्क टिपेर उपन्यासका पाना भरेका छन्, उपन्यासकारले । त्यसैले पनि उपन्यास कृति र उपन्यासकार पाठकमैत्री रुपमा प्रस्तुत भएका छन् । त्यसो त ‘इकोज’भित्र समावेश मुख्य पात्र हरिको भूमिकामा लेखक आफैँ नै हो कि जस्तो आभास पनि भयो । यस कृतिभित्र संघर्ष, वियोगान्त घटना र सामाजिक विषयवस्तुले अलि धेरै नै ठाउँ ओगटेको पाइन्छ । हुन त, कृति आफैँ कृतिकारको विचार हो । त्यसैले पनि उपन्यासका प्रमुख पात्रलाई लेखकले स्वयं आफैँ बनाएर अभ्यास गरेका होलान् र आफ्नै कतिपय व्यक्तिगत विषयवस्तुलाई प्राथमिकता दिएका होलान् जस्तो लाग्छ । कृतिकारले आफ्नो कृतिमार्फत कुनै एक निश्चित सोच र विचार सम्प्रेषण गर्ने गर्छन्, तर जब त्यस विचारलाई प्रकट गर्ने कुनै माध्यमको चयन गरिन्छ, सोही माध्यमअनुसार प्रकट गरियो भने रचनामा स्वाभाविकता आउँछ । ‘इकोज’मा यसको अभाव हुन पाएको छैन । उपन्यास मूलतः सामाजिक यथार्थको चित्रणमा केन्द्रित रहेको आभाष हुन्छ । हाम्रो समाज अनि देश र नागरिकले अझै पनि ठूलो दुःखको सामना गरिरहेका छन् । राज्यले त्यतातिर कुनै पनि गम्भीरता देखाएको छैन । उपन्यासभित्र पनि यस्तै कुराहरुलाई लिएर बुलन्द आवाज उठाइएको छ । उपन्यासभित्रको मुख्य पात्र हरिले ठूलो संघर्ष गरेको छ । त्यस्तो संघर्ष आजका कयौँ मानिसले पनि गरिरहेका छन् यहाँ । सामान्य मास्टर भएर जीवन चलाउन कति कठिनाइ हुन्छ । राज्यले सबै सुखसुविधाबबाट वञ्चित गराउँदागराउँदै पनि जीवन चलाउनै पर्ने बाध्यता छ । उक्त बाध्यता र समस्याको उचित समाधान खोज्न नसक्दा कुनैकुनै ठाउँमा बाध्यतावश नशाको सहाराले आफ्नो दुःख बिर्साउने कोसिस गर्छ, मुख्य पात्र हरि । उसलाई धेरै धैर्यवान् र शिक्षित व्यक्तिका रुपमा उभ्याएका छन् उपन्यासकारले । हरिको जीवनले हजार ठाउँमा अनेकौँ मोडहरु लिएको छ । कुनै मोडमा राम्रा र कुनै मोडमा नराम्रा व्यक्ति भेटिए पनि उसलाई माया गर्ने सीमा आफ्नै विद्यार्थी भेटिँदा पनि उसले विद्यार्थी सीमाको प्रेमलाई अपनाउन सकेन । यहाँ कृतिकारले थोरै प्रेमप्रसंग पनि जोडेको पाइन्छ । क्रमिक रुपमा ‘इकोज’लाई नियाल्दै जाँदा कृतिकारले समाजमा अझै पनि नारीले विद्यमान परिस्थितिको सामना गरेको कुरा पनि झल्काएर नारीको आवाजलाई मूलतः नउठाए पनि नारीले भोगेका पीडा र रुढीवादी संस्कारले नारीलाई चेपेर राखेको र हेपेर राखेको कुरा पनि सशक्त रुपमा देखाएका छन् भने कतै नारीले चाहेको खण्डमा समाज र विचार पनि परिवर्तन गर्न सक्छे भन्ने विषयवस्तु पनि सँगसँगै उठाइएको छ । कृतिकारले उपन्यासको मुख्य पात्र हरिकी आमालाई समाजले गरेको घृणा, तिरस्कार र रुढीवादीले ग्रसित समाजले गरेको अन्यायको पीडालाई सहेर बाँचेको पात्रको भूमिकाका रुपमा उभ्याएको पाइएको छ । यहाँनेर धार्मिक आस्थालाई जोड्न खोजिएको छ । आमाले धार्मिक विधिद्वारा हरिको जन्म दिई समाजलाई चुनौती पनि दिएकी छन् र विभिन्न व्यक्तिका सोच र दोधारे मानसिकताका बाबजुद हरि नामकरणसमेत गरिन् । वास्तवमा हाम्रो नेपाली समाज अझै पनि भित्रभित्रै रुढीवादले धेरै ग्रसित छ । यहाँ कृतिकारले धेरै समयअगाडिको विषयवस्तु समेटेर उपन्यास तयार गरे पनि अचेल २१औँ शताब्दीमा यो समस्या नदेखिएको पनि होइन । अचेल समय, विषयवस्तु, माध्यम, माग परिवर्तन भने भएको छ । हरिकी आमालाई त्यतिबेला बोस्सीको आरोप मुख नै फोरेर नलागे पनि व्यवहारमा समाजले प्रस्ट रुपमा देखाएको थियो । बच्चाको मृत्युको कारणले जन्म दिने आमालाई कति पीडा दिन्छ, तर हरिकी आमाले पाँच–पाँचवटा सन्तान गुमाउनुको पीडा सहँदा पनि बाँच्नुको महानता देख्दैन, यो कायर समाजले । अझ, बदलामा उल्टो निर्दोषलाई दोषी ठान्ने समाज आज पनि जीवितै छ जस्तो लाग्छ । म यतिबेला थोरै भावुक पनि बनेको छु । कृतिकारले मेरो मन यहाँनेर नरूवाएका पनि होइनन् । ठूलो विषयवस्तुलाई लिएर आजका सभ्य मान्छेलाई घचघच्याउन समेत पछि परेका छैनन्, लेखक । त्यसैले पनि उपन्यासकारलाई सफल मान्नुपर्छ । अर्को पाटोमा यस समाजमा नारीले संघर्ष पनि गर्न सक्छे भन्ने शिक्षा दिन कृतिकारले शीला पात्रलाई उभ्याएका छन् । हजार सपना बोकेर विदेशिएको श्रीमान्ले पैसा कमाएर पठाउला भन्ने बेलामा बाकसमा लास आउँदा शीलाको अवस्था कस्तो भयो होला, म सोच्न पनि सक्दिनँ । त्यो पीडालाई थन्काएर शीला सामाजिक कार्यमा लाग्छिन् । ग्रामीण भेगमा स्कुल खोलेर शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षा प्रदान गर्नु भनेको ठूलो महानता र धर्म हो । कृतिकार शैक्षिक पेसामा संलग्न भएकाले पनि शिक्षाको विषयलाई उपन्यासमा बुलन्द रुपमा उजागर गराएका हुन सक्छन् । यस उपन्यासमा पात्रहरुको भूमिका र विषयवस्तुलाई एकदमै मिलाएर राखिएको छ । कृतिकारको यस्तो कलालाई प्रशंसा नगरीकन सकिन्न । वास्तवमा हो, थोरै चाहना लिने मान्छे सुखी हुन्छ र धेरै चाहना लिने मान्छे दुःखी हुन्छ । हाम्रो आफ्नो चाहनाले हामीलाई नै झुलाइरहेको छ । कृतिमा यी कुराहरु पनि प्रस्ट रुपमा भल्काइएको छ । वास्तवमा मान्छेका चाहना असीमित हुन्छन्, तर पूरा गर्ने साधन र स्रोतहरु सीमित हुन्छन् । यो उपन्यासमा अर्थशास्त्रका केही सिद्धान्तलाई समेत आत्मसात् गरेको पाइएको छ । जे होस्, कृतिले पाठकको तिर्खालाई परिपूर्ति गरेको पाइन्छ र समाजलाई जुन शिक्षा र आजका युवालाई जुन परामर्शको आवश्यकता छ, त्यो आवश्यकता पनि उपन्यासका कृतिकारले यसमार्फत प्रकट गरेका छन् । दुःख नझेल्ने मान्छे कमै हुन्छन् र दुःखको परिस्थितिमा बाँच्न सक्ने मान्छे पनि कमै हुन्छन् । तर, यहाँनेर दुःख मान्छेको बाँच्ने आधारको अर्को पाटो हो भन्ने कुरालाई उजागर गरिएको छ । जीवन भनेको फूलजस्तै निर्दोष छ जस्ता भनाइहरुले मान्छेलाई बुझाउने कोसिससमेत गरिएको छ । हरि पात्रलाई जुन पीडा हुन्छ, त्यो पीडा र उसको समस्याका बाबजुद पनि ऊ बाँच्न सफल छ । त्यो सफलता भनौँ या विवशता, तर अन्तिममा आफ्नो परिवारको अन्त्येष्टि निकै दुःखदायी भएको पीडाले ऊ आफू पनि भित्रभित्रै जल्छ । उपन्यासमा नेपालको भौगोलिक वनावट र प्राकृतिक प्रकोपले आमनेपालीलाई कस्तो सजाय दिइएको छ भन्ने कुराको समेत कृतिकारले उल्लेख्य रुपमा चित्रण गरेका छन् र प्राकृतिक प्रकोपले परिवारै नास गराउँदा मुख्य पात्र हरि जीवनमा एक्लै परेको र आफ्नो परिवारको निर्जीव शरीर जलेको र बलिरहेको चिताबाट आएको आगोको तातोले उसको हृदय डढाएको अनुभवसमेत गर्दछ । त्यस्तो कहालीलाग्दो अनुभव उपन्यास लेखकले हरिका माध्यमबाट नेपालको वास्तविक कथाका रुपमा उजागर गरेका छन् । यस उपन्यासलाई लिएर बुँदागत रुपमा यसरी पनि भन्न सकिन्छ ः ‘इकोज’ समाजका लागि आवश्यक कृति हो । ‘इकोज’ जीवन परिवर्तन गर्ने स्रोत हो । ‘इकोज’ आममान्छेको बाँच्ने आधार हो । ‘इकोज’ दुःखको सामना गराउने अभिभावक हो । माथिका यी सबै विषयवस्तु अनि इकोजभित्र समावेश भएका पात्रहरुको राम्रो मेल र परिवेश, भूमिका निकै सान्दर्भिक र उचित ठहरिएको छ । उपन्यासमा केही वास्तविक जीवनको चित्रण गरिएकाले अझ रोचक बनेको छ । बिग्रिएको जिन्दगीका पाना च्यातेर फेरि सुकिलो पानाबाट जिन्दगी बिताउन प्रेरित हरि पात्र सफल व्यक्तिको पंक्तिमा उभिन सक्षम भएको छ । ‘इकोज’ उपन्यास नेपालीहरुको साँचो कथा हो । इतिहास बोधको जीवन्त गाथा हो । कसरी र कत्तिको निर्ममतापूर्वक नारीहरु, गरिबहरु सताइन्छन् भन्ने कुराको चित्रणसमेत यो उपन्यासमा पाइन्छ । जीवन्त प्रस्तुति हो, ‘इकोज’ । समाजका निम्न वर्गीय पात्रहरु र संघर्षको मैदानमा दौडन उत्रेका पात्रहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखसँगै लड्न सक्ने शक्ति, नारी, पुरूष, समानता अनि समस्याको समाधान पहिचानका लागि शङ्खघोष गर्नु प्रगतिवादी चिन्तनअन्तर्गत जीवनलाई सही मार्गमा लगेर सही पहिचान गर्न सक्ने मूल चुरो हो भने यो उपन्यास निम्न वर्गीय जीवनको उच्चतम रचना हो । यिनै दृष्टिकोणबाट आमपाठकले यसको उच्चतम मूल्याङ्कन र विश्लेषण गर्न आवश्यक ठान्दछु । ‘इकोज’भित्र केही समय बिताउँदा खासै नराम्रो पक्षको पाटो मैले देखिनँ उपन्यासमा । यो सरल छ र कृति आमपाठकले बुझ्न सक्नेछन् । अंग्रेजीमा उपन्यास कृति प्रकाशन गर्नु उपन्यासकार ईश्वर कँडेलको महानता र क्षमतालाई मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनमा यो क्षमता विश्वभरि नै फैलिन सफल रहोस् भन्ने शुभकामनासमेत यहाँ व्यक्त गर्न चाहन्छु । अझै, लेखनयात्राले सफलताको शिखर चुमोस् भन्ने कामना पनि छ ।

Wednesday, December 24, 2014

आँखामा सपना

आँखामा सपना बोकेर अनि रहर बोकेर 
मंन्जिल पुरा हुदैन कहिल्यै पत्थर ढोगेर

जव साहस आउछ अनि मात्र शिखर चढीन्छ
कहाँ गन्तब्यमा पुगिन्छ बारम्बार सफर सोधेर

हिजो उसले बा आमाको सपना पुरा गर्छु भन्थ्यो
आज बीच बाटो बाटै फर्किएको छ डर सोचेर

उ सधै चर्चामा आउँन खोज्छ समाचार पढेर 
नाम दाम कमाउछ अर्काको खबर चोरेर

@रामकृष्ण पौडेल 'अनायास'

Wednesday, December 17, 2014

मझेरीमा एकै छिन भलाकुसारी गर्दै


मझेरी भलाकुसारी, अंक १७ (रामकृष्ण पौडेल अनायास)


 Sun, 12/07/2014 - 20:33

स्रष्टासँग कुराकानी
मझेरी सञ्चालक


मझेरी भलाकुसारीमा स्वागत छ रामकृष्णजी ! पहिले त आफ्नो परिचय दिनुस् न!
धन्यवाद कुमार सर । मैले आफ्नो बारेमा भन्नु पर्दा आफूलाई साहित्यप्रेमी, साहित्यको बारेमा केही सिक्दै गरेको विद्यार्थी हुँ भन्न रुचाउछु । स्कुल जीवनदेखि साहित्यलाई माया गर्दै आएँ र सारिक हुदै आएँ । गाउँ समाजमा कुनै व्यक्तिको दुख समस्या देख्न नसक्ने हुनाले धेरै संघर्ष पनि गर्दै आएँ । म कहिल्यै असत्यको पछाडि लागिन । सधै सत्यलाई साथ् दिदै पनि आएको छु । हुन सक्छ मलाई त्यसैले धेरै कुराले भावुक बनाएर पनि होला फाट्ट फुट्ट साहित्यमा कलम चलाएको । आँखाले देखेका कुराहरूमा थोरै घुमाएर कलात्मक तवरले मझेरी र अन्य पत्र-पत्रिकामार्फत पाठक सामु पुर्याउन कोसिस गरेको छु ।

मैले हालसम्म गजल विधा, कविता, कथामा कलम चलाउदै आएको छु । पछिल्लो समयमा चितवनबाट पहिलो भन्नु पर्छ गजलमा सवाल-जवाफ ''धमिलिएका डोबहरू ''कृति बजारमा आएको छ पाठकले निकै रुचाइदिनु भयो खुशी पनि छु ।

स्थायी बसोबास भरतपुर -१३, कविडाँडा कैलासनगर चितवनमा जन्मिए र कविडाँडाको माहोल साहित्यमा निकै नै तातिरहेकोले मलाई त्यो माहोलले छुटाउन सकेन । त्यसैले पनि चितवनका सामाजिक र साहित्यिक बिबिध संघ-संस्था
- गजलमन्च चितवन
- कविडाँडा साहित्य समाज
- समर्पण साहित्य परिषद
- अभिब्यन्जना साहित्य प्रतिष्ठान
- हाम्रो मझेरी साहित्य परिषद,
आदिमा संलग्न छु । र बिगत ११ वर्ष अगाडिबाट आफूलाई साहित्यको महायज्ञमा पुजारीको रुपमा सरिक गराएको छु ।





यो साहित्यिक नाम "अनायास" किन रोज्नुभयो?

साहित्यिक नाम अनायास रोज्नुको कारण मेरो मस्तिष्कमा अनायासै रचनाहरू फुर्ने भएकाले जुनसुकै समयमा पनि कहिलेकाहीँ शब्दहरू फुर्ने गर्छन् । त्यसैले मैले आफ्नो नाम पछाडि अनायास राख्न रुचाएको हो ।





गजलको क्षेत्रमा जल्दोबल्दोसँग लागिरहनुभा'छ; त्यो ऊर्जा कसरी आउँछ?

वास्तवमा जल्दो बल्दोसँगभन्दा पनि साहित्यले नकारात्मक सोचलाई परिवर्तन गर्छ । त्यसैले साहित्यमा लाग्नु ठिक हो । अनि साहित्य भनेको हृदयको कलात्मक अभिव्यक्ति हो । आफूले गरेका रचनालाई बाहिर ल्याउन वा साहित्यको सम्रक्षण गर्नका निम्ति पनि हो र साहित्य क्षेत्र भनेको सकारात्मक सोचको विकास गर्ने एउटा सत्संगत् वा महायज्ञ हो । त्यसैले पनि आफू र समाज विकासका निम्ति रचना मार्फत नै केही गर्न सकिन्छ कि भनेर प्रकृतिमा भएका कुराहरू टपक्क टिपेर देश र जनताले भोगेका, अनि देश दुखेका माया प्रेम मिलन बिछोडका कुराहरू आदिलाई शब्दका मार्फत सानो क्रान्तिको थालनी गर्न खोज्दा यो क्षेत्रमा जल्दोबल्दो तरिकाले लागेको देख्न सक्नुभएको हुनसक्छ । सायद ऊर्जा कसरी आउँछ भन्ने कुरामा चाहिं यिनै बिबिध गतिबिधि, जहाँ अन्याय हुन्छ, जहाँ समस्या पर्छ, जहाँ पीडाको अनिभूति हुन्छ र खुशीको पल हुन्छ यस्तै पलहरूले नै शब्द भोर्ने ऊर्जा प्रधान गर्दछ ।





के कस्ता साहित्यिक गतिबिधिहरू गरिरहनुभएको छ?

बास्तवमा चितवन र कविडाँडा साहित्यको उर्वरभूमि हो । यहाँ साहित्यको भेल चैत बैसाखको खडेरीमा पनि उत्तिकै उर्लिरहेको हुन्छ । त्यसैले हरेक दिन हरेक हप्ता हुने विभिन्न कार्यक्रममा विशेषत आयोजकको भूमिका पनि निर्वाह गर्दै आइरहेको छु र अन्य कार्यक्रममा उपस्थिथि पनि जनाउदै आइरहेको छु । त्योभन्दा पनि हाल साहित्यमा एउटा नराम्रो बिकृति हाबी भएको छ - साहित्यमा गुट, उपगुट र राजनीतिक भातृ संगठन जस्तो बन्दै गइरहेको छ । यस्तो बिकृतिबिरुद्ध म साहित्यिक क्रान्ति पनि गरिरहेको छु । साहित्यमा पैसा भएका व्यक्ति मात्र अगाडि बढ्ने जस्तो देखिन थालेको छ । आर्थिक रुपमा कमजोर श्रष्टाका राम्रा सिर्जनाहरू अगाडि ल्याउन म भरपुर कोसिसमा छु ।

हाल बजारका महंगा होटलमा रक्सीको मातसँगै कार्यक्रम हुन्छन । सम्मान पुरुस्कार एक आपसमा साटासाट, ऐचो, पैचो गरे जस्तो गरी विभिन्न गतिबिधिहरू भैरहेको छन् । यस्ता गतिबिधि रोकेर नव-सर्जकदेखि लिएर ठुला श्रष्टासम्म पच्ने प्रकारका गतिबिधि गरी साहित्यलाई सुद्ध रुपले अगाडि बढाउन अग्रजप्रति विनम्रता गर्दै एउटा राम्रो सिर्जना र श्रष्टाको उचित मूल्यांकन गर्दै साहित्यको जगेर्ना गर्न अनूनय गरिरहेको छु अग्रजप्रति ।

पाठकहरूले कस्तो लेखकको रुपमा आफूलाई चिनून् जस्तो लाग्छ ?

पाठकले आफूलाई कस्तो रुपमा लिन्छन भन्दा पनि म आफै राम्रो पाठक बन्न सकुँ । अन्य पाठकले यो कुसल पाठक हो भनेर चिन्दा नै म सन्तुष्ट हुने थिएँ । श्रष्टा र सिर्जनाको लागि भगवान भनेको पाठक नै हो ।





मनपर्ने र प्रेरणादायक लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?

साहित्य सिर्जना, लेख, विचार, बिश्लेषण कसैको नराम्रो हुँदैन ।त्यसैले केही त केही कुरा दिइराखेको नै हुन्छ । यदि उक्त सिर्जनाबाट रस स्वाद लिन सक्यो भने सबै सिर्जना उत्कृस्ट हुन् जस्तो लाग्छ । तर आफैले चिन्न बुझ्न र स्वाद लिन जानेन भने त्यसको गुण बारे अनभिज्ञ हुन्छ । त्यो उसको लागि नराम्रो हुन्छ । त्यसैले सबै श्रष्टाका सबै लेखकका कृति रचना उत्तिकै उत्कृस्ट लाग्छ मलाई । अनि एउटा लेखकले आफ्नो लेख कृति उत्तिकै माया पनि गरेको हुन्छ । त्यसैले मैले एक दुई जना लेखकको नाम लिए भने अन्य लेखकमाथि अन्याय हुनेछ । त्यसैले मेरो प्रेरणा भनेको सबै लेखकका राम्रो सृजना र राम्रो सिर्जनाका लेखक नै हुन् ।

अबको ५-१० वर्षपछि कस्तो लेखक/साहित्यकर्मीको रुपमा आफूलाई उभ्याउन चाहनुहुन्छ ?

मैले अगाडि पनि कुरा उठाइसकेको छु र यही कुरा भगवानसँग पनि भन्छु मलाई पहिला कुसल पाठक बन्ने शक्ति प्रदान गरुन । त्यसपछि मात्र अरु कुरा सोच्ने छु । सर्बप्रथम एउटा कुशल पाठक नै बन्न सक्दैन, अध्ययन र साधना गर्न सक्दैन भने त्यो व्यक्ति कहिल्यै लेखक बन्न सक्दैन । यी कारणहरूमा म पोख्त भए भने म समाजको चित्रण गर्न सक्ने विम्बका रुपमा उभिन चाहन्छु ।





चितवन तथा नेपालभरि कस्ता साहित्यिक कार्यक्रमहरूमा सरिक भइरहनुहुन्छ ?

आफूलाई प्रेरणा मिल्ने खालका र व्यक्ति, गुट, राजनीतिक विशेष कार्यक्रम बाहेक जुन कार्यक्रमले एउटा सही साहित्य, सही रचना र स्रस्टाको सम्मान गर्छ त्यस्ता कार्यक्रममा जान रुचि लाग्छ ।

आफू नजिकका अन्य स्रष्टाहरू को हुनुहुन्छ ?

मेरो लागि टाढाको कोही पनि हुनु हुन्न मैले यति धेरै अग्रज, सहकर्मी सहपाठी श्रष्टाबाट माया पाएको छु । त्यो नै मैले साहित्य जीवनमा कमाएको सम्पति हो । त्यसैले म कसैलाई टाढाको सोच्दिन ।





इन्टर्नेट तथा मझेरी जस्ता साहित्यिक पृष्ठहरूको आवतले तपाईंको लेखलाई के-कस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँढ्नुहुन्छ कि!


विश्वलाई नै अगाडि बढाउनको निम्ति इन्टरनेटलेठुलो भूमिका खेलेको बेलामा हामीले प्रयोग गर्न जानेनौ भने हामी धेरै पछाडि पर्छौ । त्यसैले नि म प्राय इन्टरनेटमा धेरै समय बिताउछु । यदि इन्टरनेट नभइदिएको भए सायद अचेल दिन बिताउन पनि सक्दिन थिएँ होला जस्तो लाग्छ । वास्तवमा मेरो पहिलो प्रेरणाको स्रोत पनि ई पत्रिका र यसमा कार्यरत मित्रहरू नै हो । हामी जस्ता साहित्यप्रेमीका लागि उचित स्थान र उचित सम्मान दिने एउटै थलो हो र समालोचक पनि हो ईपत्रिका ।

त्योभन्दा पनि मझेरी मेरो प्रमुख माध्यम हो । मेरो नभएर नेपाल र बिदेशमा बस्नुहुने सम्पूर्ण साहित्यिक स्रस्टाको उचित सम्मान र स्थान दिन सफल एक ईपत्रिका मझेरी नै हो । मझेरी सबैको प्रेरणाको स्रोत स्रस्टाको समालोचक पनि हो । यहाँ आजसम्म ३०१३८ जना श्रष्टाको जम्काभेट छ । ती श्रष्टाको सृजनामा आफ्नो रचना कुन स्थानमा छ त्यो जान्ने अवसर प्रधान गरेको छ ।





फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?

सबैसँग नजिक हुने मौका पाएको छु, मेरो लागि अगाडि बढ्ने स्रोत बनेको छ ।

भविष्यमा केही साहित्यिक योजना छन् भने बताइदिनुस् न !

भविष्यमा साहित्यिक योजनाभन्दा पनि समयले साथदिएको खण्डमा एउटा साहित्यिक ट्रस्ट खोल्ने र आर्थिक रुपले कमजोर श्रष्टाका कृति प्रकाशन गरी उचित सम्मान दिने सोच हो । आफूले पनि कृति प्रकाशन गर्ने र साहित्यिक सस्थामा बसेर केही साहित्यका लागि टेवा पुग्ने राम्रा गतिबिधि गर्ने ।

तपाईं गत करीब चार वर्षदेखि मझेरीमा करिब १२० रचना प्रकाशित गरिसक्नुभएको छ । यी रचनाहरूलाई पुस्तको रुपमा आकार दिने बारे सोच्नुभाछ?

चितवनबाट नै पहिलो भन्नु पर्छ गजलमा सवाल जवाफ कृति ''धमिलिएका डोबहरू''प्रकाशित गरेका छौ मैले र सहकर्मी जमुनाजीले भएर । अबका दिनमा पनि एउटा कथा र कविता कृति प्रकाशित गर्ने सोच छ मेरो ।





मझेरीलाई कस्तो रुपमा हेर्नुभएको छ ? यसलाई अँझ प्रभावकारी हुन के गर्नुपर्ला ?

मझेरी सबै साहित्यकार, श्रष्टाको साझा थलो र माया प्रेम मिलन बिछोड अनि कतै मन दुखेका कुरा त कतै मुटु साटेका कुरा एक आपसमा साटासाट गर्ने हाम्रो अभिभावक बनेको छ । अँझ त झन् नव सर्जकका लागि एउटा प्रमुख भूमिका नै खेलेको छ र मझेरीलाई आझै प्रभावकारी बनाउन वर्षको एउटा साहित्य संग्रह निकाल्ने अनि जेष्ठ अग्रज स्रस्टाको सम्मान गर्दा मझेरी सबैको मन मस्तिष्कमा अमिट छाप बनी बसी राख्ने थियो ।

मझेरीमा विशेष गरी कुन लेखकहरूको रचना पढ्ने गर्नुहुन्छ ?

मझेरीका प्रत्येक पाना र विधामा डुल्ने बानी छ मेरो त्योभन्दा पनि सबैका रचना उत्तिकै उत्कृस्ट लाग्छ र सबैको रचनामा आँखा पुगेकै हुन्छ ।





पहिलेको तुलना अलि पातलो रुपमा देखिन थाल्नुभएको छ । केही विशेष कारणहरू पनि छन् कि?

विभिन्न साहित्य संघ-सस्थामा कार्यरत छु र कार्यक्रम निकै नै गर्दै आएका छौ । त्यसैले पनि त्यतातिर बढी समय दिनुपर्ने र म वैवाहिक जीवनमा पनि प्रवेश गरेँ । अनि समय बाँडिदा हजुरलाई त्यस्तो लागेको पनि हुन सक्छ । तर मझेरी हेर्ने भने छुटाउदिन ।





संसारभरि छरिएर रहनुभएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ।

निस्वार्थ भावानाले उत्प्रेरित भएर साहित्य लेखनमा लाग्नु होला । हजुरहरूका लेख रचनाको लागि नेपाली साहित्यको प्रतिनीधि मझेरी छँदैछ । रचना प्रकाशनका लागि मझेरीलाई आफ्नो सम्झेर पठाउनु होला । सही रचना र सही श्रष्टाको मूल्यांकन गर्नु होला । सधै साहित्यलाई माया गर्नु होला सक्नुहुन्छ साहित्य सिर्जना गर्नुहोला सक्नुहुन्न संरक्षण गरिदिनु होला ।





अन्त्यमा केही छ भने बताउनुहोला ।

नेपाली साहित्यका लागि मझेरीले खेलेको भूमिका निकै प्रसंशायोग्य छ र सबैलाई समेट्न सफल होस् । कुमार सरप्रति आभारी छु । अनि कविडाँडामा रहनु हुने सम्पूर्ण मेरा अग्रज, चितवनका सम्पूर्ण साहित्यकारज्यू, मेरो परिवार प्रति धेरै आभार प्रकट गर्दछु। मलाई यो क्षेत्रमा सहयोग गर्ने सम्पूर्ण मित्रलाई सम्झन चाहन्छु । साहित्यलाई सबैले माया गरिदिनु होला ।

धन्यवाद !!!!





रामकृष्ण पौडेल अनायासका रचनाहरू : यता http://www.majheri.com/taxonomy_vtn/term/2485
रामकृष्ण पौडेल अनायासका रचनाहरू (संक्षिप्त अंशसहित): यता http://www.majheri.com/taxonomy/term/2485
रामकृष्ण पौडेल अनायासको फेसबुक पेज : यता https://www.facebook.com/ramkrishna.poudel

Sunday, December 14, 2014

गजल

पार्टी फुटाएर अनि बन्दुक उठाउछु भन्दै 
सदन हल्लाएको छ कलम फुटाउछु भन्दै

गधा धोएर गाई बन्ने भए देखिन्थ्यो हेर 
गयो मसाल बोकेर सम्बन्ध टुटाउछु भन्दै

साएद आफ्नो खुट्टामा बन्चरो हान्दै छ उ
कुर्ची नपाए आफ्नै शरीर गुमाउछु भन्दै

जन्ताको मन परिवर्तन भैसक्यो उस्लाई के थाहा 
खोक्रो भाषण गर्दै थियो जनमत जुटाउछु भन्दै /

रामकृष्ण पौडेल 'अनायास'
गजलकुञ्ज

Wednesday, December 10, 2014

गजल

सरकारले कर्णालीमा नुन पठाउन सक्दैन भने
राहात मिल्दैन जन्तालाइ महंगी घटाउन सक्दैन भने

सुरक्षित छैनन् अचेल बाबु बाट छोरिहरु पनि
प्रशासन अब बन्द गर अपराध हटाउन सक्दैन भने


सिमाना मिच्दैछ छिमेकीले तमासा हेर्दैछ सरकार
के काम तेत्रा सुरक्षाकर्मी ठाउमा खटाउन सक्दैन भने

कृर्षी क्रान्ति गर्छु भन्दै ठुला भाषण गर्थे नेता
के नेता भन्नु किसानको खेतमा पानि कटाउन सक्दैन भने /

रामकृष्ण पौडेल 'अनायास'
गजलकुञ्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु