Thursday, September 11, 2014

कविता "सम्बन्ध"

सुमन लम्साल 

हामी भेटिने बेला
मैले भनेको थिएँ
म आगो छु
तिमि पानी छौ
हामीहरु कहिल्यै एक हुन सक्दैनौं

तिमीले बादलबाट झरेको
चट्यांगको झिल्को देखाउदै भनेकी थियौ
बदल्न चाह्यो भने पानी आगोमा बद्लन्छ
आगो पानीभित्रै हुन्छ

बिस्तारै तिम्रो संगतले
मलाई तिमि जस्तै बन्न मन लाग्दै गयो
सायद तिमीलाई पनि मेरो संगतले
म जस्तै बन्न मन लागेछ

अहिले आएर
हामीहरु फेरियौं
म तिमि जस्तो भएँ
तिमि म जस्तो भयौ
फेरी पनि हामीहरु एक हुन नसक्ने बन्यौं
पोखरा

बालकविता- असिना

रमेशचन्द्र घिमिरे  

डल्ला-डल्ला सेता-सेता ठूला अनि मसिना
आकाशबाट आँगनीमा बर्से हेर असिना

नूनको स्वाद छैन तर हेर्दा नूनको डल्लो
मिठाई भनी खान खोज्दा लाग्यो खल्लो-खल्लो

कपूर ठानी सुँघ्न खोजूँ बास्ना आउँदैन
सेतो थियो पग्लिएर सेतो पनि छैन

पानी नै हो हातमा राख्दा ठ्याक्क अटाउने
पानी नै हो दुख्ने गरी साह्रै ठटाउने

बादलभित्रै अड्किएको हुन्छ अति राम्रो
भो-भो नझर् तँलाई ल्याउने विचार छैन हाम्रो

हिउँको डल्लो पग्ली अहिले निस्कँदैछ पसिना
पानी जमी बन्छ भन्छन् यै त हो नि असिना ।
-भोर्लेटार, लमजुङ

गजल

निमेष निखिल

के छ दाजै हाल भनी कुनै मैतालुले सोधिन्
जान्छौ भने हिँड भनी उनै तीर्थालुले सोधिन्

जिन्दगीमा धेरैधेरै बिरक्तिएँ जब म
जप्छौ राम नाम भनी कुनै श्रद्धालुले सोधिन्

भक्कानिँदै रोइरहेँ रातभरि जब एक्लै
किन रोयौ बाबु भनी उनै दयालुले सोधिन्

जसका लागि सारा जीवन अर्पिदिएँ मैले
विवाहमा आउँछौ भनी उनै मायालुले सोधिन् ।

कविता - 'कविकुनाको सौन्दर्य '

रमेस प्रभात 

तिमि देख्न सक्छौ यतिबेला
गोधुलीमा गाई बस्तु
चरन बाट फर्केझें
झम्के साँझमा खेताला
खेतबाट फर्केझै
एकहुल कविहरु हिंडेका छन् कविकुना
काव्यात्मक सौन्दर्यको रसास्वादन गर्न /

भन्नेहरु भनुन्
कविकुना मदिरालय हो
मान्नेहरु मानुन्
कविकुना वकवास थलो हो
ठान्नेहरु ठानुन न्
त्यहाँ अराजक कविहरु आउँछन्
देसी अर्गानिक झोल पिउँछन्
र चपाउछन्
सुकुटी, भटमास र चिउरा
साथमा थप्छन्
लसुन र डल्ले खुर्सानी
उनीहरुले हामिले गरेको
कविताको सौन्दर्य
खै तिमीले देख्न सकेको ?

साँच्चै
मातेर कविता लेखिने भए
म आज यसरी मात्न चाहन्छु
फेरि सामान्य अबस्थामा
कहिल्यै फर्किन नपरोस्
फुरोस् कविता ह्वार ह्वाररी
र बढ़ारोस् मेरा कविताले
देश भित्रको बेथिति
निम्त्याओस् मेरो कविताले
सुशासन र समुन्नति
यस्तै यस्तै जपना गरेको बर्षौ भैसक्यो /

अब मैले
कविकुनाको सङ्घारबाट
फर्नु छ कविताको पुरातन परिभाषा
देखाउनु छ समकालीन कविहरुलाई
एउटा बिद्रोहको रन्को
पुर्याउनुछ सत्ताधारी सम्म
बिद्रोहको नवीन हुङ्कार
हो ,मात्नु छ
घरपालाको स्वादले
तिमी सम्म जो स्वर पुर्याउनु छ /

यतिबेला मेरो मथिङ्गलमा
फनफनी रिङ्गिरहेछ
युगीन प्रटनका प्रलयहरु
के साहित्य कसैको पेवा हो ?
के देश कसैको पुर्ख्यौली सम्पति हो ?
यदि हो नै रहेछ भने
म खोसेर लिन्छु
तिमीहरुको हातबाट
के तिमी सक्छौ
एकलौटी पर्न अवको साहित्य ?
सक्छौ सधैभरि लुकाएर राख्न ?
पोल्टा भित्रको यो देशको सत्ता ?
म हेर्न चाहन्छु
तिम्रो सामर्थ /

कविकुनाको साँघुरो टेवुल बाट
घोषणा गर्छु एउटा बिद्रोह
हेर,
म तिम्रो खोकिलामा
पड्काउँदै छु कविताको वारुद
त्यसपछि
साँच्चै देख्नेछौ कविताको शाक्ति
शीत निन्द्रा बाट
कविता जागेपछि
को निस्कन्छ थाम्ने ?
''एक युगमा एक दिन एकपटक आउँछ
उलट पुलट उलट पुलट हेरफर ल्याउछ ''
यो हस्तक्षेपकारी अभियान लाई
जीवन्त पार्नुछ
र थमाउनु छ
पछिल्ला दिनका कविहरुलाई
र बुझाउनु छ कविताको सौन्दर्य
ए सुषुप्त बसेका कवि !
के तिमी पनि आउँछौ हाम्रो साथमा ?
आउ
खाली छ एउटा मेच
कवि कुनामा !

भरतपुर ,चितवन

गजल

पुष्प अधिकारी ''अञ्जलि''

तिम्रो त हातैभरि हरिया चुरा छन्
मेरो त सपनाहरू पनि अधुरा छन् ।

अघाएको छ र त खुशी छ काठमाडौँ ,
दुखी त कठै ! यहाँ अछाम र बाजुरा छन्

रोइरहेको छ त्यो बस्ती उसैगरी अझपनि
हेर त त्यहाँ बा आमा गुमाएका टुहुरा छन्

बुहारीहरू निद्रामा छन् घरभित्र घाम आउँदा
ब्युँझिएका त बिचरा तिनै सासु ससुरा छन् ॥

सङ् संगै का साथीहरू त कहाँ कहाँ पुगिसके
उसको भने जहिले पनि बाहृ थरीका कुरा छन् ॥

दसैंको मुखमा

सुमन घिमिरे

प्रत्येक दसैंको मुखमा
आमाले सोध्ने प्रश्न, एउटै हुन्छ,
यसपाली त आउँछस् नि छोरा?

म बझछु ,
आमाको प्र्श्नको चाहना
दसैं सँगै भित्रिने दौतरीको हुलमा
आमा मलाई पनि देख्न चाहनु हुन्छ ।

त्यो चंगा, त्यो लट्टे
मैले चचहुई गर्ने पींगका डोरी
अझै कतै मिल्केका हुन्
आमा चाहनु हुँदो हो
म दसैंमा आएर खेलिदियोस् ।

आमाको प्रश्नले,
नसम्झाएको होईन मलाई
आमाको माया,
गाउँको माया,
अनि एक्लिदै गरेको
मेरो देशको माया ।

म हरेक दसैंलाई
अर्को साल तिर सारिदिन्छु ,
अनेक बाहनाहरु छन् मँ सँग
भनिदिन्छु बिदा मिलेन,
कहिले भनिदिन्छु भिसा मिलेन,
आमालाई भेट्दै नभेट्ने
मेरो ईच्छा होइन ।

मैले हवाईजहाज सँगै परदेशमा
ल्याएको थिएँ
थुप्रै समस्याका पोकाहरु
त्यही पोकाहरु खोल्दै जाँदा
भेटेको छु,
अनगिन्ति जटिलताहरु,
जुन दसैं भन्दा निकै प्रिय छन् ।

जे कुरा पनि सजिलै पत्याउने
मेरी आमालाई
घरको आकास माथि उडेका
हवाईजहाजहरु देख्दा पनि रिस उठ्दो हो,
मेरी आमालाई के थाहा ?
हवाईजहाज सँगै रातारात उडेका छन्
अनगिन्ति आमाका हजारौं सपनाहरु ।

हरेक दसैंको मुखमा,
आमा यस्तै गर्छिन
आमा यस्तै भन्छिन्
हेरिरहिन्छिन् आँगनीको सिमलको बोट
सयपत्रीले सजिएको फुलबारी,
अनि पहेलैं भएको जमरा ।

आमालाई रिस उठ्दो हो
देश नपर्कने छोरा सँग
अझ त्यो भन्दा बढि त ,
गरिबीहरु सँग,
अराजकताहरु सँग,
अनि
बेरोजगारीहरु सँग,
जसले छोरालाई मुग्लान पठाएको छ ।


सौराहा , चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु