Thursday, September 11, 2014

एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

 -राजा पुनियानी
कश्मीर। 


संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो।
तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको।
रगत जति बाटै-बाटो झरिसकेपछि
कठ्याङ्ग्रिएको नसा छ उसको।
बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो
जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ उम्रेको छ।
यो हो कश्मीर।

आजादी तिम्रो हक हो बाबु -
काँधमा झोला, झोलामा सिलेट र सिलेटमा डर भिरेर
सरकारी स्कूल गइरहेको नानीहरूको कानमा भनेको छ
हजार वर्षदेखि वास खोज्दै उड़ेको
घाइते परेवाले।

हरप्पा, काराकोरम, झेलम
चेरी, आइफल, काजु
भेड़ा, शेर-ओ-शायरी, चरार
कशीदा, सिकारा, बोटहाउस
एउटै कश्मीरमा कत्ति-कत्ति कश्मीर!

एउटा शताब्दीको अन्तिम हिउँबर्खालाई जसरी
बारूद सुँघाएर विदा दियो तिम्रो देब्रेतिरको छिमेकीले
उसरी नै अर्को शताब्दीको पहिलो हिउँबर्खालाई स्वागत जनाउन
तयार छ नाल तेर्साएर तिम्रो दाहिनेतिरको छिमेकी।

निरूत्तर डाँड़ाहरूको बीचबाट निस्किएको
एउटा उदास रूखको
थर्थर कामिरहेको हाँगामा झुण्डिबस्छ
भारत, पाकिस्तान र चीनको टाटेपाङ्ग्रे कट्टु।

साँढ़े देशको काँढ़ेतार ताक्दै
आगोको आतङ्कवादी पाइलाहरू
सुकुमवासी चुह्लाको मुख छाड़्लाझैँ गर्दैछन् यत्तिखेर।
ढुक्कको बिहान आउने बाटो ढुक्ने ढुक्कुरले
पखेटामा बोकेको छ यत्तिखेर
अन्धा ए.के. फोर्टिसेभेन।

गुलाब सुँघ्दै गुलाबो र गालिब
भुसभुसे हिउँबर्खामा झीलको किनारै-किनार
कतै गएका हुन् इतिहासको ओढ़ारतिर।
कश्मीर, के उनीहरू फर्कलान् घर?
वा फर्कन चाहे पनि फर्कन दिइएला?
उनीहरूलाई आफ्नै घरमा गुलाम बनाइएको कथाबाट
बलात्कृत आत्मनिर्णयको योनिगन्ध आइरहेको छ।

तिम्रो घरमा शहर छ। देश छ। देशको संविधानको मृताक्षरहरू छ।
देशको शिक्षा प्याकेज छ। देशको अनुदान कोष छ।
कात्रोजस्तै तिमी वरिपरि बेरिएको तिरङ्गा छ।
सबथोक छ कश्मीर तिमीसँग
एउटा शासकले कैदीलाई दिएको हुनुपर्ने जति
बस, तिम्रो घरमा घर छैन।

तिम्रो ऐनामा खुनको पत्रै-पत्रा परेको छ।
गुलाबी गालामा गुलाबी रङ हेर्न नपाएको
कति जुनी बित्यो हँ ए कश्मीर?
भन त तिम्रो चुन्नीमा लागेको विदेशी रगतको टाटा
कुन अन्तर्राष्ट्रिय शिखर सम्मेलनको धारामा पखाल्छौ?
दिनहुँको बलिदानको धागोले बिस्तार सिलाइरहेको होला
तिम्रो तीन फ्याक जीऊ।
तिमीलाई बाँधेको सिक्रीहरू चुँड़ाउँछ कि
एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

चिहानजस्तै तिम्रो बागमा
फुलेका छन् आजाद जङ्गली फूलहरू -
ती फूललाई फुल्न देऊ, ए स्वार्थी संसार।

-राजा पुनियानी
(१३ जनवरी, सन् २०००) —

आमाका सपनाहरू

कविता
दीप ज्योति थापा

सानो छँदा
बाले भन्नुहुन्थ्यो-
"देशभन्दा ठुलो
अरू केही हैन बाबु !"
कैयौँपटक
कसम खाएँ-
"देश छोड्दिनँ ।"

उकालीओरालीमा भेटिने
सामलीहरू भन्थे-
"जिन्दगी यस्तै हो"
कैयौँपटक
देउरालीको देउतालाई
सोधेँ-
"के लेखिएको छ भाग्यमा ?"

आँखाभरि कैद गरेर
पाठशालाको चित्र
गोठालोमै लेखेँ
क माने कचिया
ख माने खर्क
ग माने गरिब
कैयौँपटक
पानीले मेटाइदियो
माटोका अक्षरहरू ।

वर्षभरि कुटोकोदालो गर्दा पनि
पेटभरि अन्न नपुग्दा
जब अतालिन्थेँ
बुनिरहेको सुकुल देखाउँदै
आमा भन्नुहुन्थ्यो-
"दुःखसुख परालझैँ
बेरिएर आउँछ
धैर्य गर्नुपर्छ लाटा !"

धैर्य गर्न सकिनँ
मैले
कसम तोडेँ
देश छोडेँ ।

अहिले
झुन्डिएको होला
मूलढोकामाथि
मेरो तस्बिर
बाडुली लाग्छ
तस्बिरमाथि हात फेरेर
सायद, आमा मलाई
सम्झी रहन्छिन् ।

अनगिन्ती प्रश्नहरूले
लखेटी रहन्छन्
जीवन बाँच्दै छु
वा
जीवनलाई बचाउँदै छु ?

मध्यरातमा चिच्याउन पुग्छु-
"आमा !" भनेर ।

सम्झँदा मन पोल्छ
गाउँको
गोधूलिको रङ्गीबिरङ्गी छटा
सुगन्ध बोक्ने फूलहरू
घिन्ताङ मादल बज्ने निमाको रोदी
कत्रो भयो होला ?
मैले रोपेको बकाइनो !
उस्तै होला ?
जुनुको मप्रतिको प्रेम !
उनलाई सुनाउने छु-
"हाम्रो पसिना रेगिस्तानमा मिसिएछ
त्यसै नुनिलो भएको हैन त्यहाँको बालुवा ।"

जिन्दगी मदारी बनेर
बाँदरझैँ नचाई रहेछ ।

घर फर्केर पुरा गर्नुछ
आमाका सपनाहरू
निखनिएको खेत
ओत लाग्ने आफ्नै झुपडी
जस्केलोबाटै देखिने तुलसाको मठ ।

आमाले कैयौँपटक
भनेकी छिन्-
"तँ जन्मदा खुसीले खुबै
रोएको थिएँ बाबु !"

के साँच्चै पुरा गर्न सकुँला ?
मैले 
आमाका सपनाहरू !

रचनाकालः २०७१ जेठ २२
हेटौँडा-६, मकवानपुर (नेपाल)
E-mail: deepjyotithapa94@gmail.com

किन ताक्छौ बन्दुक

युवराज लामिछाने 'प्रदिप'
गजल

लुटिदैछ मेरो देश पर्दा पछाडि बाट
सुटुक्क पत्तो पाँए पर्दा पछाडि बाट

हे नामर्दहरु शक्ति भए अगाडि आऊ
किन ताक्छौ बन्दुक पर्दा पछाडि बाट

प्राय: दलका नेताहरु मिलेकै देख्छौ हामी
किन आउँछ विवाद पर्दा पछाडि बाट

कुसंस्कार र कुप्रथाले ग्रसित निकै हुदैछ
भित्र भित्र यो समाज पर्दा पछाडि बाट

कलमको सट्टा चुरोट समाएछ बालकले
भनेछन स्याबास पर्दा पछाडि बाट।

युगीन साहित्य समाज,रुपन्देही।

मलाई माफ गर



कविता
आर. आर. चौलागाईं
मलाई माफ गर

तिमी आकाशमाथिको चन्द्रमा
मैले छुन खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी समुद्रभित्रको मोती
मैले टिप्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी गुलाफको फूल
कहाँ म धर्तीको धूलो
कहाँ तिमी झरनाको पानी
कहाँ म टुकुचाको भेल
तिमी सारङ्गीको मसिनो तार
मैले रेट्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी भेट्न नसकिने मान्छे
मैले भेट्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी सुनको असर्फी
कहाँ म खोटो सिक्का
कहाँ तिमी मन्दिरको शिला
कहाँ म बगरको ढुङ्गा
तिमी कोइलीको मीठो आवाज
मैले सुन्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी बगिरहेको स्वतन्त्र हावा
मैले थुन्न खोजेँ तिमीलाई
मलाई माफ गर ।


कहाँ तिमी वसन्तको पालुवा
कहाँ म शिशिरको पतझड
कहाँ तिमी सहरको रमझम
कहाँ म पाखे र अनपढ
तिमी इन्द्रेनीको अलौकिक दृश्य
मैले हेर्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी एउटा लुकेको रहस्य
मैले बुझ्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी रङ्गीन तस्बिर
कहाँ म सिसाकलमको खेस्रा
कहाँ तिमी सबको आँखाको नानी
कहाँ म फ्याँकिएको बेसहरा
छुन खोज्दा तिमीलाई
दाग लाग्यो होला
मलाई माफ गर
बोल्न खोज्दा तिमीलाई
बात लाग्यो होला
मलाई माफ गर
हेर्न खोज्दा तिमीलाई
आँखा लाग्यो होला
मलाई माफ गर
नजिक हुन खोज्दा तिमीसँग
तिमीलाई पाप लाग्यो होला
मलाई माफ गर ।

मलाई माफ गर
मलाई माफ गर
मलाई माफ गर ।

Thursday, September 4, 2014

उ हतारमा छ,

रामकृष्ण पौडेल''अनायास''
पख !नारायणी

उँ हतारमा छ
सागर भेट्ने आशमा
बगेको नारायणी
थुप्रै सपनाहरु आँखामा बोकेर
गरिबका झुप्र भत्काउदै हिडेको नारायणी
के थाहा उसलाई
कतिको सपना उजाड बनेकाछन् .

पोहोर बगाएको छोरो सम्झिदै
सुन्तली भाउजु गालि गर्दै थिइन्
बिचरा हर्के बेपत्ता भएको
आलै छ घाउ
गाँउ शोकमा छ
तर आकर्सित छन् सहर बासि हरु
यो नारायणी संग

अझै दाउ हेरिरहेको छ नारायणी
कैयौ माइलीका सिन्दुर बगाउन
कैयौ आमाका कोख रित्तो बनाउन

माइला बा को खेत बाँझै छ अझ
एक हाल गोरु बगाएकोले
अनुहारमा त्रास बोक्दै
लए हराएको गीत गाउदै
यस्ता रातहरु मारेको दाग ब्युझन्छ
माइला बा को आँखामा .

रहरका बिस्कुन सुकाएर मनमा
घामको प्रतिक्षा गरिरहेका छन्
काभ्रे घाटका बासीहरु
बिस्कुन भिजाउने दाउ हेरिरहेको छ
अझै नारायणी
तर पनि मुस्कुराउछन्
किनकि सदियौ देखि
यहि जुहारी चलिरहेको छ .

बर्षौअघि सपनाको सिंगो आकाश बोकेर
यहि किनारामा सानो झुप्रो भित्र
गुजारा चलाउदै आएका सन्त दाइ
नारायणी को अस्लिल रुप बोकेर
फेरि फर्किन्छन् उही पुरानै ठाउमा

पख !नारायणी अब तेरो
धेरै बरालिने दिन गए
ढुंगाले छेकियोस नछेकियोस
तर संविधानका पानामा छेकिनेछस्
लेखिनेछस्
पख ! नारायणी /


कविडाँडा,भरतपुर ­१३ 

Monday, September 1, 2014

चितवन देखि चिसंकु सम्म

नियात्र 
चितवन देखि चिसंकु सम्म
रामकृष्ण पौडेल ''अनायास''

      धारिवाल कमिज लगाएका हातमा बन्द गरिएको कालो छाता बोकी रामबजार बस स्टपमा मेरो प्रतिक्षामा बसिरहेका भोर्लेटारका कवि मुसुक्क मुस्कुराउँछन्  म बस बाट झर्ना साथ् /
अनि आ-आफ्ना सन्चो बिसंचोका कुरा साटासाट गर्छौ, हामीमा गहिरो भावनात्मक नाता थियो जुन भगवान कृष्ण र सुदामा बीच थियो कवि रमेस दाइ निकै मिठो बाल कविता लेखेर धेरैका मनमा बस्न सफल पनि उत्तिकै हुनुहुन्छ /
          हामि गफमा मस्त थियौ घर आइ पुगेछ बाटो काटेको पत्तै पाएनौ त्यति बेला घाम बास बस्न क्षितिज भित्र पसिसकेको थियो झ्याउकिरी हरुले एक प्रकारको संगीत छरिरहेका थिए, 
रमेस दाइ र म घर भित्र के पस्न पाएका थियौ रमेस दाइका ठुला दाइ प्रकास दाइ खाजा खानका निम्ति हामीलाई लिन आउनु भयो जुन दिन २०७०-१२-२५ गते रामनवमी अर्थात चैते दशैंको आगिल्लो दिन थियो हामीलाई खाजा खाने बन्दोबस्त भोर्लेटारकै कवि जो रमेस दाइका कान्छा भाइ हुनु हुन्थ्यो नविन चन्द्र घिमिरे उहाँकै घरमै थियो,
आमा,भाउजु ,छोरा छोरि सबै संग भेट घाट भयो वाताबरण निकै रमाइलो थियो रामनवमी को संघरमा भएर पनि हुन सक्छ /
        म लम्जुङ्ग को चिसंकुमा हुने परम्परागत साहित्यिक मेला अर्थात् लेखक संघ लम्जुङ्गले राखेको साहित्यक कार्यक्रम जुन रामनवमीका दिन लाग्थ्यो उक्त मेला कार्यक्रममा रमेस दाइ र लम्जुङ्गका अन्य कवि ज्यु हरुको निमन्त्रणा लाइ स्वीकार गरेर उक्त कार्यकरमका निम्ति गएको थिए 
२०७०\१२\१५ गते बेलुकी नविन दाइको घर बाट खाजा खाइ भोलि पल्ट बिहानै चिसंकु जाने सल्लाह गरि रमेस दाइकै घर तर्फ फर्कियौ /
        रातको ८ बजीसकेको थियो रामनवमी चैते दशैंको आघिल्लो दिन रमेस दाइ खानाका परिकार तयार गर्दै हुनु हुन्थ्यो र म्याडम माइत गएर थोरै न्यास्रो लागेको र म आएकोमा खुशी लागेको कुरा मिसाउदै गफ चलेरहेको थियो / त्यतिकैमा पारि डाँडाबाट अजिव कुरा कानमा अचानक पर्यो म छक्क परे जुन पुरानो परम्परा आज पनि त्यो ठाउमा अझै जिवितै रहेको रहेछ /
मैले पढेको थिय कुरा गर्दा सुनेको थिय आज सुन्न पनि पाए त्यो ठाउमा अझै कटुवाल लगाइदो रहेछ 
''ए गाम्ले हो भोलि बिहान सबेरै ७ बजे सबै जना आ-आफ्ना घर बाट चामल,गुन्द्रुक,तरकारी,गोरस साथ् लीइ चिसंकु माझ मैदान घुमाउने चौतारमा घरका सबै परिवार साहित्यिक मेलामा उपस्थित हुनु होला है /''
जुन कटुवालको आवाज थियो यस बिषयमा धेरै कुरा जिज्ञासा राखे तर रमेस दाइको आग्रहमा फेरि थोरै खाजा खादै कुरा गरौ भन्नु भयो हामि भुजा मासु लियौ साथमा रमेस दाइ ले कविताको अर्गानिक झोलले गिलास सजाउनु भएको थियो नकार्न सकिन दुवै जना उक्त कार्य सफल बनाउन तिर लाग्यौ / बिस्तारै कविताको अर्गानिक झोलले शारिर तताउदै थियो खाजा खादै थियौ र मैले कुरा हरुको बेग बिस्तारै बढाउँन थाले र रमेस दाइलाई सुनाउन लागे /

 २०७० -१२-२४ गते बिहान हंस बहूउधेश्यले नारायणगढ गंगोत्रीमा राखेको साहित्यिक कार्यक्रममा उपस्थिति भै कवि सुमन लाइ मोटरसाइकल दिई म पोखरा हानिदै पुगे / जहाँ चितवनका मित्र सुदिप,पोखराका मित्र अर्जुन,र किसान जी आदि साथीहरु पृथ्बीचोकमै भेटघाटका निम्ति पर्खिएर बस्नु भएको थियो उक्त भेटघाट कार्य लाइ समापन गरि म र सुदिप पोखरा घुम्न तिर लाग्यौ त्यस दिनको बसाइ पछि म पोखरा जुन बिशेस कामले गएको थिए भोलि पल्ट बिहान उक्त काम सकाएर म र भाइ रामचन्द्र पोखरा खुब डुल्यौ /

रमेस दाई मेरा कुरा सुनी राख्नु भएको छ बीच बिचमा जिज्ञासा राख्दै भन्नु हुन्छ ''पछिको कुरा भन्नु न के भयो''

मैले भने हजुरहरुको कार्यक्रम सम्म आउनको लागि पोखराबाट बेगनास बसपार्कमा पुगे त्यहाँ पुग्दा २ बजेको थियो गाडी भर्खर छुटेको कुरा थाहा पाए त्यस पछि ४ बजे जाने रहेछ म व्यबाहरिसे अवस्थामा बसपार्कतिरै निकै भौतारिए ४ बजे लम्जुङ्ग जाने गाडीमा ३ बजेनै चढेर बसे ४ बज्न लाग्दा त प्यासेन्जरले गाडीको स्वरुप नै देखिन छाड्यो बस्न र झुन्दिन मिल्ने ठाउमा प्यासेन्जरले भरिएको थियो लम्जुङ्ग त्यस ठाउँ बाट २५ के.मि .भएपनि बाटोको असुविधाले ३ घण्टामा रामबजार आईपुगीयो /

रमेस दाई प्वाक्क बोल्नु भयो ''त्यस्पछि म भेटिए /''

''पोखराको तपाइको बिशेस काम के थियो भन्नु भएननी ? ''/

मैले हजुरलाई यो बिषय सरप्रार्इज राखे कुनै दिन भनुला है /त्यस पछि कविताको अर्गानिक झोल अन्तिम पल्ट थप्ने निर्णय गर्दै दुवै जनाले खादै चितवनका कवि रमेस प्रभात ,कवि भुपिन 

,कवि ईस्वर र कवि सुमनको सम्झना स्वरूप घुटुक्क पारियो र एक आपसमा कविता सुनाईयो र उक्त कार्यलाई बिश्राम लिदै थोरै खाना खाइ भोलिको कार्यक्रमको कल्पना गर्दै सुतियो /
        चराहरुको चिरबिर आवाज झ्याल बाट चिरेको चिसो हावाले उठ्न बाध्य तुल्यायो २०७०-१२-२७ गते बिहानको समय थियो हतार हतार चिसंकु जाने तयारि गरियो रमेस दाई ,नबिन दाई ,बीच बिचका खोला तर्दै ईशानेश्वर मन्दिर हुदै चिसंकु तिरको ठाडो बिचमा रामबजारका कवि हरु भेट हुनु भयो र सुन्दर दृष्य बन हिमालको नजिक बाट अवोलोकन गर्दै फोटो खिच्दै रमाउदै ,गफ गर्दै ३ घन्टाको उकालो काटियो र चिसंकु मैदान आइपुगियो जुन परम्परागत साहित्यिक मेला लाग्ने स्थान थियो कार्यक्रम स्थल वरिपरि धेरै स्थानिय गाउँले हरुको बाक्लो उपस्थिति थियो कोहि केराको बोटको स्वागत गेट बनाउदै,कोहि छेउकै घरमा खाना पकाउदै थिए म त्यस ठाउको चलन र बासिन्दा देखेर निकै खुशी भए किनकि पाहुना लाई गरिने स्वागत ,सत्कार ,सम्मान बोलि व्यवहार बिल्कुल प्राकृतिक थियो अनि प्रत्येक घरघर बाट कविता सुनाउन उपस्थित भिड निकै उल्लेखनिय थियो 
हाल शहर तिरका साहियिक कार्यक्रम ठुला होटेलमा रक्सीको मात संगै गरिन्छ कविता वाचन गर्न बोलाइने कविलाई आउने जाने खर्च दिइन्छ बोलाउदा फोन ,इमेल ,फेसबुक प्रयोग गरिन्छ तर चिसंकुको कार्यक्रममा प्रत्यक घर धुरीबाट चामल, गुन्द्रुक,तरकारी गोरस बोकी स्वतफुर्त कार्यक्रममा उपस्थिति हुदा हामीलाई नौलो लग्दोरैछ, पाहुना लाइ घरबाटै उठाईएको चामल तरकारी गुन्द्रुक पकाई ख्वाइदो रहेछ भने पाहुनाको स्वागतको लागि ठाडो भाकाको गीत ,भजन स्थानिय परम्पराका गीत गाउदै आँगनका छेवैमा फुलेका फूलका थुँगाहात हातमा राख्दै घुमाउने चौतारोको आसनमा आथिथ्य ग्रह्रण गराइदो रहेछ मलाई त्यो देखेर निकै खुशी लाग्यो नेपालको कुनै ठाउमा परम्परा भने बाँचेको छ जस्तो पनि लाग्यो /
 अचेल शहरमा लाखौ खर्चेर स्टेज कार्यक्रम गरिन्छ तर चिसंकुको डाँडा काँडा परेको जमिनमा छमछम नाच्ने बैनीहरु भेटे आफै मनमनै सोच्छु सहरका नानिहरुले भएको भए यस्तो जमिनमा के नाच्थे र ? बास्तवमा मैले अझै रहस्य यहाँ खोलेको छैन आजभोलि साहित्य कार्यक्रममा बोलाउदा निकै भाउ खोज्छन प्राय कविहरु साहित्यमा रुचि राख्ने कमै र राख्नेहरु पनि अर्धबैसेको मास देखिन्छ चिसंकुमा ५ वर्ष उमेरका बालक देखी ८५ सम्ममा हजुरबुवा हजुरआमाले नहेरी मनछुने मन रुवाउने कविता वाचन गरेको देख्दा मुटुनै चसक्क भयो ,र देख्नेहरु सबैको हुन्थ्यो पनि होला कविता वाचन गर्ने त्यहाँका प्रत्यक घरका सबैनै हुदा रैछन म चितवन बाट गएको गएर पनि कता कता लागेको थियो त्यहि तरिका हो भने मेरो पालो भोलि पनि आउदैन तर अथिति भनेर प्रथामिकतामा परेको भने रहेछु है आज पनि याद आइरहेको छ लेखक संग लम्जुङ्ग को संयोजनमा भएको त्यो कार्यक्रममा ८५ बर्षे हजुरआमा को कविताको गुञ्जन आजपनि कानमा गुन्जीइ रहेको छ मलाई आउने बेलामा ति हजुरआमाले आशिर्वाद दिनु भएको थियो ''बावु कविता भनेरै जीवनमा ठुलो नाम कमाए है र मैले किताब निकाल्दै छु आए पछि खोजेर पढे है/' ८५ बर्षे हजुरआमाको कुराले अकमक्क बनायो मलाई 
           बास्तवमा मैले जीवनको परिचय भेटे जस्तो लाग्यो उक्त ठाउमा गएर मौलिक थिए सबै कुरा हरु ,र धेरै धन्यवाद पनि दिन चाहन्छु यतिबेला कवि रमेश चन्द्र घिमिरे ,र कवि नबिन चन्द्र घिमिरे दाईहरु लाई वास्तविक मौलिक परम्परा लाई नाजिकबाट नियाल्ने मौका प्रदान गर्नु भएकोमा /
मैले त्यहाँ गएर ''मनमायाको सपना नामक सिर्सकको कविता सुनाए त्यसपछि झन् धेरैले परिचय गर्नु भयो मेरो खोजीनिती पनि ह्वात्तै बढ्यो धेरैले सम्झना स्वरुप आ-आफ्नो कृतिहरु दिनु भयो धेरैले धेरै माया दिनु भयो र चितवन आउदा भेट्ने वाचा पनि दिनु भयो /

कार्यक्रम समाप्त पछि त्यहाँ धेरै उपस्थित धेरै अग्रजहरुले ''अर्को साल हामि नमरे पक्कै यहि ठाम मा देख्न पाम है बाबु'' भन्दै बिदाइ गरेको आजै हो जस्तो पनि लाग्छ /

बिदाइ पछि भोर्लेटार फर्किदा निकै अबेर भएको थियो थकाइले होला खाना खाएर सुतिहाल्यौ 

२७ गते बिहान उठेर चितवन फर्कने तयारि गरे र रमेस दाइले सम्झना स्वरुप केहि पुस्तक दिदै बसपार्क सम्म ल्याई गाडीकै सिटमा राखी बिदाइ गर्नु भयो र गाडीबाट चितवन तर्फ लागे गाडीको क्याबिन सिटमा बसेको थिए गाडी अल्ली पर पुगेपछि गाडीको इन्जिन चिस्याउन प्रोयोग हुने पानि टंकी फुटेर गाडी नचल्ने कुरा थाहा भयो तैपनि ठाउँ ठाउँमा रोक्दै पानि ओसार्दै लगातार इन्जिनमा पानि हाल्दै दमौली सम्म आइपुग्यो क्याबिनमा बसेकाले इन्जिनमा लगाता पानि हाल्ने जिम्मा भने मेरो परेको थियो , दमौलीमा गाडी बनेपछि गाडी चल्यो ५ बजे नारायणगढ पुगे कवि सुमन श्रेष्ठकोमा राखेको आफ्नै मोटरसाइकल बाट कविडाँडा अवस्थित आफ्नै निवास पुगे /



अचानक २०७१ सालको १० गते कवि रमेशचन्द्र घिमिरे दाइ लाई फोन गरे दाई 

सरप्रार्इज हजुरलाई 

आत्तिदै केहोला भाइ भन्नु न ..........

मैले हजुरलाई पोखरा गएको बिशेस कामबारे गोप्य राखेको थिए नि हो त्यहि कुरा हो के 

रमेस दाइ मुटुनै फुट्ने गरि आत्तिदै भन्नु भयो'' छिटै भन्नु न मलाई सुन्न नै हतार भयो के ''

म पोखरा गएको बिशेस काम मेरो बिबाहको लागि केटि हेर्न भनेर गएको थिए उक्त कुराको सकारात्मक परिणाम आएकाले मेरो पोखरा निवासी मञ्जु अर्याल संग यही बैसाख १३ गते बिबाह हुने पक्का भयो हजुर जसरि भए पनि मेरो बिबाहमा आउनु है 

रमेस दाइ खुशी हुदै शुभकामनाका शब्द संगै बिबाहमा आउने सहमति जनाउदै फोन राखे /, 



भरतपुर -१३ कबिडाँडा,कैलाशनगर 















































सल्लाह सुझावको अपेक्षा राख्दछु