Tuesday, January 21, 2014

नयन सर का बीस कविताहरु

नयन सर का बीस कविताहरु


१.हिसाब

मैले हिँडेको बाटो
फर्केर आयो मनेर
र माग्यो मसित
मेरा पाइलाहरुको हिसाब
मैले बुझेँ-

निरुद्धेश्य सडकमा कहिले पनि हिँड्नु नहुने रहेछ ।
                                                                                                                              नयनराज पाण्डे 
( September,24,2012)


२.जाममा शब्द
जाममा पर्‍यो शब्द
बीच बाटोमा,
ट्राफिक आयो र फर्काइदियो
विपरीत दिशातिर ।
शब्द फर्कियो
लाचार भएर
कवि कै कोठातिर
जहाँबाट शब्द
भर्खर फर्किएको थियो
कौमार्य गुमाएर ।

(मार्च ७,२०१२)

३.मायाको गीत
तिम्रो आवाज पनि
उति सुरिलो होइन,
मेरो स्वर पनि
अलिक खस्रो छ,
तर भोलि हेरिराख्नू
हरेक घरले गाउने छ
हामीले हिजो गाएकै
मायाको गीत ।
(८.१८.२०१३)


४.अनुहारहीन
पानीमा हेरेँ
एक दिन मैले
आफ्नो अनुहार,
उफ्, ऐना जस्तै
टुक्रिएको रहेछ ।
अचेल
ऐनामै हेर्छु
आफ्नो अनुहार
तर पानीको कुनै अनुहार नहुने रहेछ ।

(मार्च ३,२०१२)




५.अभाव
कैलेकाहीँ
पुरानो डायरी
या कुनै पुरानो कापीका
पुछारतिरका पानामा
भेटिन्छन्
कुनै मित्रले
तिम्रो अध्ययन कक्षबाट लगेका
केही प्रेम कविताका
किताबका नामहरु ।
अनि,
तिमी सोच्छौ
किन आउँदैन अचेल
त्यो मित्र
तिम्रो घरमा ।
के मित्रले बिर्सिसक्यो
तिम्रो प्रेमलाई ?
कि छैनन्
तिम्रो अध्ययन कक्षमाअचेल

प्रेम कविताका किताबहरु ?

(९.२४.२०१२)




६.आँशु

कति सस्तो बनायौँ
हामीले
आँशुलाई
मोती भनेर ।

(मार्च ३,२०१२)




७.आँशु-२

आँशु
कहिले पनि चुपचाप
बग्दैन,
हल्ला गरिरहन्छ ।

(मार्च ६,२०१२)




८.आमा
आफ्नै गर्भबाट
जन्मिरहन्छे
पटक पटक –आमा ।

(१.२०.२०१४)


९. उक्लनुअघि
उक्लँदा
थाक्यौ ?
भनेर प्रश्न गर्ने
कोही छैन भने
उक्लिनु हुँदैन पहाड,
र थाकेर
निर्जन ठाउँमा
वास माग्नु हुँदैन
र गर्नु हुँदैन
आफ्ना भरियाहरुसित
पसिनाको कुरा ।

(मार्च,६,२०१२)




१०. पाखण्ड

उनीहरु उठ्छन्

मध्यरातमा
र टलक्क आकाशमा टल्किरहेको चन्द्रमालाई
टपक्क टिपेर
र आफ्नो अध्ययन कक्षमा रहेको फ्रिजमा जमाउछन् ।
र त्यही चन्द्रमाको आइसक्युब हालेर
प्युँछन् मातिने गरी नशालु कविता
दिउँसो तारेको
सूर्यको पापडसित ।
धेरै कवि यसरी नै बौलाएका छन् शहरमा
र फलाकिरहेछन्
क्रान्तिका कविताहरु ।

(२०६९ असार २९ शुक्रवार । भानुजयन्ति )




११. चेतना
ऊ रोएको बेला
म उसलाई हाँस्न भन्दिन
ऊ सुस्ताएको बेला
म उसलाई हिँड्न भन्दिन
ऊ पानीमा रूझ्न खोज्दा
म उसलाई छाता दिन जाँदिन
उसले चुपचाप बसेको बेला
म उसको कानमा हल्ला गर्न जाँदिन ।
म उसलाई
कुनै पनि कुरामा बिथोल्दिन
म उसलाई
कुनै कुराबाट पनि रोक्दिन,
म उसलाई कुनै चेतावनी दिन्न ।
धेरै सुतेको बेला
म उसलाई निन्द्राबाट ब्युँझाइदिन्छु
कुनै मीठो गीत सुनाएर
बस् ।

(डिसेम्बर ९,२०१२)




१२. नास्तिक
एउटा वृद्ध
वर्षौँदेखि
आइरहेछ मन्दिरमा,
पच्चिस वर्ष अगाडि हराएको
आफ्नो चप्पलको खोजीमा ।

(मार्च २,२०१२)




१३. अभिनय
उनी भन्छिन्-
प्रिये,
मलाई तिम्रो एसएमएस
कविता जस्तो लाग्छ,
म पनि भन्छु-
प्रिये
मलाई तिम्रो एसएमएस
कविता जस्तो लाग्छ ।
साँझ-
कसैले देख्नुअघि नै
हामी
कवितालाई डिलिट गरिदिन्छौँ ।

(डिसेम्बर,११,२०१२)




१४.आदेश
तिम्रो आँखाअगाडि नै
हिँड्दा हिँड्दै जुलुसमा
नारा लगाइरहेको
युवक
तिमीहरुले चलाएको
गोली लागेर ढल्यो भने,
तुरुन्त उसको नजिक जाऊ
र बन्द गरिदेऊ उसका आँखाहरु
सपना देख्दादेख्दैको आँखा
खतरनाक हुन्छ ।

(मार्च ८,२०१२)




१५. छद्म
कविताको मृत्युमा
आजसम्म
मरेको छैन कुनै कवि ।
ईश्वरलाई मृत घोषणा गर्‍यो
कविता मरेको घोषणा गर्‍यो
तर आजसम्म
आफ्नु मृत्युको घोषणा गरेको छैन
कुनै कविले ।
भनेपछि
कवितालाई
कहिले पो माया गरेको रहेछ र कविले ?
उसले त कवितालाई
आफू माथि माथि उक्लने भर्‍याङ पो बनाएको रहेछ
आफू अमर हुने प्रपन्च पो रचेको रहेछ उसले
बडो योजनाबद्ध ढंगले ।
तर बुझ्नु पर्ने एउटा कुरा
बुझेकै रहेनछ कविले
कि-
कविता मरेर
कुनै कवि बाँचेको छैन

आजसम्म ।

(२०६९ साउन ३ । बुधवार । July 18, 2012)




१६. को झूठो ?
ऐना अगाडि उभिएको छु
तर प्रतिबिम्ब छैन मेरो
ऐनामा ।
थाहा छैन,
कसले झूठ बोलिरहेछ ?
ऐनाले
या मैले ?
या बोलिरहेछौँ
हामी दुबै सत्य ।
शायद प्रतिबिम्ब बन्न छाडेको छ
दुनियाँमा अचेल ।

(२०१३ मार्च १७ आइतबार)




१७. अक्षरसित सम्बाद
खल्तीमा
सम्हालेर राखेको थिएँ
केही अक्षरहरु
भोलि नयाँ कविता लेख्नका लागि
लुगासँगै धोइएछ ।
कविता घुमिरहेको थियो
वासिङ्ग मसिनभित्र फन्फनी
आत्तिएर ।
अब केही दिनका लागि
बन्द गर्नेछन् बोलचाल
अक्षरहरुले
मसँग ।

(डिसेम्बर ११,२०१२)




१८. गद्दार
यी सर्पहरुलाई
निमिट्यान्न पार्नु पर्छ
र विस्थापित गर्नु पर्छ
समाजबाट,
हेर त
कसरी खुट्टा उचाली उचाली
नाचिरहेछन् ।

(डिसेम्बर ९,२०१३)




१९. गरिबको कविता
गरिबहरुको
प्वाल परेको छतमाथि माथिबाट पनि
हिँड्छ
चन्द्रमा,
तर गरिबहरु
चन्द्रमाको कविता लेख्दैनन् ।
गरिबहरुको
पाइतालाले
सधैँ छोइरहेको हुन्छ माटो
तर तिनीहरु
माटोको पनि कविता लेख्दैनन् ।
उनीहरु पसिनाको पनि
लेख्दैनन् कविता
जबकि पसिना निरन्तर बगिरहेको हुन्छ
उनीहरुको शरीरबाट ।
ऊ आफै हो
टिठलाग्दा शब्दहरुको
आदिम शब्दकोश,
तर आजसम्म
कुनै गरिबले लेखेको छैन
भोक, रोग र शोकको कविता,
उसले लेखेकै छैन
जाडो, गर्मी, लू र शितलहरको कविता ।
तर पनि गरिब
हामी सबैभन्दा
असल र इमान्दार कवि हो ।
र उसको आँसु
हाम्रो युगको सबैभन्दा
खतरनाक कविता हो ।

(डिसेम्बर ९,२०१२)




२०. घर
तिनीहरुले
सल्काए आफ्नै घर
तापे आगो
र भने-
यसपालि पोहर जस्तो जाडो छैन ।

(मार्च ८,२०१२)

http://nayanrajpandey.blogspot.com/2014/01/blog-post_20.html

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु