Thursday, November 1, 2012

सन्तानहरु प्रति

कोमल भट्टन्युयोर्क

कविता,
 
तिमि !
यस धर्तीमा पदार्पण गरेको दिन ,
हाम्रो आगनको रौनकता बढाएको दिन,
हाम्रो स्वप्ना साकार बनाएको दिन l
त्यो दिन !
खुसि हर्षले फुरुङ्ग भएका थियौं हामी,
फूल पनि समाएका थिएनौ हामीले ,
स्वर्गीयताको अनुभूति भएको थियो हामीलाई l

अनगिन्ति खुसि बोकेर आयौ तिमी l
प्रेम आनन्दको बाढी बनेर आयौ तिमी l
सुख सन्तुष्टिको प्रतिक भएर आयौ तिमी l
सबैको लागि अपूर्व मुस्कान बनेर आयौ तिमी l
अनि,
आशा अभिलाषाको ज्योति पुन्जको रूपमा,
मीठो परिकल्पना स्वप्नालाई,
साकार पार्न भनेर  आयौ तिमी l
अंतरदिल भित्रको रिक्ततालाई,
परिपूर्ति गर्दै आयौ तिमी l
एउटा समुज्वल आकाश भएर आयौ तिमी l

तिमीलाई गाँस काटेर खुवायौं हामीले,
आफ्नै तन काटेर हुर्कायौ हामीले  l
पातलो सिँगान आउँदा पनि,
सयौं पटक अस्पताल पुरायौं हामीले l
तिमी बिरामी हुँदा, हामी बिरामी भएका हुन्थ्यौं ,
तिम्रो रोदनसंगै हामी पनि रोएका हुन्थ्यौं l
तिम्रो पीडासंगै हामी पनि छटपटाइ रहेका हुन्थ्यौं  l
तिमीलाई सन्चो हुँदा हामी हर्षले बिभोर हुन्थ्यौं l

तिम्रो प्रेममा हामी बाँचेका थियौं ,
तिम्रो हाँसोमा हामी हाँसेका थियौं ,
तिम्रो बामेसराइले हामीलाई ,
स्वर्गको आनन्द भन्दा बढी आनन्द दियो ,
तिम्रो तोते बोलीले हामीलाई ,
धर्तिको सम्पूर्ण सुख नै ओइरो लगाइदियो l
तिम्रो एक मुस्कानले हामीलाई ,
धर्ति भरिकै सम्बृद्धिशाली बनाइ दियो l

तिमीले पेटभरी खाएर अघाएको दिन,
आफ्नो पेट भरिएको भन्दा पनि बढ़ी हुन्थ्यो l
तिमी एकपल्ट प्रफुल्ल बनि दिंदा पनि ,
आफूलाई संसारभरिको भाग्यमानी जस्तो लाग्थ्यो  l
आफ्नो काखमा खुसीले लुटपुटिदा तिमी,
संसारको सबैभन्दा वैभवशाली व्यक्ति जस्तो लाग्थ्यो l
तिमी आनन्दले निदाए मात्रै पनि,
असीमित सन्तुष्टिले पुलकित बनाउथ्यो l

तिम्रो प्रगति उन्नतिको लागि ,
रातोदिन संघर्ष गरिरह्यौं हामीले l
तिम्रो समुन्नत भविष्यको लागि ,
हरपल पसिना बगाई रह्यौं हामीले l
तिम्रो खुसी आनन्दको लागि ,
कयौं रात निन्द्रा बिर्सिदियौं  हामीले l
तिम्रो सफलताको कल्पनामा ,
खुसीले उफ्रेर आकाश छुन पुग्यौं हामीले l
तिमीलाई सबैभन्दा असल बनाउने रहर हाम्रो,
सबै भन्दा राम्रो व्यक्ति बनाउने चाहना हाम्रो ,
नैतिकवान चरित्रबान बनाउने अभिलाषा हाम्रो ,
संसारकै खुसि सफल मान्छे बनाउने आशा हाम्रो  l
अत्यन्तै उत्कृष्ट सुयोग्य भरोषा पाउने ,
मीठा मीठा परिकल्पनाको सुन्दर स्वप्ना हाम्रो l

तिमीले आफ्नो बाटो बिरायौ भने,
कति आँशु ओइरिन्छन् होला हाम्रो ?
तिमीले हामीलाई बुझ्न सकेनौ भने ,
कति छाती चिरिन्छ  होला हाम्रो ?
हाम्रो आशा भरोषामा तुषारापात भयो भने ,
कति भक्कानिन्छौँ होला हामी ?
हाम्रो रहरले धोका पायो भने ,
कति बिचलित हुन्छौं होला हामी ?
हाम्रो मायाले बिश्वासघात पायो भने ,
इक्षा आकांक्षाहरु चकनाचूर भए भने ,
कति मन दुखाएर बसौंला हामी ?

तर तिमीहरु हाम्रो प्राणभन्दा प्रिय हौ ,
हाम्रो स्पन्दन हौ,स्वास-प्रस्वास हौ l
तिमीहरुलाई,
हाम्रो हृदयभरिको शुभकामना रहने l
मुटु भरि भरिको मायाँ प्रेम रहनेछ l
संसारभरी कै सुख सफलताको कामना हुनेछ l

तिमीहरु हाम्रो मुटुका टुक्रा हौ,
हाम्रो मुटुलाई भन्दा बढ़ी मायाँ दिएका छौं l
यो अविरल माया,यो निरन्तर माया ,
जीवनभर मात्र नभएर,
मृत्यु पश्चात पनि रही रहनेछ l
तर कहिल्यै बाटो नविराऊ ,कुमार्ग नसमाऊ l
हरपल हाँसो खुसी प्राप्त गरेर ,
सुस्वास्थ्य दीर्घायु जीवन बिताउंदै जाऊ l
यहि नै हाम्रो आशिर्वाद हुनेछ ,
हाम्रो अबसान पछी पनि ,
अन्तर आत्माले यही भनिरहनेछ ,
यही भनिरहनेछ 1

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु