Showing posts with label कृति समीक्षा. Show all posts
Showing posts with label कृति समीक्षा. Show all posts

Friday, August 19, 2016

"युवाको लागि मन बिसाउने चौतारि हो मौनता "।

       
कृति समीक्षा
 पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भुमि बन्दै गैराखेको छ /हुन त यस अघि पनि चितवन साहित्यमा अगाडीनै थियो तर पछिल्लो समयमा चितवनका केहि धेरै साहित्यिक ब्यक्तित्व बिश्व साहित्यको धरातलमा पुगि सकेकोले यस मानेमा साहित्यिक भुमि चितवन पनि मान्न सकिन्छ / 
चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरु प्रकासित भै सकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकासित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान 'मौनताले' पाठकको मौनतालाई नै तोडिदिएको छ / 
         पहिले कविताका माध्यम बाट चितवनको उर्वर माटोमा जन्मिएका कवि सुमन घिमिरे हालै प्रकासित भएको उनकै आख्यान 'मौनता'ले सफल आख्यानकार का रुपमा देश भरि नै चिनाउन सफल भएको छ ।
 देशै भरि उपन्यास 'मौनता'को चर्चा चलि रहदा आफु 'मौनता'नपढी बस्नै सकिन आख्यान कार कै हात बाट 'मौनता' लिएपछि सरासर घरमा आएर 'मौनता'भित्र पस्न खोजे त्यहि रमाए,कतै रोए अनि कतै माया प्रेम,मिलन ,बोछोड़ र त्यो भन्दा पनि आख्यानमा सामाजिक बिषयवस्तु लाइ जीवन्तता का रुपमा उठाएको पाए / समाज भित्रको मानविय संवेदनालाई सचित्र उतार्ने प्रयास गरेको पनि पाए त्यो भन्दा पनि समाजकै कथा वस्तुको यौटा प्रतिविम्बको रुपमा लिए मैले /

 गोर्खा पब्लिकेसन ले प्रकासन गरेको 'मौनता'भित्र दुइ सय छब्बीस पेज रहेपनि कथा वस्तु निकै चाख लाग्दो भएकै कारण ले मलाइ छोटो झैँ लाग्नु स्वाभाविकै को तर उक्त आख्यान भित्र जे हुनु पर्ने हो त्यो सबै कुरा रहेको पनि छ / 
         आख्यानको सुरुवात फिल्मी तरिकाले सुरु भएको छ अर्पण लाइ मुख्य पत्रको रुपमा उभ्याएर आइ टि सम्बन्धि टेक्नोलोजीको ज्ञान बर्णन गरिएको छ अर्पण कै माध्यम बाट र समय पैसा र सम्बन्ध लाइ नचिनेर आफ्नै कारण ले आफै धोका खाएकी शिला पात्रलाइ सवाल र सक्षम बनाउन पनि उत्तिकै ठुलो भूमिका खेलेको छ भने विदेश मा रहेका आफ्ना पतिलाई भ्रममा राखेर आफु आख्यान मा खलनायक का रुपमा रहेको पात्र सुबिन संग आफ्नो यौवन धन सुम्पिएर धोका पाएकी निरु पात्रलाइ सुबिनको पन्जा बाट छुटाएर अफिसको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने बनाउछ, त्यो भन्दा पनि आफ्नो गल्तिको बोध गर्न सक्ने सम्म बनाउछ ।           समाजमा धेरै थरिका मानिसहरु हुन्छन कोहि सेवामा बिलिन हुन्छन कोहि पैसा र समाजको भड्किलो बाटोमा हिड्ने जाँड,रक्सि खाएर परिवारलाई घर न घाट सम्म पुर्याउने पात्र हुन्छन त्यस्तै गरि यो आख्यान भित्र पनि यो कथालाई आख्यानकार ले रानी पात्र को घर लाइ समावेस गरेका छन् ।
 वास्तवमा यहाँनेर पनि आख्यानकारले वास्तविक कथालाई लिएर पाठकको मन तान्न्ना सफल बनेका छन्, जाँड,रक्सि,जुवाले सम्पति सकिएपछि पैसा संग छोरीलाई सम्झौता गर्ने पुरुष रहेको कुरा यथार्थ चित्रण पनि गरेका छन् / विदेशमा परेको बाध्यता रहर दुख र सुखले निम्त्याइएको दुख लाइ पनि चित्रण गरिएको छ भने कतै आख्यानकार ले पुरुस पात्रलाई ,महेस पात्रको रुपमा उभ्याएर ठुलो र महान बनाउन पनि खोजेका छन् ,उक्त पात्रको माध्यम बाट पुरुषलाइ धैर्यवान, सहनशिलता र साहासको प्रतिमूर्तिको रुपमा देखाएका छन् भने नारीले आफ्नो चरित्र आफै हत्या गर्न सक्छे त्यसमा समाज र कुनै पुरुषको दोष बिना नै आफु हदै सम्म पार गर्न सक्छे भन्ने सम्म पनि पाठक लाइ दिन खोजिएको छ,सो संगै नारिको मन कुनै दिन परिवर्तन हुन सक्छ गल्तिको महसुस गर्नसक्ने पनि हुन सक्छन भन्ने कुरा शिला पात्रा द्वारा दिन खोजिएको छ /
    आख्यान भित्र भिन्न भिन्न कथा वस्तु लाइ समेटिएको छ जहाँ नारीलाई कमजोस सम्झिएर फाइदा लिने पुरुषहरू पनि देखाइएको छ जहाँ नारीले चाहेको खण्डमा जस्तो सुकै सामाना गर्न सक्छे भन्ने कुरा लक्ष्मी पात्र द्वारा उठान गर्न पनि खोजीएको छ भने 'मौनता'भित्र पुरुस लाइ माथिनै राखेपनि पुरुषका कैयौ कमि कमजोरीलाइ पनि औल्याइएको छ / पुरुषले जस्तो सुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी बहन गर्न सक्छ भन्ने कुरा आख्यानका पात्र महेस द्वारा पुस्टि गरेका छन् आख्यानमा जव कि नेपाल बाट आएकि एक्ली चेली सम्झेर आफु नखाएरै पढायो र,श्रीमती सम्म पनि स्वीकार्यो मान इज्जत,पैसा सबै कमाउने सम्म पनि बनाइ दिन्छ पछि उसै बार तिरस्कृत बन्छ ,पाखण्डी बन्छ घृणित बन्दा पनि छोराको भविस्य लाइ हेर्दै सम्बन्ध बिच्छेद हुदा सम्म शिलाको जीवन उकासिरहेको हुन्छ,।
 'मौनता'भित्रको प्रेम प्रसङ्गले आख्यानलाइ रोचकता बढाएको छ पाठकको मन तान्न सफल भएको छ / अर्पण र रानीको छुट्टिएको प्रेम कहानी पछि फेसबुक को माध्यम बाट समर्पण र मौनता लाइ जन्माएर संयोगवस भेट गराउछन / आख्यान बियोगात्मक रुपमा बिटमारेको भए त्यति रोचक नहुने थियो यो आख्यानकारको कला र चलाखीपन पनि हो अन्तिममा संयोगात्मक बनाउने,उहाँको कला लाइ मान्नै पर्छ,
 विदेशको कथा जोडीसकेपछि बिदेशमा नेपालि ले भोग्नु परेको पिंडाको थोरै प्रसङ्ग बढाएको भए विदेश प्रतिको मोह नेपालीको थोरै कम हुन्थ्यो कि भन्ने मात्र हो / 
आख्यानको सुरुमै अर्पण पात्रको माध्यम द्वारा बिदेशमा भन्दा स्वदेशमा धेरै राम्रो छ गर्न सके स्वदेशम केहि गर्न सकिन्छ भन्ने कुरा दर्साए पनि अन्त्यमा अर्पण र रानी लाइ आख्यानमा विदेश नै गएको देखाईदिदा अल्लि खल्लो महसुस भएको हो कि जस्तो पनि लाग्छ /
 बिदेशमा कैयौ नेपालि छन् जो सुखले भन्दा अभावले बाँचेको र नेपालि ले पाएको पिंडाहरु धेरै रहेको र विदेश भन्दा स्वदेश नै ठिक रहेको आफ्नो मातृभूमि प्यारो हुनेकुरा देखाएर रानी र अर्पण लाइ नेपालमै रोक्न सक्नु पर्थ्यो कि ! आख्यानमा नारीलाई निकै नै गिराएको देखिन्छ शिलापात्रका माध्यम द्वारा त्यो पनि अलिकति कम गरेको भए हुन्थ्यो कि भन्ने मात्र हो जे होस् गल्तिको महसुस भने गराएको छ आख्यान ले /

 वास्तवमा ''मौनता'निकै रोचक घतलाग्दो आख्यान छ समाजमा रहेका बिकृति,विदेशप्रतिको मोह बिदेशमा भोगेको जीवनशैली माया,प्रेम,मिलन ,बिछोडको आदि ब्याख्या गरिएको छ ।

 समाजको चित्रण हो मौनता।
 नारिको यथार्थ कथा हो मौनता ।
 पुरूषको दिइवटा रूपको खुलासा हो  मौनता  /
माया,प्रेम,मिलन,बिछोडमा युवाको मन बिसाउने चौतारि हो मौनता । 

यस्तै गरि "मौनता " निकै रहस्यमय तरिकाले सुरु भएर रहस्यमय तरिकाले नै अन्त्य भएको छ / यस हिसाबले 'मौनता'निकै सफल आख्यान मान्न सकिन्छ पहिलो आख्यान ले नै चर्चाको शिखरमा पुर्याउन सफल आख्यानकार सुमन घिमिरे ज्यु लाइ सफलताको सुभकामना दिन चाहन्छु /

 रामकृष्ण अनायास कविडाँडा
 Paudelramkrishna6@gmail.com

Saturday, January 10, 2015

‘इकोज’ उपन्यास : अङ्ग्रेजी साहित्यको विस्तार









रामकृष्ण पौडेल ‘अनयास’
         नेपालको अंग्रेजी साहित्यमा स्थापित हुँदै गएका कवि तथा उपन्यासकार ईश्वर कँडेलले दुई दशकभन्दा बढी अंग्रेजी शिक्षाको सेवामा समय बिताइसक्दा अत्यन्त उल्लेखनीय कार्य गरिसकेका छन्, जुन उनको जीवनको गौरव र प्राप्ति पनि हो । उनले विगतदेखि वर्तमानसम्म हुर्काउँदै ल्याएको श्रृंखला कविता, उपन्यासको सृजनकर्म नै हो भन्दा अन्यथा हुँदैन । अंग्रेजी माध्यमद्वारा कलम चलाएर अंग्रेजी साहित्यमा क्रमशः प्रभाव छोड्न सफल कवि, उपन्यासकार ईश्वर कँडेलजस्ता व्यक्तित्वलाई चितवन र अझ त्योभन्दा पनि नेपालले नै पाउनु भनेको गौरवको विषय पनि हो । चितवनको सुन्दर प्राकृतिक काखमा जन्मिएर विशेष रुपमा प्रकृतिप्रतिको मोह र रूचि राख्ने उनको ठूलो सोख हो । त्यसले पनि प्रकृतिमा भेटिएका अजीव र मनमोहक विषयवस्तुलाई टपक्क टिपेर शब्दले पाना भर्ने उनको कला, कुची र त्यसलाई अंग्रेजी भाषामार्फत ढाल्ने कुशल र बहुमुखी क्षमता उनमा रहेको कुराको पुष्टि हालसम्म उनले गरेका र हामीले देखेका उनका कार्यबाट पुष्टि हुन आउँछ । कँडेलको प्रथम कृति अंग्रेजी कविताहरुको संग्रह ‘बाया’ आएको केही समयपछि अंग्रेजी साहित्यप्रेमीमा समेत क्रमशः लोकप्रिय बन्दै गएको उपन्यास ‘इकोज’ले उनलाई सफलताको मार्गमा अग्रसर बनाउँदै लगेको देखिन्छ । ‘इकोज’ उपन्यास आफ्नो व्यक्तिगत स्वार्थमा नलेखेको अभिव्यक्ति दिँदै कँडेल भन्छन्– ‘समाजको हितका लागि हजारपल्ट मर्ने र हजारपल्ट जन्मन सक्छु ।’ साँच्चै उच्च विचारका धनी कवि, उपन्यासकार कँडेल समाजसेवामा पनि अग्रसर रहेको कुरा देखिन्छ । अंग्रेजी साहित्य विकासका लागि विभिन्न संघसंस्थामा रही काम गर्दै आइरहेको पनि पाइन्छ । यस्ता लेखकको उपन्यास ‘इकोज’ मेरो हातमा केही दिनअघि प¥यो र यसभित्र केही समय बिताउँदा मनमा लागेका कुराहरु मैले अभिव्यक्त गर्ने जमर्को गरेँ । जीवनको यथार्थ भोगाइ र सामाजिक परिपे्रक्ष्यमा लिखित ‘इकोज’ उपन्यास पढ्दा आनन्द पनि आयो । जोकोही आममान्छेले गर्न नसक्ने काम कँडेलले गरेर देखाएका छन् । मलाई लाग्छ, नेपालबाट थुप्रै अंग्रेजी पुस्तक प्रकाशन भए पनि थोरैमात्रैले चर्चा पाउँछन् । यो उपन्यास त्यसमध्ये एक हो । ‘इकोज’ एकैरातमा पढेर सकेँ मैले । पुस्तक पढेर नसकुन्जेलसम्म मैले पुस्तक बन्द गर्न सकिनँ । अंग्रेजी साहित्यको लेखन क्षेत्रमा थुप्रैथुप्रै सम्भावना बोेकेको लेखकका रुपमा पाएँ मैले उपन्यासकारलाई । उपन्यास पढ्दा कताकता मलाई आफ्नै समाजको घटना, परिवेश र विषयवस्तु झल्किएको जस्तो लाग्यो । बिलकुलै कुनै बनावटी र श्रृंगारले नसजाइकन जस्ताको तस्तै सामाजिक परिवेशलाई समाजबाट टपक्क टिपेर उपन्यासका पाना भरेका छन्, उपन्यासकारले । त्यसैले पनि उपन्यास कृति र उपन्यासकार पाठकमैत्री रुपमा प्रस्तुत भएका छन् । त्यसो त ‘इकोज’भित्र समावेश मुख्य पात्र हरिको भूमिकामा लेखक आफैँ नै हो कि जस्तो आभास पनि भयो । यस कृतिभित्र संघर्ष, वियोगान्त घटना र सामाजिक विषयवस्तुले अलि धेरै नै ठाउँ ओगटेको पाइन्छ । हुन त, कृति आफैँ कृतिकारको विचार हो । त्यसैले पनि उपन्यासका प्रमुख पात्रलाई लेखकले स्वयं आफैँ बनाएर अभ्यास गरेका होलान् र आफ्नै कतिपय व्यक्तिगत विषयवस्तुलाई प्राथमिकता दिएका होलान् जस्तो लाग्छ । कृतिकारले आफ्नो कृतिमार्फत कुनै एक निश्चित सोच र विचार सम्प्रेषण गर्ने गर्छन्, तर जब त्यस विचारलाई प्रकट गर्ने कुनै माध्यमको चयन गरिन्छ, सोही माध्यमअनुसार प्रकट गरियो भने रचनामा स्वाभाविकता आउँछ । ‘इकोज’मा यसको अभाव हुन पाएको छैन । उपन्यास मूलतः सामाजिक यथार्थको चित्रणमा केन्द्रित रहेको आभाष हुन्छ । हाम्रो समाज अनि देश र नागरिकले अझै पनि ठूलो दुःखको सामना गरिरहेका छन् । राज्यले त्यतातिर कुनै पनि गम्भीरता देखाएको छैन । उपन्यासभित्र पनि यस्तै कुराहरुलाई लिएर बुलन्द आवाज उठाइएको छ । उपन्यासभित्रको मुख्य पात्र हरिले ठूलो संघर्ष गरेको छ । त्यस्तो संघर्ष आजका कयौँ मानिसले पनि गरिरहेका छन् यहाँ । सामान्य मास्टर भएर जीवन चलाउन कति कठिनाइ हुन्छ । राज्यले सबै सुखसुविधाबबाट वञ्चित गराउँदागराउँदै पनि जीवन चलाउनै पर्ने बाध्यता छ । उक्त बाध्यता र समस्याको उचित समाधान खोज्न नसक्दा कुनैकुनै ठाउँमा बाध्यतावश नशाको सहाराले आफ्नो दुःख बिर्साउने कोसिस गर्छ, मुख्य पात्र हरि । उसलाई धेरै धैर्यवान् र शिक्षित व्यक्तिका रुपमा उभ्याएका छन् उपन्यासकारले । हरिको जीवनले हजार ठाउँमा अनेकौँ मोडहरु लिएको छ । कुनै मोडमा राम्रा र कुनै मोडमा नराम्रा व्यक्ति भेटिए पनि उसलाई माया गर्ने सीमा आफ्नै विद्यार्थी भेटिँदा पनि उसले विद्यार्थी सीमाको प्रेमलाई अपनाउन सकेन । यहाँ कृतिकारले थोरै प्रेमप्रसंग पनि जोडेको पाइन्छ । क्रमिक रुपमा ‘इकोज’लाई नियाल्दै जाँदा कृतिकारले समाजमा अझै पनि नारीले विद्यमान परिस्थितिको सामना गरेको कुरा पनि झल्काएर नारीको आवाजलाई मूलतः नउठाए पनि नारीले भोगेका पीडा र रुढीवादी संस्कारले नारीलाई चेपेर राखेको र हेपेर राखेको कुरा पनि सशक्त रुपमा देखाएका छन् भने कतै नारीले चाहेको खण्डमा समाज र विचार पनि परिवर्तन गर्न सक्छे भन्ने विषयवस्तु पनि सँगसँगै उठाइएको छ । कृतिकारले उपन्यासको मुख्य पात्र हरिकी आमालाई समाजले गरेको घृणा, तिरस्कार र रुढीवादीले ग्रसित समाजले गरेको अन्यायको पीडालाई सहेर बाँचेको पात्रको भूमिकाका रुपमा उभ्याएको पाइएको छ । यहाँनेर धार्मिक आस्थालाई जोड्न खोजिएको छ । आमाले धार्मिक विधिद्वारा हरिको जन्म दिई समाजलाई चुनौती पनि दिएकी छन् र विभिन्न व्यक्तिका सोच र दोधारे मानसिकताका बाबजुद हरि नामकरणसमेत गरिन् । वास्तवमा हाम्रो नेपाली समाज अझै पनि भित्रभित्रै रुढीवादले धेरै ग्रसित छ । यहाँ कृतिकारले धेरै समयअगाडिको विषयवस्तु समेटेर उपन्यास तयार गरे पनि अचेल २१औँ शताब्दीमा यो समस्या नदेखिएको पनि होइन । अचेल समय, विषयवस्तु, माध्यम, माग परिवर्तन भने भएको छ । हरिकी आमालाई त्यतिबेला बोस्सीको आरोप मुख नै फोरेर नलागे पनि व्यवहारमा समाजले प्रस्ट रुपमा देखाएको थियो । बच्चाको मृत्युको कारणले जन्म दिने आमालाई कति पीडा दिन्छ, तर हरिकी आमाले पाँच–पाँचवटा सन्तान गुमाउनुको पीडा सहँदा पनि बाँच्नुको महानता देख्दैन, यो कायर समाजले । अझ, बदलामा उल्टो निर्दोषलाई दोषी ठान्ने समाज आज पनि जीवितै छ जस्तो लाग्छ । म यतिबेला थोरै भावुक पनि बनेको छु । कृतिकारले मेरो मन यहाँनेर नरूवाएका पनि होइनन् । ठूलो विषयवस्तुलाई लिएर आजका सभ्य मान्छेलाई घचघच्याउन समेत पछि परेका छैनन्, लेखक । त्यसैले पनि उपन्यासकारलाई सफल मान्नुपर्छ । अर्को पाटोमा यस समाजमा नारीले संघर्ष पनि गर्न सक्छे भन्ने शिक्षा दिन कृतिकारले शीला पात्रलाई उभ्याएका छन् । हजार सपना बोकेर विदेशिएको श्रीमान्ले पैसा कमाएर पठाउला भन्ने बेलामा बाकसमा लास आउँदा शीलाको अवस्था कस्तो भयो होला, म सोच्न पनि सक्दिनँ । त्यो पीडालाई थन्काएर शीला सामाजिक कार्यमा लाग्छिन् । ग्रामीण भेगमा स्कुल खोलेर शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षा प्रदान गर्नु भनेको ठूलो महानता र धर्म हो । कृतिकार शैक्षिक पेसामा संलग्न भएकाले पनि शिक्षाको विषयलाई उपन्यासमा बुलन्द रुपमा उजागर गराएका हुन सक्छन् । यस उपन्यासमा पात्रहरुको भूमिका र विषयवस्तुलाई एकदमै मिलाएर राखिएको छ । कृतिकारको यस्तो कलालाई प्रशंसा नगरीकन सकिन्न । वास्तवमा हो, थोरै चाहना लिने मान्छे सुखी हुन्छ र धेरै चाहना लिने मान्छे दुःखी हुन्छ । हाम्रो आफ्नो चाहनाले हामीलाई नै झुलाइरहेको छ । कृतिमा यी कुराहरु पनि प्रस्ट रुपमा भल्काइएको छ । वास्तवमा मान्छेका चाहना असीमित हुन्छन्, तर पूरा गर्ने साधन र स्रोतहरु सीमित हुन्छन् । यो उपन्यासमा अर्थशास्त्रका केही सिद्धान्तलाई समेत आत्मसात् गरेको पाइएको छ । जे होस्, कृतिले पाठकको तिर्खालाई परिपूर्ति गरेको पाइन्छ र समाजलाई जुन शिक्षा र आजका युवालाई जुन परामर्शको आवश्यकता छ, त्यो आवश्यकता पनि उपन्यासका कृतिकारले यसमार्फत प्रकट गरेका छन् । दुःख नझेल्ने मान्छे कमै हुन्छन् र दुःखको परिस्थितिमा बाँच्न सक्ने मान्छे पनि कमै हुन्छन् । तर, यहाँनेर दुःख मान्छेको बाँच्ने आधारको अर्को पाटो हो भन्ने कुरालाई उजागर गरिएको छ । जीवन भनेको फूलजस्तै निर्दोष छ जस्ता भनाइहरुले मान्छेलाई बुझाउने कोसिससमेत गरिएको छ । हरि पात्रलाई जुन पीडा हुन्छ, त्यो पीडा र उसको समस्याका बाबजुद पनि ऊ बाँच्न सफल छ । त्यो सफलता भनौँ या विवशता, तर अन्तिममा आफ्नो परिवारको अन्त्येष्टि निकै दुःखदायी भएको पीडाले ऊ आफू पनि भित्रभित्रै जल्छ । उपन्यासमा नेपालको भौगोलिक वनावट र प्राकृतिक प्रकोपले आमनेपालीलाई कस्तो सजाय दिइएको छ भन्ने कुराको समेत कृतिकारले उल्लेख्य रुपमा चित्रण गरेका छन् र प्राकृतिक प्रकोपले परिवारै नास गराउँदा मुख्य पात्र हरि जीवनमा एक्लै परेको र आफ्नो परिवारको निर्जीव शरीर जलेको र बलिरहेको चिताबाट आएको आगोको तातोले उसको हृदय डढाएको अनुभवसमेत गर्दछ । त्यस्तो कहालीलाग्दो अनुभव उपन्यास लेखकले हरिका माध्यमबाट नेपालको वास्तविक कथाका रुपमा उजागर गरेका छन् । यस उपन्यासलाई लिएर बुँदागत रुपमा यसरी पनि भन्न सकिन्छ ः ‘इकोज’ समाजका लागि आवश्यक कृति हो । ‘इकोज’ जीवन परिवर्तन गर्ने स्रोत हो । ‘इकोज’ आममान्छेको बाँच्ने आधार हो । ‘इकोज’ दुःखको सामना गराउने अभिभावक हो । माथिका यी सबै विषयवस्तु अनि इकोजभित्र समावेश भएका पात्रहरुको राम्रो मेल र परिवेश, भूमिका निकै सान्दर्भिक र उचित ठहरिएको छ । उपन्यासमा केही वास्तविक जीवनको चित्रण गरिएकाले अझ रोचक बनेको छ । बिग्रिएको जिन्दगीका पाना च्यातेर फेरि सुकिलो पानाबाट जिन्दगी बिताउन प्रेरित हरि पात्र सफल व्यक्तिको पंक्तिमा उभिन सक्षम भएको छ । ‘इकोज’ उपन्यास नेपालीहरुको साँचो कथा हो । इतिहास बोधको जीवन्त गाथा हो । कसरी र कत्तिको निर्ममतापूर्वक नारीहरु, गरिबहरु सताइन्छन् भन्ने कुराको चित्रणसमेत यो उपन्यासमा पाइन्छ । जीवन्त प्रस्तुति हो, ‘इकोज’ । समाजका निम्न वर्गीय पात्रहरु र संघर्षको मैदानमा दौडन उत्रेका पात्रहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखसँगै लड्न सक्ने शक्ति, नारी, पुरूष, समानता अनि समस्याको समाधान पहिचानका लागि शङ्खघोष गर्नु प्रगतिवादी चिन्तनअन्तर्गत जीवनलाई सही मार्गमा लगेर सही पहिचान गर्न सक्ने मूल चुरो हो भने यो उपन्यास निम्न वर्गीय जीवनको उच्चतम रचना हो । यिनै दृष्टिकोणबाट आमपाठकले यसको उच्चतम मूल्याङ्कन र विश्लेषण गर्न आवश्यक ठान्दछु । ‘इकोज’भित्र केही समय बिताउँदा खासै नराम्रो पक्षको पाटो मैले देखिनँ उपन्यासमा । यो सरल छ र कृति आमपाठकले बुझ्न सक्नेछन् । अंग्रेजीमा उपन्यास कृति प्रकाशन गर्नु उपन्यासकार ईश्वर कँडेलको महानता र क्षमतालाई मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनमा यो क्षमता विश्वभरि नै फैलिन सफल रहोस् भन्ने शुभकामनासमेत यहाँ व्यक्त गर्न चाहन्छु । अझै, लेखनयात्राले सफलताको शिखर चुमोस् भन्ने कामना पनि छ ।

Monday, July 15, 2013

द्वारिका नेपाल, ज्यु को पुस्तक समीक्षा चितवन पोस्ट मा

चितवनको पहिलो राष्ट्रिय पत्रिका चितवन पोस्ट मा ‘धमिलिएका डोबहरु’ पुस्तक समीक्षा :प्रकासित भयको 

द्वारिका नेपाल, ज्यु को पुस्तक समीक्षा

चितवनको पहिलो राष्ट्रिय पत्रिका.लोकतन्त्र संदेश मा ‘धमिलिएका डोबहरु’


चितवनको पहिलो राष्ट्रिय पत्रिका.लोकतन्त्र संदेश मा ‘धमिलिएका डोबहरु’ पुस्तक समीक्षा :प्रकासित भयको 

सालिकराम सापकोटा ज्यु को पुस्तक समीक्षा

चितवन पोस्ट मा ‘धमिलिएका डोबहरु’


चितवनको पहिलो राष्ट्रिय पत्रिका.चितवन पोस्ट मा ‘धमिलिएका डोबहरु’ पुस्तक समीक्षा :प्रकासित भयको

पुष्प अधिकारी अन्जली ज्यु को पुस्तक समीक्षा

चितवन खबर मा पुस्तक समीक्षा ‘धमिलिएका डोबहरु’

चितवनको पहिलो राष्ट्रिय अर्ध साप्ताहिक चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका.मा ‘धमिलिएका डोबहरु’ पुस्तक समीक्षा :प्रकासित भयको

पुस्तक समीक्षा : ‘धमिलिएका डोबहरु’ नियाल्दा



पुस्तक समीक्षा : ‘धमिलिएका डोबहरु’ नियाल्दा
द्वारिका नेपाल, २०७० आषाढ २०(chitwan post )

1





१. विषयप्रवेश ः
गजल कविता विधाअन्तर्गतको उपविधा हो । नेपाली साहित्यमा मोतीराम भट्टबाट प्रारम्भ भएको गजल लेखन परम्पराले अनेकौँ उतारचढाव भोग्दै वर्तमानसम्म आइपुगेको छ । प्रेमिकासँगको वार्तालापमा सीमित गजलको पहिचानले अहिले आफ्नो आयाम विस्तार गरेको छ । साहित्यका नौवटै रस प्रेम, दया, माया, घृणा आदि भाव, राजनीति, धर्म, इतिहास, शिक्षा, समाज आदि विषय, क्षेत्रलगायत यावत् विषयमा गजल लेख्न थालिएको छ । वर्तमानमा सबैभन्दा धेरै लेखिने रचना नै गजल बन्न पुगेको छ । तसर्थ, यसले छुट्टै विधाको मान्यताका लागि टाउको उठाउन खोजेको देखिन्छ ।

नेपाली गजलका लागि चितवन निकै उर्वर भूमि सावित भएको छ । ६० को दशकबाट चितवनले फुुटकर र कृतिगत रुपमा प्रशस्त गजल पाउन थालेको छ । खासगरी, चितवनमा एफएम रेडियोहरुको स्थापनापछि गजल क्षेत्रमा विशेष चहलपहल सुरू भयो । रेडियोबाट गजल सुनाउने र सुन्ने परम्पराको थालनीसँगै चितवनको साहित्यिक माटोलाई ढपक्क ढाकेको पाइन्छ ।

इतिहासलाई स्मरण गर्दा गजलमा दोहोरी प्रारम्भ गराएर सिजर्नी एफएमको लोकप्रिय कार्यक्रम ‘अनुराग’का कुशल प्रस्तोता अर्जुनमणि पौडेलले नयाँ प्रयोगको प्रारम्भ गरे । प्रेमविनोद नन्दन र शीतल कादम्बिनी, रावलकृष्ण र अजिता अधिकारीजस्ता स्रष्टाहरुको सवाल–जवाफयुक्त गजलवाचनले विशेष आकर्षण प्रदान ग¥यो । यस्तो पृष्ठभूमिमा विकसित चितवनको माटोले प्राप्त गरेको छ, सवाल–जवाफयुक्त सिंगो गजलसंग्रह ‘धमिलिएका डोबहरु’ । स्रष्टा रामकृष्ण पौडेल अनायास र फुच्ची जमुनाको लेखनीबाट सिर्जित प्रस्तुत कृतिले नेपाली गजलको इतिहासमा नयाँ गोरेटो कोरेको छ ।

२. कृतिभित्रको प्रणयभाव ः
गजल आफैँमा प्रेमपरक हुन्छ । त्यसमाथि, सवाल–जवाफ भनेपछि प्रेमका विषयमा गरिएका वार्तालाप प्रश्नोत्तर संग्रहमा समावेश हुनु स्वाभाविक हो । गजलका लागि छुट्याइएका ४७ पृष्ठमध्ये ३८ वटा पृष्ठका गजल प्रणयभावमा लेखिएका छन् । जीवनका लागि प्रेमप्रणय आवश्यक शक्ति हो । यही मान्यतालाई प्राथमिकता दिँदै लेखकद्वयले अधिकांश गजलहरु प्रेमप्रणयका विषयमा लेखेका छन् । युवायुवतीबीच हुने आकर्षण, शंका, उपशंका, मिलन, बिछोड, छटपटीजस्ता अनेकौँ भाव समेटिएका यस्ता गजलले लेखकहरुको युवापनलाई प्रतिनिधित्व गरेका छन् । एकअर्कामा आकर्षण बढेको यथार्थलाई लेखकद्वय सवाल–जवाफमा यसरी प्रस्तुत हुन्छन् ः

सवाल ः तिमी फुल्छौ भनी मरेर आएँ म
आयु थप्न तिम्रो मरेर आएँ म

जवाफ ः मन मुटु लगेकी थ्यौ आउन त प¥यो आखिर
मेरो आयु बढोस् भन्दै गगनबाट झ¥यो आखिर
(पृ.३३)

विश्वासमा संकट उत्पन्न भएपछि शंका तथा उपशंका उब्जनु स्वाभाविक हो । तसर्थ, प्रेममा परेको युगल जोडी एकअर्कालाई वाचा बँधाउन पछि पर्दैन ।
सवाल ः मर्द हुँ भन्छौ भने जहर पनि खान्छु भन
फुच्चीलाई लाने आँट भए हात उठाई लान्छु भन

जवाफ ः लान्छु भन्थेँ ‘फुच्ची’लाई नौमतीमा सजाएर
मर्द हो कि नामर्द हो देखाउँथेँ चखाएर
(पृ.३५)

प्रेमले मात्र जीवनको लामो यात्रा चल्दैन । जीवन चलाउन आयआर्जनको राम्रो स्रोत पनि चाहिन्छ । त्यही स्रोतको खोजीमा कयौँ युवाहरु आफ्नी प्रेयसीलाई घरमा छोडेर वैदेशिक रोजगारका लागि खाडी मुलुकमा तातो घाम खपिरहेका छन् । यही बाध्यता र वास्तविकता गजलमा यसरी आएको छ ः
सवाल ः सात समुद्रपारि छौ काम कस्तो छ राजा ?
ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा ?

जवाफ ः विदेशीको खुट्टा मोल्दै बस्नुप¥यो दास कान्छी
कमाइ छैन हातमुख जोर्न पु¥याएको छु गाँस कान्छी
(पृ.३६)

श्रृंगार रसले भिजेको ३८ वटा पृष्ठका गजलहरुमा कतै संयोग र कतै विप्रलम्भ श्रृंगार पाइन्छ । समर्पणदेखि वियोगसम्म, आशादेखि भावी योजनासम्मका भावहरुले भरिएका यी ३८ वटा सवाल–जवाफयुक्त गजलमा लेखकद्वय अनायास र फुच्ची लजाउँदै हाँस्दै, रूँदै सम्हालिँदै पोखिएका छन् ।

३. गजलमा सामाजिकता ः
कुनै पनि लेखक समाजसापेक्ष हुन्छ । उसको रचनाको धरातल आफू बाँचेको समाज नै हो । तसर्थ, ‘धमिलिएका डोबहरु’ सवाल–जवाफ गजलसंग्रहभित्र पनि सामाजिकता झल्कने गरी ६ वटा पृष्ठमा गजलहरु समावेश गरिएका छन् । प्रेमसँगै मिसिएका सामाजिक यथार्थ, विकृति, विसंगति, समाज सुधारका कुराहरुलाई पनि गजलकारद्वयले आफ्ना गजलमा समेटेका छन् । स्वार्थी समाजको चित्रण गरिएको एउटा नमुना ः

सवाल ः आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पीर व्यथा मनका कसले सुन्छन् अभागीको ?

जवाफ ः पीर नगर्नु तिमी संसार यस्तै छ
स्वार्थ समेट्नमै यो दुनिया मस्तै छ
(पृ.६९)

जब अभाव चुलिँदै जान्छ, त्यसपछि नेपालीहरुको मुग्लान पस्ने क्रम बढ्दै जान्छ । यो नेपाली समाजको वास्तकिता हो । यस्तो समाजको चित्रण गजलकारद्वयले आफ्नो गजलमा गरेका छन् ।
सवाल ः भुलेर पनि मुग्लान नपस्नु है तिमी
सकिनँ भनेर थ्याच्च नबस्नु है तिमी

जवाफ ः कसरी पालिने हो मुग्लान नपसेर पनि
थकित छु प्यारी के गरौँ नबसेर पनि
(पृ.४८)

४. गजलमा राष्ट्रप्रेम ः
हरेक देशभक्त नागरिकका हृदयमा राष्ट्रप्रेमको भावना छताछुल्ल हुन्छ । त्यस्तै, नेपालीहरु आफ्नो देशलाई औधी माया गर्छन् । यस संग्रहभित्र जुन अनुपातमा अन्य विषयका गजलहरु समेटिएका छन्, त्यसको सापेक्षतामा राष्ट्रप्रेमलाई उपेक्षा गरेको जस्तो देखिन्छ । यद्यपि, एउटा गजलमा भने गजलकारमा रहेको देशभक्ति झल्किएको छ ।

सवाल ः विश्वको शिर सगरमाथा ढल्दै छ रे फुच्ची
चन्द्रसूर्य सिंगो नेपाल जल्दै छ रे फुच्ची

जवाफ ः के भो कुन्नि हिजोआज मेची, कोशी सुकेको हो कि
चन्द्रसूर्य छाती मेरो हिमाली शिर झुकेको हो कि
(पृ. ५८)


देश बिग्रँदै गएको कुन स्वाभिमानी नेपालीलाई मन पर्छ र ! गजलकारहरु पनि देशको दुरवस्थाबाट चिन्तित भएर खबरदारी गर्दैछन् ।

५. उपसंहार ः
‘धमिलिएका डोबहरु’ गजलसंग्रह आफैँमा एउटा इतिहास हो । सवाल–जवाफलाई संग्रहका रुपमा प्रस्तुत गरेर लेखकद्वयले प्रशंसनीय काम गरेका छन् ।

कृतिको शीर्षकले निराशावादी चिन्तनलाई प्रतिनिधित्व गरे पनि लेखकहरुमा गजल लेखनका प्रशस्त सम्भावना रहेको यस कृतिले प्रमाणित गर्दछ । केही स्थानमा भाषिक अशुद्धता, मिसरा ए शानी र मिसरा ए उलामा अक्षरहरुको असमानुपातिक रखाइ, कतैकतै भावमा विचलनजस्ता कमजोरी आगामी दिनमा नदेखिएमा साँच्चै कृतिले अझै उच्चता प्राप्त गर्दछ । सवाल र जवाफ कसको ? युवक वा युवतीको ? यो कृतिमा समेटिएको भए अझ स्पष्ट र सुन्दर बन्न सक्थ्यो । यद्यपि, ७२ पृष्ठभित्र समेटिएको प्रस्तुत कृति आकर्षक कलेवरमा आएको छ । गजलकारद्वय रामकृष्ण पौडेल अनायास र फुच्ची जमुनाको लेखकीय क्षमता अझ परिष्कृत बन्दै जाओस् र नेपाली गजलले उत्कृष्ट कृतिहरु यी दुईका लेखनीबाट प्राप्त गरोस् भन्दै हार्दिक शुभेच्छासहित उज्ज्वल लेखकीय भविष्यको कामना गर्दछु ।

Saturday, May 25, 2013

“धमिलिएका डोबहरू”मा समुन्द्रपारिको प्रेम







 “धमिलिएका डोबहरू”मा समुन्द्रपारिको प्रेम



पुष्प अधिकारी ‘अन्जली’

नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजल सवाल-जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकरात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई मान्छेका मनहरू कसरी कहाँ रूपान्तरति हुन्छ त्यो समयको कुरा हो । मैले चिनेको यी दुई प्रतिभा गजलकारहरू रामकृष्ण पौडेल र फुच्ची जमुना नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छन् यी प्रतिभाहरूसँग ।

यस कृतिमा रामकृष्ण पौडेलले कतिपय सवालहरु राखेका छन भने फुच्ची जमुनाले त्यसको जवाफ लेखेकी छिन् र कतिपय गजलहरू फूच्ची जमुनाले त्यसको सवाल छ। डेकी छिन् र रामकृष्णले जवाफ दिएका छन् । यस कृतिमा गजलकार रामकृष्ण र जमुनाले समय को नदी भएर गजलका तरङ्गहरू छाल जस्तै उतारेका छन् । निद्रामा रहेका मान्छेहरूलाई व्युँताएका छन् आफ्ना गजलका शेरहरूमा थाहा छ यी दुई अक्षर यात्रीहरू यतिबेला गजलको यात्रै नभएर आफ्नो जीवनको उज्यालो भविष्य खोजेर शब्द शिखरहरू मा यात्रा गरि रहेछन् । यिनीहरूको यो लोभ लाग्दो सृजनाले केही न केही सन्देश समाजलाई गर्नेछ ।

समयका प्रत्येक पलहरू महत्तवपूर्ण छ चेतना शील र सृजनशील मान्छेहरू समयको छाता ओढेर सृजना गछन् र सामाजिक विसंगतिहरू भत्काउँछन् यस्तै गरि रहेका छन् यी दुई गजलकारहरू यिनका अधिकास गजलहरू प्रेमले निथ्रुक्कै भिजेका छन् । सर्वाङ्ग जीवन प्रेममा नै निहित छ । यस्तो लाग्थ्यो कतै कुनै गजलहरू त आफैसँग सम्बन्ध जोडिए जस्तै लाग्थ्यो । यीनीहरूको गजलमा कहिले काँही म आफै पात्रको रुपमा उभिए जस्तै लाग्छ । पत्थर भैसकेकोल मेरा मनहरू फेरि एक पटक व्युँझिएको जस्तै लाग्यो । यही त गजलको क्षमता र लेखकको सुजना शक्ति । मैले यीनीहरू को गजलमा आफ्नो अभिमत प्रकट गर्दै गर्दा यस्तो अनुभव गरे धरातल सँगै उड्नुको एउटा औचित्य रहेछ त्यो क्षणिक भए पनि आखिर चाहिने त धरातल नै रहेछ । हो अक्षरहरूले उडान भरेर गजलकारहरू धरातलमै उभिएका छन् आफ्नो एक टुक्रा मन वोकेर । “धमिलिएका डोबहरू” मा प्रेमको शक्ति र समपर्ण भाव छ । हरेक सृजनामा प्रेम हुन्छ र यसमा प्रणयका थुप्रै चेतहरू छन् । समयको उदवेगहरूसँगै प्रेमी-प्रेमीकाहरुको न्यानो स्पर्श भेटिन्छन् । घाम जून जस्तै सुकिलो हुनुपर्छ प्रेम । जीवनको सुन्दर गन्तव्य हुनुपर्छ प्रेम । यस्तै सन्दर्भ उठाएर सवाल राक्दैछन् गजलकार

सवालः- मेरो उषाका प्रहरहरू खोसेर भूल गर्‍यौ,

मन भित्रका रहरहरू खोसेर भूल गर्‍यौ ।

जवाफः-चाँद छोड्दै विहानीको उषा खोज्दै आए,

कस्को रहर कति रै छ भनी सोच्दै आए ।

सवालः- वस्तीभित्र झोसेर आगो के पायौ कुन्नि,

सँगै रात काटेका सहरहरू खोसेर भूल गर्‍यौ ।

जवाफः-हामी दुईको सम्बन्धलाई टुटाउने यो समाज

जलाएर राख पारी आगो झोस्दै आएँ ।

मान्छेसँग माया कति छ कति छ तर साँचो र यथार्थ फरक रहेछ । कति झुट्टा मुद्दाहरू मा जीवन झेल्नुपर्छ र अरुका फूलहरू सँगै जीवन फुल्दै क्रमशः भन्नुपर्छ शायद यी नियतिका खेल हुन् । समग्रमा बाँच्नुको सार्थकता त्यहीनिर हुन्छ जहाँ मायाको संवेग हुन्छन् हृदय भरि । हरेक मनको हजलासमा मायाको विकेन्द्रीकरण हुन्छ । नयाँ सोच र अध्ययन सँग संयोजन हुन्छ । मनहरू अनि सार्थकता भेटिन्छन् सृजनाहरूमा । गजलकार जमुनाले आफ्ना मनको देउतालाई मनको शङ्कालाई हृदयवान् नै प्रेमीले स्पर्श गरेर सोधेकी छिन् हजुरलाई कस्तो विदेशमा गर्दैछौ ? मनभरि को थुप्रै अभिलाषाहरू गुनासाहरू पोख्दै छिन् सवाल मा यसरी र गजलकार रामकृष्ण ले आफ्नी प्रेमीकालाई मनको किनार बाट उठठएर आँखा भरि राखेर आफ्नो व्यथा पोखेका छन् गजलमा हेरौ न तः

सवालः-सात समुद्र पारि छौ, काम कस्तो छ राजा ?

ठिक्क कि धेरै थोरै, दाम कस्तो छ राजा ?

कता-कता सुनेकी छु मान्छे जाली छन् रे,

लुटपाट हुन्छ कित, ठाम कस्तो छ राजा ?

जवाफः-विदेशीको खुट्टा मोल्दै बस्नु पर्‍यो दास कान्छी,

कमाइ छैन हात मुख जोर्न पुर्‍याको छु गाँस कान्छी ।

कोही आˆनो छैन यहाँ हराउँछु आफैँ भित्र,

मर्न लाग्दा पानीको नि लाग्दैन खै आस कान्छी ।

यस्तै दुःखहरूको अनुभूति बोकेर आफ्नी प्रेयसीले समुद्रपारि रहेको आफ्नो जीवन साथीलाई धेरै कुराहरू मनको गुनासाहरू बनाएर सोध्दै छिन् यसरीः

सवालः- कस्तो छ तिम्लाई उता के गर्दै छौ गाउँमा प्यारी ?

बालुवामा खेल्दै छु म बिरानो यो ठाउँमा प्यारी ।

जवाफः-पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा,

कस्तो तिम्लाई उता बिरानो त्यो ठाउँमा प्यारा ।

सवालः- पढ्न पनि सकिएन इलम छैन हातमा केही,

त्यसैले त पर्न आए विदेशीको पाउमा प्यारी ।

जवाफः- यसो उसो कमाई गरी खाने बाटो छैन देशमा,

जानु पर्‍यो विदेशीको आखिर आज पाउमा प्यारा ।

हुन त मान्छेहरू आफै भित्र एउटा पीडाको पहाड वोकेर हिडिरहेको हुन्छन् एउटा अनौठो प्र्रश्नहरूको । फूल जस्तो स्थिनग्ध जीवन र सुवासिलो प्रेमको आवश्यकता भएर पनि त्यस्तो समग्र भेटिदैन जीवन यात्राहरूमा । कतिपय मान्छेका मनहरू वगर भएका छन् । इस्र्या र प्रतिशोधले स्थिरता जन्माएको त भावानाहरूमा । थुप्रै सपनाहरू वोकेर अक्षरहरूको यात्रामा वग्दै गरेको स्वणीम जिन्दगी लेख्ने क्रममा यतिबेला गजलकार रामकृष्ण र जमुनाले एउटा आफ्नै मायाको आँगन बनाएका छन् । कति छट्पटी, कति पीडा, कति भोगाइहरू छन् । गजलमा । कयौँ रात उनकै पर्खाइमा रोएर विताएको छन् । आस्थाका उज्याला घामहरू बोकेर उदायका छन् । यी गजल सङ्ग्रहहरू । यिनका रचनागत शिल्पशैली र गजलका संरचनाहरू उपयुक्त छन् तर शब्द भावहरू मा परिकृत भएर आउन जरुरी ठानेको छु । सवै गजलहरूमा मायाको वृतचित्र छन् अब देश र समाज उठान जरुरी छ यी गजल स्रष्टाहरूले । प्राय गजलहरूमा प्रेमी र प्रेमीका बीचको संवादहरू मात्रै छन् । गजलमा अझै नवीनता खोजको भए यो सङ्ग्रह ले एउटा अस्तित्व उठाउने थियो । समग्रमा गजलकारहरू को यो प्रयास प्रशंसनीय छ ।

Thursday, November 1, 2012

सोमनाथलाई चिठ्ठी पढ्दा (कृति समीक्षा)


 --खगराज न्यौपाने
सूर्यनाथ सापकोटाद्वारा लिखित ‘सोमनाथलाई चिठ्ठी’ पत्रात्मक गीतिकाव्य हो । बाग्लुङको रातामाटामा २००५।८।८ गते जन्मिएका सूर्यनाथ सापकोटा विभिन्न विधामा कलम चलाउन सक्ने सशक्त साहित्यकार हुन् । बाग्लुङमा जन्मिए पनि जागिरको सिलसिलामा दाङ आएका सूर्यनाथको कोमल साहित्यिक मन दाङकै प्राकृतिक सुन्दरतामा रमाउन थाल्यो र स्रष्टाले दाङलाई नै कर्मथलो बनाउन पुगे । बाग्लुङका ग्रामीण वस्तीहरु त्यहाँका वन, पाखा, लेक, टाकुरा, खोला, छरछिमेकको न्यानो माया र सरसंगतको मधुरो सम्झनाले स्रष्टालाई पछ्याइरह्यो । मन मिल्ने साथीहरुको सम्झना कता कता रही नै रह्यो । बालककालदेखि सँगै खेलेका, पढेका रमाइला दिन बिताएका तमाम साथीमध्येका सूर्यनाथ सापकोटाका एउटा साथी हुन्– सोमनाथ । सोमनाथले यस गीतिकाव्यमा लेखेका मन्तव्यका कुराले सूर्यनाथ र सोमनाथ अति मिल्ने साथी हुन् भनी पुष्टि भएको छ भने ‘सोमनाथलाई चिठ्ठी’ पत्रात्मक गीतिकाव्य प्रकाशनले सूर्यनाथले पनि हामी दुई जिउ एक थियौं भनी प्रमाणित गरेका छन् । आफ्नो जीवनमा साथीलाई लेखेका चिठ्ठीहरुको संँगालो तयार पारी पुस्तकाकारको रुप दिनु निश्चय नै महत्वपूर्ण कुरा हो ।
राप्ती साहित्य परिषद् दाङले प्रकाशित गरेको २७ औं पुष्पगुच्छा हो ‘सोमनाथलाई चिठ्ठी’, यो पत्रात्मक गीतिकाव्यमा ९ वटा चिठ्ठीहरु रहेका छन् । यसमा ३०१ कविताहरु छन् । पेजको हिसाबले यो कृति ६३ पेजमा फैलिएको छ । यो कृतिको कभरपृष्ठ र भित्रको कागज पनि राम्रो छ । सम्पूर्ण चिठ्ठीहरु झ्याउरे लयमा छन् । यसैले यो कृति गेयात्मक शैलीमा छ । बाल्यकालको सम्झना स्रष्टाको मन, मस्तिष्कबाट हट्न सकेको छैन । एउटा उदाहरण–
‘म तिम्रै साथ हेर्दथे गाई, बलेबासारीमा
म तिमीसँगै डुल्थें सधैँ खेत र बारीमा
ती दिन गए आउन्न हकि तड्पेर रोएर, बन्दैनौं हकि ?
बालक हामी ती ठाउँ डुलेर ।’
त्यस्तै जन्मथलोको खबर पाउन अत्यन्त उत्सुक भएका स्रष्टाले यसरी भावना पोख्छन्–
‘त्यो रातो माटो म हिंड्नेबाटो भत्कन सक्दैन
लेख्नु है यौटा चिठ्ठीको टुक्रा महंगो पर्दैन ।’
स्रष्टालाई जन्मथलोको माया त छँदैछ कर्मथलो दाङको पनि माया यसरी व्यक्त गर्छन्–
‘धौलागिरी देऊ तिम्रो आज मलाई शिर,
हेर्न मन लागेको छ आज घरतिर,
काली तिमी पनि दाङतिर बग्ने गर,
तिम्रो ठण्डा पानी पिउने मेरो छ रहर ।’
कर्मथलो दाङमा कहिले काहीं स्रष्टालाई कतैबाट आघात पर्दा यसो भन्छन्–
‘केले हो केले चसक्क पार्छ यो मेरो मुुटुमा,
आफन्त माया पाइँदैन हकि विरानो देशमा ।’
स्रष्टाले देशमा देखापरेका समस्या–हरुलाई पनि कृतिमा समावेश गरेका छन् । झ्याउरे छन्दमा भए पनि आफ्ना मनका पीडा, जनताका पीडाहरुलाई व्यंग्यात्मकरुपमा ठाउँ–ठाउँमा पस्केका छन् । नेतृत्व तहमा बस्नेलाई स्रष्टा यसो भन्छन्–
‘कुर्सीका भोका देशको माटो, खाएर मेट्दै छन्,
देवता भनी डुमिनी सर्पलाई पो पाल्दैछन् ।’
सरल भाषामा लेखिएका गीतहरु पाठकहरुको मन छुन सफल देखिएका छन् । यस कृतिमा नेपालीहरु कहिले अनेकताबाट एकतामा बाँधिएलान् र नेपालमा विकास होला भनी स्रष्टाले चिन्ता पनि व्यक्त गरेका छन् । रोल्पा पुगेर स्रष्टाले धौलागिरिलाई हेर्दा खुशी हुन्छन् र भन्छन्–
‘हे सोमनाथ म व्यर्थ खोज्छु धवलागिरीलाई,
उसले मलाई हेरेको रै’छ लिएर उचाइ,
म मात्र अब बन्दिन होचो आँसुले गलेर,
को उठ्न सक्ला साढेझैं सधैँ मानिस लडेर ।’
यहाँ स्रष्टा भन्छन्– अब साढे लडेका झैं लड्ने दिन छैनन् किनकि देशमा गणतन्त्र आइसक्यो । अब जनताका चाहना पूरा हुनुपर्छ । यसरी यस कृतिमा स्रष्टा सूर्यनाथले अति मिल्ने बाल्यकालका साथीलाई सम्झेर बाग्लुङका गाउँ वस्ती, खोला, गुराँसले भरिएका रनवन, पाखापर्वत झरना, बसेका घर कोठा, आदिको बहुत राम्रो सुन्दर वर्णन गरेका छन् । यो कृति गीतिकाव्य भएको हुनाले एकातिर मुनामदनझैं लयमा छ भने अर्कोतिर मेरो प्यारो ओखलढुंगालाई समेत यो कृतिले आफूलाई उनीहरुकै हाराहारीमा लग्न प्रयास गरेको छ । जतिपटक कृति पढ्यो उनी मिठो लाग्छ यसैले यो कृति अनुपम छ । कृति ‘सत्यम, शिवम्, सुन्दरम्’ले भरपूर्ण छ ।
गर्ने भन्दा गराउने भलो यो कृतिमा चिठ्ठीहरु श्रीकृष्ण शर्मा पथिकलाई देखाउ“दा अरु चिठ्ठी तयार पारी काव्य कृति निकाल्नुपर्छ भनी दिएको सल्लाह स्रष्टाले आफ्नो मन्तव्यमा उल्लेख गरेका छन् । यसैले उत्साहदाता
श्रीकृष्ण शर्मा पनि धन्यवादका पात्र छन् । भूमिका लेखिदिने नारायणप्रसाद शर्मा, पुरुषोत्तम खनाल, डा. श्रीधर गौतमप्रति स्रष्टाले सम्मान व्यक्त गरेका छन् । बाग्लुङको यो ऐना जस्तो
कृति विभिन्न लय, अलंकार, विम्बहरुको प्रयोग आदि विभिन्न कारणले गर्दा यो कृति पठनीय, मननीय रहेको छ । आठवटा पुस्तक प्रकाशित गरिसकेका स्रष्टा विभिन्न साहित्यिक
संघसंस्थामा आबद्ध छन् । पुरस्कृत भएका पनि छन् ।
स्रष्टाको लेखनी अझ सशक्त बन्दै जाओस् भनी कामना व्यक्त गर्दछु ।

काव्यकृति "कोसेली परदेशबाट" को - कृति समीक्षा


-अशोक राई 
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ । कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन । पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ । अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ । 
गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा 
प्रतिकूल समय छ फर्कनलाइ आफ्नो देशमा 
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर 
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा) 
परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय र परिवारीक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । त्यैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको । मनमा त्रिष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन । भोगाईको अभिब्याक्ती पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरु । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ । 
स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा 
कैयौं दुःखी रातहरु गुजारी रहेको छु 
हाम्रो भावि सुख र मिलनको पर्खाईमा
सयौं बाधा र अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट) 
. . . यो प्रेमा पीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोहि पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन । यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ । - “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु” । परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ । 
छोडेको थिएँ सोल्टिनीलाई 
 चिठी पत्रमा भेट्दै गरौंला भनी 
ती क्षणहरु युगमा बदलि सके 
भन्छन्, 
जेठी, माईली र साईंली हुंदै 
मेरी कान्छी सोल्टिनीले पनि 
आफ्नो घरबार जोडिसकिन् रे 
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन) 
लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएकाछन । धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जीजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् । सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . . 
जागा जागा बत्ति र सडकहरु 
जागै रहन्छ शहर चारै प्रहर 
भिडमाथि भिड थपिँदै थपिँदै 
असिमित हुँदैछ शहरको रहर 
कसैलाई रमाईलो 
कसैलाई, सही नसक्नुको छ 
यो न्यू योर्क शहरको रहर. . . 

सल्लाह सुझावको अपेक्षा राख्दछु