मदनपुरस्कार विजेताले देखेको जुम्ला
राधा पौडेलसबभन्दा अग्लो ठाउँमा क्षेत्रीय प्रहरी कार्यालय छ । अलि तल सैनिक ब्यारेक । त्यो भन्दा होेचोमा एयरपोर्ट । धावनमार्गसँगै दाङ साँघुतिरबाट बग्दै आउँछ तिला नदी । अनि एयरपोर्ट, कर्णाली प्राविधिक स्कुल र महत गाउँ तीनतिरबाट भिरालो हुँदै उपत्यकाजस्तो सम्म ठाउँमा बसेको छ सानो बजार । यही हो, कर्णाली अञ्चल सदरमुकाम खलंगा (जुम्ला) को मोटामोटी भूगोल ।
हुन त सबै ठाउँको समाज, संस्कृति र रहन-सहनको आ-आफ्नै विशेषता हुन्छ । त्यसमा पनि जुम्लाको खास छ । यहाँ वर्षैभरि साना-ठूला चाडपर्व निरन्तर चलिरहन्छन् । सैनिक जात्रा, रोपाइँजात्रा, अरु के के हो के-के ? जात्रा र पर्वको संख्यामात्रै गन्ने हो भने राजधानी काठमाडौंसँगै निकै नजिक छ जुम्ला । मनाउने तौरतरिकामा भने धर्ती र जूनजत्तिकै अन्तर होला ।
काठमाडौमा सानोसानो पर्व दुलही भित्राएजत्तिकै धुमधामसँग मनाएको मैले देखेको छु । यहाँ भने दुलही अन्माउन लागेजस्तो रौनकविहीन हुन्छ । दुर्गम बसाईको भाडा हो वा जन्मजात गरिबीको कर तिरिरहेका छन् जुम्लीहरु ।
चाडपर्वमा पनि कसैको मुहार फक्रिएको मैले देखिनँ । कहिलेकाहीं यस्तो लाग्छ, जुम्लाका पर्व जम्मै औंलामा गन्न सकिने धनीहरुको निम्ति मात्रै त होइनन् ?
जातकै आधारमा ‘पोसिएका’ र ‘ठगिएका’ भनी वर्गीकरण गर्नेले एकचोटि जुम्ला आएर हेरे हुन्छ । यहाँ सुविधाबाट ठगिएकाहरु जम्मै दलित वा कथित तल्लो जातका छैनन् ।
माथिल्लो जात र राज्यस्रोतबाट पोसिएको भनिएका बाहुन, क्षेत्री पनि थुप्रै छन्, जो पेट भर्ने गाँस र आङ ढाक्ने एकसरो लुगाको निम्ति रगत-पसीना बगाउँछन् । जनगणनाको तथ्याङक केलाएर भनेको होइन, तर मेरो अनुभवमा जुम्लामा बाहुन, क्षेत्री र दलितकै बाहुल्य छ । मगुबाट बसाइ सरेर आएका मुगाली पनि छन् । यीमध्ये मैले भेटेका धेरै गरीबै छन् ।
अचेल पनि चन्दननाथ र भैरवनाथमा उत्तिकै आस्था छ जुम्लीहरुको । दसैंको बेला दुबै मन्दिरमा लिंगो फेर्ने चलन रहेछ । बडो रमाइलो हुन्छ, लिंगो फेरेको हेर्न । चन्दननाथ बाबालाई त साक्षात भगवानै मानिन्छ । यहाँ जसले जे माग्यो, पूरा हुने विश्वास छ ।
उनीहरुले कति पुस्तादेखि कतिथोक माग्दै आए होलान् । खै पूरा भए कि भएनन्, म जान्दिँन । माग्न भने छाडेका छैनन् ।
दसैं नआउँदै असोजबाटै जाडो सुरु हुँदोरहेछ । तिहार सकिएपछि मंसिरदेखि चैतसम्मै हिउँ पर्ने । बिहान-बिहान बाहिर हिँड्दा ठाउँ-ठाउँमा बरफ जमेको मैले पनि देखें ।
जिन्दगीमा पहिलोचोटि राष्ट्रिय पंक्षी डाँफे देखेको जुम्लामै हो । डाँफे पनि देखें, मारेर खाएको पनि देखें । हिउँ पर्न थालेपछि पन्छीहरु सुरक्षित बास खोज्दै बस्तीतिर आउँदा रहेछन् । त्यहीबेला सिकार गर्ने । सिकार गर्नेचाहिँ को भने, सिकारीलाई समातेर कारबाही गर्नेहरु नै । डाँफेको मासु पकाएर भोज खाने गरेको सुनें, जुन मलाई मन परेन ।
हामी नेपाली भाग्यवाद र रुढीवादका दीर्घरोगी हौं । समाजसेवी डोरबहादुर विष्टले यसमाथि सोध नै गरेका छन् । पूर्वको ताप्लेजुङ होस् वा पश्चिमको जुम्ला, यो रोगबाट कोही अछुतो छैन । खाली मात्राको फरक हो । जुम्ला अलि बढी नै ग्रसित भएको मैले अनुभव गरें ।
पुरुष आफू भने ठाँट्टएिर बजार चहार्छन्, घरमा श्रीमती, आमा र छोरीहरु हातगोडा चर्चरी फुट्ने गरी काममा जोतिएका हुन्छन् । बाहिर ठूल्ठूला कुरा गर्ने नेता, हाकिम, पत्रकार र नर्स पनि छाउपडी मान्दा रहेछन् ।
महिनावारि हुँदा भात, दूध, माछामासु खान नहुने रे ! मन्दिर त भन्नै परेन । हेर्दा पनि पाप लाग्छ कि जस्तो गरेर तीन कोष परै बस्छन् ।
जुम्लाको रीतिरिवाज म त रन्थनिएँ । रातमा पनि आकाश उज्यालिने यो बेला निस्पट्ट अध्याँरोमा बाँचिरहेको छ जुम्ला । बत्तीको अध्याँरो हैन, ज्ञानको अँध्यारो । चेतनाको अँध्यारो ।
जुम्लामा सरकारले सहुलियतमा दिएको चामलबाट जाँडरक्सी बनाइन्छ
सायद वर्षौंदेखिको अँध्यारोले ब्यग्र मन भुलाउन हो कि, चुइँगम अति चपाउँदा रहेछन् । महिलाले पनि प्याट्ट-प्याट्ट चुइँगम पड्काउँदै आफूजत्रै ढुंगाको भारी बोकेको मैले देखें । आफूभित्र गुम्सिएको आक्रोशलाई दाँतले किचिमिची पार्दै हल्का हुन त होइन ?
हल्का हुने अर्को पनि खुबै चल्छ यहाँ । मदिरा सेवन । घरमै बनाएको लोकलदेखि सुर्खेत र नेपालगञ्जतिरबापट आउने सिलबन्दी रक्सीसम्मको माग छ । कर्मचारीहरु बिहानै टिल्ल परेर अफिस आएको मैले देखेकी छु । रमरम हुँदै ड्युटीमा बसेका प्रहरी भेटेकी छु । धान राम्ररी फल्दैन । भोकमरीले जनता मर्छन् ।
सरकारले सहुलियतमा दिएको चामलबाट भने जाँडरक्सी बनाइन्छ । यसलाई चेतनाको कमी भन्ने कि परनिर्भरताको पराकाष्ठा ?
यहाँको अर्को समस्या हो, सरकारी कर्मचारी नबस्नु । कुनै न कुनै भ्रमण, काज वा तालिम मिलाउँछन्, अनि नेपालगञ्ज, सुर्खेत वा काठमाडौ झरिहाल्छन् । निमित्तको भरमा कार्यालय चल्छ ।
कहिलेकाहीं त त्यही निमित्त पनि हुँदैन । उसको सट्टामा आउने निमित्तले कार्यालय धान्नुपर्छ । दसैं मान्न घर गएका साथीहरु फागुनतिर मात्र उक्लेको मैले भेटेकी छु ।
जहाजको टिकटदेखि अस्पतालको उपचार र व्यवसायदेखि ठेक्कापट्टासम्म हुनेखानेकै आधिपत्य छ ।
कालो बादलमा चाँदीको घेरा भनेझैं गरिबी, अशिक्षा, भोक, रुढीवाद र सामन्ती संस्कारले थिलाथिलो पारेको जुम्लालाई प्रकृतिले भने आफ्नो झोली नै फुकाइदिएकी छन् ।
यहाँ बहुमूल्य यार्चागुम्बा छ । गुची च्याउ छ । र, अरु थुप्रै प्राकृतिक जडिबुटी छन्, जुन हाम्रा अज्ञान आँखाले ठम्याउँन सकिरहेका छैनन् ।
यार्चागुम्बा त जुम्लाको सुन भइहाल्यो । यसमा सरसापटै चल्छ । यार्चाको मौसम आएपछि तिरौंला भनेर ऋण लिने चलनै छ । यसो गर्दा बजार भाउ पाउन गाह्रो हुँदोरहेछ । एक त्यान्द्रो यार्चालाई ४७ रुपैंयाँ हालेर मैले नै किनें ।
गुची च्याउ पनि सानो टुक्राकै १० देखि १५ रुपैंयाँ पर्दोरहेछ । यही च्याउ नेपालगञ्ज पुग्दासम्म किलोको १० हजार, दिल्लीमा १५ हजार र जापानमा २० हजार रुपैंयाँ पर्छ भनेर स्थानीयहरु भन्थे ।
यतिका खुबी छन्, जुम्लामा । तैपनि हामी यसको चर्चा किन गर्दैनौं ? किन खाली जुम्लाका नराम्रा कुरा बाहिर आउँछन्, राम्रा कुरा दबिएरै बस्छन् ? किन हामी सगरमाथा र लुम्बिनीमा मात्र देशको गौरव खोज्छौं ?
के यार्चागुम्बा हाम्रो गौरव होइन ? जुम्लाको जडिबुटीखानी अरबको तेलखानी जत्तिकै बहुमूल्य छैन र ?
जतिजति यहाँ बस्दै गएँ, जतिजति भिज्दै गएँ, त्यति त्यति मलाई बोध भयो, जुम्ला गरिब भनेको त कहाँ पाएर गरिब हुनु ? यो त धनी हो, नेपालकै धनी ।
जुम्लाले मेरो जीवनलाई नयाँ दिशा दियो ।
(यस वर्षको मदनपुरस्कार बिजेता राधा पौडेलको ‘खलंगामा हमला’ पुस्तकको एक अंश)