कविता 
कविताको जन्म कविकुनामा नियतिको बादलले छेकेको 
एउटा घाम 
धर्तिलाई चुम्बन गर्नको निम्ति 
आकासको पर्दा च्यातेर
क्षितिज बाट चिहाई रहेको छ / 
घामको लाली पोतेर 
एक हुल भेडा चराउदै 
बेशी बाट झेरेकी मनमाया 
आफ्नो यौवनको मातलाई 
बुट्टेदार चोलीले सजाउदै 
टुटेफुटेका गीतमा रमाईरहेकी छन् /
यता 
बिचार ! हर्के दाई पुन्पुरोमा हात लगाउदै 
आफ्नो नाङ्गो आँखा बाट 
संबेदनाको झोल बर्साउदै 
हिजो असिनाले कुटेको 
कोदोबारी नियाल्दै 
दाँजेका छन् 
गर्भ बाटै भ्रुणको हत्या भएको
आज आफ्नै सपनाको मलामी जान 
बिवश छन् हर्के दाई /
खडेरीले फुटेको बारीका कान्लामा 
कोदालोले सपनाहरु खोस्रीदै 
निदारबाट बगेको नहरले 
सिचाई गराउदै 
अन्न फलाउछन् आफ्नै मनहरुमा 
हर्के दाई !
विवस छन् कैयौ हर्केहरु 
ब्याडमा आँसु र पसिनाको 
बिउ छरेर आशाका मुनाहरु 
नउम्रदै मार्नु परेको पिडा 
हृदयलाई सुनाउदै कैयौ बिहानी 
जन्माएका छन् /
दिनभरी थाकेका एकहुल कवि मनहरु 
दिनभरिको थकान र पेलानले 
दिक्क भई साँझमा जम्मा भएर 
कविकुनामा लामो सास फेर्दै 
आफ्ना हाकिमले जुवामा बाँधेर 
पुच्छर निमोठी काममा दौडाएको पिंडा 
एक अर्कामा सुनाउदै 
सिसीको बिर्को खोलि गिलासमा 
भागबन्डा गरेर प्युनमा मस्त हुन्छन् 
अनि आजको बहसमा 
मनमाया र हर्केका जीवन कहानीका 
कैयौ कविता हरु जन्माउछन्
कविकुनामा कविहरु / 
रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा, भरतपुर