Thursday, September 11, 2014

नव स्त्रीको सुगन्ध




ए हावा नजिस्कान
मलाई, तेरो यो
उनमत्त बैँशले
किन किन
तेरो बहावमा कुनै
नव स्त्रीको सुगन्ध
भेट्छु
ए हावा ! न नछर्किन
मेरा
यि दुई नयनलाई
तिनीहरूको नशादार
अत्तर, जुन तँ
हर हमेशा बोक्दै
छरि बस्छस् म माथि ।

कविता "सम्बन्ध"

सुमन लम्साल 

हामी भेटिने बेला
मैले भनेको थिएँ
म आगो छु
तिमि पानी छौ
हामीहरु कहिल्यै एक हुन सक्दैनौं

तिमीले बादलबाट झरेको
चट्यांगको झिल्को देखाउदै भनेकी थियौ
बदल्न चाह्यो भने पानी आगोमा बद्लन्छ
आगो पानीभित्रै हुन्छ

बिस्तारै तिम्रो संगतले
मलाई तिमि जस्तै बन्न मन लाग्दै गयो
सायद तिमीलाई पनि मेरो संगतले
म जस्तै बन्न मन लागेछ

अहिले आएर
हामीहरु फेरियौं
म तिमि जस्तो भएँ
तिमि म जस्तो भयौ
फेरी पनि हामीहरु एक हुन नसक्ने बन्यौं
पोखरा

बालकविता- असिना

रमेशचन्द्र घिमिरे  

डल्ला-डल्ला सेता-सेता ठूला अनि मसिना
आकाशबाट आँगनीमा बर्से हेर असिना

नूनको स्वाद छैन तर हेर्दा नूनको डल्लो
मिठाई भनी खान खोज्दा लाग्यो खल्लो-खल्लो

कपूर ठानी सुँघ्न खोजूँ बास्ना आउँदैन
सेतो थियो पग्लिएर सेतो पनि छैन

पानी नै हो हातमा राख्दा ठ्याक्क अटाउने
पानी नै हो दुख्ने गरी साह्रै ठटाउने

बादलभित्रै अड्किएको हुन्छ अति राम्रो
भो-भो नझर् तँलाई ल्याउने विचार छैन हाम्रो

हिउँको डल्लो पग्ली अहिले निस्कँदैछ पसिना
पानी जमी बन्छ भन्छन् यै त हो नि असिना ।
-भोर्लेटार, लमजुङ

गजल

निमेष निखिल

के छ दाजै हाल भनी कुनै मैतालुले सोधिन्
जान्छौ भने हिँड भनी उनै तीर्थालुले सोधिन्

जिन्दगीमा धेरैधेरै बिरक्तिएँ जब म
जप्छौ राम नाम भनी कुनै श्रद्धालुले सोधिन्

भक्कानिँदै रोइरहेँ रातभरि जब एक्लै
किन रोयौ बाबु भनी उनै दयालुले सोधिन्

जसका लागि सारा जीवन अर्पिदिएँ मैले
विवाहमा आउँछौ भनी उनै मायालुले सोधिन् ।

कविता - 'कविकुनाको सौन्दर्य '

रमेस प्रभात 

तिमि देख्न सक्छौ यतिबेला
गोधुलीमा गाई बस्तु
चरन बाट फर्केझें
झम्के साँझमा खेताला
खेतबाट फर्केझै
एकहुल कविहरु हिंडेका छन् कविकुना
काव्यात्मक सौन्दर्यको रसास्वादन गर्न /

भन्नेहरु भनुन्
कविकुना मदिरालय हो
मान्नेहरु मानुन्
कविकुना वकवास थलो हो
ठान्नेहरु ठानुन न्
त्यहाँ अराजक कविहरु आउँछन्
देसी अर्गानिक झोल पिउँछन्
र चपाउछन्
सुकुटी, भटमास र चिउरा
साथमा थप्छन्
लसुन र डल्ले खुर्सानी
उनीहरुले हामिले गरेको
कविताको सौन्दर्य
खै तिमीले देख्न सकेको ?

साँच्चै
मातेर कविता लेखिने भए
म आज यसरी मात्न चाहन्छु
फेरि सामान्य अबस्थामा
कहिल्यै फर्किन नपरोस्
फुरोस् कविता ह्वार ह्वाररी
र बढ़ारोस् मेरा कविताले
देश भित्रको बेथिति
निम्त्याओस् मेरो कविताले
सुशासन र समुन्नति
यस्तै यस्तै जपना गरेको बर्षौ भैसक्यो /

अब मैले
कविकुनाको सङ्घारबाट
फर्नु छ कविताको पुरातन परिभाषा
देखाउनु छ समकालीन कविहरुलाई
एउटा बिद्रोहको रन्को
पुर्याउनुछ सत्ताधारी सम्म
बिद्रोहको नवीन हुङ्कार
हो ,मात्नु छ
घरपालाको स्वादले
तिमी सम्म जो स्वर पुर्याउनु छ /

यतिबेला मेरो मथिङ्गलमा
फनफनी रिङ्गिरहेछ
युगीन प्रटनका प्रलयहरु
के साहित्य कसैको पेवा हो ?
के देश कसैको पुर्ख्यौली सम्पति हो ?
यदि हो नै रहेछ भने
म खोसेर लिन्छु
तिमीहरुको हातबाट
के तिमी सक्छौ
एकलौटी पर्न अवको साहित्य ?
सक्छौ सधैभरि लुकाएर राख्न ?
पोल्टा भित्रको यो देशको सत्ता ?
म हेर्न चाहन्छु
तिम्रो सामर्थ /

कविकुनाको साँघुरो टेवुल बाट
घोषणा गर्छु एउटा बिद्रोह
हेर,
म तिम्रो खोकिलामा
पड्काउँदै छु कविताको वारुद
त्यसपछि
साँच्चै देख्नेछौ कविताको शाक्ति
शीत निन्द्रा बाट
कविता जागेपछि
को निस्कन्छ थाम्ने ?
''एक युगमा एक दिन एकपटक आउँछ
उलट पुलट उलट पुलट हेरफर ल्याउछ ''
यो हस्तक्षेपकारी अभियान लाई
जीवन्त पार्नुछ
र थमाउनु छ
पछिल्ला दिनका कविहरुलाई
र बुझाउनु छ कविताको सौन्दर्य
ए सुषुप्त बसेका कवि !
के तिमी पनि आउँछौ हाम्रो साथमा ?
आउ
खाली छ एउटा मेच
कवि कुनामा !

भरतपुर ,चितवन

गजल

पुष्प अधिकारी ''अञ्जलि''

तिम्रो त हातैभरि हरिया चुरा छन्
मेरो त सपनाहरू पनि अधुरा छन् ।

अघाएको छ र त खुशी छ काठमाडौँ ,
दुखी त कठै ! यहाँ अछाम र बाजुरा छन्

रोइरहेको छ त्यो बस्ती उसैगरी अझपनि
हेर त त्यहाँ बा आमा गुमाएका टुहुरा छन्

बुहारीहरू निद्रामा छन् घरभित्र घाम आउँदा
ब्युँझिएका त बिचरा तिनै सासु ससुरा छन् ॥

सङ् संगै का साथीहरू त कहाँ कहाँ पुगिसके
उसको भने जहिले पनि बाहृ थरीका कुरा छन् ॥

दसैंको मुखमा

सुमन घिमिरे

प्रत्येक दसैंको मुखमा
आमाले सोध्ने प्रश्न, एउटै हुन्छ,
यसपाली त आउँछस् नि छोरा?

म बझछु ,
आमाको प्र्श्नको चाहना
दसैं सँगै भित्रिने दौतरीको हुलमा
आमा मलाई पनि देख्न चाहनु हुन्छ ।

त्यो चंगा, त्यो लट्टे
मैले चचहुई गर्ने पींगका डोरी
अझै कतै मिल्केका हुन्
आमा चाहनु हुँदो हो
म दसैंमा आएर खेलिदियोस् ।

आमाको प्रश्नले,
नसम्झाएको होईन मलाई
आमाको माया,
गाउँको माया,
अनि एक्लिदै गरेको
मेरो देशको माया ।

म हरेक दसैंलाई
अर्को साल तिर सारिदिन्छु ,
अनेक बाहनाहरु छन् मँ सँग
भनिदिन्छु बिदा मिलेन,
कहिले भनिदिन्छु भिसा मिलेन,
आमालाई भेट्दै नभेट्ने
मेरो ईच्छा होइन ।

मैले हवाईजहाज सँगै परदेशमा
ल्याएको थिएँ
थुप्रै समस्याका पोकाहरु
त्यही पोकाहरु खोल्दै जाँदा
भेटेको छु,
अनगिन्ति जटिलताहरु,
जुन दसैं भन्दा निकै प्रिय छन् ।

जे कुरा पनि सजिलै पत्याउने
मेरी आमालाई
घरको आकास माथि उडेका
हवाईजहाजहरु देख्दा पनि रिस उठ्दो हो,
मेरी आमालाई के थाहा ?
हवाईजहाज सँगै रातारात उडेका छन्
अनगिन्ति आमाका हजारौं सपनाहरु ।

हरेक दसैंको मुखमा,
आमा यस्तै गर्छिन
आमा यस्तै भन्छिन्
हेरिरहिन्छिन् आँगनीको सिमलको बोट
सयपत्रीले सजिएको फुलबारी,
अनि पहेलैं भएको जमरा ।

आमालाई रिस उठ्दो हो
देश नपर्कने छोरा सँग
अझ त्यो भन्दा बढि त ,
गरिबीहरु सँग,
अराजकताहरु सँग,
अनि
बेरोजगारीहरु सँग,
जसले छोरालाई मुग्लान पठाएको छ ।


सौराहा , चितवन

खडेरी

भुपिन भुपिन


यो खेत हो
कि कुनै गरीब आदमीको
पट्पटी फुटिगएको कुर्कुच्चा ?'

कि हो कुनै चित्र ?
खेतको थोत्रो कपडामा
खडेरीले ध्यान से बनाएको ?

मेरे दोस्त !
ए तो नदी हो नदी
जहाँको पानी हिउँदभरी
पडोसीको खेतमा निमेक गर्न जान्छ
र बर्सात भएपछि पगला सा बिदामा फर्कन्छ ।
तिमी त्यस्तो ठाउँमा उभिएछौ
जहाँ नदी पनि
दासहरूझैं बन्धकी पर्छ ।

आऊ अब नजिकै देहात छिरौं
त्यता पनि काकाकुल फाँट
यो नदीझैं वारिस पर्खेर बसिरहेछ ।
दाना नलागेको गहुँको खेतमा
आग लाग्लाझैं भएकोछ ।
मौसमसँग हारेका मकैका पोथ्राहरू
बाजु लत्राएर घुँटना टेक्दै उभिइरहेछन् ।
मिट्टीमुनी कोई रस नभेटेर
कुपोषणग्रस्त छ गन्नाको झाडी ।

देहातका किसानहरू
सधैझैं बहुत चिन्तित छन् इसबार पनि
देख्नू उनीहरूको आँखमा
भुखमरीको साया कसरी बेसरम नाचिरहेछ ?

दोस्त !
चरचरी फाटेको यो खेतमा
उनीहरूले सिर्फ देख्छन् आफ्नै चेहरा
र खराब तक्दिर ।
पता छ उनीहरूलाई
यसको जिम्मेवार छन् मुखिया
उनैले गरिदिएछन् पडोसीसँग
आधा पानी र बिजुलीको झुठा कागज ।
इसकारन हरेक हिउँदमा
नदी तरेर पारी गै जान्छ हरियाली ।

बहुत तकलिफको बात छ मेरे दोस्त
जब भारी बर्सात हुन्छ
थुनिदिन्छ पडोसीले बाँधको दरबाजा
र बाढ पसेर हाम्रो खलिहान बगाँउँछ ।

मेरे दोस्त !
यो यस्तै गाव हो
जहाँ प्रत्येक हिउँदमा
खडेरीले किसानहरूको तक्दिर फुटाउँछ
र बर्सातमा बाढले उनीहरूको बास उठाउँछ ।

लेकिन सुनेकोछु-
'मेरो देहातमा बहुत बढियाँ छ'
साला मुखियाले
पापी पडोसीलाई
अभितक यस्तै तार पठाउँछ ।

एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

 -राजा पुनियानी
कश्मीर। 


संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो।
तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको।
रगत जति बाटै-बाटो झरिसकेपछि
कठ्याङ्ग्रिएको नसा छ उसको।
बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो
जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ उम्रेको छ।
यो हो कश्मीर।

आजादी तिम्रो हक हो बाबु -
काँधमा झोला, झोलामा सिलेट र सिलेटमा डर भिरेर
सरकारी स्कूल गइरहेको नानीहरूको कानमा भनेको छ
हजार वर्षदेखि वास खोज्दै उड़ेको
घाइते परेवाले।

हरप्पा, काराकोरम, झेलम
चेरी, आइफल, काजु
भेड़ा, शेर-ओ-शायरी, चरार
कशीदा, सिकारा, बोटहाउस
एउटै कश्मीरमा कत्ति-कत्ति कश्मीर!

एउटा शताब्दीको अन्तिम हिउँबर्खालाई जसरी
बारूद सुँघाएर विदा दियो तिम्रो देब्रेतिरको छिमेकीले
उसरी नै अर्को शताब्दीको पहिलो हिउँबर्खालाई स्वागत जनाउन
तयार छ नाल तेर्साएर तिम्रो दाहिनेतिरको छिमेकी।

निरूत्तर डाँड़ाहरूको बीचबाट निस्किएको
एउटा उदास रूखको
थर्थर कामिरहेको हाँगामा झुण्डिबस्छ
भारत, पाकिस्तान र चीनको टाटेपाङ्ग्रे कट्टु।

साँढ़े देशको काँढ़ेतार ताक्दै
आगोको आतङ्कवादी पाइलाहरू
सुकुमवासी चुह्लाको मुख छाड़्लाझैँ गर्दैछन् यत्तिखेर।
ढुक्कको बिहान आउने बाटो ढुक्ने ढुक्कुरले
पखेटामा बोकेको छ यत्तिखेर
अन्धा ए.के. फोर्टिसेभेन।

गुलाब सुँघ्दै गुलाबो र गालिब
भुसभुसे हिउँबर्खामा झीलको किनारै-किनार
कतै गएका हुन् इतिहासको ओढ़ारतिर।
कश्मीर, के उनीहरू फर्कलान् घर?
वा फर्कन चाहे पनि फर्कन दिइएला?
उनीहरूलाई आफ्नै घरमा गुलाम बनाइएको कथाबाट
बलात्कृत आत्मनिर्णयको योनिगन्ध आइरहेको छ।

तिम्रो घरमा शहर छ। देश छ। देशको संविधानको मृताक्षरहरू छ।
देशको शिक्षा प्याकेज छ। देशको अनुदान कोष छ।
कात्रोजस्तै तिमी वरिपरि बेरिएको तिरङ्गा छ।
सबथोक छ कश्मीर तिमीसँग
एउटा शासकले कैदीलाई दिएको हुनुपर्ने जति
बस, तिम्रो घरमा घर छैन।

तिम्रो ऐनामा खुनको पत्रै-पत्रा परेको छ।
गुलाबी गालामा गुलाबी रङ हेर्न नपाएको
कति जुनी बित्यो हँ ए कश्मीर?
भन त तिम्रो चुन्नीमा लागेको विदेशी रगतको टाटा
कुन अन्तर्राष्ट्रिय शिखर सम्मेलनको धारामा पखाल्छौ?
दिनहुँको बलिदानको धागोले बिस्तार सिलाइरहेको होला
तिम्रो तीन फ्याक जीऊ।
तिमीलाई बाँधेको सिक्रीहरू चुँड़ाउँछ कि
एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

चिहानजस्तै तिम्रो बागमा
फुलेका छन् आजाद जङ्गली फूलहरू -
ती फूललाई फुल्न देऊ, ए स्वार्थी संसार।

-राजा पुनियानी
(१३ जनवरी, सन् २०००) —

आमाका सपनाहरू

कविता
दीप ज्योति थापा

सानो छँदा
बाले भन्नुहुन्थ्यो-
"देशभन्दा ठुलो
अरू केही हैन बाबु !"
कैयौँपटक
कसम खाएँ-
"देश छोड्दिनँ ।"

उकालीओरालीमा भेटिने
सामलीहरू भन्थे-
"जिन्दगी यस्तै हो"
कैयौँपटक
देउरालीको देउतालाई
सोधेँ-
"के लेखिएको छ भाग्यमा ?"

आँखाभरि कैद गरेर
पाठशालाको चित्र
गोठालोमै लेखेँ
क माने कचिया
ख माने खर्क
ग माने गरिब
कैयौँपटक
पानीले मेटाइदियो
माटोका अक्षरहरू ।

वर्षभरि कुटोकोदालो गर्दा पनि
पेटभरि अन्न नपुग्दा
जब अतालिन्थेँ
बुनिरहेको सुकुल देखाउँदै
आमा भन्नुहुन्थ्यो-
"दुःखसुख परालझैँ
बेरिएर आउँछ
धैर्य गर्नुपर्छ लाटा !"

धैर्य गर्न सकिनँ
मैले
कसम तोडेँ
देश छोडेँ ।

अहिले
झुन्डिएको होला
मूलढोकामाथि
मेरो तस्बिर
बाडुली लाग्छ
तस्बिरमाथि हात फेरेर
सायद, आमा मलाई
सम्झी रहन्छिन् ।

अनगिन्ती प्रश्नहरूले
लखेटी रहन्छन्
जीवन बाँच्दै छु
वा
जीवनलाई बचाउँदै छु ?

मध्यरातमा चिच्याउन पुग्छु-
"आमा !" भनेर ।

सम्झँदा मन पोल्छ
गाउँको
गोधूलिको रङ्गीबिरङ्गी छटा
सुगन्ध बोक्ने फूलहरू
घिन्ताङ मादल बज्ने निमाको रोदी
कत्रो भयो होला ?
मैले रोपेको बकाइनो !
उस्तै होला ?
जुनुको मप्रतिको प्रेम !
उनलाई सुनाउने छु-
"हाम्रो पसिना रेगिस्तानमा मिसिएछ
त्यसै नुनिलो भएको हैन त्यहाँको बालुवा ।"

जिन्दगी मदारी बनेर
बाँदरझैँ नचाई रहेछ ।

घर फर्केर पुरा गर्नुछ
आमाका सपनाहरू
निखनिएको खेत
ओत लाग्ने आफ्नै झुपडी
जस्केलोबाटै देखिने तुलसाको मठ ।

आमाले कैयौँपटक
भनेकी छिन्-
"तँ जन्मदा खुसीले खुबै
रोएको थिएँ बाबु !"

के साँच्चै पुरा गर्न सकुँला ?
मैले 
आमाका सपनाहरू !

रचनाकालः २०७१ जेठ २२
हेटौँडा-६, मकवानपुर (नेपाल)
E-mail: deepjyotithapa94@gmail.com

किन ताक्छौ बन्दुक

युवराज लामिछाने 'प्रदिप'
गजल

लुटिदैछ मेरो देश पर्दा पछाडि बाट
सुटुक्क पत्तो पाँए पर्दा पछाडि बाट

हे नामर्दहरु शक्ति भए अगाडि आऊ
किन ताक्छौ बन्दुक पर्दा पछाडि बाट

प्राय: दलका नेताहरु मिलेकै देख्छौ हामी
किन आउँछ विवाद पर्दा पछाडि बाट

कुसंस्कार र कुप्रथाले ग्रसित निकै हुदैछ
भित्र भित्र यो समाज पर्दा पछाडि बाट

कलमको सट्टा चुरोट समाएछ बालकले
भनेछन स्याबास पर्दा पछाडि बाट।

युगीन साहित्य समाज,रुपन्देही।

मलाई माफ गर



कविता
आर. आर. चौलागाईं
मलाई माफ गर

तिमी आकाशमाथिको चन्द्रमा
मैले छुन खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी समुद्रभित्रको मोती
मैले टिप्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी गुलाफको फूल
कहाँ म धर्तीको धूलो
कहाँ तिमी झरनाको पानी
कहाँ म टुकुचाको भेल
तिमी सारङ्गीको मसिनो तार
मैले रेट्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी भेट्न नसकिने मान्छे
मैले भेट्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी सुनको असर्फी
कहाँ म खोटो सिक्का
कहाँ तिमी मन्दिरको शिला
कहाँ म बगरको ढुङ्गा
तिमी कोइलीको मीठो आवाज
मैले सुन्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी बगिरहेको स्वतन्त्र हावा
मैले थुन्न खोजेँ तिमीलाई
मलाई माफ गर ।


कहाँ तिमी वसन्तको पालुवा
कहाँ म शिशिरको पतझड
कहाँ तिमी सहरको रमझम
कहाँ म पाखे र अनपढ
तिमी इन्द्रेनीको अलौकिक दृश्य
मैले हेर्न खोजेँ तिमीलाई
मलाई माफ गर
तिमी एउटा लुकेको रहस्य
मैले बुझ्न खोजेँ तिमीलाई
मलाई माफ गर ।

कहाँ तिमी रङ्गीन तस्बिर
कहाँ म सिसाकलमको खेस्रा
कहाँ तिमी सबको आँखाको नानी
कहाँ म फ्याँकिएको बेसहरा
छुन खोज्दा तिमीलाई
दाग लाग्यो होला
मलाई माफ गर
बोल्न खोज्दा तिमीलाई
बात लाग्यो होला
मलाई माफ गर
हेर्न खोज्दा तिमीलाई
आँखा लाग्यो होला
मलाई माफ गर
नजिक हुन खोज्दा तिमीसँग
तिमीलाई पाप लाग्यो होला
मलाई माफ गर ।

मलाई माफ गर
मलाई माफ गर
मलाई माफ गर ।

सल्लाह सुझावको अपेक्षा राख्दछु