Wednesday, October 8, 2014

विश्व् साइकलयात्री पुष्कर शाहको यात्रा सस्मरणमा समेटिएका केहि रोचक कुरा

उनले घुमेका विभिन्न देशमा भोगेका कथा व्यथा समेटिएको उक्त पुस्तकका दुई वटा अंश हामीले यहाँ प्रस्तुत गरेका छौं ।




सावना सम्भोग

एक दिन ब्रेकफास्ट खाएपछि डायनाले मलाई भनी, “तिमी मसँग सावना जान्छौ?”

मैले तुरून्तै उत्तर दिएँ “जान्छु।” तर मलाई थाहा थिएन सावना कस्तो हुन्छ भन्ने। काठमाडौँमा यसको नामसम्म सुनेको हुँ। आज नौलो चीजको अनुभव गर्न पाउने भएँ भनेर गद्गद् भएँ।

डायनाले पुरानो साइकल भाडामा लिई।

होटलबाट केही किलोमिटर पर एउटा सावना घर पुगियो। रिसेप्सनमा गएर डायनाले हामी दुई जनाको पैसा तिरी।

त्यहीँ छेउ उभिएर फुत्त–फुत्त तल र माथिका लुगा फुकाली, हाम्रा गाउँघरमा साना केटाकेटीले लुगा फुकाले जस्तो! अनि एउटा ठूलो टावलले वक्षस्थल छोपी। गोरी अमेरिकन युवतीका सेता चिल्ला तिघ्रा र छाती देखेँ मैले। मेरा उत्सुक आँखाले उसका गोरा छाला नियाल्न नपाउँदै ऊ सावनाको कोठाभित्र पसी। म केही बेर त्यही टेबलमा बसिरहेँ।

“तिमी आउँदैनौ भित्र?”, उसले भित्रबाट मलाई भनी, “लुगा खोल र आऊ न भित्र। म यहाँ एक्लै छु।”

“ह“, लुगा खोलेर भित्र आऊ? हैन के भन्छे यो अमेरिकन तरूनी?”, आफैँसँग बोलेँ। लुगा खोलेर भित्र जानुको अर्थ के? त्यो पनि ऊ एक्लै भएको कोठामा?

डायना मभन्दा केही वर्ष मात्र जेठी भए पनि गोरी युवतीसँग यो यात्रामा सम्भोगमा लीन हुन पाइने भइयो भन्ने सोच्दै मन उद्वेलित भयो। फोक्सोले सास चाँडोे–चाँडो फेर्न थाल्यो। मुटुको धड्कन बढेर आयो।

विस्तारै लुगा खोलेँ र टावल बेरेँ। एक छिन उभिएँ र गोरीसँगको सम्भोगबारे सोचेँ। अनि आफूलाई दह्रो पारेर भित्र पसेँ। ऊ पसिनाले निथु्रक्क भिजेकी थिई। म पनि भित्र पस्नासाथ पसिनैपसिना हुँदै गएँ। तर एक छिनमै तातो बाफले अत्यास लागेजस्तो भो। मन भने चञ्चल थियो। डायनाप्रति सम्मोहित भइसकेको थियो। कतिखेर उसले अँगालोमा डाक्ली भन्ने मनमा लाग्दै थियो, दुई जना गोरेहरु पनि भित्र पसे। एउटा कुनामा बसे र बाफ लिन थाले।
हत्तेरी, सावना त शरीरलाई बाफले नुहाउने ठाउँ पो रहेछ!


उधारो सम्भोग

देब्रे हातको पाखुरामा लामखुट्टे बस्यो, टोक्नलाई। मार्नलाई ठोकेँ। फुत्केर उड्यो। केही बेरमा फेरि बस्यो। फेरि ठोकेँ। मर्छु भन्ने थाहा पाएर पनि लामखुट्टेले मलाई टोक्न छोड्दैन। ऊ नमरून्जेल भोकले उसलाई पनि छोड्दैन। जीवन रहुन्जेल यसरी नै मान्छे सासको आश गरिरहन्छ। क्युबानहरु पनि यस्तै भोका लामखुट्टे जस्तै लाग्छन् मलाई।

हवानामा जुलियोको घरमा बास बसेको म भने क्युबानहरुजस्तै अभावमा थिएँ।

झोलामा बाँकी रहेका टी–सर्टहरु दश डलरमा बेचेँ। जुलियोले अर्को पेइङ गेस्ट नआउन्जेल मलाई बस्न आग्रह गर्‍यो। मैले नकार्ने कुरै भएन। हाइटी जाने मेरो योजना खर्च अभावले विफल भइरहेको थियो। कतैबाट टिकट पाइरहेको थिइनँ। अमेरिका फर्कने प्रयासमा एम्बेसी चहारेँ, त्यो पनि असम्भव भयो। म खुला बन्दी भएँ क्युबामा।

दिनभरिको थकित शरीरलाई क्यारेबियन सीको मालेकोन डिलमा लगेर बिसाएँ। होटल, रेस्टुरेन्ट सोध्नेदेखि पैसा माग्ने र तरूनी मिलाउनेको भीड।

कसैलाई एकान्तमा बसेर केही सोच्ने फुर्सदै दिन्नन् क्युबानहरु। युरोप, अमेरिकामा साइकलमा दुई जनासँगै चढ्दा अनौठो मान्ने पर्यटकहरु यहा“ साइकलको पछाडि केटी राखेर कुदाइरहेका छन्। साइकल पर्यटकले कुदाए पनि कुदाउन लगाउने चाहिँ तरूनीहरु नै हुन्। हो, क्युबा सेक्सको स्वर्ग हो, म मान्छु, तर भोको पेटमा सेक्स? असम्भव!

समुद्रको छालमा रत्तीभर पनि हराउन दिएनन् क्युबान युवतीहरुले। दश थरी मान्छेको वरिपरि बस्नुभन्दा तरूनीहरुसँगै जानु उचित मानेर हिँडेँ म। दुइटी तरूनी, अन्दाजी सत्र–अठार वर्षका। जे होस्, टिनएजकै हुन्। हाम्रो देशका कोरली गाई जस्ता। सलक्क परेका भन्छौँ नि हामी, त्यस्तै!

लागेँ, उनीहरुकै पछि। करीब दुई–तीन किलोमिटर हिँडेपछि मलाई असन वा पाटनको पुरानो गल्लीको छिँडीतिर पुगे जस्तै लाग्यो। ठ्याक्कै उस्तै। त्यस्तै घर। त्यस्तै झ्यालढोका। त्यस्तै आग्लाहरु। गल्लीको भत्कन लागेको पुरानो घरको तेस्रो तलामा तिनीहरुको कोठा रहेछ। एउटीले चोरझैँ झ्यालबाट पसेर ढोका खोली। यो उनीहरुको कोठा होइन कि भन्ने शङ्का लाग्यो। भित्र पसेपछि ढुक्क भएँ, उनीहरुकै रहेछ।

भित्ताका सुन्दर तस्वीरहरुले बताइरहेका थिए। कोठाको आकारप्रकार सबैले मलाई काठमाडौँको सम्झना दिलाए। त्यति बेला पुतलीसडकनजिकै एउटा प्रसिद्ध घर थियो, होलिडे इन। त्यो घरको एउटा कोठामा मैले छ वर्ष बिताएँ। सात तला अठचालीस कोठाको उक्त घरमा बत्ती थिएन। त्यसैले त्यो घर प्रसिद्ध थियो। केशव त्यो घरको दादा थियो। हामीले भाडा तिर्नुपर्दैनथ्यो। बदलामा हामी घरको सुरक्षा गर्थ्यौं। मेरो कोठा सार्वजनिक थियो। कुनै दिन तेह्र जनासम्म सुत्यौँ। छ वर्षको अवधिमा मैले कहिल्यै एक्लै सुत्ने मौका पाइनँ। कोठामा जो पहिला पुग्थ्यो, खाटमा उही सुत्थ्यो। पढ्नेहरु पढ्थे, जागीरेहरु जागीर खान्थे, बेरोजगारहरु डुलेर दिन बिताउँथे, त्यो घर धेरैको आश्रयस्थल बन्यो।

मसँग त्यो घरमा धेरै रात गायक अरूण थापा पनि सुते। एक गिलास रक्सीमा गितार बजाएर धेरै गीत सुनाए। मलाई उनको फ्यान बनाउने पनि त्यही घर नै हो। त्यही घरबाट काठमाडौँको जीवन शुरु गरेको उत्तम अहिले स्विटजरल्यान्डको तारे होटलमा म्यानेजर छ। भीमसेन प्रसिद्ध कम्पनीको ट्रेकिङ गाइड बन्यो। मन्जिल, राजकुमार, जनक, हरि, नरहरिहरुले आफ्नो करिअर त्यहीँबाटै शुरु गरे। सुरजले आफ्नी प्रेमिकालाई त्यहीँ भेट्टायो। स्वास्नी पनि त्यहीँ बनायो। मैले जनआन्दोलनमा गोली लाग्दा त्यही कोठामा आरामको सास फेरेँ।

सम्झिरहेथेँ काठमाडौँ, एउटी तरूनीले तिघ्रामा प्याट्ट पारी। केही बेर गफ गरेपछि सेक्सको कुरा भयो। उनीहरुसँगै पालैपालो सेक्स गर्नुपर्ने उनीहरुकै आग्रह थियो। मैले भोको छु भनेपछि एउटी खानेकुरा लिन गई, मसँग दुई डलर लिएर। अर्कीले मसँग बार्गेनिङ गर्न थाली। एउटीको एक पटकको चालीस डलर रे! पूरै रात बिताए रेट अझै कम रेट हुन सक्छ रे! म पनि के कम, बार्गेनिङ नै सम्झेर मोलमोलाइ गर्न थालेँ। उसको रेटलाई दश डलरमा झारेँ।

दुई डलरको बन बोकेर अर्की तरूनी आइपुगी। मैले टोकेको जुठो बन दुइटीले खोसाखोस गरेर खाए। त्यसपछि एउटीले मेरो टी–सर्ट उतारी। मेरो शरीरका अङ्गहरु देखेर सोधी, “बडीबिल्डर हो कि क्या हो?”
अर्कीले जुत्ता–मोजा खोलिदिई।

अब दुइटीले नै मलाई मुसार्न थाले। ममा उत्तेजना शून्य बराबर थियो। दुइटी भोकाएका सिंहिनी जस्तै देखिएका थिए। उनीहरु 'ब्रा' मा उत्रिसकेका थिए। एउटी मेरो पाइन्टमाथि तिघ्रामा चढी। अर्कीले पछाडिबाट आफ्ना दुई जाँघबीचको यौनाङ्ग मेरो ढाडमा दलिरहेकी थिई। सिनेमामा हिरोइनले हिरोको छातीमा समाएजसरी पछाडिबाट समाइरहेकी थिई घरीघरी।

तिघ्रामा चढेकीले दश डलर मागी। मैले 'पैसा छैन' भनेँ। पत्याइन। फेरि गालामा म्वाइँ खाई। पछाडिकीले काँध सुमसुम्याउन थाली। मैलै 'साँच्चिकै पैसा छैन' भन्दै खाली वालेट देखाएँ। उनीहरुले बल्ल पत्याए। उनीहरुले 'मनाना' अर्थात् 'भोलि' भने। मैले हुन्छ भनेँ र जुरूक्क उठेँ। उनीहरुले मलाई फेरि लडाए र भने, “पैसा भोलि दिए हुन्छ।”

उनीहरुले उधारो सेक्स गर्न आग्रह गरे। म 'मनाना' भन्दै लुगा लगाएर त्यहा“बाट निस्किए

जुम्लाले राधा पौडेलको जीवनलाई नयाँ दिशा दियो ।

मदनपुरस्कार विजेताले देखेको जुम्ला


राधा पौडेल

सबभन्दा अग्लो ठाउँमा क्षेत्रीय प्रहरी कार्यालय छ । अलि तल सैनिक ब्यारेक । त्यो भन्दा होेचोमा एयरपोर्ट । धावनमार्गसँगै दाङ साँघुतिरबाट बग्दै आउँछ तिला नदी । अनि एयरपोर्ट, कर्णाली प्राविधिक स्कुल र महत गाउँ तीनतिरबाट भिरालो हुँदै उपत्यकाजस्तो सम्म ठाउँमा बसेको छ सानो बजार । यही हो, कर्णाली अञ्चल सदरमुकाम खलंगा (जुम्ला) को मोटामोटी भूगोल ।

हुन त सबै ठाउँको समाज, संस्कृति र रहन-सहनको आ-आफ्नै विशेषता हुन्छ । त्यसमा पनि जुम्लाको खास छ । यहाँ वर्षैभरि साना-ठूला चाडपर्व निरन्तर चलिरहन्छन् । सैनिक जात्रा, रोपाइँजात्रा, अरु के के हो के-के ? जात्रा र पर्वको संख्यामात्रै गन्ने हो भने राजधानी काठमाडौंसँगै निकै नजिक छ जुम्ला । मनाउने तौरतरिकामा भने धर्ती र जूनजत्तिकै अन्तर होला ।

काठमाडौमा सानोसानो पर्व दुलही भित्राएजत्तिकै धुमधामसँग मनाएको मैले देखेको छु । यहाँ भने दुलही अन्माउन लागेजस्तो रौनकविहीन हुन्छ । दुर्गम बसाईको भाडा हो वा जन्मजात गरिबीको कर तिरिरहेका छन् जुम्लीहरु ।

चाडपर्वमा पनि कसैको मुहार फक्रिएको मैले देखिनँ । कहिलेकाहीं यस्तो लाग्छ, जुम्लाका पर्व जम्मै औंलामा गन्न सकिने धनीहरुको निम्ति मात्रै त होइनन् ?

जातकै आधारमा ‘पोसिएका’ र ‘ठगिएका’ भनी वर्गीकरण गर्नेले एकचोटि जुम्ला आएर हेरे हुन्छ । यहाँ सुविधाबाट ठगिएकाहरु जम्मै दलित वा कथित तल्लो जातका छैनन् ।

माथिल्लो जात र राज्यस्रोतबाट पोसिएको भनिएका बाहुन, क्षेत्री पनि थुप्रै छन्, जो पेट भर्ने गाँस र आङ ढाक्ने एकसरो लुगाको निम्ति रगत-पसीना बगाउँछन् । जनगणनाको तथ्याङक केलाएर भनेको होइन, तर मेरो अनुभवमा जुम्लामा बाहुन, क्षेत्री र दलितकै बाहुल्य छ । मगुबाट बसाइ सरेर आएका मुगाली पनि छन् । यीमध्ये मैले भेटेका धेरै गरीबै छन् ।

अचेल पनि चन्दननाथ र भैरवनाथमा उत्तिकै आस्था छ जुम्लीहरुको । दसैंको बेला दुबै मन्दिरमा लिंगो फेर्ने चलन रहेछ । बडो रमाइलो हुन्छ, लिंगो फेरेको हेर्न । चन्दननाथ बाबालाई त साक्षात भगवानै मानिन्छ । यहाँ जसले जे माग्यो, पूरा हुने विश्वास छ ।

उनीहरुले कति पुस्तादेखि कतिथोक माग्दै आए होलान् । खै पूरा भए कि भएनन्, म जान्दिँन । माग्न भने छाडेका छैनन् ।

दसैं नआउँदै असोजबाटै जाडो सुरु हुँदोरहेछ । तिहार सकिएपछि मंसिरदेखि चैतसम्मै हिउँ पर्ने । बिहान-बिहान बाहिर हिँड्दा ठाउँ-ठाउँमा बरफ जमेको मैले पनि देखें ।

जिन्दगीमा पहिलोचोटि राष्ट्रिय पंक्षी डाँफे देखेको जुम्लामै हो । डाँफे पनि देखें, मारेर खाएको पनि देखें । हिउँ पर्न थालेपछि पन्छीहरु सुरक्षित बास खोज्दै बस्तीतिर आउँदा रहेछन् । त्यहीबेला सिकार गर्ने । सिकार गर्नेचाहिँ को भने, सिकारीलाई समातेर कारबाही गर्नेहरु नै । डाँफेको मासु पकाएर भोज खाने गरेको सुनें, जुन मलाई मन परेन ।

हामी नेपाली भाग्यवाद र रुढीवादका दीर्घरोगी हौं । समाजसेवी डोरबहादुर विष्टले यसमाथि सोध नै गरेका छन् । पूर्वको ताप्लेजुङ होस् वा पश्चिमको जुम्ला, यो रोगबाट कोही अछुतो छैन । खाली मात्राको फरक हो । जुम्ला अलि बढी नै ग्रसित भएको मैले अनुभव गरें ।

पुरुष आफू भने ठाँट्टएिर बजार चहार्छन्, घरमा श्रीमती, आमा र छोरीहरु हातगोडा चर्चरी फुट्ने गरी काममा जोतिएका हुन्छन् । बाहिर ठूल्ठूला कुरा गर्ने नेता, हाकिम, पत्रकार र नर्स पनि छाउपडी मान्दा रहेछन् ।

महिनावारि हुँदा भात, दूध, माछामासु खान नहुने रे ! मन्दिर त भन्नै परेन । हेर्दा पनि पाप लाग्छ कि जस्तो गरेर तीन कोष परै बस्छन् ।

जुम्लाको रीतिरिवाज म त रन्थनिएँ । रातमा पनि आकाश उज्यालिने यो बेला निस्पट्ट अध्याँरोमा बाँचिरहेको छ जुम्ला । बत्तीको अध्याँरो हैन, ज्ञानको अँध्यारो । चेतनाको अँध्यारो ।


जुम्लामा सरकारले सहुलियतमा दिएको चामलबाट जाँडरक्सी बनाइन्छ

सायद वर्षौंदेखिको अँध्यारोले ब्यग्र मन भुलाउन हो कि, चुइँगम अति चपाउँदा रहेछन् । महिलाले पनि प्याट्ट-प्याट्ट चुइँगम पड्काउँदै आफूजत्रै ढुंगाको भारी बोकेको मैले देखें । आफूभित्र गुम्सिएको आक्रोशलाई दाँतले किचिमिची पार्दै हल्का हुन त होइन ?

हल्का हुने अर्को पनि खुबै चल्छ यहाँ । मदिरा सेवन । घरमै बनाएको लोकलदेखि सुर्खेत र नेपालगञ्जतिरबापट आउने सिलबन्दी रक्सीसम्मको माग छ । कर्मचारीहरु बिहानै टिल्ल परेर अफिस आएको मैले देखेकी छु । रमरम हुँदै ड्युटीमा बसेका प्रहरी भेटेकी छु । धान राम्ररी फल्दैन । भोकमरीले जनता मर्छन् ।

सरकारले सहुलियतमा दिएको चामलबाट भने जाँडरक्सी बनाइन्छ । यसलाई चेतनाको कमी भन्ने कि परनिर्भरताको पराकाष्ठा ?
यहाँको अर्को समस्या हो, सरकारी कर्मचारी नबस्नु । कुनै न कुनै भ्रमण, काज वा तालिम मिलाउँछन्, अनि नेपालगञ्ज, सुर्खेत वा काठमाडौ झरिहाल्छन् । निमित्तको भरमा कार्यालय चल्छ ।

कहिलेकाहीं त त्यही निमित्त पनि हुँदैन । उसको सट्टामा आउने निमित्तले कार्यालय धान्नुपर्छ । दसैं मान्न घर गएका साथीहरु फागुनतिर मात्र उक्लेको मैले भेटेकी छु ।

जहाजको टिकटदेखि अस्पतालको उपचार र व्यवसायदेखि ठेक्कापट्टासम्म हुनेखानेकै आधिपत्य छ ।
कालो बादलमा चाँदीको घेरा भनेझैं गरिबी, अशिक्षा, भोक, रुढीवाद र सामन्ती संस्कारले थिलाथिलो पारेको जुम्लालाई प्रकृतिले भने आफ्नो झोली नै फुकाइदिएकी छन् ।

यहाँ बहुमूल्य यार्चागुम्बा छ । गुची च्याउ छ । र, अरु थुप्रै प्राकृतिक जडिबुटी छन्, जुन हाम्रा अज्ञान आँखाले ठम्याउँन सकिरहेका छैनन् ।
यार्चागुम्बा त जुम्लाको सुन भइहाल्यो । यसमा सरसापटै चल्छ । यार्चाको मौसम आएपछि तिरौंला भनेर ऋण लिने चलनै छ । यसो गर्दा बजार भाउ पाउन गाह्रो हुँदोरहेछ । एक त्यान्द्रो यार्चालाई ४७ रुपैंयाँ हालेर मैले नै किनें ।

गुची च्याउ पनि सानो टुक्राकै १० देखि १५ रुपैंयाँ पर्दोरहेछ । यही च्याउ नेपालगञ्ज पुग्दासम्म किलोको १० हजार, दिल्लीमा १५ हजार र जापानमा २० हजार रुपैंयाँ पर्छ भनेर स्थानीयहरु भन्थे ।

यतिका खुबी छन्, जुम्लामा । तैपनि हामी यसको चर्चा किन गर्दैनौं ? किन खाली जुम्लाका नराम्रा कुरा बाहिर आउँछन्, राम्रा कुरा दबिएरै बस्छन् ? किन हामी सगरमाथा र लुम्बिनीमा मात्र देशको गौरव खोज्छौं ?

के यार्चागुम्बा हाम्रो गौरव होइन ? जुम्लाको जडिबुटीखानी अरबको तेलखानी जत्तिकै बहुमूल्य छैन र ?

जतिजति यहाँ बस्दै गएँ, जतिजति भिज्दै गएँ, त्यति त्यति मलाई बोध भयो, जुम्ला गरिब भनेको त कहाँ पाएर गरिब हुनु ? यो त धनी हो, नेपालकै धनी ।

जुम्लाले मेरो जीवनलाई नयाँ दिशा दियो ।

(यस वर्षको मदनपुरस्कार बिजेता राधा पौडेलको ‘खलंगामा हमला’ पुस्तकको एक अंश)

सल्लाह सुझावको अपेक्षा राख्दछु