Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Saturday, February 3, 2018

उनि गए पछि


आज पनि उत्तिकै संझिरहेको छु
उनि गए पछि
हामीले खेलेको बगरको किनारामा,
बनाएको घर कैयौ पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरु
टुटेन कहिल्यै बिस्वासका ताराहरु
हामीले छोएको त्यो नदीको पानि
कैयौ संसार घुम्यो होला
त्यो भन्दा बढी घुमेको
तिम्रो स्मृति, मेरो आँखामा
आज पनि उत्तिनै साक्षि छन्
म नगएको कुनै पल रहेन
जहाँ तिम्रो हाँसो छोडिएको थियो
जहाँ तिमि र म भाँडाकुटी खेल्दा
सपनाहरु बुनेका थियौ
अनि कति पटक त तिम्रो सिउदो
बालुवाले भोरेको थिए
हो त्यहि बगर साक्षि छ
सोध नदि सँग
जहाँ मेरा आँसुहरु मिसिएका छन्
नदीमा हेर्दै आफ्नो तस्बिर सँगै सोध्थ्यौ
‘के हामि पनि माया लाइ यसै गरि
सागर सम्म पुर्याउन सक्छौ’?
आज सपना जस्तै लाग्छ होला तिमीलाई
जव क्षितिजमा घामहरु डुब्दै जान्थे
आकास बाट जुन अनि ताराले जिस्क्याउथ्यो
अनि हामि भित्र लुकेको प्रेम
छताछुल्ल धर्तीमा पोखिन्थ्यो
र उनि भित्र रहेका हिमाल पहाड
झरना छाँगा र छहरा सँग
मस्त खेलिरहन्थे
साक्षि छ त्यहि रात जुन रात हामि मातिएका थियौ
पोखिएका थियौ
आज त्यस्ता कैयौ रातहरु
एक्लै,एक्लै मारिसके
हामीले छोएको नदि सागर बनि सक्दा पनि
जुनले कैयौ रात पर्खिदा पनि
त्यहि घाम उदाउने
क्षितिजमा बुढो
रुख जस्तै भै
जहाँ बाट बिलाएकि थिइन्
त्यही उनको प्रतिक्षामा
बसिरहेको छु/

-रामकृष्ण अनायास,कविडाँडा

आमाको सेतो साडी

न झुल्किदै घाम अगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधि रात सम्म पेट धानेर
पिठ्युमा गरिबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोरा छोरीको
अनुहार देख्न पाइनन् /


समयले कैयौ लाइ ठगेपनि
मेरी आमाको सिन्दुर पोते
उसैदिन लुटेको थियो
जुन दिन
मेरा बा देश मुक्तिको लागि
घर छाडेका थिए

अचेल बेगले
आँगनका डिलबाट हुइकिएका
पँजेरो हरुले
मेरी आमाको सपना उडाएका छन्
धर्ति संगै,आमाका मनहरु
हल्लाएका छन् /

यो देशले मुक्तिको स्वास फेरिपनि
मेरी आमाको सेतो साडी
कहिल्यै फेरिएन

बिचरा !
अभावले बिचल्लित बनाएको मन
भित्र भित्रै आँसु ले पुरेर
सन्तानको मन भरेकी छन्

काम मा
माइला दाइको भाले नबास्दै
झोलुङ्गोमा बैनी लाइ सुताएर
कैयौ कोस टाढा पुगेकी आमा
जुनको उज्यालोले बाटो खोज्दै
तिखा ढुंगामा नाङ्गो खुट्टाले कुल्चदै
फर्किदा आँखा भरि आँसु पार्दै
बिर्सिएर पिडाहरु
दु:खलाई पन्छाउदै
सन्तानको भोक मेटाउछिन /

आज कैयौ युग बिति सक्दा
कलम कापी ल्याउने आश्वासनमा
हिजो त्यहि बाटो हुदै गएका
मेरा बा
अनि बा गए पछि
आमाको रातो साडी खोलियो
सदनको ढोका खोलियो
तर बा लाई गाउँको ढोला कहिल्यै खोलिएन /

रामकृष्ण अनायास

Tuesday, December 6, 2016

पुतलीको बिहे

जव हाम्रो प्रेमको
हृदयमा
जराहरु फिजारिएपछि थाहा भो
यौवनका रसहरु मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरुले
काउकुति लगाउदै गिज्याउदा

एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुदा

संगै घर बाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पबित्र माया र स्नेह
मिसिएको थियो
जव हाफछुट्टी हुन्थ्यो
उसै गरि भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ

कैयौ पालुवा पलाए होलान
कैयौ रातहरु मरेर
दिनहरु व्युझीए होलान
संग संगै हाम्रो उमेरमा मिसिएका रंगहरुले
हाम्रो मुटुलाई रंगाउदै
सरिर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरि जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छाल ले छुट्टाएर झैँ गरि
दुइवटा किनार बनायो


अचानक केहि वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियाली रहेका थियौ दुबैले
आफ्ना नानि बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरि पुतली को बिहे गर्यौ
उसैगरी हामि पनि एक हुनु पर्छ
जसरि पुतली लाइ एक गरायौ

हिजो जुन सपना हाम्रो थियो
आज उनिहरूको थियो
हिजो हामिले पनि
पुतलिको बिहे गराएका थियौँ
आज उनिहरूले पनि
उसैगरि बिहे गराएका छन्

रामकृष्ण अनायास
कबिडाँडा

Tuesday, August 9, 2016

माटोमा सपनाहरू



कविता - 

टाँसिएको 
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा
यो बिन्दु सम्म आइपुग्दा
मेरो देशको हिमाल,पहाड र यो खाडिको
तातो बालुवा हुदै
बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।

लेक मुनि फुलेका सेता चैरि
दाँत देखाउदै हाँसेका 
हिमाल अनि मेरो देशको माटोमा
पसिनाका रंगहरूले रंगाउदै
आज
यो धंाजा फाटेको मरूभुमि टेक्दा
ह्रदय चर्चरी फाटेको छ
अनि मुटुका भित्ताहरू तरंगित हुदा
फनफनि शिर घुमेकोछ ।

हावाको बेगले वनाएको बालुवाको
त्यो पहाड माथिको घाम,जुन
हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै
आज आफ्नै मृत्युको कल्पनामा मौन छु,

मेरो ह्रदयको कोशबाट
मैले देखेको सपना हराएको छ
मलाइ साहास दिइ आफ्नै खुट्टामा
उभ्याउने मेरा रहरहरू
बालुवासँगै
धुलोको बादलमा बिलिन हुदा
आफै रूमलिई रहेको छु ।

हिड्ने बेला मेरि आमाको आशिर्वाद 
र आँखाको डिलबाटबर्षेको आँसुको लागि 
बाँच्नु पर्छ म

हो बाँच्नु छ
मैले असंख्या रहरभित्र
हराएको उधेश्य खोज्न
निर्लिप्त सुतेका समतल भूमिमा
चिहाएर जुनको उज्यालोमा
जिन्दगी खोज्नुपर्छ म ।

हरेक बिहान
तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू
अव मेरो शरिरमा धमनि र शिराहरू बाट
एउटा उर्जा दिने छ
हावाको वेग सँगै सपनाहरू उमारेर
मरूभुमिमा क्याक्टसमा फल फलाउने
आकाङ्क्षा बोकेर म जस्तै खाडि आउने युवाहरूलाई
रोक्ने छु ।
फर्क 
उठाउ खिया लागेका औजार अनि
रोप आफ्नै माटोमा सपनाहरू
पगाल परिश्रमले ती हिमालहरू
अनि उज्यालो पार धर्ती
खर्कमा चौरी पर्खिरहेका छन्
बेसिमा लहलह फलहरू झुलिरहेका छन्
मैले त अठोट गरिसकेँ 
छिट्टै आउदैछु आमा । 

रामकृष्ण अनायास 
कविडाँडा

Sunday, March 20, 2016

क्रान्तिकारि मनमाया

हिजो आमाहरू अध्यारो कुवाँ बाट
चिहाउदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाधेको संस्कार
निरंकुसताको शासन भित्र
कतिन्जेल सिमित रहला

परम्मरा र धर्मको नाममा लादिएका मेरी आमाहरू
शिरै माथिको तातो घामले डामेर
चैतको सुख्खा खडेरि को जमिन जस्तो
चरचर सुकेको मुखमा
अर्ग्यानिक झोलमा मात्तिएका बाबुहरूको
आफ्नै स्वतन्त्र लाइ कुल्चिएका
पाउ भिजेको
पानिले मुख भिजाउदा
सन्तुष्टिको भन्दा मुक्तिको
महसुस गर्थे।

मेरी आमाहरू जसरी
कुँजिएका थिए
छट्पटाइ रहेका थिए
कालो च्यादरले ढाकिएको अन्धकार भित्र
जसरि
निसास्सिरहेका थिए

म मेरि मनमायालाइ भन्ने छु
किताब भित्र लेखिएका स्वतन्त्रता र
नारिका हकका मन्त्रहरू
पढेर नबस


उठ अनि भत्काउ
ति नारिका नाममा लगाइएका बारहरू
च्यात ति काला च्यादरहरू
उठाउ रातो झन्डा
अनि गर बिजयको शंखघोष

हिजो हाम्रि आमाहरू
जुन
हैकमि आदेश भित्र पेलिएर
आफ्ना ईच्छा चाहनालाइ
मन भित्रै कुन्ठाएर पाल्नु परेको थियो

धर्मको नाममा नारिलाइ बन्देज बनाएर
जौ,तिल सँगै अग्नि कुण्डमा होमेर
तातो रापमा आगो ताप्ने हरू
शासक र सामन्ति हरूको
मगज परिवर्तन गर्न
आज तिमिले क्रान्ति गर्न
जरूरि छ मनमाया

हो मनमाया
तिमिले नया ईतिहाँस कोर्नु छ
सदियौ देखि
दबिएर बस्न अभिशप्त मेरि आमाहरूका
ईच्छा,आकाङछा पुरा गर्न
जुन अभिभारा तिमिलाइ सुम्पेको छु
त्यो समाजका कैयौ छोरिहरूको
उन्मुक्तिको बाटो बन्नेछ

भोलि बन्ने कैयौ आमाहरू
त्यो स्वतन्त्रताको फराकिलो आकाश हुदै
बन्द रहेको क्षितिज
उघार्न जानेछन्
इतिहाँसको पानाभरि
ठुला अक्षरमा तिम्रो नाम रहिरहनेछ
क्रान्तिकारि मनमाया


रामकृष्ण अनायास 

तस्बिर - @copyrite

Wednesday, January 6, 2016

साइबर युग र प्रेम


कविता
तिमि र म त्यतिबेला पुग्थ्यौ
जतिबेला घाम डुबुल्की मारेर
नदिबाट बाहिर निस्किए जस्तो देखिन्थ्यो
जसरि यौवनले भरिएकी युवती
पानीले भिजेको जिउमा टाँसिएका कपडाले
सरिरलाइ देखाएको सुन्दरता र
धर्ति एउटै देखिए झैँ लाग्छ /
आज पनि उही किनार उही बालुवा
अनि हाम्रो प्रेमको महल बनाएर
भत्काउनु थियो
कुनै अपसोच थिएन
जति बालुवाको महल भत्कन्थे
त्यतिनै हाम्रो प्रेमका जराहरु
हृदएमा तरंगित हुदै फैलान्थ्यो,


उत्तर तिर उभिएका कुमारी हिमालहरु
एक टकले हेरिरहदा
हाम्रो प्रेमले पग्लिन्थे
हाम्रो मनमा उठेका खुशीका उभार हरुले
नदीमा जसरि उर्लिएका छालहरुले
हाम्रो महल भत्काउथ्यो त्यसै गरि
हामि बिचको बारहरु भत्काएर
एक अर्कामा प्रवेस गर्थ्यौ
घाम पनि लजाएर ओजेल पर्थ्यो,

मनमाया तिमीलाई थाहा छ ?
अचेल साइबरमै
नदि,नाला,किनार
अनि
बालुवाकै घर बनाएर
प्रेम गरिन्छ अरे नि ! 

"मनमाया प्रति प्रश्न गर्छिन "

के हाम्रो जस्तो प्रेम पनि साइबरमा गरिन्छ ?
हो मनमाया,
तिमीले मलाइ र मैले तिमीलाई
ह्रदयको अन्तरात्मा बाट आएको
शक्तिबाट प्रेम गरिन्छ
तर,
त्यहाँ गुगलले दिएको शक्तिबाट
प्रेम गरिन्छ,
उनीहरु शारीरका रंग संग खेल्छन्
हामि अन्तरआत्मा बाट निस्केको
मिठो संगीत संग खेल्छौ/

हो मनमाया साइबर युगको प्रेम
र
तिम्रो हाम्रो युगको प्रेम
खोलाका किनार जस्तै कहिल्यै मिल्दैनन्
हाम्रो प्रेम अजम्बरी बलिरहन्छ
तर साइबर युगको प्रेम 
बत्ति गएपछि चारैतिर अध्यारो छाउछ
अनि समाप्त हुन्छ /

हाम्रो प्रेमको सुगन्धले धर्तिनै
मगमगाउछ
साइबर युगको प्रेममा
अत्तरको कृतिम बासनाले
सबैलाई एलर्जी गराउछ मनमाया /

त्यसैले
मेरो देशको माटो
यी हिमाल,पहाड,खोला,नाला संगै
लुटपुटिदै लुकामारी खेल्दै
जव प्रेमको बिउ उमारिन्छ
भोलि त्यै हाम्रो साँचो प्रेमको साँची हुनेछ मनमाया /

रामकृष्ण अनायास
कविडाँडा









शिर्षक - बैठक

कविता 
शानदार होटल भित्र 
पशु अधिकारबादि हरूको
एक भब्य मिटिड• हुदैछ 

वेटर ले अर्डर लिन्छ,
 कसैले चिकन,मटम कसैले
 बफ आइटमको अर्डर गर्छन्

 बिचैमै एक जना भद्र उठेर 
भन्छन्
 "पशुको हत्या गर्नु अपराध हो" 
ठुला ठुला बिचारहरू प्रस्तुत हुन्छन्
 चिसो लागेको गुनासो पोख्दै
 फेरि अर्का व्यक्तिले
 वेटरसँग बफ सुप माग्छन्
 सँगै माग्छन् टाउको फ्राई

 बहस जारिनै छ
 प्रस्तावहरु आउछन्
 १ साइकलमा उधोमुन्टो लगाएर कुखुरा बोक्न बन्द गर्नु पर्छ /
 २ राँगा गोरू बाट चल्ने बयल गाडा बन्द गर्नु पर्छ  / 
३ अव दशैं तिहारमा हुने काटमार रोक्नु पर्छ । 
उक्त प्रस्ताव उपर छलफल गरी
 निम्न कार्यहरू गर्न गराउन बन्द गर्ने 
निर्णय गरियो । 

रामकृष्ण अनायास

शिर्षक - आमा

कविता

बिहानै देखि गुँड छाडेर 
अग्लो डाँडाले सुर्यका किरणलाई
ओझेलमा नपार्दै
भुर्र गर्दै चुच्चोमा च्यापेर
चारो ल्याइ बचेरालाइ पालै पालो ख्वाएको
म नियाली रहदा
मेरी आमाको जुनको उज्यालोमा
परेको मधुरो छाया देख्छु
यस्तै
धेरै दिनहरु मारिसकेको छु मैले
भर्खर पिठ्युमा बोकेर फ्याकिएको
गरुङ्गो डोको
जसरि आमाले पिठ्युमा अडाउनु भएको थियो
त्यसैगरी
गलेर लाल्याङ लुलूङ भएको शारीर
थचक्क बस्दै गर्दा
आमालाई आढ़ दिएको छ /

भोकले खुम्चिएको मुख र
बटारिएको पेट हातले समात्दै 
म आमाको पसिना अर्को हातले पुछ्दै
आमाको भोक र पिंडाको कल्पना गर्दै
लुत्रुक्क काखमा निदाउछु /

जसरि कालो बादलले पानि बोकेर हिडछ
जसरि पृथ्बीले हजारौ भारहरु थाम्छ
त्यसरीनै मेरा लागि सपना र
नौ महिनाको भार थाम्नु भएको छ /

म सोच्ने गर्छु त्यो आमाले पिस्ने गरेको जाँतो
जसरि घोटिएर पातलो भएको छ
आमा पनि त्यसैगरी खिइनु भएको भए
अस्तिनै सकिनु हुन्थ्यो /

एक सरो लगाएर आधा गासले
दिनभरी पसिना चुहाउदै
पट्पटि फुटेको बाँझो गरामा
पसिनाले भिजाएर दिनहु सपनाहरु फलाउनु हुन्छ /

समुन्द्रको गहिराइ र पहाडको उचाइ
पनि कम लाग्छ
तर मेरी आमाको मन
त्य भन्दा कैयौ दोब्बर छ
आधा गुन्यो च्यातेर मलाइ भोटो
बनाइ दिदा म खुशीले बुरुक्क उफ्रदै
जुन टिप्न खोज्थे /

काँडाले घोचेर रक्ताम्य हुदापनि
औसेलु र कटुस
मेला बाट फर्किदा कहिल्यै छुटाउनु भएन /

बलेसीमा तप्किएको पानीको मिठो आवाज
र नारायणी सुस्काउदाको मधुर संगीत ले
आफ्नै मनलाई आनन्द तुल्याउदै
कैयौ रात जीवनका कथा सुनाउनु भएको छ /

गुराँस र लालुपाते ढकमक फुलेर
पहाड ढाक्दा पनि
आमाको अनुहारमा रातो,पहेलो हरियो
कुनै रंगका फुलहरु फुलेनन्

बर्षौ पिच्छे बिरुवाले पालुवा फेरिपनि
आमाको जीवनमा सुखका बिहान कहिल्यै पलाएनन् /

आमा बाह्र बर्षमा खोला फर्किन्छ
कुनै दिन हजुरले भन्नु भएको थियो
म त्यहि दिन को प्रतिक्षामा छु
तपाइँका रगताम्मे पैतालाले पखालिएका
ढुंगा हरुले छानो भएको घर बनाउछु /

हो म
तपाईको मनमा निभेको दियो
बालेर यो संसारलाई तपाइको उज्यालोले
नया बिहानी बनेर ब्युताउने छु
आशाका पालुवाहरु पलाउने छन्
मन भित्र गुराँस र लालुपाते फुल्नेछन्

ति सुन्दर सपनाका फुलहरुले
जीवन रंगाउने छ,
म सधै हजुरको गुन्युले सिएको भोटो
सिरानीमा राखेर मेरा सन्ततिको
सुन्दर भबिष्यको कल्पना गर्ने छु /
रामकृष्ण अनायास
कविडाँडा

Thursday, December 24, 2015

शिर्षक - प्रश्न

कविता
जहाँ
तिम्ले र मैले एउटै सपना देखेका थियौ
लुकामारि खेल्दा कैयौ पटक
अंगालोमा बेरिएका थियौ
जुन आकाशको बिचतिर पुग्दा पनि
हामि ताराहरू सँगै मुस्कुराउदै
यौवनका रसहरू छताछुल्ल भुईभरि छरेर
हराइ रहेका थियौ
आज पनि उत्तिकै यादहरू घुमिरहेको छ आँखामा


उत्तरतिरको चिसो हावाको वेगले
उडाएर दक्षिण पुर्याएको तिम्रो आत्मा
जोडिएको मेरो मुटुको ढुकढुकि खोज्दै
यस्तो बगरमा आइपुगेको छु
जहाँ हजारौं प्रेमिहरूका
चिस्कारहरू आइरहेका थियो
कतै पिडा अनि बिछोडका धुनसँगै
सयौ बर्ष पुराना गितहरू गाइरहेका थिए /

महसुस गर्छु
कालोबादल घोप्टीएर आफैलाइ थिचेको
र
शरिरको एकमुठि तातो रगत पनि
त्यहि बगर बिचको सानो नदिमा
लाग्छ बगिरहेको छ /

उत्तिकै संझिरहेको छु आज पनि
म सानो हुदा आमाले बगरका ढुंगाहरूमा
भगवान हुन्छ भन्नु भएको थियो
तर आज मैले भेटेका ढुंगाहरूमा
मात्र उनकै आकृति देखेको छु
अब प्रश्न सोध्नेछु आमालाइ
कतै उनै हुन त
ढुंगामा देखिएको भगवान ?

म सँग सयौ प्रश्नहरू लाइन बध्द छन्
अचेल म प्रश्नहरू मात्र जन्माउछु

जव पश्चिम तिर उज्यालो पार्न
यता कालो च्यादर ओढाउछ
अनि झर्ल्यास्स ब्युझन्छु
पर्दा हटाउदै झ्यालबाट चिहाएर
त्यो जुनलाइ एकनाशले हेरिरहन्छु
मलाई मेरा बा ले जुन दिन
भन्नु भएको थियो
टाढा हुनेहरूको अनुहार जुनमा भेटिन्छ भनेर
म लगातार कैयौ रातको प्रतिक्षामा
दिन मारिरहेको छु /

रामकृष्ण अनायास
कविडाँडा

Sunday, December 13, 2015

कमरेड

भूकम्पले चर्किएर बाँसको टेको लगाएको
घरभित्रको एउटा अँध्यारो कोठामा बसेर
म तिमीलाई लाल अभिवादन टक्रर्याउछु कमरेड
म मृत्युको आँगनमा बस्दा
तिमी महलको कुन कोठामा रूमलिएर
कुन पहाडियालाई भोकै राख्ने
कुन मधेशीको रगत बगाउने योजनामा
मस्त छौ ।

तिमीलाई जनताले आशाको दियो मानेर
देशको साँचों सुम्पेका थिए

तिमीलाई थाहा छैन होला मेरो गाउँ
जहाँ तिमी बसेका छौ कमरेड
त्यहाँबाट सात डाँडा पारिको
अँध्यारो गाउँमा हो ।
र
त्यो पनि थाहा छैन होला
हिजो भर्खर बिहेको मिति तोकिएकि
हर्के कि छोरि मनमायाको इज्जत लुटिएको थियो
माईला बा को छोरो
औषधी नपाएर पखालाले लगेको थियो
उता बिरे तेल लिन जादा
जिउदै जलेर मरेको थियो
हो कमरेड म त्यही गाउँबाट हो
तिमीले अखबारका अक्षरबाट थाहा पायौ होला
त्यो अवोध मनमायाको ईज्जत लुटिदा कराएको चिस्कार
अनि माईला बा को सन्तान प्रतिको माया
र
बिरेको पीडाले मलाई पोलेको छ कमरेड

म ननिदाएको कैयौ रातहरू भैसके
निदाउदा केवल सधै मेरो सपनामा
कैयौ रातहरूले
लुटिएको ईज्जत फिर्ता माग्छन्
हर्केको छोरा आफ्नो परिवार र
जीवनजल लिन सधै धाइरहन्छ ।

कमरेड तिमी चियाको चुस्किसँगै
जनताको विश्वास हरूपनि थुप्रै पिएका छौ
कुनै रात तिम्रो सपनामा पनि
यसै गरी कैयौ मनमायाहरू
आउने छन् जीवन रक्षाको भिक माग्नेछन्
मधेशीहरू गोलि र रगतको
मूल्य माग्नेछन्

बेलैमा आफ्नो कुर्चीबाट
उठेर हेर कमरेड
हिमाल,पहाड,मधेस
नत्र कैयौ नेपालीको चिस्कार
पीडा र प्रश्नहरूले
आत्महत्या गर्न बाध्य हुने छौ  ।


रामकृष्ण अनायास
कविडाँडा कैलाशनगर

Monday, September 21, 2015

कविता – मनमाया

कविता

पुर्वको लाली र घामको क्षितिजले
धर्तीलाई नचुम्दै
रातभर नसुतेर
बिहानै उठ्छे मनमाया ,

कम्मरमा पाँच फेरो पटुकी कस्दै
दुई पसर मकै र भटमास
गुन्युको टुप्पोमा बाँधेर
ठाडो उकालो लाग्छे
अपेक्षाको उचाइ र आस्थाको परिधि
भन्दा धेरै माथि
उसको मनमा
राता,पहेला,हरिया,गुलावी
हिउदे फूलहरु कहिल्यै फूलेनन्
शीरै माथि आएर पोलेका घामले
उसको मन यसरि डडालेको थियो
जसरि मरुभूमिको बालुवा तातेर धुवाले
बादल लागेझैँ,

ध्वजा फाटेको मुटुभित्र
मडारिएको त्यो कालो बादलले
आँखाबाट बर्षात गराएका
आँसुका ढिक्काहरु
बग्दा बग्दै सीमाहीन समुन्द्रमा हराउछन्

मनमाया आलिका कान्लामा
फुलेका आफ्ना सपनाहरु
गोडमेल गर्दै
मनमा खेलेका तर्क बितर्कका
शब्दहरु सुन्दै टोलाउदै बस्छे /

मनमा थुप्रै प्रश्नहरु जन्माउछे मनमाया
किन आँखा देक्दैनन् देवताहरु ?
किन मौन छन् आज ?
बिचारा ! मनमाया लाई के थाहा
उसले कहिल्यै पैसा चढाइन
मात्र फूल र अक्षता बाहेक
अचेल पैसामा बिक्ने जमाना छ
भनेर सोच्दै सोचिन मनमायाले /

बिचरा मनमाया !
अभावले पोतिएका अँध्यारा कुनाहरूमा
खरानी बुंङ बुंङ उडाउदै
चिसो चुल्होमा ढुम्रो वाट
बचेको एक मुठी स्वास खर्चेर
भुम्रो बनाउछे
अनि मनले पाकेको एक गास
पस्किन्छे थालभरि रहरहरु /

मरिसकेका थिए उतिनै बेला आशाहरु
जतिबेला उसको गाउँ हरायको थियो
जतिबेला भेडीगोठ र चौरीको बथान बगेको थियो
जतिबेला सिन्दुर र सौभाग्य खोसिएको थियो
आज
उ बाँच्ने एउटै साहास थियो
ति भेडी र चौरीको बथान
त्यो गाउँको याद
लोग्नेको भित्तामा टाँसिएको तस्विर ////


रामकृष्ण पौडेल ''अनायास ''
कविडाँडा,भरतपुर


Monday, September 22, 2014

मेरी आमा

कविता

दु:ख संगै उदाएको
मेरी आमाको कहानी
साँझा सम्म पनि आफ्ना पसिना
खडेरीले सुकेर पट्पटि फुटेका
बाँझो बारीमा आफ्नो शरिर बाट
निस्केको पसिनाको नारायणीले
संचित गरेर दस नङग्राले
सपना खोस्रिदै
आलीको कान्लामा ठुसुक्क नगरी
घाम ओढार परेपछि
ढोको संगै सपना बोकेर
उही प्रिय गोरेटो हुदै
भोलिको दिनको कल्पना गर्दै
पुन फर्किन्छिन आफ्नै घर

दलिन सम्म पुग्दा नपुग्दै
च्यातिएको गुन्यु चारैतिरबाट
तानातान गर्दै छातीमै टाँसिएका
स्तन भेट्न हानथाप गर्छन
दुधे बालक,

दिनभरी एकमुठी परालले पेट भरि
दाम्लोंमै झुन्डिएर
मालिक्नी आउने बाटो हेरेर बसेका
गाई,बस्तु
मेरी आमाको आवाज संगै
एकोहोरो कराउन थाल्छन /

परानले मात्र धानिएकी
मेरी बृद्धा हजुरआमा
बुहारी आएपछि औषधि खानपाउने आशामा
मझेरीमा पटुकीको सिरानी राखेर
लामो सुस्केरा संगै सुतिरहेकी छन् ,

दु:ख र बेदनाले भरिएका
कहानीहरु हृदयमा सजाउदै
आँखाबाट खसेका मूलले
प्यास मेटाउदै कैयौ चोटी
आफ्नो र परिवारको
प्राणको भिक माग्दै
अभावको झुप्रोमा
कैयौ रात हरु बिताई रहेकीछन्
मेरी आमा !

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर-१३,कविडाँडा,









Saturday, September 20, 2014

मोडन भक्त

कविता 
एक हुल मुन्द्रेहरुको बथान
अट्टाहास हाँसोमा
थोरै अस्लिन शब्दहरु मिसाउदै
पैताला भेट्नै लागेको कट्टु समाएर
जंगल सफारी लज भित्र
प्रवेश गर्छन् /

अनुहारमा धेरै चिन्ताको कालो दाग
टाढै बाट टल्किरहेको देखिन्छ,
"पोहोर सालको दशैं त झुर भयो
तर त्यो भन्दा एड्भान्स बनाउन
यो साल स्मरणीय
बनाउदैछौ सुमन दाई" /
भन्दै थियो
सायद समुहको उँ नाइके हुनु पर्छ,
सुमन दाईलाइ चन्दाको बिल थमाउदै
भन्दै थियो "बिषय दुर्गा पुजा राख्नुहोस दाई",
तर प्रयोग सिर्जनात्मक काममा नै हुने छ '',
सायद दशैं नजिकिदै भएर होला
बिषय बस्तुको शीर्षक दुर्गा पुजा जुरेको

सुमन दाईको अनुहारमा
अटुट राप्तिहरु बगिरहेका छन्
दुर्गा,शिब,राम,लक्ष्मी लगाएत कैयौ
भगवानका भक्तलाई
रसिदमा चन्दाको भेटि चदाउदा /

यहाँ पुजा निरन्तर चलिरहन्छ
अनि भक्तहरु
जिर्णोंद्दार भएको मन्दिर निर्माणका लागि
स्रोत खोजीको प्रस्ताव उपर
छलफल गर्न
प्रत्येक दिन होटेल क्याफेमा
बिदेशी अमृत लिदै
गम्भिर चिन्तन संगै
दुर्गा,लक्ष्मी,काली का
एकहुल भक्तहरु
ठुलै बहसमा सदियौ देखि
जुटिरहेका छन्

रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा

Thursday, September 4, 2014

उ हतारमा छ,

रामकृष्ण पौडेल''अनायास''
पख !नारायणी

उँ हतारमा छ
सागर भेट्ने आशमा
बगेको नारायणी
थुप्रै सपनाहरु आँखामा बोकेर
गरिबका झुप्र भत्काउदै हिडेको नारायणी
के थाहा उसलाई
कतिको सपना उजाड बनेकाछन् .

पोहोर बगाएको छोरो सम्झिदै
सुन्तली भाउजु गालि गर्दै थिइन्
बिचरा हर्के बेपत्ता भएको
आलै छ घाउ
गाँउ शोकमा छ
तर आकर्सित छन् सहर बासि हरु
यो नारायणी संग

अझै दाउ हेरिरहेको छ नारायणी
कैयौ माइलीका सिन्दुर बगाउन
कैयौ आमाका कोख रित्तो बनाउन

माइला बा को खेत बाँझै छ अझ
एक हाल गोरु बगाएकोले
अनुहारमा त्रास बोक्दै
लए हराएको गीत गाउदै
यस्ता रातहरु मारेको दाग ब्युझन्छ
माइला बा को आँखामा .

रहरका बिस्कुन सुकाएर मनमा
घामको प्रतिक्षा गरिरहेका छन्
काभ्रे घाटका बासीहरु
बिस्कुन भिजाउने दाउ हेरिरहेको छ
अझै नारायणी
तर पनि मुस्कुराउछन्
किनकि सदियौ देखि
यहि जुहारी चलिरहेको छ .

बर्षौअघि सपनाको सिंगो आकाश बोकेर
यहि किनारामा सानो झुप्रो भित्र
गुजारा चलाउदै आएका सन्त दाइ
नारायणी को अस्लिल रुप बोकेर
फेरि फर्किन्छन् उही पुरानै ठाउमा

पख !नारायणी अब तेरो
धेरै बरालिने दिन गए
ढुंगाले छेकियोस नछेकियोस
तर संविधानका पानामा छेकिनेछस्
लेखिनेछस्
पख ! नारायणी /


कविडाँडा,भरतपुर ­१३ 

Monday, September 1, 2014

मैले देखेको सपन


कविता
मैले देखेको सपना

म तिमि ले बनाएको
सानो महलमा थिए
अनि
मेरा हत्केलामा तिम्रो हत्केलाको
स्पर्सले
मेरो पुरै रक्त नालीमा
उर्लिरहेको एउटा नदीको वेग
समुन्द्रको छाल झैँ
सुनामी बनेर
मस्तिस्क सम्म आइ पुग्दा
आँखाका ढकनिहरुबाट
एकाएक सपनाहरु बाहिरिदा
चरम बिन्दुमा पुगेका
मेरा बैसालु यौवनहरु
अकस्मात् बेखबर हुन्छन् /

आदि रातको मस्त निन्द्रामा
तिम्रो रहर र रहर संगै
तिमि भित्रको उज्यालो मुहार संगै
मेरा सपनाहरु दाँज्न
जबरजस्ती आँखा बन्द गर्दै
सोचिरहेको छु /

मैले देखेका आदि सपनाहरु
मस्तिस्कमा बन्द गरेर
भोलि देख्ने सपनाहरु संग
जोड्ने छु,
अनि पुरा गर्ने छु
चरम बिन्दुमा पुगेका मेरा चाहनाहरु
तिम्रो तलाउमा डुबुल्की मारी
एउटा गहिरो समुन्द्रको तिर्खा
पलभरमा सम्बोधन हुनेछ /
ए आदि रात हरु
अब प्रकाश संगै
प्रेमको बिहानी भएर आउ
सपनाहरु पुरा गर्नको निम्ति
कैयौ रातहरु संगै हराईसकेको छु,
अब बिहानी संगै आरम्भ गर्नेछु
अनि बनाउने छु वास्तविकताको महल /

रामकृष्ण पौडेल अनायास''''
कबिडाँडा ,भरतपुर



Wednesday, August 20, 2014

बिडम्बना

Kabita 

अन्धकारको पर्ढा ढाकिएपछि
म सिथिल हुन्छु र बाध्य बन्छु,
आफु शिथिल बनेर तिम्रो आवेगका
शक्ति संग म लड्न
मैले सकि नसकि सोध्नै पर्छ
युद्ध मैदानको सिपाही संग
''तिमि सन्तुष्टी छौ'' ?
घाइते शिकारको चित्कार सुनेर
उसलाई त्यो चित्कारको आवेगले
झन् शक्ति बढेको अनुमान गर्न सक्छु /

सास घाँटी सम्म नआउन्जेल
उसको पन्जा बाट पक्कै उम्कन पाउने छैन
अब म सबै शिथिल शरिर
उसकै भोकका लागि चढाउदै छु
जब म निर्जिव बन्छु
तव उसका मन भरिन्छ
अनि उ यसरि नै
अर्को शिकारको खोजीमा दौडिरहन्छ /

''अनायास'' भरतपुर-१३ कबिडाँडा

Friday, July 4, 2014

मनमाया र मेरी आमा

कविता

सुत्केरी ब्याथाले चिच्याई रहेकी मनमाया
आफ्नो मुर्त्युको कल्पना गरिरहेकी छ
बाँच्ने बिस्वास हराएको छ उसलाई
दुखाईको पिंडा दोब्बर भएर होला
डाक्टरहरु तैनाथ छन्
अस्पतालले गगन छुनै आँटेको छ
ढोकामा आफन्तको घुईचोले
खचाखच भरिएको छ

सबैका हातमा दुध,हर्लिस,फलफुल,कपडा
बोक्नैनसक्ने गरि लिएका छन्
बाबु को दर्जा पाउनै लागेको खुशीमा
हर्के बिस्व युद्ध जितेको अनुभव गर्दै
आफु सफल पुरुषको कल्पना गर्दै छ,
मनमा सुनको महल बनाउदै
आकास,जुन,तारा सबैले सजाउदै छ
हर्केको मन महंगा स्कुल,कलेज
महँगो शिक्षाको खोजीमा जुटिसक्यो
सायद उ संग टन्न पैसा भएर होला /

हर्केको जीवन देखेर
मेरी आमा कथाकी पात्र र
आमाको कहानी कथा जस्तो लाग्नु
मैले स्वाभाविकै ठान्दछु /

उचाइ ले गगन छुन लागेको पहाडमा
घाँसका भारि बोकेर
काँडा घारी छिचोल्दै
नाङ्गा खुट्टा बाट बगेका
रगतका नालाले तिखा ढुंगा पखाल्दै
रगताम्य गुन्युंमा मलाइ पोको पारेर
एक हातले च्याप्दै
र
अर्को हातले भित्तो समाउदै
जंगली जनावरलाई चुनौती दिदै
घर सम्म ल्याई
तातो पानि सम्म खान नपाएकी आमाले
आफ्ना स्तन निचोर्दै
मेरो मुख भिजाएकी थिइन्

त्यति बेला मेरी आमालाई
अस्पतालको महँगो बेड,डक्टर र
भेट्ने आफन्त सबै
सपना जस्तो थियो /

म निर्बस्त्र जमिनको धुलोमा
पछारिदै लड्दै कुकुरका छाउरा संग
खेल्दै हुर्की आज बयस्क आकारमा
आइपुग्दा
आफैलाई सपना जस्तै लागिरहेको हुन्छ

मेरा बा
लाहुरबाट फर्किदा
म छानो बिनाको पाठशालामा
बाह्रखरी सिक्न सक्ने भएको थिए

आमाले आफ्नो धोति च्यातेर
भोटो सिलाएर लगाईदिदा
गर्भले छाती फुलेर फुट्ला जस्तो हुन्थ्यो

जन्मिन नपाउदै न्यानो कपडाले
ढाकिएको मनमायाको छोरो
अझै बिरामी हुने डरमा
कैयौ रात नसुति
धेरै बिहानीहरु जन्माई रहेको छ हर्के /

रामकृष्ण पौडेल ''अनायास''
कबिडाँडा,भरतपुर

Saturday, May 24, 2014

कविताको जन्म कविकुनामा

कविता 
कविताको जन्म कविकुनामा

नियतिको बादलले छेकेको
एउटा घाम
धर्तिलाई चुम्बन गर्नको निम्ति
आकासको पर्दा च्यातेर
क्षितिज बाट चिहाई रहेको छ /

घामको लाली पोतेर
एक हुल भेडा चराउदै
बेशी बाट झेरेकी मनमाया
आफ्नो यौवनको मातलाई
बुट्टेदार चोलीले सजाउदै
टुटेफुटेका गीतमा रमाईरहेकी छन् /

यता
बिचार ! हर्के दाई पुन्पुरोमा हात लगाउदै
आफ्नो नाङ्गो आँखा बाट
संबेदनाको झोल बर्साउदै
हिजो असिनाले कुटेको
कोदोबारी नियाल्दै
दाँजेका छन्
गर्भ बाटै भ्रुणको हत्या भएको
आज आफ्नै सपनाको मलामी जान
बिवश छन् हर्के दाई /

खडेरीले फुटेको बारीका कान्लामा
कोदालोले सपनाहरु खोस्रीदै
निदारबाट बगेको नहरले
सिचाई गराउदै
अन्न फलाउछन् आफ्नै मनहरुमा
हर्के दाई !

विवस छन् कैयौ हर्केहरु
ब्याडमा आँसु र पसिनाको
बिउ छरेर आशाका मुनाहरु
नउम्रदै मार्नु परेको पिडा
हृदयलाई सुनाउदै कैयौ बिहानी
जन्माएका छन् /

दिनभरी थाकेका एकहुल कवि मनहरु
दिनभरिको थकान र पेलानले
दिक्क भई साँझमा जम्मा भएर
कविकुनामा लामो सास फेर्दै
आफ्ना हाकिमले जुवामा बाँधेर
पुच्छर निमोठी काममा दौडाएको पिंडा
एक अर्कामा सुनाउदै
सिसीको बिर्को खोलि गिलासमा
भागबन्डा गरेर प्युनमा मस्त हुन्छन्
अनि आजको बहसमा
मनमाया र हर्केका जीवन कहानीका
कैयौ कविता हरु जन्माउछन्
कविकुनामा कविहरु /

रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा, भरतपुर

''मैले एउटा छोरि जन्माउनु छ ''

कविता
''मैले एउटा छोरि जन्माउनु छ ''

निराशाको कालो बादल
मेरी आमाको अनुहारमा
हिजो ढाकिएको थियो
समाजले पुरुषको माग कहिल्यै घटाएन
मेरी आमाले कैयौ छोरिहरु जन्माएर
ठुलो चुनौती दिएकी थिईन् /

यो ठुलो युद्धमा
घाईते भएकि मेरी आमा
आज पनि त्यो चोटको पिंडामा
चिच्याई रहन्छिन् /
अब म मेरी आमाको समर्थकहरु
खोज्दै छु /

अनि पठाउछु एउटा पत्र
राष्ट्रीय सभामा
मेरी आमालाई लागेको आरोप
खारेजीका निम्ति
अनि देखाउनु छ यो समाजलाई मैले
मेरी आमाको सदियौ देखिको सपना पुरा गर्न
मैले एउटा छोरि जन्माउनु छ /
रामकृष्ण पौडेल अनायास
कविडाँडा

Thursday, April 17, 2014

अन्तिम दिन

कविता, 

आँसुको खेति गरेर
संबेदनाको फल फलाउने
यि आँखाहरु
चैत बैसाखको खडेरीमा
चिरा ­चिरा परेका गरा जस्तै
सुख्खा र रुखो पनको
अनुभूति कल्पना गर्दै
मनमा आशा र उमङ्गका
पालुवा हरु टुसाउने त्यो
समयको पर्खाईमा .

निरन्तर पत्थरमा अबिर पोतेर
धुवाँको मुस्लोले
वादल जस्तै बनाएको मनमा
सुर्यका सुनौला किरणले
विखण्डित गर्न खोज्दा
औसीको कालो रातले
च्यादर ओढाएर घामको
हत्यामा संग्लन्न भई
बिजयको उत्सवमा
रात्रीभोज मनाई रहेको छ .

अचेल लेख्ने गर्छु समालेर
ति आँसुहरु,
अनि आँसुको मसिले
पिंडाका कविता लेख्छु
रोगले ग्रसित मनका
कविता लेख्छु,
ज्युनको लागि प्रशस्त यादहरु छन्
सहनको लागि प्रशस्त रोगहरु छन्

बाँच्नुको पिंडा
हृदयलाई सुनाउदै
दुखेको छातीमा
संबेदनाको झोलहरुले
मालिस गर्दै,
हुरीले उडाएको वस्तीमा
म पर्खिरहेको छु अन्तिम दिनको .

कविडाँडा,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु