Tuesday, September 16, 2014

गजल

पुरु लम्साल 

यी मान्छेहरूको लस्कर सम्झेर ।
रोकिन्छन् पाइला सफर सम्झेर ।।

झरी परे पछि मन पोल्न थाल्छ ।
बुढी आमा र चुहिने घर सम्झेर ।।

कहिले ठोकिन्छु कहिले टुक्रिन्छु ।
अचम्म लाग्छ यो खप्पर सम्झेर ।।

माझीको जिन्दगी नाउमै बित्यो ।
कोही पनि फर्केनन् बगर सम्झेर ।।
मैले फूलै फूलको उपहार पठाएँ ।।
उनले मिल्काइदिइन् पत्थर सम्झेर ।।

हज़ज़[बिधाता]बहरमा एउटा गज़ल :-


बूँद राना

हजारौं नाममा एउटा छ प्यारो नाम सम्झन्छु !
गज़लको बन्दना गर्दै म मोतीराम सम्झन्छु !

कतै एकान्तमा पर्दा मलाई aपीर लाग्दैन ,
म संगै साथमा हिंडने युवाको लाम सम्झन्छु !

कहाँ भौंतारिंदै जानु र गोता के भनी खानु ,
म मैले पूजने माटो धराकै धाम सम्झन्छु !

तुवाँलोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो ,
म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु !

हमेशा मात दी ठग्ने मदीरा के गरूँ मैले ,
नशा हो सिर्जना मेरो गज़ल हो जाम सम्झन्छु !

अरू पालो गरी आए खडेरी चैं मिची आयो ,
अझै पत्तो न लागेको बसन्ती याम सम्झन्छु !

उसैको चोटले गर्दा छ आफै घाइते किन्तु ,
शहरमै जिन्दगी छर्ने गरेको गाम सम्झन्छु !

पराइ स्वार्थमा जीवन दिनेको नाम के बिर्सुं ,
चिठीको नाममा शूली सकार्ने खाम सम्झन्छु !

कुनै केही कुरा आफ्नो भनेको ठाउँमा छैन ,
यहाँ आराम के सम्झुं छ धेरै काम सम्झन्छु !!!!

बहार वनेर


अर्जुन दृष्टि पौडेल 

 कविता
म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले 
झरेको फूल सम्झेर 
मलाई कुल्चीदियौं÷पाउमा राखी दियौं । 
म तिम्रो नयनमा बसेको थिए  
तर तिमिले 
आशुले पखालेर वगाई दियौं । 
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु 
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।

पोखरा

Monday, September 15, 2014

''प्रकृतिको आवहान''

विवश एस.बि चौलागाईं

कहीले चिसोसिरेटो बनेर
कहीले झम झमी बर्खे झरी झै
पुर्णीमाको रातमा बगरका ढुङ्गा
टल्क टल्के झै
थकित बटुवाको थकान मट्ने
चौतारि बनेर
कसैलाई जिउने आधार
कसैलाई पिउने आधार
तराईको फाट फाटमा
पहाडको टाकुरा टाकुरीमा
विश्वको सबोच्च शिखर बनेर
टिलीक्क टल्कीरहन्छीन
उनी
भेटीन्छीन
बस्ती बस्तीमा कवि मेरो
अस्मीता छेकीदेउन तिम्रा
ति शुन्दर शब्दले रङ्गीएको
पाना पानाले भन्दै
सुन्दैछु चारकोसेका मृगशाबक हरु
लन्च डिनर गर्न शहर पस्दैछन
आज नागबेली यार्सागुम्बा फल्ने ठाउमा
भोली चिल्ला चिप्ला मोटर गुड्ने छन
धुवॉको मुस्लो छोड्दै
तिमि आजको फोटो कैदगर
अनी भोली पल्टाएर हेर
सोच फरक के पायौ?
तिमि कविता भन्दा धेरै
मेरो स्याहार सुसार गर
हो कवि फेरि पछुताउने छौ
उनले त बिन्ती गरेकी थिइन भन्दै
नत्र जलीरहेको मरुभुमीमा
तिर्खाएको उंट झै
बौलाउन पर्ला प्रकृति प्रकृति भन्दै
कवि मेरो बेदनाको कविता लेख

/bibashchaulagain1994@gmail.com
Hetauda-5 ,now
Banepa-10, Kavre

गजल

घनश्याम परिश्रमी 

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब
अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब

पीर होस् कि खुसी सँगै भोग्नु पर्दछ
मधेस, पहाड र हिमालले अब

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नु पर्छ नयाँ सुर तालले अब

हामी लक्ष्य भेट्न हिँड््रयौँ बेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब

युद्धको सञ्जाल टुटोस् मनहरु मिलून्
ज्योति छरोस् शान्तिको मसालले अब

Sunday, September 14, 2014

यादको गुलाब

ईश्वरमणि अधिकारी , 

कविता

 यादै यादमा फक्रन्छ गुलाब 
प्रेमगीत गुन्गुनाउँछ हृदय 
अमर हुने भनेको त 
यादहरू न हो ! 

यादहरूको शृंखला अनन्त छ 
याद गर्दैमा हर्जना तिर्न नपर्ने 
कर तिर्न नपर्ने सपनाको
 भो , भैगो 
मलाई सपनाको आधा चेहरा काफी छ ! 

सपना कै आकाश मार्ग भएर
 एक जोर सपना
 उड्दै गरेको देखेथें सपनामा
 त्यही सपनाको प्यासले 
सपना पर्खन्छु म हर रात
 अमर हुने भनेको त
 पर्खाई पनि हो !
 
हर याम , हर बखत
 हृदय भरि फुल्छ , फुलिरहन्छ 
कहीं आधा , कहीं सिङ्गै 
अजम्बरी 
यादको गुलाब !!

पोखरा

सल्लाह सुझावको अपेक्षा राख्दछु