Thursday, April 17, 2014

अन्तिम दिन

कविता, 

आँसुको खेति गरेर
संबेदनाको फल फलाउने
यि आँखाहरु
चैत बैसाखको खडेरीमा
चिरा ­चिरा परेका गरा जस्तै
सुख्खा र रुखो पनको
अनुभूति कल्पना गर्दै
मनमा आशा र उमङ्गका
पालुवा हरु टुसाउने त्यो
समयको पर्खाईमा .

निरन्तर पत्थरमा अबिर पोतेर
धुवाँको मुस्लोले
वादल जस्तै बनाएको मनमा
सुर्यका सुनौला किरणले
विखण्डित गर्न खोज्दा
औसीको कालो रातले
च्यादर ओढाएर घामको
हत्यामा संग्लन्न भई
बिजयको उत्सवमा
रात्रीभोज मनाई रहेको छ .

अचेल लेख्ने गर्छु समालेर
ति आँसुहरु,
अनि आँसुको मसिले
पिंडाका कविता लेख्छु
रोगले ग्रसित मनका
कविता लेख्छु,
ज्युनको लागि प्रशस्त यादहरु छन्
सहनको लागि प्रशस्त रोगहरु छन्

बाँच्नुको पिंडा
हृदयलाई सुनाउदै
दुखेको छातीमा
संबेदनाको झोलहरुले
मालिस गर्दै,
हुरीले उडाएको वस्तीमा
म पर्खिरहेको छु अन्तिम दिनको .

कविडाँडा,भरतपुर

कवि कुनाको बहस


कविता

कविताको अर्गानिक झोलमा 
कविताको नयाँ मात खोजिरहेका कविहरु
कवि कुनामा बसेर
प्वाल परेका सिद्धान्तहरू धुँवामा उडाउदै
कविताको आरति गरिरहेका छन् ।
आफ्नै प्रसंसाको डम्फु बजाईरहेका केहि कविहरु
अचेल शोकमा देखिन्छन्
अर्गानिक झोल चढाएर
कविताको अप्रेसन गरिरहेका डाक्टरहरू देखेर ।

अप्रेसनको पर्खाईमा बसेर 
मुटुको धड्कन जाँचिरहेका
ति
कविहरु बेहोसीको ईन्जेक्सन पछिको
समयको आश मेटाईसकेका छन् ।

अर्गानिक झोलको डोज बिस्तारै बढाएर
भटमास र खुर्सानी ले मुख रन्काउदै
सिनियरिटिको पोष्ट दाबि गर्दै
अस्मिता भाउजुको टेबुल आज बज्रिएको छ ।

कवि कुनामा कविताको बहस जारी छ ।

हत्केलाको खाँबोमा भीर जस्तो चिउँदो टेकाएर
ध्यानले सुनिरहेका एक कविले
बिचैमा प्रस्ताव राख्छन्
छानबिन समितिको लागि

कविताका मापदण्डहरू नयाँ बन्छन्
स्त्रीको तिघ्रा,स्तन र ब्युटीबोनको 
सौन्दर्यमा मात्र
 केन्द्रित सौखिन लाई नोमिनेसनमै नपार्ने ।

पुरुष कविलाई देखिनसक्ने
केवल कबयत्रिको स्तुति र केशमा
सधै पिङ् खेल्ने कवि महासयलाई पुनर्विचार गर्ने ।

पुरानो धमिराले प्वाल पारेको
केहि परजिविले गुण बनाएको
कविता सार्दै छाति फुलाएर भाषण गर्ने लाई
समितिमा छलफल गरि राख्ने ।

अचेल धेरै चलखेल मच्चाएका
अर्गानिकको झोल र अस्मिता भाउजुका
नियमित ग्राहक कविहरुलाई
बिशेष प्रथामिकतामा पर्ने कुराको
सहमतिमा पहिले चरणको बैठकलाई
टुङ्याउदै केहि थान कविहरु बिदा हुन्छन ।

दुईवटा कविता लेखेकै भरमा
साधारण सदस्यताको निवेदन पार्दै
समितिमा दर्ता गराउने सोच बनाउदै
अस्मिता भाउजुलाई सिफारिसको
निमित्त म दाउ हेरिरहेको छु ।

रामकृष्ण पौडेल 'अनायास'

(यो कविताको सम्पादन गर्नु हुने भुपीन सर प्रति हार्दिक आभारी छु / ,

Monday, March 31, 2014

आमा र ममता



कविता 
आमा र ममता

एक मिर्मिरे बिहानी
सुर्यले हानेको पहिलो सुनौलो तिर
घरको दलिनमा पर्छ,
दलिनको फेदीमा
जीवन र मृत्युको दोसाधमा रहेका
एकजोडी नवजात पन्छी
आफ्नो प्राणको भिक मागिरहेका छन्
जिन्दगीको सुरुवातको पहिलो चरणमा
आफ्नो परिक्षण गर्दै थिए होलान्
ईन्जिन र पंखाहरु पूर्ण रुपमा
मजबुद भएकि भएनन् भनेर,

दिन संगै सपनाहरु हुर्काएर
स्वतन्त्र हुन चाहन्थे होला बिचरा !
आज आँखा बाट जीवनको
खुशी पोखिएको छ

सायद आमा नै हुनु पर्छ उनीहरुको
घटनास्थलमा अचेत भई
बस्त्रहरु फिजाउदै एकनासले
चिर् चिर् आवाजमा
गुहारको शब्दहरु निकालि रहेकी छे,

त्यहाँ मानविय प्रेम भन्दा धेरै
पबित्र प्रेमको
अश्रुधाराले कोलाहल मच्चाई रहेको थियो
उसलाई उदाउदै गरेको घामको अनुहार पनि
धमिलिएर हराएझै लागेको छ होला ,

पक्कै बावु भने सयौ आमाको
गर्भमा अण्डा हुर्काउन उड्दै होला
जस्का भाले पनि यस्तै हुन्
गर्भिणी बनाएर पुरुषार्थ देखाउन चाहन्छन्

मेरा मस्तिष्कका तारहरु
त्यो मातृ स्नेहले एक्कासी सट गराए पछि
यि अनाम औलाहरुले
मधुरो बतासमा मिसिन लागेको प्राण
आफ्नो हत्केलाले छेक्दै
जीवनको आरम्भ नया बिहानी बाट
गराउन सफल हुन्छ

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर ,१३ ­कविडाँडा चितवन


Saturday, March 29, 2014

कविता - ताल हराएको बाजा

कविता - ताल हराएको बाजा 

बर्षौ देखि जिन्दगीका धुनहरु जन्माई रहेको छ 
पारि डाँडामा लुक्न दौडेको
घाम हेरेर उ,
आज पनि सपनाको सुन्दर कल्पना
गर्न पक्कै छाडेको छैन
सास रहुन्जेल आफ्नो रगत सुकाएर
अरुको अनुहारमा खुशी भर्न चाहन्छ
थोपा थोपा पसिना संग
आफ्ना खुशी हरु पखालेर
दुनियाका ढोकाहरु चाहरिरहेको छ

घुम्ने मेच माथि चिसो हावा खादै
ईन्टरनेटको दुनियामा रमाई रहेको
एउटा विद्वानले कसरि बुझोस् त
उसको पसिनाको परिचय

सदियौ देखि बजाउदै आईरहेको छ
कहिले प्रेमका गीत गाउँछ
कहिले देश दुखेका ब्यथा
कहिले कुमारी आमाका कथा
तर उसको कथा कहिल्यै लेखियएनन्

उ सम्झिदै छ पुराना दिनहरु
उड्दै गएका चराहरु हेरेर टोलाउदै
जीवनको गीत गाईरहेको छ
सुम्सुम्याउदै औलाहरुले बाजा
ताल हरु खोजि रहेको छ /

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर -१३ ,कविडाँडा चितवन

(तस्बिर वास्तविक)

Tuesday, March 25, 2014

कविता मनमायाका सपना

कविता मनमायाका सपना 

उज्यालोको पर्खाईमा
अध्यारो लाई चिर्दै
बसेकि छन् मनमाया

थुप्रै सपनाहरु आँखामा बोकेर
शहर पसेकि मनमाया
रहर कै आँदिले अलपत्र बनाएको
उनको सपनाहरु
कहिले सित झैँ खस्छ

मुस्कुराउदै हराउछ आफ्नो वरिपरि

आफ्ना शरिरका केहि अंग
असुरक्षित ठान्दछिन् मनमाया
वरिपरि चिहाईरहेका गिद्दका
आँखाहरु देखेर

मन तर्सिंन्छ चट्याङको आवाज झैँ
उनको ओठबाट मुस्कान हराएको छ
तै पनि बिहानी भेट्नु छ उनले

अनुहारमा त्रास बोक्दै
लय हराएको गीत गाउदै
यस्ता रातहरु मारेको दाग ब्युँझन्छ
उनको आँखामा बिहान,

रहरका बिस्कुन सुकाएर मनमा
घामको प्रतिक्षा गरिरहेकी छन्
बादल र तुवाँलो पनि उनको
बिस्कुन भिजाउने दाउ हेरिरहेका छन्
तरपनि मुस्कुराउँछिन मनमाया
किनकि सदियौ देखि
यहि जुहारी चलिरहेको छ

बर्षौ अघि सपनाको सिंगो आकास बोकेर
गाउँ छाडेकी मनमाया
हत्केला भरि सास बोकेर
फेरि फर्कन्छीन् उहि प्रिय शहरबाट

अनि मुक्तिको सास फेर्छिंन्
बचेको शरिरको केहि भागहरुको
सुरक्षा महसुस गर्दै
उहि गाउँमै सपनाको महल बनाउने
योजना गर्छिन मनमाया /

रामकृष्ण पौडेल 'अनायास'
कविडाँडा,भरतपुर

फोटो -मनमाया तमाङ

Saturday, March 22, 2014

कविता - ''छापामार''

कविता - ''छापामार''

रामकृष्ण पौडेल 'अनायास
बर्षौ पछि फर्कदैछु उहि गाउँ
जुन गाउँमा मेरा सपना हराएका थिए
अनि भाँचिएका थिए मेरा कलमका निमहरु
बिचरा ! हर्के र मनमायाको अझै
अत्तो पत्तो छैन अरे
मैले जुन दिन गाउँ छाडेको थिए
त्यहि दिन उनिहरुको सम्बन्ध
गाउँलेको नजरमा दोसि ठहरिएको थियो /

पिंडिमा वसेकी सुन्तली भाउजु अझै
आफ्नो पतिको बाटो हेरिरहेकी छन्
सोध्दै थिइन बरा ! मलाई
''कतै देख्नु भयो कि बाबु दाई लाई ?''
मैले थोरै सान्वना दिए
'दाई मुग्लान पसेको हुनु पर्छ फर्केलान एक दिन' /

सुस्ताउदै निस्कन्छु त्यहाँ बाट
मेरी आमा पनि मेरो पर्खाईमा होलिन
कुकुर मलाई देख्दा पक्कै भुक्छ होला
सुघ्छ होला अनि बल्ल छाड्दो हो मलाई /

साँझ पर्दैछ घाम पारि डाँडाको फेदी तर्फ दौडेको देख्छु
त्यो जति दौडन्छ म उतिनै दौडिएको छु
घाम बास बस्दा म पनि पक्कै बास बस्न पुग्छु होला /

बिचमा बाल्यकालको याद दिलाउछ मलाई
यो स्कूल आई पुग्दा
स्कूलका ढोकाहरु झन् जिर्ण छन्
म छिरेर भाग्ने गरेको झ्याल नै भत्किएको छ
जस्ता सबै प्वाल परेको र
खियाले रंगिएको छ
पक्कै वन्द हुनु पर्छ यो स्कूल
त्यहि दिनको भिडन्त बाट /

मास्टर बा को आँखी भौं पनि
फुलि सकेको रहेछ
मोटो चस्मा लगाउदै एकनासले हेरिरहे
मैले नमस्कार गरे
फर्काउने उनको हात काटिएको रहेछ
पक्कै युद्ध कालमा हुनुपर्छ
मास्टर बा ले मलाई राम्रो संग चिनेकाछन्
किनकि उनकै काख बाटै म
खोसिएको थिए छापामार बाट
आँसु पिलपिल पार्दै सोधे मास्टर बा ले
''पक्कै अयोग्य घोषित भयौ बाबु ?''

(कविडाँडा भरतपुर -१३,)

सल्लाह सुझावको अपेक्षा राख्दछु