Monday, August 12, 2013

कथा– निलो साइकल







कथा – निलो साइकल 

रामकृष्ण अनायास

समयले पनि एउटा कोल्टे फेरिसकेको थियो। यतिबेला त साइकलको घण्टी ढोकाअगाडि हिजोअस्ति गुन्जिएझैँ लाग्थ्यो। निराश हुँदै कोठाभित्र पस्छु। टेबलमा फिँजाइएका किताबहरू एक–एक गरी हेर्छु, पन्ना पल्टाउँछु। प्रत्येक शब्दमा उनकै प्रतिबिम्ब देख्छु। फेरि किताब बन्द गर्छु। त्यत्तिकैमा बाटोतिरबाट साइकलको आवाज सुनिन्छ। म हत्तपत्त दौडेर बाहिर निस्कन्छु। तर जाँड खाएका मान्छे पो रहेछन्। उल्टै रोकेर व्यर्थको निहुँ खोज्न थाल्छन्। म सुरुक्क फर्किन्छु। 

घडी हेर्दा रातको ९ बजेर २७ मिनेट १० सेकेन्ड भएको रहेछ। २०६० सालमा कहाँ मोबाइल पाइन्थ्यो र! नत्र हजारौँ पटक फोन गर्थेँ होला। अब एस.एल.सी. आउन जम्मा पाँच दिन बाँकी थियो। आज प्रतिभा मेरो घरमा बस्न थालेको नौ दिन पुगेको थियो। हामी रात अबेरसम्म पढ्थ्यौँ। निद्राले आँखा नखुल्ने भएपछि म पढ्दै गरेको ठाउँमै निदाउँथेँ। प्रतिभा मेरी बहिनीसँगै सुत्थिन्। म गणितमा राम्रो थिएँ, प्रतिभा अङ्ग्रेजीमा निकै अगाडि थिइन्। हामी एकअर्कालाई पढाउँथ्यौँ, सँगै पढ्थ्यौँ र ट्युसन पनि सँगै जान्थ्यौँ। कक्षाकोठा पनि एउटै थियो। चारवटा सेक्सन भए पनि विद्यालय जाँदा मन्दिरचोकमा भेट हुन्थ्यो र फर्किँदा पनि सँगै हुन्थ्यौँ। यो क्रम झन्डै दुई वर्षसम्म चल्यो। तर राति सँगै बसेर पढ्न थालेको भने धेरै समय भएको थिएन। 

आज मेरो घरमा साइकलको घण्टी बजेन। प्रतिभा सधैँ खाना खाएर राति आठ बजे सानो निलो साइकल चढेर मेरो घरको आँगनमा आइपुग्थिन् र घण्टी बजाउँथिन्। म हत्तपत्त दौडेर साइकल राखिदिन्थेँ। आमाले प्रतिभा आएको देख्नासाथ दुई गिलास दूध लिएर आउनुहुन्थ्यो। तर आज एउटा गिलास दूध त्यसै फर्काउनु भयो। उहाँले भन्नुभयो, “कतै बिरामी पो परिन् कि? आज त आउनुपर्ने हो।” 

सम्बन्ध पनि त्यति धेरै प्रगाढ भइसकेछ, आज बल्ल थाहा भयो। यति गहिराइमा पुग्दा पनि पत्तै भएनछ। मुटु त लगभग एउटै भइसकेछ। खै, कहिले यसरी गाँसिएछ, थाहै भएन। अब त सास फेर्न पनि अप्ठ्यारो भइसकेको थियो। मणि हराएको नागझैँ एकै ठाउँमा फन्को मारिरहन्थेँ। 

उनले मेरो सम्पूर्ण परिवारका सदस्यहरूको मन जितिसकेकी थिइन्। सायद उनलाई पनि मेरो घर र परिवार आफ्नैजस्तो लाग्थ्यो। मेरो परिवारले पनि उनलाई आफ्नै छोरीसरह माया गर्थ्यो। त्यसैले होला, एक दिन त्यस्तै परेर राति साढे नौ बजेतिर शंकरलाई उनलाई लिन पठाएको थिएँ। ऊ पनि हाम्रो प्रेम र  आत्मीयता देखेर छक्क पर्थ्यो। 

मेरो तड्पाइ देखेर ऊ साइकल कुदाउँदै प्रतिभाको घरतिर जान्थ्यो र उनलाई पछाडि बसालेर ल्याइहाल्थ्यो। घर पनि नजिकै थियो। पढाइमा भने ऊ ठ्याक्कै शून्य थियो। कसोकसो गरेर कक्षा १० सम्म पुगेको थियो। एस.एल.सी. त उसलाई फलामकै चिउरा जस्तै लाग्थ्यो। तर पनि मेरो कुनै कुरा काट्दैनथ्यो। कहिलेकाहीँ शंखर राति पनि आइपुग्थ्यो। आज भने ऊ पनि किन आउँथ्यो र ? आफुलाई परेको बेला फकाउन मात्र आउँथ्यो। 

 

दुई वर्ष बितेको पत्तै भएन। तर त्यो समय मेरा लागि एक वर्षभन्दा पनि लामो बनेको थियो। माया र प्रेममा तड्पिएर पागल बनेका कथाहरू सुनेको थिएँ, तर वास्तवमा त्यसको अनुभूति आज आफैँले गरिरहेको थिएँ। 

 जाऊँ भने राति ११ बजिसकेको थियो। २०६० सालको चैत ५ गते। त्यो रात मेरो जीवनकै सबैभन्दा कालो रात बन्न पुगेको थियो। बाहिर आर्मीहरूको गस्ती सुरु भएजस्तो लाग्यो। बुटको आवाज सुनिन्थ्यो। म हत्तपत्त झ्याल बन्द गर्थेँ र साससमेत भित्रभित्रै फेर्थेँ। 

 त्यतिबेला द्वन्द् निकै चर्किएको थियो। झ्यालबाटै गोली छिर्ला कि भन्ने डर लाग्थ्यो। कहिलेकाहीँ त कुनै कारणबिनै ब-स्तीका मानिसलाई निद्राबाट उठाएर लगिन्थ्यो। कति फर्किए, कति बेपत्ता भए। अझ त्योभन्दा पनि दुःखद कुरा के थियो भने, एउटा पक्षका हतियारधारीहरू हाम्रो घरलाई आफ्नै घरजस्तै सम्झेर आउँथे, थर्काउँदै खान्थे, बस्थे र सुत्थे। त्यतिबे-ला दिएको दुःख सम्झँदा आज पनि उनीहरूको अनुहार हेर्न मन लाग्दैन। तर त्यस रात मेरो आफ्नै मनभित्र आगो बलिरहेको थियो। 

 

कतिबेला निदाएँ, पत्तै भएन। बिहान पो भएछ। निधारमा कलमको बिर्कोले बनाएको डाम दुख्न थालेपछि मात्र होस आयो। मुखसमेत नधोई म नागले हराएको मणि खोज्न दौडेजस्तै प्रतिभाको घरतिर लागेँ। 

 धारामा प्रतिभाकी भाउजू पानी भरिरहनुभएको थियो। मलाई देखेर भन्नुभयो, “बाबु, यति बिहान किन आउनुभयो?” 

 मैले हतारिँदै सोधेँ, “प्रतिभा खोइ?” 

 उहाँको अनुहार एकाएक मलिन भयो। त्यो क्षण मेरो सम्पूर्ण संसार नै भत्किएजस्तो भयो। आकाश नै खसेजस्तो लाग्यो। 

 थाहा भयो प्रतिभालाई हिजो राति मेरो घर आउदै गर्दा बाटोबाट अपहरण गरिएको रहेछ। 

 

घरकाले त उनी पढ्न गएकी होलिन् भन्ने सोचेका रहेछन्। रातभर कसैले शङ्का नै गरेन। अब बिहान भएपछि गाउँभर हल्ला फैलियो। मानिसहरूको भीड लाग्न थाल्यो। प्रतिभाकी आमाको त आधा होस गुमिसकेको थियो। तर त्योभन्दा बढी मेरो होस उडिसकेको थियो सास हल्का मात्र थियो । 

कुन पक्षले लग्यो, कसैलाई थाहा थिएन। 

 सधैँ हतियार बोकेर सिकार गर्ने शिकारीलाई घर, परिवार, ममता र आत्मीयताको मूल्य के थाहा! वास्तवमा उनीहरूको आत्मामा राक्षसले बास गरेको हुन्छ होला, त्यसैले निर्दोष र अवोध मानिसलाई बेपत्ता पारी निर्मम यातना दिन्छन्। सुन्नमा आउँथ्यो, कतिलाई त आफ्नो राक्षसी यौनपिपासा मेटाउने साधनसमेत बनाइन्थ्यो। अन्त्यमा उनीहरूको सम्पूर्ण अस्तित्व नै मेटाइन्थ्यो। यस्तो कुरा सम्झँदा मेरो सम्पूर्ण शरीर नै क्रोधले काँप्थ्यो। जसले लगेको हो, त्यसैलाई मेटाइदिऊँजस्तो लाग्थ्यो, बरु आफैँ मेटिन किन नपरोस्! 

 धेरै मानिसहरू आउँथे। कसैले आशा छोड्न भन्थे, कसैले अझै फर्किने झिनो सम्भावना रहेको सुनाउँथे। अनेकौँ कुरा सुन्दै गर्दा म आफैँ घुमिरहेको हुँ कि पृथ्वी नै घुमिरहेको हो, छुट्याउन सक्दिनथेँ। 

 राति खाना खाएर घरबाट हिँडेकी प्रतिभा आफ्नो सानो निलो साइकलसहित बेपत्ता भएकी थिइन्। मेरो मनमा हजारौँ तर्क–वितर्क उठ्थे। के गरेकी होलिन्? अहिले कहाँ होलिन्? कस्तो अवस्थामा होलिन्? 

 त्यत्तिकैमा क्षितिजपारिबाट एउटा सानो आकृति बाटोतिर देखापर्‍यो। बिस्तारै त्यो आकृति नजिकिँदै आयो। ध्यान दिएर हेर्दा—त्यो त निलो साइकल चढेकी प्रतिभा नै रहिछिन् ! 

 म एक्कासि खुसीले उफ्रिएँ। मेरो खुसीको सीमा नै रहेन। वरिपरि भएका मानिसहरू पनि एकअर्काको अनुहार हेर्न थाले । कसैले मृत्युको मुखबाट फर्किइन् भने, कसैले भाग्यले साथ दियो भनेर टिप्पणी गरे। जे भए पनि, प्रतिभा सकुशल फर्किनु नै मेरो लागि सबैभन्दा ठूलो कुरा थियो। 

 पछि उनले विस्तारै सबै घटना सुनाइन्। द्वन्द्वकाल भएकाले राति एक्लै हिँडिरहेको देखेर सुरक्षाकर्मीले सोधपुछका   लागि सम्मानपूर्वक आफ्नो नियन्त्रणमा लिएका रहेछन्। रातभर राखेर बिहान सबै कुरा बुझिसकेपछि सुरक्षित रूपमा घर फर्काइदिएका रहेछन्। 

 त्यो कुरा सुनेपछि मेरो मुटुले फेरि सामान्य रूपमा धड्किन थाल्यो। रगतको सञ्चार पनि सहज भयो। शरीरभरि सुन्निएको जस्तो भएको अवस्था बिस्तारै सामान्य बन्दै गयो। एक हिसाबले त मेरो होस नै गुमिसकेको थियो। अब भने वातावरण फेरि शान्त र सामान्य बन्न थाल्यो। 

 त्यस घटनापछि प्रतिभालाई राति मेरो घरमा पढ्न आउन परिवारबाट कडा रोक लगाइयो। तर उनी निकै जिद्दी थिइन्। अन्ततः फेरि शंकरकै सहारा लिनुपर्‍यो। ऊ बेलुका सधैँ प्रतिभालाई साइकलमा ल्याइदिने गर्थ्यो। 

 शंकर हाँस्दै भन्थ्यो, “एस.एल.सी. सकिएसम्म मात्रै हो नि।” 

 म पनि शंकरको गुन तिर्थेँ । रातभर जागेर उसका लागि चिट तयार गरिदिन्थेँ। ऊ आरामले सुत्थ्यो र बिहान उठ्दा उसको चिट तयार हुन्थ्यो। परीक्षामा चिट सार्न ऊ निकै सिपालु थियो। मैले बनाएको चिटबाट धेरै प्रश्न मिल्थे, त्यसैले ऊ मख्ख पर्थ्यो। 

 भोलिपल्टदेखि एस.एल.सी. परीक्षा सुरु भयो। हामीले पनि परीक्षा दियौँ। अन्तिम दिन परीक्षा सकेर घर फर्कँदै थियौँ। बाटोभरि कालै लटरम्म पाकेका काफलले हाम्रो ध्यान तान्यो। त्यो ठाउँ त मानौँ काफलकै बगैँचा थियो। 

 म, प्रतिभा, शंकर, अमृता, विजया, लक्ष्मी र गोपाल सबै काफलघारीभित्र पस्यौँ। कसैले काफल टिपेर खायो, कसैले एकअर्कामाथि हान्यो। हामी काफल निचोरेर त्यसको रसले एकअर्काका कपडा र जिउभरि पोतिदिन्थ्यौँ। प्रतिभाको पहिरन त काफलको रातो रसले पूरै रङ्गिएको थियो। मैले पनि उनको कपडामा काफलको रस छर्किदिएँ त्यो भन्दा पनि बटम भित्रै हात हालेर रस निचोर्दा अहिले सम्झिदापानी सिरिङ्ग हुन्छ  । उनले पनि मेरो सर्ट त्यसैगरी राताम्मे बनाइदिइन्। 

 त्यो दिन हाम्रो भोक, तिर्खा, थकान र सारा संसार नै बिर्सिएको थियो। हामी केवल एकअर्काको साथ, स्पर्श र खुसीमा हराएका थियौँ। त्यो घना काफलघारी आज पनि मेरो स्मृतिको सबैभन्दा उज्यालो कुनामा सुरक्षित छ। 

 घर फर्किएपछि त्यो दिन त्यसै बित्यो। एस.एल.सी. सकिएकाले संसार जितेजस्तो लागेको थियो। समय बिस्तारै आफ्नै गतिमा अघि बढ्दै गयो। समयसँगै हाम्रो माया पनि अझ गाढा बन्दै गयो। प्रायः भेट हुन्थ्यो। कहिले मन्दिर जान्थ्यौँ, कहिले बजार घुम्थ्यौँ। म भरतपुरमा कम्प्युटर सिक्न थालेँ। प्रतिभा पनि घरमा अङ्ग्रेजी भाषा सिक्ने बहाना बनाएर मलाई भेट्न आइरहन्थिन्। कहिलेकाहीँ डर पनि लाग्थ्यो—कसैले देखेर कुरा काट्लान् कि! तर त्यतिबेला हामीलाई त्यस्ता कुराको कुनै प्रवाह थिएन। हामी आफ्ना दिनहरूलाई सुन्दर र स्मरणीय बनाउँदै, मायाको पालुवा अझ हराभरा बनाउँदै अघि बढिरहेका थियौँ। हाम्रो सम्बन्धतर्फ धेरैको नजर थियो। हामीबीच माया, प्रेम, मिलन, कहिलेकाहीँ रिस र फकाइ—सबै कुरा हुन्थ्यो। दिनहरू बितेका पत्तै पाइएन। 

एस.एल.सी.को नतिजा प्रकाशित भयो। हामी सबै उत्तीर्ण भयौँ। म प्राविधिक स्वास्थ्य शिक्षातर्फ अध्ययन गर्न लागेँ भने प्रतिभा शिक्षाशास्त्रतर्फ लागिन्। पढाइको क्षेत्र फरक भएपछि हाम्रो समय पनि फरक दिशातिर मोडिन थाल्यो। म सदरमुकाम पढ्न जान्थेँ, उनी गाउँकै प्लस टुमा अध्ययन गर्थिन्। पढाइको व्यस्तताले हामीलाई चाहेर पनि दुरी टाढा बनाइदियो। 

हामी एकअर्काबिना बाँच्नै नसक्ने जस्ता भइसकेका थियौँ। गाउँ, टोल, छिमेक र साथीभाइ सबै हाम्रो सम्बन्धबारे      परिचित थिए। तर हामी दुवै आफ्नो अध्ययनप्रति पनि उत्तिकै जिम्मेवार थियौँ। त्यसै क्रममा मेरो समय झन् व्यस्त हुँदै गयो। भेटघाट    क्रमशः कम हुन थाल्यो। दिनभरि कलेज, अध्ययन र अस्पतालको अभ्यासले थाक्थेँ। साँझ घर पुग्नेबित्तिकै निदाइहाल्थेँ। बिहान फेरि उही क्रम अस्पताल, कलेज, पढाइ र परीक्षा। 

यही व्यस्तताले हाम्रो सम्बन्धमा दूरी बढाउन थाल्यो। तर माया भने कहिल्यै कम भएको थिएन। प्रतिभाले पनि मनभित्र थुप्रै सपनाहरू सजाएकी होलिन्। सायद उनी मसँगको भविष्य कल्पना गर्थिन्। तर मानिसको सोच, परिस्थिति र समय सधैँ एउटै हुँदैन रहेछ। कहिलेकाहीँ जीवनले अनपेक्षित मोड लिँदोरहेछ। 

यसै क्रममा मेरो स्वास्थ्य पनि बिस्तारै कमजोर हुँदै गयो। शरीर दुब्लाउँदै गयो। सुरुमा खासै वास्ता गरिनँ। समयमै खाना नखानु, अत्यधिक व्यस्तता र थकाइका कारण कमजोरी भएको होला भन्ने ठानेँ। तर अवस्था झन् बिग्रिँदै गयो। अन्ततः मैले अभ्यास गरिरहेको अस्पतालमै स्वास्थ्य परीक्षण गराएँ। 

रिपोर्ट आएपछि थाहा भयो—मलाई क्षयरोग (टीबी) लागेको रहेछ। सम्भवतः अस्पतालको प्रयोगशाला, बिरामी वा कार्यस्थलबाट संक्रमण भएको थियो। 

यो खबर सुनेपछि म भित्रैदेखि भत्किएँ। औषधिले निको हुने आशा त थियो, तर रोग भने रोग नै हो। पीडा त भोग्नै पर्थ्यो। घरपरिवार र प्रतिभालाई पनि यो कुरा थाहा भयो। मैले नियमित औषधि सुरु गरेँ। 

औषधि खाइरहे पनि शरीर निकै दुब्लो भयो। अनुहार कालो र ख्याउटे देखिन थाल्यो। निरन्तर खोकी लाग्थ्यो, बेलाबेला ज्वरो आउँथ्यो। यस्ता अवस्थाले गर्दा प्रतिभा मबाट बिस्तारै टाढिँदै गएको अनुभूति  हुन थाल्यो। उनको व्यवहारमा आएको परिवर्तनले मेरो रोगले भन्दा बढी उनको व्यवहारले गर्दा पीडा दिन्थ्यो। 

समय साँच्चै निष्ठुरी हुँदोरहेछ। हिजो हामीलाई नजिक ल्याउने समय आज बिस्तारै छुट्याउँदै थियो। आफ्नो रोगको पीडाभन्दा पनि प्रतिभा अर्कैसँग नजिकिएको खबरले म मानसिक रूपमा धेरै कमजोर बनेँ। लामो समयसम्म रोग र मनको पीडाले मलाई थलाइरह्यो। 

उता घरपरिवार, साथीभाइ र उपचारको सहयोगले मेरो स्वास्थ्य बिस्तारै सुधारिँदै गयो। तर त्यही समयमा प्रतिभा मबाट टाढिँदै अर्कैसँग सम्बन्धमा बाँधिँदै गएकी थिइन्। यसको प्रमुख कारण मेरो रोग, कमजोर अवस्था र भविष्यप्रतिको अनिश्चितता नै थियो भन्ने मैले महसुस गरेँ। 

 

दिनहरू बित्दै गए। तर प्रतिभाको सम्झनाले बाँच्न पनि गाह्रो हुन्थ्यो। उनीप्रति मेरो माया कहिल्यै कम भएन। तर उनको मन भने बदलिइसकेको थियो। उनी राम्री थिइन्, सबैसँग सहज घुलमिल हुन्थिन्। धेरैले उनलाई मन पराउँथे। समयसँगै उनी अर्कैतिर आकर्षित हुँदै गइन्। 

त्यस दिनदेखि नारीप्रतिको मेरो विश्वास केही कमजोर भएको अनुभूति हुन थाल्यो। साथीहरू सम्झाउँथे, “आज धोका दिनेले भोलि पनि दिन सक्छ। बरु अहिले नै छुट्टिनु राम्रो भयो। कम्तीमा पछि तिम्रो जीवन अझ ठूलो सङ्कटमा पर्दैन।” 

सुरुमा यी शब्द स्वीकार्न सकिनँ। तर समय बित्दै जाँदा उनीहरूको कुरा पनि केही हदसम्म सत्य लाग्न थाल्यो। मैले फेरि आफ्नो सम्पूर्ण ध्यान पढाइतिर मोडेँ। मेडिकल क्षेत्रको अध्ययन सफलतापूर्वक पूरा गरेँ। 

तर सम्झनाहरू भने कहिल्यै हराएनन्। कहिलेकाहीँ काफलको रसले रङ्गिएको त्यो पुरानो सर्ट निकालेर हेर्थेँ। रातभरि निदाउन सक्दिनथेँ। कहिले आँसु झर्थ्यो, कहिले उनी बसेको कुर्सी, पढेको टेबल र सुतेको ओछ्यान हेर्दै टोलाइरहन्थेँ। ती निर्जीव वस्तुहरूमा पनि प्रतिभाकै उपस्थिति खोजिरहन्थेँ। 

त्यतिबेला मलाई एउटा कुरा गहिरोसँग महसुस भयो सायद प्रेम पाउनुमा भन्दा गुमाउनुमा अझ गहिरो भएर बाँच्दो रहेछ। 

पछि म नजिकैको एउटा अस्पतालमा जागिर खान थालेँ। जागिरको व्यस्तताले धेरै घाउहरूमा मल्हम लगायो, तर स्मृतिहरू भने कहिल्यै मेटिएनन्। 

उता प्रतिभाले आफूले प्रेम गरेको युवकसँग विवाह गरिछन् भन्ने खबर दुई महिनापछि मात्र थाहा पाएँ। यदि त्यही बेला थाहा पाएको भए, सायद टाढैबाट भए पनि बेहुलीको पहिरनमा उनलाई एकपटक हेरेर फर्किन्थेँ होला । त्यो अवसरबाट पनि वञ्चित भएँ। 

जे भए पनि, कुनै समय एउटै सपना, एउटै बाटो र एउटै भविष्य देखेका मानिसहरू थियौँ हामी। त्यसैले माया पूर्ण रूपमा कहिल्यै मरेन। 

समय बित्दै गयो। जागिर गरेको पनि चार वर्ष पूरा भयो। 

एक दिन अचानक अस्पतालको वार्डमा बिरामीहरूको राउन्ड लगाउँदै थिएँ। एउटा बेडतिर आँखा पुग्यो। त्यहाँ सुतिरहेकी 

बिरामीलाई देखेर मेरा पाइला एकाएक रोकिए।  त्यो प्रतिभा थिइन्।  रातो बेहुलीको पहिरनमा उनलाई कहिल्यै देख्न पाइनँ। तर आज अस्पतालको सेतो पोसाकमा, थकित र निरीह अवस्थामा देख्दा मेरो आधा आकाश नै खसेजस्तो भयो। 

मैले नजिक गएर उनको नाम लिएँ। 

उनी केही बोलिनन्। केवल कोल्टे फर्किन्, अनुहार छोपिन् र भक्कानिँदै रुन थालिन्। 

पछि उनका दाइबाट थाहा पाएँ—प्रतिभाका श्रीमान् एचआईभी संक्रमित रहेछन्। अन्ततः सोही रोगका कारण उनको मृत्यु भएछ। प्रतिभालाई पनि श्रीमान्बाट नै एचआईभी संक्रमण भएको रहेछ। अहिले उनी स्वयं पनि संक्रमित भएर उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन्। 

भाग्य र समयले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँछ, कसैले अनुमान गर्न सक्दैन रहेछ। कहिल्यै छुट्टिन नसक्ने जस्तो लागेको हाम्रो सम्बन्ध समयले छुटायो। जीवनभर साथ दिने वाचा गरेका सपना अधुरा भए। प्रेम, पीडा, रोग, बिछोड र नियतिको कठोर खेलले अन्ततः हामीलाई आ–आफ्नो नियतिमा एक्लै उभ्यायो। 

त्यस दिन अस्पतालको त्यो सेतो कोठामा उभिएर मैले केवल यत्ति महसुस गरेँ जीवनले सबैभन्दा गहिरा कथा सधैँ अधुरै लेख्दोरहेछ। अनि केही सम्झनाहरू, निलो साइकलझैँ, समयको धुलोले ढाकिए पनि मनको बाटोमा जीवनभर गुन्जिरहन्छन्। 

 

 2064 

 

 



1 comment:

  1. कथाको मर्म राम्रो छ तर भाषिक सम्पादनमा बिशेष ध्यान दिनु भयो भने सुनमा सुघन्ध हुन्छ !

    ReplyDelete

सल्लाह सुझावको अपेक्षा राख्दछु