Monday, June 16, 2025

कमल अर्याल

गजल

को  हुन्  ती गुरु मेरा ,दुनियाँ खोजी बस्छु

एउटै काम छ मेरो, म को हुँ  सोची बस्छु 

 

आफ्ना को  हुन् मेरा ,बस्ती  कहाँ  छ मेरो 

कहिले जवाफ मिल्ला र सवाल बोकी बस्छु 

 

 मरेर जाने शरीर   ,आत्मा अमर छ भन्छन्

अलमल पिएर साथी ,अलमल ओडी बस्छु 

 

सुनाम छाडेर गए   ,मान्छे  मरेर  बाँच्ला

इच्छा अमर हुने हो , म बुटी  घोटी बस्छु 

 

 छर्न उज्यालो ज्योति म ,सल्काऊँ कि दियालो 

सम्झेर  सलाई  यो ,जीवन  कोरी    बस्छु 

 कमल अर्याल

पूजा जिज्ञासु

गजल

ब्वाँसा र स्याललाई साँच्चै लघार्न सक्छ

आए युवा निरङ्कुश,सरकार हार्न सक्छ

 

जस्ले सहन्छ पीडा,सुनले सहे जसरी,

आकार पाइ उसले,जीवन सपार्न सक्छ

 

सम्भव हुँदैन के पो,ईच्छा र आँट राखे,

यसले त वालुवामा,पीपल उमार्न सक्छ

 

ढुङ्गा बनेर बाँचे,डुब्छौ अवश्य डुब्छौ,

भै हेर फूल जस्तै,जलले नि तार्न सक्छ

 

रुखबाट घाँस जसले,झार्दैन हेर घरमा,

ऊ प्यारमा गगनको,त्यो जून झार्न सक्छ

पूजा जिज्ञासु

मुजाजे मुसम्मन अखरब


मेनका चापागाईं

कविता 

समुद्घाटन

नेताज्यू करोडौंको पजेरोमा
सवार हुँदै
वरिपरि सुरक्षार्थ तैनाथ
अंगरक्षकहरू सहित
समुद्घाटन कार्यक्रममा
रिबन काट्दै
शुभकामना दिन आउनुभो।
सयौं संयन्त्र प्रयोग पश्चात
उर्लिएको नदीमाथि
तुइन बनेको देख्दा
हर्षका आँसु चुहाउँदै
माला–खादा लगाइरहेछन्
किशोर–किशोरीहरू।
दैनिक स्कुल जान पाउने
खुसीयालीमा
बिजयोत्सव मनाएझैं
अनुहारभरि छरिएका छन्
निर्लिप्त मुस्कानहरू।
किशोर–किशोरीहरू
हर्षित छन्
पूरा हुँदै गरेका
सपनाहरूका कारणले।
बा–आमा खुसी छन्
छोरा–छोरी अब नदीमा
नबग्लान् भन्ने आशाले।
नेताज्यू
हर्षित हुनुभो
गर्दनभरि नअटाउने
मालाहरूले,
खादाहरूले,
जनताको भव्य स्वागत
र सम्मानहरूले।
चुनावी आश्वासनकै भरमा
पर्खिरहेका
निर्दोष, निश्चल मनहरू
यसरी नै रूमल्लिएका हुन्।
पक्की पुलजस्ता
आफ्ना मजबूत विश्वासहरू
समर्पण गरेर
बिजयको माला पहिराएका हुन्।
सोझा–सिधा जनतालाई
कंक्रिटको पुलको सपना देखाएर
चुनाव जितिसकेपछि
फेरि अर्को भ्रमको नदी तर्नका लागि
झिनो तुइन बोकेर,
चुनावपछि पहिलोपटक
नेताज्यू
समुद्घाटन गर्न आउनुभो।

मेनका चापागाईं

लेखराम सापकोटा



गजल

म  पत्थरहरु  जोडेर  उचाइ  दिन  चाहन्छु

त्यो दोस्रो सगरमाथा हुनेछ बताइदिन चाहन्छु

 

बालक, बृद्ध, असहाय जो जो भेटिन्छ सडक छेउ

बाटो  कटाउन  उसको हात समाइदिन चाहन्छु

 

भरिया बिसाउँदै फेरि बोक्दै देउराली पुग्छ

कुनै मोसा उसको भारी उठाइदिन चाहन्छु

 

तिमीले रोजेको बाटो गलत ठान्दैछ दुनियाँ

कसरी भनूँ तिम्रो याद मेटाइदिन चाहन्छु

 

छुट्ने बेला मनमा थुप्रै शब्दहरु त्यसै थिए

 तिनै शब्द पोको पारी जलाइदिन चाहन्छु ।

                                   लेखराम सापकोटा

 

सुमनका शेरहरु



         

✎ गजलकार - अविरत सुमन 

१

 कति बाचाहरू छन् अधूरा हाम्रो, पूरा नभएको

यो कस्तो नाता तिमीसँग मेरो, कुनै नाता नभएको

२

केही कुरामा डुबे जस्तो, कतै हराए जस्तो

एक्लो जस्तो, म अधुरो खै के-के जस्तो

 

आधा उमेर कटेपछि, लगभग थाहा भयो

गर्नु पर्ने रहेछ कति कुरा त, नजाने जस्तो

 

बदलिनेहरू समयसँगै एकाएक बदली गए

बाँकी रहे केही यादहरू, चिने-जाने जस्तो 

 

३

र यो पनि त, थाहा छ मलाइ

तिमिलाइ फुल, काँडा छ मलाइ

 खुशी हो मेरो भागमा आधा परेको

दु : ख त, सारा को सारा छ मलाइ

 

४

आँखा कुन, मुटु कुन, धड्कन कुन, तिम्रो मेरो 

उही धर्ती, उही आकाश, उही जुन , तिम्रो मेरो 

 

५

उसले छोडेर गएको दिनदेखी , हरेक रात आज भोली

मलाइ त निँदले पनी आँखा तरेर , आउँछ आँखामा

 

६

यस्तै हो, जिन्दगी गुज्रिरहेको छ जसोरी, ठिकै छ

तिमी पनि तिमी रहिनौ, म पनि छैन म जस्तो अब त

 

७   प्रतिक्षा गर्नुहोस  .....

 


 

 

सल्लाह सुझावको अपेक्षा राख्दछु