Sunday, August 25, 2013

कथा : वर्गसङ्घर्ष






                             कथा : वर्गसङ्घर्ष

-लेखक रामकृष्ण पौडेल ‘अनयास’
ramkrishnap1@yahoo.com

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।
प्रभा एक्लो बाबुको आमाबिनाकी टुहुरी छोरी थिई । त्यसैले, बिचरी प्रभा एक्लै बर्बराउने गर्थी । आफ्नो छोरीलाई आफ्नो खुशीले छाडेर गएकी होइनन्, उनलाई भगवान्ले आफूसँगै बोलाएर उनी गएकी हुन् । त्यसैले आमाको होइन, दोष भगवान्को हो जसले प्रभा ३ वर्षकी हुँदा आमालाई खोस्यो । प्रभा प्रायः भन्ने गर्छे–
‘यो कस्तो अन्याय हो ? यो कस्तो सजाय हो ? यो कस्तो अत्याचार हो ? एउटा सानो बच्चासँग उसको आमा खोस्नु योभन्दा ठूलो अत्याचार अरु के हुन सक्छ !’
जब ईश्वरले नै यति ठूलो अन्याय गर्छ, तर ईश्वरलाई नै दोषी ठह¥याउने साहस कसैको हुँदैन । यसलाई भाग्यको खेल, विधिको विधान भनिन्छ । जे भए पनि भातको माड ख्वाएरै भए पनि आज १८ वर्षकी पु¥याउँछन् प्रभालाई उनका बाबुले । त्यसैले, यो १८ वर्षको कलिलो बैँस देखेर भुतुक्क हुन्छ प्रशान्त । सधैँ आफ्नो घरको कौशीबाट चिहाएर हेर्छ प्रभाका हरकुरा । सायद, घर पनि आमुन्ने–सामुन्ने भएर उसलाई धेरै सजिलो भएको छ ।
प्रशान्तको हेराइमा कता–कता स्वार्थको आभाष लुकेको थियो । वर्षौंदेखिको तिर्खाको प्यास मेट्ने जवानीको मीठो रसको खोजीमा मात्र तड्पिरहन्थ्यो । त्यसैले, आँखाअगाडि नै सुन्दरी, राम्री अनि अल्लारे र सोझी मायालुपन बोकेकी प्रभालाई के छाड्थ्यो र ! धेरै समयको पर्खाइ, हेराइ र कुराइपछि आज पाएरै छाड्यो प्रशान्तले प्रभालाई र आफ्नो मायाजालमा फसाइहाल्यो । नारी कोमल हृदयकी हुन्छे, कसैको आग्रह र भावुकतालाई किन नकार्थी र ऊ ।
ऊ पनि माया चाहन्थी । प्रभाको आँखामा प्रशान्तका लागि माया सलबलाइरहेको थियो । दुःखी र बेसहारा मान्छेको जीवन जति शून्य हुन्छ, त्यसैले पनि बाबुबाहेक अरुको मायाबाट वञ्चित थिई । अझ त्यमसा आज प्रशान्तले आफूप्रति माया दर्शाएपछि मन पग्लिएको पत्तै पाइन प्रभाले । प्रशान्तले अनेक तरहले उसको नौनीझैँ मनमा सानो आगोको झिल्को फाल्दथ्यो । नौनी नै हो, पग्लिहाल्थ्यो मन ।
प्रशान्तले प्रभालाई भन्थ्यो– ‘एउटा दुःखीको दुःखलाई कुनै अर्को दुःखीले नै बुझ्न सक्छ । मलाई पनि यस घडीमा तिम्रो जरूरत थियो र तिमी पनि आमाबिनाकी टुहुरी छोरीका रुपमा एक्लो मायाबिना भौँतारिरहेको देख्छु । अब हामी दुई जना सँगै मिलेर एकअर्काको दुःख आपसमा बाँड्नुपर्छ । आजैदेखि तिमी र म दुःख र सुख मिलेर बाँड्नुपर्छ ।’
धन–सम्पत्ति, ऐश–आराम सबै थियो, किनकि डाँडागाउँको मुखियाको छोरो यति पनि नहोस् कसरी ! मुखिया गरिब किसानको घाँटी निचोरी–निचोरी आफ्नो भण्डार भर्दथ्यो । मुखियाकी श्रीमती ठूलो छोराबुहारीसँग अमेरिका बस्ने गर्थी, त्यसैले पनि प्रशान्त बाबुको व्यवहार अनि आमासँगको बिछोडले एक्लो थियो । तर, मुखियाको छोरो नै हो, अलिअलि रगत त गइहाल्थ्यो नि । ऊ पनि गरिब किसानको तमसुकको मिति हेरेर बस्थ्यो । हुन त, बाबुले काम गराएपछि उसले पनि त गर्नैप¥यो नि ।
मुखियाले जालझेल गरी धेरै किसानको खेत आफ्नो नाममा पारेको थियो । त्योभन्दा पनि गाउँका सरकारी जग्गा उसकै नाममा थिए । चुनावमा मनग्य पैसा खर्च गथ्र्यो र आफ्नै मान्छेलाई जिताउँथ्यो । सबै उसकै थिए, प्रधानपञ्चदेखि अड्डासम्म ।
प्रभाको बाबु मुखियाको घरमा काम गर्थे र ऋण पनि मुखियाबाटै चलाउँथे । प्रभा पढाइमा पनि तेज र सुशील थिई । स्कुलमा सबैकी प्यारी साथी, प्यारी छात्रा बन्न सफल थिई अनि हरेक बाहिरी क्रियाकलापमा पनि अगाडि थिई । सधैँ खेलकुद, नाचगान आदिमा स्थान पहिलो नै ओगट्थी । स्कुलको छुट्टी र घरको कामबाट फुर्सद हुनासाथ प्रभा र प्रशान्त डाँडागाउँ तलको सुनसान, मनोरम र निकै सुन्दर अनि आकर्षक सुन्दरी मादीको छेउको खोलामा भेट्ने गर्थे । उनीहरु लुकीछिपी माया साटासाट गर्थे, धेरै सपनाहरु सजाउँथे, सुन्दर भविष्यको कल्पना गर्थे । प्रभा प्रशान्तको काखमा बसेर सारा जिन्दगी सुम्पिने भइसकेकी थिई । उसका चाहना, भावना, इच्छा सबै प्रशान्तकै भैसकेको थियो । यस्ता हरेक पल भेट्ने क्रियाकलापले निकै नजिक भएका थिए उनीहरु । नजिक हुँदाहुँदै प्रभाको यौवनको रस प्रशान्तले बिस्तारै–बिस्तारै सिध्याइसकेको थियो । उसले उत्तेजनामा संसार बिर्सेकी थिई । दिन जति ढल्दै गएको थियो, उति नै प्रभाको पेट बढ्दै गएको थियो । बिचरी आत्तिन्छे, उसको खुट्टाले जमिनसम्म टेक्न पनि गाह्रो हुँदैथियो । अनुहार फुङ्ग उडेको जस्तो देखिन्थ्यो, जस्तो कि ऊ बिरामी भएकी छे ।
यी सबै लक्षणले आफू आमा बन्ने कुरा सहजै अनुमान लगाउन सक्थी उसले । त्यसैले, आजको भेटमा प्रशान्तलाई घरको बुहारी बनाएर भित्र्याउने आग्रह गर्दछे उसले । प्रभा भन्छे– ‘नत्र, मेरो संसारमा बाँच्नका लागि कुनै ठाउँ छैन, यदि तिमीबिना मलाई एक पल पनि बाँच्न गाह्रो हुन्छ ।’ अब प्रशान्त नाजवाफ हुन्छ । अनुहारबाट पसिनाका धारा बगाउँछ उसले । प्रभाबाट पाउनु पर्ने हरेक कुरा पाइसकेको थियो, अब के नै छ र उसमा ! रित्तोसिवाय ।
त्यसैले, प्रशान्त पन्छिन पुग्छ । त्यसमा पनि पेटको बच्चा उसका लागि ठूलो चुनौती थियो । मुखियाले के बुहारी बनाई भित्र्याउला, आफ्नो घरमा काम गर्न बसेको एक मामुली हर्कनाथको छोरीलाई । त्यसैले, बाबुको शासनमा ऊ डराउँथ्यो । त्यसैले पनि प्रभालाई अपनाउने कुरामा इन्कार गर्न खोज्छ । प्रभाको विकल्प अब मर्नुसिवाय अरु केही बाँकी छैन । बिचरी रून्छे, कराउँछे, आत्तिन्छे, आफैँलाई धिक्कार्छे । भाग्य र कर्मले ठगेपछि दैवले पछ्याउँदो रहेछ । बिचरी प्रभा, प्रशान्तको खुट्टा छाड्नै मान्दिन । तर, प्रशान्त प्रभाको जिउँदो लास र पीडामा चिच्याइरहेको स्वर अनि केही आशाका नजरबाट ओझेल पर्दै प्रशान्त डाँडागाउँतिर ठडिन्छ ।
बिचरा, के मुख लिएर जाओस् घरमा । उसको हालत र अवस्था देखेर बाबु हर्कनाथ निकै आत्तिन्छ । छोरीका हरेक खुशीका लागि आफैँ बन्दगी बसेर उसको चाहना, आवश्यकता पूरा गरिदिएका थिए । आजसम्म आफैँ आमा बनेका थिए । आँखामा एक थोपा आँसु पनि देख्न नसक्ने हर्के आज छोरीको अवस्थाप्रति चासो दिँदै सोध्छन्– के भएको हो ? एकाएक हर्के छाँगाबाट खसेजस्तो हुन्छ । पूरा ब्रह्माण्ड नै हल्लिएको अनुभव गर्छ । सारा आकाश खसेर टाउकोमा थिचेको अनुभव गर्छ । सबै रहस्य पत्ता लागेपछि के गरोस् हर्के, तत्काल मुखियाको घरमा गई आफ्ना सारा कुरा बिन्ती के बिसाएको थियो, मुखिया मेघ गर्जिएझैँ गरी गर्जिन लागिहाल्यो–
‘कसको पापको भारी बोकेर मेरी बुहारी बनाउन खोज्दैछ छोरी । दुनियाँसँग जीउ बेच्दै हिँड्छे, अन्तिममा कोही पाइनस् र भिडाउने मेरो छोरालाई ? टाँसो लगाउने कुरा गर्छस् तँ ? यहाँबाट जाने भए जा, नत्र म संसारबाटै टाढा पु¥याइदिन्छु ।’
यस्ता कडा शब्दले हर्कनाथ डराउँछ, बिलौना गर्छ । प्रशान्त पनि उसकै बाबुको स्वरमा स्वर मिलाउँछ । बिचरा हर्कनाथ, के पो गरोस् ! गरिबको आफ्नो को नै पो हुन्छ र, जता गए पनि रित्तो नै हो । रूँदै न्यायका लागि प्रत्येक गाउँको ढोका ढकढक्याउन पुग्छ, तर सबैले बलेकै त आगो ताप्छन् । त्यो बिचरो गाउँको मुखियाको कमैयाको उल्टै नानाभाँती कुरा गर्दै फर्काउँछन् । यता, बाबुछोरीमाथि अन्याय र अत्याचार छ भने उता मुखिया षड्यन्त्र र जाल रच्दैछ । निकै रिस र क्रोधमा प्रशान्तलाई निकै थर्काउँछ– ‘चुनावको बेलामा मेरो अनुहारमा कालो पोत्ने गर्छस् ?’
मुखिया तत्काल आफ्ना भरौटेलाई घरमा बोलाउँछ, उसका नजिकका मान्छे काजी रामनाथ र गोविन्द पण्डित । काजी रामनाथलाई आफूले पैसा खर्च गरी–गरी चुनावमा उठाएर जिताउँथ्यो र काम लगाउँथ्यो, काम लिन्थ्यो । जालझेल, नियम कानुन उसको हातमा थियो । बेइमानीको धन्दा गथ्र्यो र उसलाई नै त्यसमा फसाउँथ्यो मुखिया । काजी रामनाथ नेताले बोलेपछि कसको मुख चल्ने । गोविन्द पण्डित गाउँका सम्पूर्ण मान्छेका एक–एक रिपोर्ट राख्दथ्यो र नानाभाँती कुरा लगाउन निकै चलाख थियो । गाउँको प्रधानपञ्च भैकन हैकम जमाउँथे ।
आज यहाँ त्यही प्रभा र हर्कनाथको विषयमा बहस छ । यी तीन जनाको त्रिपक्षीय वार्ता षड्यन्त्रका योजनाकार काजी रामनाथ भन्छ– ‘त चुनावको मुखमा यस्ता समस्यालाई पन्छाउनुपर्छ । त्यसका लागि प्रभा र हर्कनाथलाई हाम्रो बाटोबाट सिध्याउनुपर्छ ।’
होमा हो मिलाउँदै गोविन्द पण्डितले बीचैमा मुख फो¥यो– शत्रुलाई रहन दिएर हाम्रो सुखमा कहिल्यै पनि जिउँदो रहन सक्दैन । बरू, शत्रुलाई एकैचोटि स्वाहा पारिदिए सधैँको झमेलाबाट मुक्त हुन्छौँ ।’
मुखियाले सोच्दै भन्छ– ‘ठीकै छ, यसपालिको चुनाव पनि जित्नुपर्छ । यदि हारियो भने तल स्कुलको नाममा रहेको जग्गा पनि खुस्किन्छ । जितियो भने हाम्रो कब्जामा आउँछ । र, यी गाउँलेका लालपुर्जा सबै हाम्रो नाममा पार्नुपर्छ । त्यसैले, यस्ता साना झिनामसिना कुराले हाम्रो योजनामा हानि पु¥याउँछ । त्यसैले, आजै राति हर्कनाथलाई यो संसारबाट मुक्त गरिदिनुपर्छ । छोरीको कुकर्म देख्न नसकेर आत्महत्या ग¥यो भनेर मुचुल्का उठाइदिऊँ । त्यो प्रभालाई गाउँबाट भगाइदिऊँ ।’
योजनाअनुसार नै उसका भरौटे लगाएर बिचरा हर्कनाथलाई रातमै हत्या गरी बिहान आत्महत्याको अभिनय गराउँछन् र गाउँलेको अगाडि आत्महत्या नै सावित गरी हर्केलाई सदासदाका लागि बिदा दिन्छ । बिचरी प्रभा पागल हुन्छे, एकसुरे हुन्छे । दुनियाँ गाउँलेले प्रभाकै मुखमा थुक्छन् । दुनियाँलाई शरीरमा चढाएर पेटमा कसको पापलाई पाल्दैछस् ? गाउँबाट तँ गइहाल । हाम्रा छोराछोरी सबै बिगार्छे फेरि भन्दै लखेट्छन् । बिचरा, ओरालो लागेको बाच्छालाई मृगले पनि लखेट्छ भन्थे, आज प्रमाणित हुँदैछ ।
आफूले चुनाव जितेर गाउँलेको सारा जग्गा र सरकारी जग्गा कब्जा गर्नका लागि कसैलाई संसारबाट मुक्ति दिन्छन् र कसैलाई पागल बनाउँछन् । हुन त, जहानियाँ शासन गरिखान पल्केका यी पञ्चेका पूजारीहरु हुन त कतिलाई बर्बाद गर्लान् र ! अब चारैतिर क्रान्तिको चर्को ज्वाला पनि सल्केको छ । पञ्चायत व्यवस्था ढाल्नका लागि धेरैले विरोधका स्वरहरु चर्काउन थालेका पनि छन् ।
हर्कनाथ र प्रभामाथि भएको अन्यायका कारण पक्कै एक दिन ठूलै दशा लाग्नेछ । बिचरी प्रभा ! अबोध र अबला, कसले सुन्छ र उसका कुरा ! ऊ त अन्यायमा पिल्सिएकी नारी नै त परी । यो पुरूषप्रधान समाजले यस्ता पीडित र आफन्तविहीनका कुरा सुन्न कहाँ जानेको छ र, बरू उल्टै घाउमा अझै नुनचुक छर्केला । तर यो समाजको आँखाबाट कहिल्यै न्याएको पक्षमा बोल्ने हिक्मत उठ्दैन । प्रशान्तजस्ता यौनपिपासु र नारीको चरित्र हत्या गर्न खोज्ने, स्वच्छ माया गर्ने मुटुको अन्त्य गर्ने खोज्ने नरपिचाशहरु धेरै छन्, यही समाजमा । अत्याचारी मुखिया, दमनकारी काजी रामनाथ र गोविन्द पण्डितजस्ता नरपिचाशहरुको अत्य गर्न युगको अन्त्य हुनैपर्छ, पञ्चायती व्यवस्था ढल्नैपर्छ ।
आज पनि पागलझैँ गरी एक हातले माग्दै र अर्को हातले शरीरको खस्नै लागेको कपडा समाउँदै माग्दै हिँड्छे प्रभा । उसलाई रूने, माग्ने त कहिले हाँस्ने आदत भैसकेको छ, किनकि उसको दिमागले पूर्ण रुपमा काम गर्दैन । तर, दिन प्रतिदिन पेटको बच्चा यो संसारमा आउने बेला पनि नजिक भैसकेको छ । उसको पेटको आकारले गर्दा अनुमान गर्न सकिन्छ ।
त्यो डाँडा गाउँभन्दा केही माथि ढकाल गाउँको सानो मन्दिरमा आफ्नो पीडा खपेर रूँदै रात कटाउँछे प्रभा । बिचरा ! उसको रूवाइ, पीडा र दर्द देखेर त्यस मन्दिरका पूजारी सधैँ खानेकुरा दिन्थे । आफूलाई खान मागेर ल्याएको दूध प्रभालाई दिन्थे पूजारी । कहिलेकाहीँ सुर पाउँदा पण्डितलाई सबै व्यथा सुनाउँथी । आफ्नो जीवनमा घटेका सारा यथार्थ भन्थी, बिचरी प्रभा । पूजारीले के नै गर्न सक्थे र, सुन्थे अनि आफू पनि मलिन हुन्थे ।
प्रभाले आफूले संसार त्यागेर एउटा छोराको जन्म दिई । त्यसै दिनको भोलिपल्ट बिहानीपख त्यस ढकाल गाउँका मान्छेले प्रभाको मृत शरीरलाई त्यहीँ नजिकको बाङ्गे पीपलको फेद रहेको बगरमा सनाखत गरिदिन्छन् । तर, त्यो बच्चालाई कसैले आँट गर्दैन पाल्न । बिचरा पूजारी ! जसरी हर्कनाथले प्रभालाई पालेको थियो, त्यसरी नै पाल्छन् बच्चालाई । आफ्नो गाँस काटेर माग्दै भए पनि पेट भराउँथे । नाम पनि कानुन राखिदिएका थिए, ताकि भोलि ती राक्षससँग लडेर आफ्नो अधिकार, हक पाउन सकोस् अनि पञ्चायतको जञ्जीरबाट यो देशलाई मुक्ति दिलाउन सफल होस्
पण्डितले दिन प्रतिदिन बच्चालाई कथा, प्रवचन, देश, राज्यका हरेक कहानी बताउँदै हुर्काउँछन्, बढाउँछन् । उसको आमा र बाबुमाथिको चिथोमिचो र आमा अनि हजुरबाप्रतिको मुखिया, काजी, पण्डितजस्ता अपराधीसँग लड्न दह्रो र बलियो मुटु बनाउन कानुनलाई हौसला दिन्छन् ।
पण्डित भन्छन्– ‘समाजमा, देशमा क्रान्तिको राँको बालेर ती हत्याराहरुलाई त्यही क्रान्तिको आगोमा जलाउनुपर्छ र देशलाई मुक्ति दिलाउनुपर्छ, तबमात्र तिम्रो आमा र हजुरबाबाको आत्माले शान्ति पाउने छ ।’
कानुन अन्यायको विरूद्धमा आवाज निकाल्न सक्ने भैसकेको थियो । पण्डितले दुःखले हुर्काउँदै देशलाई मुक्ति दिलाउने एक कर्मठ युवालाई ठूलो बनाइसकेका थिए ।
त्यही डाँडागाउँमा पढाउँदै छ आज कानुन । क्रान्तिको आगो फुक्न डाँडागाउँमा सामाजिक परिचायकजस्तो बनेर गएको थियो ऊ । क्रान्तिको आगो हातमा बोकेर बिस्तारै गाउँलेको पक्षमा बोल्दै जान्थ्यो र सबै गाउँलेले त्यस्तो भावनाको कदर गर्थे । भित्रभित्र गाउँको अत्याचार, अन्यायको विरूद्धमा लड्न र बोल्न हौसला दिँदै हिँड्थ्यो । कतिले त कानुनको साथ दिए भने कति कानुनकै विरूद्धमा उल्टै विद्रोह गर्दथे ।
ती मुखिया, काजी, रामनाथ, गोविन्द पण्डितका भरौटे थिए । उनीहरुको वृद्ध अवस्था भए पनि उनीहरुको व्यवहार उही अत्याचार गर्ने नै थियो । कति प्रभाहरुको चरित्रलाई हत्या गरे, कति हर्कनाथहरु अकालमै मर्नुप¥यो । उनीहरुको दमन आज पनि ठूलो जरो गाडेर बसेका छ ।
यस समयमा प्रशान्त गाउँको मुखिया भैसकेको थियो । उसको व्यवहार पनि उही आफ्नै बाबुको जस्तै थियो । कानुन सबै गाउँलेका घरघरमा साँझ–बिहान पुग्थ्यो र उही दमन, अत्याचार र पञ्चायती व्यवस्थाले दिएको अन्यायको कुरा उठाउँथ्यो ।
समय पनि कोल्टे फेर्दै जान्छ । कानुन पनि गाउँलेको मन जित्न सफल हुन्छ । काुननका विरूद्धमा ती सबै मुखियाका मान्छे एक हुन्छन् । तर, विगतका दिनहरुमा घटेका उनीहरुका कुकृत्य समाजको आँखाअगाडि नै छ । गाउँका सोझा र अबोध नारीलाई हातपात गर्ने, हर्कनाथजस्ता सोझा गरिब किसानलाई घाँटी दबाएर मार्ने, किसानको माटो लुट्ने र समाजमा हजार रुढीवादी होहल्ला फैलाएर फाइदाको खेती गर्ने त्यस्ता दमनकारी, हत्यारा, लुटेरा, बलात्कारीहरु पञ्चे युगका आदर्श बनेका थिए । यही आदर्शका कारण मुखियाको युगले जरा गाडेको थियो । आफ्नो युगको अस्तित्वका लागि भए पनि काजी, गोविन्द पण्डित, मुखिया यी आदर्शसँगै आज हौसेका हुन् । उनीहरुको आदर्शलाई आगामी दिनमा पनि जीवित राख्न कयौँ हर्कनाथहरु मर्नुपर्छ । कयौँ प्रभाहरु बलात्कृत हुनुपर्छ । कयौँ किसानको माटो खोसिनुपर्छ । यी अमानवीय क्रियाकलापहरु नै उनीहरुको बाँच्ने आधार हो ।
तर, कानुनले सबै कुरालाई नाङ्गेझार पार्दछ । उनीहरुको अस्तित्वको अन्त्य गर्न विद्रोहको राँको बाल्दछ । चारैतिरबाट दमन र अत्याचारका विरूद्धमा चर्को स्वरसँगै विद्रोहको राँको बलिसकेको छ । त्यो आगोको रापले भतभती पोल्न थाल्छ, ती अत्याचारीहरुलाई । अन्त्यमा, जरा गाडेर बसेको आफ्नो शासनसत्ता पञ्चायतको यात्राबाट आफ्नो मुख र मुठीमात्र लिएर गुहार–गुहार गर्छ ।
उनीहरुका निम्ति वर्तमानमा महाखडेरी सिर्जना भएको छ । हार र पराजयको वर्तमानले उनीहरुलाई भतभती पोल्न थाल्छ । कानुन आज उनीहरुको कात्रोका रुपमा भविष्य भनेर आएको छ । सबै गरिबहरुले मुक्तिको लामो स्वास फेर्छन् । सबैले आफ्नो माटोमा आज पसिना बगाउन पाउँछन् । कानुनले आफ्नो युद्ध जितेरै छाड्छ । त्यो युगको अन्त्यपछि आजको युगको सुरूवात गराउँछ ।

 साभार चितवनपोस्ट

चर्चा परिचर्चा कार्यक्रम

हरेक हप्ताको आईतबार बिहान १० बजे रेडियो अर्पण बाट प्रासरण हुने कार्यक्रम "मेरो रचना " मा मिति: २०७०/5/9 गते चितवनका गजलकार रामकृष्ण पौडेल "अनयास" र फुच्ची जमुना सँग दिपेन्द्र जी ले गर्नु भएको भलाकुसारी जस्ताको त्यस्तै अनि नेपाली गज़ल ईतिहाँसमा नौलो क्रीती सवाल जबाफ गजल संग्रह धमिलिएका डोबहरुको चर्चा परिचर्चा कार्यक्रम सुन्न नभुल्नु होला

Monday, August 19, 2013

कार्यक्रम गजलका थुँगाहरु~१२

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु"  (गाईजात्रा विशेष)  
नमस्कार साथीहरु, आज मिति २०७०।5।4 गते मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।


Download Here :- Click Here

Saturday, August 17, 2013

कोही नरोउन कसैका नहोस मलिन चेहेरा

रामकृष्ण पौडेल ''अनायास''

पलपल रुवाएर छाड्नु भन्दा मारी जाउ
मारेर नै मूर्त शारीर चिता माथि सारी जाउ

सारा शारीर खरानी भै अस्तु पनि बगाईदिनु
बगाएर जादा खेरि तेर्हौ तिथि बारी जाउ

तड्पीएर तिम्रो फेरि छायाँ बनि घुम्छु होला
त्यसै कारण कर्म गरि मेरो आत्मा तारी जाउ

कोही नरोउन कसैका नहोस मलिन चेहेरा
तिमि जादा अन्तिम पल्ट आसु झारी जाउ

तिम्लाई लिन सौभाग्य र पन्चे बाजा डोली बोकी
आईपुगेका होलान् जन्ती छिट्टै तिमि पारी जाउ

गजलकुञ्ज

तोडेर बन्धन पराई सग सुहाई छाड्यौ नि

गजल

मायाको बदला आँसुमा तिम्ले डुवाई छाड्यौ नि
भुलमा परे सजाय दिदै   रुवाई छाड्यौ नि

विश्वास गरि मुटु नै दिए मेटाउदै चाहना
काखमा राखी मलाई बिस खुवाई छाड्यौ नि

यो देह मेरो जलेर अब खरानी हुदैछ
त्यो झुटोमाया देखाउन आँसु चुहाई छाड्यौ नि

हे प्रभू तिमीलाई दुखले अब आत्तिन नपरोस्
तोडेर बन्धन पराई सग सुहाई छाड्यौ नि

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,चितवन —

जितको आज बधाई ठान्यौ

gajal

हिजो तिम्रै मुटु बने आज पराई ठान्यौ
घात आफुगरि उल्टै दोशि मलाई ठान्यौ

संसार मा सबै भन्दा बादी माया मैले दिदा
उसैलाई दिलमा राखी आफ्नो सजाई ठान्यौ

मेरो जिबन तिम्रो भन्थ्यौ हिजो संगै हुदा
त्यो दिलबाट गलत सोची आज हटाई ठान्यौ

म रोएर तिम्रै अघि तप्प तप्प आँसु झर्दा
मेरो दुख तिम्रै जितको आज बधाई ठान्यौ

रामकृष्ण पौडेल ''अनायास''

Wednesday, August 14, 2013

मुक्तक


मुक्तक
यहाँ ढुंगा लाई पुजा गर्ने को तँति देखिन्छन
अबिर धसी पैसा चढाउने जाति देखिन्छन
कस्तो न्याय दिन्छौ स्वार्थी भएछौ भगवान
जो राम्रो होला भन्यो त्यहि घाती देखिन्छन


यहाँ ढुंगा लाई पुजा गर्ने को तँति देखिन्छन
अबिर धसी पैसा चढाउने जाति देखिन्छन
कस्तो न्याय दिन्छौ स्वार्थी भएछौ भगवान
जो राम्रो होला भन्यो त्यहि घाती देखिन्छन


रामकृष्ण

Monday, August 12, 2013

कथा– निलो साइकल







कथा – निलो साइकल 

रामकृष्ण अनायास

समयले पनि एउटा कोल्टे फेरिसकेको थियो यतिबेला साइकलको घण्टी ढोकाअगाडि हिजोअस्ति गुन्जिएझैँ लाग्थ्यो। निराश हुँदै कोठाभित्र पस्छु टेबलमा फिँजाइएका किताबहरू एक–एक गरी हेर्छु, पन्ना पल्टाउँछु। प्रत्येक शब्दमा उनकै प्रतिबिम्ब देख्छु फेरि किताब बन्द गर्छु त्यत्तिकैमा बाटोतिरबाट साइकलको आवाज सुनिन्छ। म हत्तपत्त दौडेर बाहिर निस्कन्छु। तर जाँड खाएका मान्छे पो रहेछन् उल्टै रोकेर व्यर्थको निहुँ खोज्न थाल्छन्। म सुरुक्क फर्किन्छु 

घडी हेर्दा रातको बजेर २७ मिनेट १० सेकेन्ड भएको रहेछ। २०६० सालमा कहाँ मोबाइल पाइन्थ्यो र! नत्र हजारौँ पटक फोन गर्थेँ होला। अब एस.एल.सी. आउन जम्मा पाँच दिन बाँकी थियो आज प्रतिभा मेरो घरमा बस्न थालेको नौ दिन पुगेको थियो। हामी रात अबेरसम्म पढ्थ्यौँ निद्राले आँखा नखुल्ने भएपछि पढ्दै गरेको ठाउँमै निदाउँथेँ। प्रतिभा मेरी बहिनीसँगै सुत्थिन्। म गणितमा राम्रो थिएँ, प्रतिभा अङ्ग्रेजीमा निकै अगाडि थिइन्। हामी एकअर्कालाई पढाउँथ्यौँ, सँगै पढ्थ्यौँ ट्युसन पनि सँगै जान्थ्यौँ कक्षाकोठा पनि एउटै थियो चारवटा सेक्सन भए पनि विद्यालय जाँदा मन्दिरचोकमा भेट हुन्थ्यो फर्किँदा पनि सँगै हुन्थ्यौँ यो क्रम झन्डै दुई वर्षसम्म चल्यो। तर राति सँगै बसेर पढ्न थालेको भने धेरै समय भएको थिएन 

आज मेरो घरमा साइकलको घण्टी बजेन। प्रतिभा सधैँ खाना खाएर राति आठ बजे सानो निलो साइकल चढेर मेरो घरको आँगनमा आइपुग्थिन् घण्टी बजाउँथिन्। म हत्तपत्त दौडेर साइकल राखिदिन्थेँ आमाले प्रतिभा आएको देख्नासाथ दुई गिलास दूध लिएर आउनुहुन्थ्यो। तर आज एउटा गिलास दूध त्यसै फर्काउनु भयो उहाँले भन्नुभयो, “कतै बिरामी पो परिन् कि? आज त आउनुपर्ने हो।” 

सम्बन्ध पनि त्यति धेरै प्रगाढ भइसकेछ, आज बल्ल थाहा भयो। यति गहिराइमा पुग्दा पनि पत्तै भएनछ मुटु त लगभग एउटै भइसकेछ खै, कहिले यसरी गाँसिएछ, थाहै भएन। अब त सास फेर्न पनि अप्ठ्यारो भइसकेको थियो। मणि हराएको नागझैँ एकै ठाउँमा फन्को मारिरहन्थेँ 

उनले मेरो सम्पूर्ण परिवारका सदस्यहरूको मन जितिसकेकी थिइन् सायद उनलाई पनि मेरो घर र परिवार आफ्नैजस्तो लाग्थ्यो मेरो परिवारले पनि उनलाई आफ्नै छोरीसरह माया गर्थ्यो त्यसैले होला, एक दिन त्यस्तै परेर राति साढे नौ बजेतिर शंकरलाई उनलाई लिन पठाएको थिएँ। ऊ पनि हाम्रो प्रेम र  आत्मीयता देखेर छक्क पर्थ्यो 

मेरो तड्पाइ देखेर साइकल कुदाउँदै प्रतिभाको घरतिर जान्थ्यो उनलाई पछाडि बसालेर ल्याइहाल्थ्यो। घर पनि नजिकै थियो पढाइमा भने ऊ ठ्याक्कै शून्य थियो कसोकसो गरेर कक्षा १० सम्म पुगेको थियो एस.एल.सी. त उसलाई फलामकै चिउरा जस्तै लाग्थ्यो। तर पनि मेरो कुनै कुरा काट्दैनथ्यो कहिलेकाहीँ शंखर राति पनि आइपुग्थ्यो। आज भने ऊ पनि किन आउँथ्यो ? आफुलाई परेको बेला फकाउन मात्र आउँथ्यो 

 

दुई वर्ष बितेको पत्तै भएन। तर त्यो समय मेरा लागि एक वर्षभन्दा पनि लामो बनेको थियो। माया र प्रेममा तड्पिएर पागल बनेका कथाहरू सुनेको थिएँ, तर वास्तवमा त्यसको अनुभूति आज आफैँले गरिरहेको थिएँ 

 जाऊँ भने राति ११ बजिसकेको थियो। २०६० सालको चैत ५ गते त्यो रात मेरो जीवनकै सबैभन्दा कालो रात बन्न पुगेको थियो बाहिर आर्मीहरूको गस्ती सुरु भएजस्तो लाग्यो बुटको आवाज सुनिन्थ्यो। म हत्तपत्त झ्याल बन्द गर्थेँ साससमेत भित्रभित्रै फेर्थेँ 

 त्यतिबेला द्वन्द् निकै चर्किएको थियो झ्यालबाटै गोली छिर्ला कि भन्ने डर लाग्थ्यो कहिलेकाहीँ कुनै कारणबिनै ब-स्तीका मानिसलाई निद्राबाट उठाएर लगिन्थ्यो कति फर्किए, कति बेपत्ता भए अझ त्योभन्दा पनि दुःखद कुरा के थियो भने, एउटा पक्षका हतियारधारीहरू हाम्रो घरलाई आफ्नै घरजस्तै सम्झेर आउँथे, थर्काउँदै खान्थे, बस्थे सुत्थे त्यतिबे-ला दिएको दुःख सम्झँदा आज पनि उनीहरूको अनुहार हेर्न मन लाग्दैन। तर त्यस रात मेरो आफ्नै मनभित्र आगो बलिरहेको थियो 

 

कतिबेला निदाएँ, पत्तै भएन बिहान पो भएछ निधारमा कलमको बिर्कोले बनाएको डाम दुख्न थालेपछि मात्र होस आयो मुखसमेत नधोई नागले हराएको मणि खोज्न दौडेजस्तै प्रतिभाको घरतिर लागेँ 

 धारामा प्रतिभाकी भाउजू पानी भरिरहनुभएको थियो। मलाई देखेर भन्नुभयो, “बाबु, यति बिहान किन आउनुभयो?” 

 मैले हतारिँदै सोधेँ, “प्रतिभा खोइ?” 

 उहाँको अनुहार एकाएक मलिन भयो त्यो क्षण मेरो सम्पूर्ण संसार नै भत्किएजस्तो भयो। आकाश नै खसेजस्तो लाग्यो 

 थाहा भयो प्रतिभालाई हिजो राति मेरो घर आउदै गर्दा बाटोबाट अपहरण गरिएको रहेछ 

 

घरकाले उनी पढ्न गएकी होलिन् भन्ने सोचेका रहेछन् रातभर कसैले शङ्का नै गरेन अब बिहान भएपछि गाउँभर हल्ला फैलियो मानिसहरूको भीड लाग्न थाल्यो प्रतिभाकी आमाको त आधा होस गुमिसकेको थियो। तर त्योभन्दा बढी मेरो होस उडिसकेको थियो सास हल्का मात्र थियो  

कुन पक्षले लग्यो, कसैलाई थाहा थिएन 

 सधैँ हतियार बोकेर सिकार गर्ने शिकारीलाई घर, परिवार, ममता र आत्मीयताको मूल्य के थाहा! वास्तवमा उनीहरूको आत्मामा राक्षसले बास गरेको हुन्छ होला, त्यसैले निर्दोष र अवोध मानिसलाई बेपत्ता पारी निर्मम यातना दिन्छन् सुन्नमा आउँथ्यो, कतिलाई आफ्नो राक्षसी यौनपिपासा मेटाउने साधनसमेत बनाइन्थ्यो अन्त्यमा उनीहरूको सम्पूर्ण अस्तित्व नै मेटाइन्थ्यो यस्तो कुरा सम्झँदा मेरो सम्पूर्ण शरीर नै क्रोधले काँप्थ्यो जसले लगेको हो, त्यसैलाई मेटाइदिऊँजस्तो लाग्थ्यो, बरु आफैँ मेटिन किन नपरोस्

 धेरै मानिसहरू आउँथे कसैले आशा छोड्न भन्थे, कसैले अझै फर्किने झिनो सम्भावना रहेको सुनाउँथे अनेकौँ कुरा सुन्दै गर्दा आफैँ घुमिरहेको हुँ कि पृथ्वी नै घुमिरहेको हो, छुट्याउन सक्दिनथेँ 

 राति खाना खाएर घरबाट हिँडेकी प्रतिभा आफ्नो सानो निलो साइकलसहित बेपत्ता भएकी थिइन् मेरो मनमा हजारौँ तर्क–वितर्क उठ्थे। के गरेकी होलिन्? अहिले कहाँ होलिन्? कस्तो अवस्थामा होलिन्

 त्यत्तिकैमा क्षितिजपारिबाट एउटा सानो आकृति बाटोतिर देखापर्‍यो बिस्तारै त्यो आकृति नजिकिँदै आयो। ध्यान दिएर हेर्दात्यो निलो साइकल चढेकी प्रतिभा नै रहिछिन्

  एक्कासि खुसीले उफ्रिएँ मेरो खुसीको सीमा नै रहेन वरिपरि भएका मानिसहरू पनि एकअर्काको अनुहार हेर्न थाले कसैले मृत्युको मुखबाट फर्किइन् भने, कसैले भाग्यले साथ दियो भनेर टिप्पणी गरे जे भए पनि, प्रतिभा सकुशल फर्किनु नै मेरो लागि सबैभन्दा ठूलो कुरा थियो 

 पछि उनले विस्तारै सबै घटना सुनाइन् द्वन्द्वकाल भएकाले राति एक्लै हिँडिरहेको देखेर सुरक्षाकर्मीले सोधपुछका   लागि सम्मानपूर्वक आफ्नो नियन्त्रणमा लिएका रहेछन् रातभर राखेर बिहान सबै कुरा बुझिसकेपछि सुरक्षित रूपमा घर फर्काइदिएका रहेछन् 

 त्यो कुरा सुनेपछि मेरो मुटुले फेरि सामान्य रूपमा धड्किन थाल्यो रगतको सञ्चार पनि सहज भयो शरीरभरि सुन्निएको जस्तो भएको अवस्था बिस्तारै सामान्य बन्दै गयो। एक हिसाबले मेरो होस नै गुमिसकेको थियो। अब भने वातावरण फेरि शान्त र सामान्य बन्न थाल्यो 

 त्यस घटनापछि प्रतिभालाई राति मेरो घरमा पढ्न आउन परिवारबाट कडा रोक लगाइयो। तर उनी निकै जिद्दी थिइन्। अन्ततः फेरि शंकरकै सहारा लिनुपर्‍यो। ऊ बेलुका सधैँ प्रतिभालाई साइकलमा ल्याइदिने गर्थ्यो 

 शंकर हाँस्दै भन्थ्यो, “एस.एल.सी. सकिएसम्म मात्रै हो नि।” 

  पनि शंकरको गुन तिर्थेँ रातभर जागेर उसका लागि चिट तयार गरिदिन्थेँ। ऊ आरामले सुत्थ्यो बिहान उठ्दा उसको चिट तयार हुन्थ्यो परीक्षामा चिट सार्न निकै सिपालु थियो। मैले बनाएको चिटबाट धेरै प्रश्न मिल्थे, त्यसैले मख्ख पर्थ्यो 

 भोलिपल्टदेखि एस.एल.सी. परीक्षा सुरु भयो हामीले पनि परीक्षा दियौँ अन्तिम दिन परीक्षा सकेर घर फर्कँदै थियौँ बाटोभरि कालै लटरम्म पाकेका काफलले हाम्रो ध्यान तान्यो त्यो ठाउँ मानौँ काफलकै बगैँचा थियो 

 , प्रतिभा, शंकर, अमृता, विजया, लक्ष्मी र गोपाल सबै काफलघारीभित्र पस्यौँ कसैले काफल टिपेर खायो, कसैले एकअर्कामाथि हान्यो। हामी काफल निचोरेर त्यसको रसले एकअर्काका कपडा जिउभरि पोतिदिन्थ्यौँ प्रतिभाको पहिरन काफलको रातो रसले पूरै रङ्गिएको थियो। मैले पनि उनको कपडामा काफलको रस छर्किदिएँ त्यो भन्दा पनि बटम भित्रै हात हालेर रस निचोर्दा अहिले सम्झिदापानी सिरिङ्ग हुन्छ  उनले पनि मेरो सर्ट त्यसैगरी राताम्मे बनाइदिइन् 

 त्यो दिन हाम्रो भोक, तिर्खा, थकान र सारा संसार नै बिर्सिएको थियो। हामी केवल एकअर्काको साथ, स्पर्श र खुसीमा हराएका थियौँ त्यो घना काफलघारी आज पनि मेरो स्मृतिको सबैभन्दा उज्यालो कुनामा सुरक्षित छ। 

 घर फर्किएपछि त्यो दिन त्यसै बित्यो एस.एल.सी. सकिएकाले संसार जितेजस्तो लागेको थियो। समय बिस्तारै आफ्नै गतिमा अघि बढ्दै गयो समयसँगै हाम्रो माया पनि अझ गाढा बन्दै गयो। प्रायः भेट हुन्थ्यो कहिले मन्दिर जान्थ्यौँ, कहिले बजार घुम्थ्यौँ  भरतपुरमा कम्प्युटर सिक्न थालेँ। प्रतिभा पनि घरमा अङ्ग्रेजी भाषा सिक्ने बहाना बनाएर मलाई भेट्न आइरहन्थिन् कहिलेकाहीँ डर पनि लाग्थ्योकसैले देखेर कुरा काट्लान् कि! तर त्यतिबेला हामीलाई त्यस्ता कुराको कुनै प्रवाह थिएन। हामी आफ्ना दिनहरूलाई सुन्दर र स्मरणीय बनाउँदै, मायाको पालुवा अझ हराभरा बनाउँदै अघि बढिरहेका थियौँ हाम्रो सम्बन्धतर्फ धेरैको नजर थियो हामीबीच माया, प्रेम, मिलन, कहिलेकाहीँ रिस र फकाइसबै कुरा हुन्थ्यो दिनहरू बितेका पत्तै पाइएन 

एस.एल.सी.को नतिजा प्रकाशित भयो। हामी सबै उत्तीर्ण भयौँ। म प्राविधिक स्वास्थ्य शिक्षातर्फ अध्ययन गर्न लागेँ भने प्रतिभा शिक्षाशास्त्रतर्फ लागिन् पढाइको क्षेत्र फरक भएपछि हाम्रो समय पनि फरक दिशातिर मोडिन थाल्यो। म सदरमुकाम पढ्न जान्थेँ, उनी गाउँकै प्लस टुमा अध्ययन गर्थिन् पढाइको व्यस्तताले हामीलाई चाहेर पनि दुरी टाढा बनाइदियो 

हामी एकअर्काबिना बाँच्नै नसक्ने जस्ता भइसकेका थियौँ गाउँ, टोल, छिमेक साथीभाइ सबै हाम्रो सम्बन्धबारे      परिचित थिए। तर हामी दुवै आफ्नो अध्ययनप्रति पनि उत्तिकै जिम्मेवार थियौँ त्यसै क्रममा मेरो समय झन् व्यस्त हुँदै गयो भेटघाट    क्रमशः कम हुन थाल्यो दिनभरि कलेज, अध्ययन र अस्पतालको अभ्यासले थाक्थेँ। साँझ घर पुग्नेबित्तिकै निदाइहाल्थेँ बिहान फेरि उही क्रम अस्पताल, कलेज, पढाइ र परीक्षा। 

यही व्यस्तताले हाम्रो सम्बन्धमा दूरी बढाउन थाल्यो। तर माया भने कहिल्यै कम भएको थिएन प्रतिभाले पनि मनभित्र थुप्रै सपनाहरू सजाएकी होलिन् सायद उनी मसँगको भविष्य कल्पना गर्थिन्। तर मानिसको सोच, परिस्थिति र समय सधैँ एउटै हुँदैन रहेछ कहिलेकाहीँ जीवनले अनपेक्षित मोड लिँदोरहेछ 

यसै क्रममा मेरो स्वास्थ्य पनि बिस्तारै कमजोर हुँदै गयो। शरीर दुब्लाउँदै गयो सुरुमा खासै वास्ता गरिनँ समयमै खाना नखानु, अत्यधिक व्यस्तता र थकाइका कारण कमजोरी भएको होला भन्ने ठानेँ। तर अवस्था झन् बिग्रिँदै गयो। अन्ततः मैले अभ्यास गरिरहेको अस्पतालमै स्वास्थ्य परीक्षण गराएँ 

रिपोर्ट आएपछि थाहा भयो—मलाई क्षयरोग (टीबी) लागेको रहेछ सम्भवतः अस्पतालको प्रयोगशाला, बिरामी वा कार्यस्थलबाट संक्रमण भएको थियो 

यो खबर सुनेपछि भित्रैदेखि भत्किएँ औषधिले निको हुने आशा त थियो, तर रोग भने रोग नै हो। पीडा भोग्नै पर्थ्यो घरपरिवार प्रतिभालाई पनि यो कुरा थाहा भयो। मैले नियमित औषधि सुरु गरेँ 

औषधि खाइरहे पनि शरीर निकै दुब्लो भयो। अनुहार कालो ख्याउटे देखिन थाल्यो। निरन्तर खोकी लाग्थ्यो, बेलाबेला ज्वरो आउँथ्यो यस्ता अवस्थाले गर्दा प्रतिभा मबाट बिस्तारै टाढिँदै गएको अनुभूति  हुन थाल्यो। उनको व्यवहारमा आएको परिवर्तनले मेरो रोगले भन्दा बढी उनको व्यवहारले गर्दा पीडा दिन्थ्यो 

समय साँच्चै निष्ठुरी हुँदोरहेछ हिजो हामीलाई नजिक ल्याउने समय आज बिस्तारै छुट्याउँदै थियो आफ्नो रोगको पीडाभन्दा पनि प्रतिभा अर्कैसँग नजिकिएको खबरले म मानसिक रूपमा धेरै कमजोर बनेँ लामो समयसम्म रोग र मनको पीडाले मलाई थलाइरह्यो 

उता घरपरिवार, साथीभाइ उपचारको सहयोगले मेरो स्वास्थ्य बिस्तारै सुधारिँदै गयो। तर त्यही समयमा प्रतिभा मबाट टाढिँदै अर्कैसँग सम्बन्धमा बाँधिँदै गएकी थिइन् यसको प्रमुख कारण मेरो रोग, कमजोर अवस्था र भविष्यप्रतिको अनिश्चितता नै थियो भन्ने मैले महसुस गरेँ 

 

दिनहरू बित्दै गए। तर प्रतिभाको सम्झनाले बाँच्न पनि गाह्रो हुन्थ्यो उनीप्रति मेरो माया कहिल्यै कम भएन। तर उनको मन भने बदलिइसकेको थियो उनी राम्री थिइन्, सबैसँग सहज घुलमिल हुन्थिन् धेरैले उनलाई मन पराउँथे समयसँगै उनी अर्कैतिर आकर्षित हुँदै गइन् 

त्यस दिनदेखि नारीप्रतिको मेरो विश्वास केही कमजोर भएको अनुभूति हुन थाल्यो साथीहरू सम्झाउँथे, “आज धोका दिनेले भोलि पनि दिन सक्छ बरु अहिले नै छुट्टिनु राम्रो भयो कम्तीमा पछि तिम्रो जीवन अझ ठूलो सङ्कटमा पर्दैन।” 

सुरुमा यी शब्द स्वीकार्न सकिनँ। तर समय बित्दै जाँदा उनीहरूको कुरा पनि केही हदसम्म सत्य लाग्न थाल्यो। मैले फेरि आफ्नो सम्पूर्ण ध्यान पढाइतिर मोडेँ मेडिकल क्षेत्रको अध्ययन सफलतापूर्वक पूरा गरेँ 

तर सम्झनाहरू भने कहिल्यै हराएनन् कहिलेकाहीँ काफलको रसले रङ्गिएको त्यो पुरानो सर्ट निकालेर हेर्थेँ रातभरि निदाउन सक्दिनथेँ कहिले आँसु झर्थ्यो, कहिले उनी बसेको कुर्सी, पढेको टेबल सुतेको ओछ्यान हेर्दै टोलाइरहन्थेँ ती निर्जीव वस्तुहरूमा पनि प्रतिभाकै उपस्थिति खोजिरहन्थेँ 

त्यतिबेला मलाई एउटा कुरा गहिरोसँग महसुस भयो सायद प्रेम पाउनुमा भन्दा गुमाउनुमा अझ गहिरो भएर बाँच्दो रहेछ 

पछि नजिकैको एउटा अस्पतालमा जागिर खान थालेँ जागिरको व्यस्तताले धेरै घाउहरूमा मल्हम लगायो, तर स्मृतिहरू भने कहिल्यै मेटिएनन् 

उता प्रतिभाले आफूले प्रेम गरेको युवकसँग विवाह गरिछन् भन्ने खबर दुई महिनापछि मात्र थाहा पाएँ। यदि त्यही बेला थाहा पाएको भए, सायद टाढैबाट भए पनि बेहुलीको पहिरनमा उनलाई एकपटक हेरेर फर्किन्थेँ होला त्यो अवसरबाट पनि वञ्चित भएँ 

जे भए पनि, कुनै समय एउटै सपना, एउटै बाटो र एउटै भविष्य देखेका मानिसहरू थियौँ हामी। त्यसैले माया पूर्ण रूपमा कहिल्यै मरेन 

समय बित्दै गयो जागिर गरेको पनि चार वर्ष पूरा भयो 

एक दिन अचानक अस्पतालको वार्डमा बिरामीहरूको राउन्ड लगाउँदै थिएँ एउटा बेडतिर आँखा पुग्यो त्यहाँ सुतिरहेकी 

बिरामीलाई देखेर मेरा पाइला एकाएक रोकिए।  त्यो प्रतिभा थिइन्  रातो बेहुलीको पहिरनमा उनलाई कहिल्यै देख्न पाइनँ। तर आज अस्पतालको सेतो पोसाकमा, थकित र निरीह अवस्थामा देख्दा मेरो आधा आकाश नै खसेजस्तो भयो 

मैले नजिक गएर उनको नाम लिएँ 

उनी केही बोलिनन्। केवल कोल्टे फर्किन्, अनुहार छोपिन् भक्कानिँदै रुन थालिन् 

पछि उनका दाइबाट थाहा पाएँ—प्रतिभाका श्रीमान् एचआईभी संक्रमित रहेछन्। अन्ततः सोही रोगका कारण उनको मृत्यु भएछ प्रतिभालाई पनि श्रीमान्बाट नै एचआईभी संक्रमण भएको रहेछ अहिले उनी स्वयं पनि संक्रमित भएर उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् 

भाग्य र समयले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँछ, कसैले अनुमान गर्न सक्दैन रहेछ कहिल्यै छुट्टिन नसक्ने जस्तो लागेको हाम्रो सम्बन्ध समयले छुटायो जीवनभर साथ दिने वाचा गरेका सपना अधुरा भए। प्रेम, पीडा, रोग, बिछोड नियतिको कठोर खेलले अन्ततः हामीलाई आ–आफ्नो नियतिमा एक्लै उभ्यायो 

त्यस दिन अस्पतालको त्यो सेतो कोठामा उभिएर मैले केवल यत्ति महसुस गरेँ जीवनले सबैभन्दा गहिरा कथा सधैँ अधुरै लेख्दोरहेछ अनि केही सम्झनाहरू, निलो साइकलझैँ, समयको धुलोले ढाकिए पनि मनको बाटोमा जीवनभर गुन्जिरहन्छन् 

 

 2064 

 

 



सल्लाह सुझावको अपेक्षा राख्दछु