Thursday, November 1, 2012

सोमनाथलाई चिठ्ठी पढ्दा (कृति समीक्षा)


 --खगराज न्यौपाने
सूर्यनाथ सापकोटाद्वारा लिखित ‘सोमनाथलाई चिठ्ठी’ पत्रात्मक गीतिकाव्य हो । बाग्लुङको रातामाटामा २००५।८।८ गते जन्मिएका सूर्यनाथ सापकोटा विभिन्न विधामा कलम चलाउन सक्ने सशक्त साहित्यकार हुन् । बाग्लुङमा जन्मिए पनि जागिरको सिलसिलामा दाङ आएका सूर्यनाथको कोमल साहित्यिक मन दाङकै प्राकृतिक सुन्दरतामा रमाउन थाल्यो र स्रष्टाले दाङलाई नै कर्मथलो बनाउन पुगे । बाग्लुङका ग्रामीण वस्तीहरु त्यहाँका वन, पाखा, लेक, टाकुरा, खोला, छरछिमेकको न्यानो माया र सरसंगतको मधुरो सम्झनाले स्रष्टालाई पछ्याइरह्यो । मन मिल्ने साथीहरुको सम्झना कता कता रही नै रह्यो । बालककालदेखि सँगै खेलेका, पढेका रमाइला दिन बिताएका तमाम साथीमध्येका सूर्यनाथ सापकोटाका एउटा साथी हुन्– सोमनाथ । सोमनाथले यस गीतिकाव्यमा लेखेका मन्तव्यका कुराले सूर्यनाथ र सोमनाथ अति मिल्ने साथी हुन् भनी पुष्टि भएको छ भने ‘सोमनाथलाई चिठ्ठी’ पत्रात्मक गीतिकाव्य प्रकाशनले सूर्यनाथले पनि हामी दुई जिउ एक थियौं भनी प्रमाणित गरेका छन् । आफ्नो जीवनमा साथीलाई लेखेका चिठ्ठीहरुको संँगालो तयार पारी पुस्तकाकारको रुप दिनु निश्चय नै महत्वपूर्ण कुरा हो ।
राप्ती साहित्य परिषद् दाङले प्रकाशित गरेको २७ औं पुष्पगुच्छा हो ‘सोमनाथलाई चिठ्ठी’, यो पत्रात्मक गीतिकाव्यमा ९ वटा चिठ्ठीहरु रहेका छन् । यसमा ३०१ कविताहरु छन् । पेजको हिसाबले यो कृति ६३ पेजमा फैलिएको छ । यो कृतिको कभरपृष्ठ र भित्रको कागज पनि राम्रो छ । सम्पूर्ण चिठ्ठीहरु झ्याउरे लयमा छन् । यसैले यो कृति गेयात्मक शैलीमा छ । बाल्यकालको सम्झना स्रष्टाको मन, मस्तिष्कबाट हट्न सकेको छैन । एउटा उदाहरण–
‘म तिम्रै साथ हेर्दथे गाई, बलेबासारीमा
म तिमीसँगै डुल्थें सधैँ खेत र बारीमा
ती दिन गए आउन्न हकि तड्पेर रोएर, बन्दैनौं हकि ?
बालक हामी ती ठाउँ डुलेर ।’
त्यस्तै जन्मथलोको खबर पाउन अत्यन्त उत्सुक भएका स्रष्टाले यसरी भावना पोख्छन्–
‘त्यो रातो माटो म हिंड्नेबाटो भत्कन सक्दैन
लेख्नु है यौटा चिठ्ठीको टुक्रा महंगो पर्दैन ।’
स्रष्टालाई जन्मथलोको माया त छँदैछ कर्मथलो दाङको पनि माया यसरी व्यक्त गर्छन्–
‘धौलागिरी देऊ तिम्रो आज मलाई शिर,
हेर्न मन लागेको छ आज घरतिर,
काली तिमी पनि दाङतिर बग्ने गर,
तिम्रो ठण्डा पानी पिउने मेरो छ रहर ।’
कर्मथलो दाङमा कहिले काहीं स्रष्टालाई कतैबाट आघात पर्दा यसो भन्छन्–
‘केले हो केले चसक्क पार्छ यो मेरो मुुटुमा,
आफन्त माया पाइँदैन हकि विरानो देशमा ।’
स्रष्टाले देशमा देखापरेका समस्या–हरुलाई पनि कृतिमा समावेश गरेका छन् । झ्याउरे छन्दमा भए पनि आफ्ना मनका पीडा, जनताका पीडाहरुलाई व्यंग्यात्मकरुपमा ठाउँ–ठाउँमा पस्केका छन् । नेतृत्व तहमा बस्नेलाई स्रष्टा यसो भन्छन्–
‘कुर्सीका भोका देशको माटो, खाएर मेट्दै छन्,
देवता भनी डुमिनी सर्पलाई पो पाल्दैछन् ।’
सरल भाषामा लेखिएका गीतहरु पाठकहरुको मन छुन सफल देखिएका छन् । यस कृतिमा नेपालीहरु कहिले अनेकताबाट एकतामा बाँधिएलान् र नेपालमा विकास होला भनी स्रष्टाले चिन्ता पनि व्यक्त गरेका छन् । रोल्पा पुगेर स्रष्टाले धौलागिरिलाई हेर्दा खुशी हुन्छन् र भन्छन्–
‘हे सोमनाथ म व्यर्थ खोज्छु धवलागिरीलाई,
उसले मलाई हेरेको रै’छ लिएर उचाइ,
म मात्र अब बन्दिन होचो आँसुले गलेर,
को उठ्न सक्ला साढेझैं सधैँ मानिस लडेर ।’
यहाँ स्रष्टा भन्छन्– अब साढे लडेका झैं लड्ने दिन छैनन् किनकि देशमा गणतन्त्र आइसक्यो । अब जनताका चाहना पूरा हुनुपर्छ । यसरी यस कृतिमा स्रष्टा सूर्यनाथले अति मिल्ने बाल्यकालका साथीलाई सम्झेर बाग्लुङका गाउँ वस्ती, खोला, गुराँसले भरिएका रनवन, पाखापर्वत झरना, बसेका घर कोठा, आदिको बहुत राम्रो सुन्दर वर्णन गरेका छन् । यो कृति गीतिकाव्य भएको हुनाले एकातिर मुनामदनझैं लयमा छ भने अर्कोतिर मेरो प्यारो ओखलढुंगालाई समेत यो कृतिले आफूलाई उनीहरुकै हाराहारीमा लग्न प्रयास गरेको छ । जतिपटक कृति पढ्यो उनी मिठो लाग्छ यसैले यो कृति अनुपम छ । कृति ‘सत्यम, शिवम्, सुन्दरम्’ले भरपूर्ण छ ।
गर्ने भन्दा गराउने भलो यो कृतिमा चिठ्ठीहरु श्रीकृष्ण शर्मा पथिकलाई देखाउ“दा अरु चिठ्ठी तयार पारी काव्य कृति निकाल्नुपर्छ भनी दिएको सल्लाह स्रष्टाले आफ्नो मन्तव्यमा उल्लेख गरेका छन् । यसैले उत्साहदाता
श्रीकृष्ण शर्मा पनि धन्यवादका पात्र छन् । भूमिका लेखिदिने नारायणप्रसाद शर्मा, पुरुषोत्तम खनाल, डा. श्रीधर गौतमप्रति स्रष्टाले सम्मान व्यक्त गरेका छन् । बाग्लुङको यो ऐना जस्तो
कृति विभिन्न लय, अलंकार, विम्बहरुको प्रयोग आदि विभिन्न कारणले गर्दा यो कृति पठनीय, मननीय रहेको छ । आठवटा पुस्तक प्रकाशित गरिसकेका स्रष्टा विभिन्न साहित्यिक
संघसंस्थामा आबद्ध छन् । पुरस्कृत भएका पनि छन् ।
स्रष्टाको लेखनी अझ सशक्त बन्दै जाओस् भनी कामना व्यक्त गर्दछु ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु