Monday, September 15, 2014

''प्रकृतिको आवहान''

विवश एस.बि चौलागाईं

कहीले चिसोसिरेटो बनेर
कहीले झम झमी बर्खे झरी झै
पुर्णीमाको रातमा बगरका ढुङ्गा
टल्क टल्के झै
थकित बटुवाको थकान मट्ने
चौतारि बनेर
कसैलाई जिउने आधार
कसैलाई पिउने आधार
तराईको फाट फाटमा
पहाडको टाकुरा टाकुरीमा
विश्वको सबोच्च शिखर बनेर
टिलीक्क टल्कीरहन्छीन
उनी
भेटीन्छीन
बस्ती बस्तीमा कवि मेरो
अस्मीता छेकीदेउन तिम्रा
ति शुन्दर शब्दले रङ्गीएको
पाना पानाले भन्दै
सुन्दैछु चारकोसेका मृगशाबक हरु
लन्च डिनर गर्न शहर पस्दैछन
आज नागबेली यार्सागुम्बा फल्ने ठाउमा
भोली चिल्ला चिप्ला मोटर गुड्ने छन
धुवॉको मुस्लो छोड्दै
तिमि आजको फोटो कैदगर
अनी भोली पल्टाएर हेर
सोच फरक के पायौ?
तिमि कविता भन्दा धेरै
मेरो स्याहार सुसार गर
हो कवि फेरि पछुताउने छौ
उनले त बिन्ती गरेकी थिइन भन्दै
नत्र जलीरहेको मरुभुमीमा
तिर्खाएको उंट झै
बौलाउन पर्ला प्रकृति प्रकृति भन्दै
कवि मेरो बेदनाको कविता लेख

/bibashchaulagain1994@gmail.com
Hetauda-5 ,now
Banepa-10, Kavre

गजल

घनश्याम परिश्रमी 

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब
अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब

पीर होस् कि खुसी सँगै भोग्नु पर्दछ
मधेस, पहाड र हिमालले अब

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नु पर्छ नयाँ सुर तालले अब

हामी लक्ष्य भेट्न हिँड््रयौँ बेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब

युद्धको सञ्जाल टुटोस् मनहरु मिलून्
ज्योति छरोस् शान्तिको मसालले अब

Sunday, September 14, 2014

यादको गुलाब

ईश्वरमणि अधिकारी , 

कविता

 यादै यादमा फक्रन्छ गुलाब 
प्रेमगीत गुन्गुनाउँछ हृदय 
अमर हुने भनेको त 
यादहरू न हो ! 

यादहरूको शृंखला अनन्त छ 
याद गर्दैमा हर्जना तिर्न नपर्ने 
कर तिर्न नपर्ने सपनाको
 भो , भैगो 
मलाई सपनाको आधा चेहरा काफी छ ! 

सपना कै आकाश मार्ग भएर
 एक जोर सपना
 उड्दै गरेको देखेथें सपनामा
 त्यही सपनाको प्यासले 
सपना पर्खन्छु म हर रात
 अमर हुने भनेको त
 पर्खाई पनि हो !
 
हर याम , हर बखत
 हृदय भरि फुल्छ , फुलिरहन्छ 
कहीं आधा , कहीं सिङ्गै 
अजम्बरी 
यादको गुलाब !!

पोखरा

गजल





निरज भट्टराई

सबथोक पाएर पनि केहि नपाए जस्तो गर्छ
जिन्दगीले घरि घरि चित्त दुखाए जस्तो गर्छ

हावाका हातहरु हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाए जस्तो गर्छ

चाहेको भए सिङ्गै नदि पिउन सक्थ्यो बगरले
अरुको तिर्खा सम्झेर ओठ भिजाए जस्तो गर्छ

एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोले जस्तो गर्छ औंला चलाए जस्तो गर्छ

गज़लको गला त उहिल्यै देखि थिचिएको छ यहाँ
गज़लकार भने ठुलो स्वरले चिच्याए जस्तो गर्छ

गजल

तिमी जस्तै य‍ो संसार फेरिएको कहाँ छ र?
जीवन बाँच्ने अाधार फेरिएको कहाँ छ र?

भत्काएर झुप्राहरू महल खडा गरे पनि
उही पुरानो सँस्कार फेरिएको कहाँ छ र?

दुर्योधन दुशासन् र रावणहरू रहुञ्जेल
अहङ्कारको व्यापार फेरिएको कहाँ छ र?

मात्र सपिङ्ग-सेन्टरहरू नयाँ बनेका हुन्
भ्रष्टाचारको बाजार फेरिएको कहाँ छ र?

भन्नेहरू भन्छन् युगले काँचुली फेर्यो"ऊषा"
तर धर्तीको अत्याचार फेरिएको कहाँ छ र?

विष्णु तिवारी "उषा"

मेरा किसान बा

मेरा किसान बा 

उनी
धानको बिरुवासँगै जिन्दगी रोप्छन्
रोप्छन् हरिया सपनाहरू
पसिनाले हो कि पानीले
भिजाउँछन् पहाडी खेतको छाती !
एक दिन
त्यहीँनेर फुलाउँछन् खुसी
सुनजस्ता धानका बालाहरूमा !

मेरा बा
भकारीभरि मंसिर थन्क्याउँछन्
र, भित्र्याउँछन् घरभित्र-
भोकको ईश्वर !

मैले देखेदेखि
नागीजस्तो उनको निधारबाट
सिनाको खहरे बगिरहेकै छ
खोल्सीखोल्सी भएर फुटेका कुर्कुच्चा
चक्र मेटिएका पाइतालाबाट
निस्किरहेकै छ श्रमको संगीत !
उनलाई-
जाडोले कहिल्यै चिस्याएन
गर्मीले कहिल्यै पोलेन ।

मेरा बा
थुप्रै घामपानी छेलिरहेछन्
र, मिलाइरहेछन्
जिन्दगीको लय !

उनलाई पनि लाग्यो होला
दु:खले तगारो नाघेर
कहिल्यै घरको आँगन नटेकोस्
चाडपर्वहरू हाँस्दै हाँस्दै आऊन्
आफ्ना सन्तानको आङमा
कहिल्यै नपरोस् दु:खको घाम
लाग्यो होला
यो बाटो भएर अभाव कहिल्यै नहिँडोस् ।

मेरा बा
जिन्दगीको मोर्चामा लडिरहेछन्
र, कुँदिरहेछन्
सन्तानको सुकिलो भाग्य !

सन्दर्भ : 'बुवाको मुख हेर्ने दिन'

('नेपाल' साप्ताहिक, २०७१)

सल्लाह सुझावको अपेक्षा राख्दछु