Sunday, February 23, 2014

साधना

मुक्तक, 
मेरी आमाले भन्नुहुन्छ छोरा तिमि पढ्नु पर्छ भनेर
दिनुहुन्छ धेरै हौसला चुनौती संग लड्नु पर्छ भनेर
यो तिम्रो रमाउने बेला हैन साधनामा लाग भन्दै
निकै सम्झाउनु भो हिजो अगाडी बढ्नु पर्छ भनेर /

Friday, February 21, 2014

प्रेम प्रस्ताव

muktak

सुटुक्क आएर प्रेम प्रस्ताव राखेर गई
बदलामा भएको त्यै मुटु पनि मागेर गई
आजसम्म त पर्खेरै बसेको थे बाटो हेर्दै
सुन्छु पराई संग नेटो काटेर गई

Thursday, February 20, 2014

''अस्थित्त्व'' उहि प्रिय आदि गोरेटो बाट

कविता - अस्थित्त्व

आफु हिड्ने जिन्दगीको गोरेटो खोज्दा
केहि पाउने आशमा केहि हराएको छु
केहि गुमाएको छु त केहि पाएको छु
मैले देखेका सारा सपना हरु त केवल
हिजो बगरमा बालुवाले बनाएको घर जस्तै
सुर्य उदाउन नपाउदै
खै कता बिलाएको छ /
म आफ्नै पहिचान खोजिरहेको छु यति बेला
मलाई सोधेकाछन् उल्टै ति गोरेटा हरुले
म निशब्द छु किनकि अझै भेटिएको छैन
मेरो पुराना केहि डोबहरु
खै थाहा छैन अझै अनगिन्ति छन्
मैले देखेका यि गोरेटाहरु
न त चोक चोकमा लेखेएको नै छ
कहाँ पुगिन्छ भनेर /
कैयौ थकानका सुस्केरा सुस्ताउदै
मैले देखेको सपनाको स्पर्श लत्याएर
अर्को थरिको सपना खोज्न हिंडे
त्यही गोरेटो हरुमा /
कैयौ ठाउमा लिलामी नभएका पनि होईनन्
आफ्नै चाहनाहरु
कैयौ ठाउमा ईच्छा मेटाउदै तिर्खाएका मनहरु
पुन फर्कन्छन् उहि गोरेटोहरुमा /
कहिले मन भित्रको आवेगले तताउथ्यो त
कहिले सफरको चरम उत्कर्स संगै
भत्किन लागेको मनको पहाडले सताउथ्यो
मैले देखेको आदि बाटो जोगाउनु छ अब
जिन्दगीको गोरेटो खोज्दा,
आफु नामेटिदै बाँकि रहेको
अस्थित्व रक्षा गर्न म फर्खेर आएको छु
उहि प्रिय आदि गोरेटो बाट

रामकृष्ण पौडेल 'अनायास''

Tuesday, February 18, 2014

रंगिन बनाउनु छ हर रात

गज़ल 

कसको माया कति छ जोखेर हेर भन्छ्यौ
जवानी को उन्माद लाई पोखेर हेर भन्छ्यौ

बैसको मातै यस्तो बसमा छैन नयन
नडुलाउ धेरै नजर रोकेर हेर भन्छ्यौ

मिठा हुन्छन् हरेक पल तिम्रो मेरो जिन्दगीका
एक चोटी दुई मुटु जोडेर हेर भन्छ्यौ

 रंगिन बनाउनु छ हर रात सधै हाम्रो अब
मैले दिएको आँचल तिमि ओढेर हेर भन्छ्यौ
रामकृष्ण पौडेल ''अनायास''

Tuesday, January 21, 2014

नयन सर का बीस कविताहरु

नयन सर का बीस कविताहरु


१.हिसाब

मैले हिँडेको बाटो
फर्केर आयो मनेर
र माग्यो मसित
मेरा पाइलाहरुको हिसाब
मैले बुझेँ-

निरुद्धेश्य सडकमा कहिले पनि हिँड्नु नहुने रहेछ ।
                                                                                                                              नयनराज पाण्डे 
( September,24,2012)


२.जाममा शब्द
जाममा पर्‍यो शब्द
बीच बाटोमा,
ट्राफिक आयो र फर्काइदियो
विपरीत दिशातिर ।
शब्द फर्कियो
लाचार भएर
कवि कै कोठातिर
जहाँबाट शब्द
भर्खर फर्किएको थियो
कौमार्य गुमाएर ।

(मार्च ७,२०१२)

३.मायाको गीत
तिम्रो आवाज पनि
उति सुरिलो होइन,
मेरो स्वर पनि
अलिक खस्रो छ,
तर भोलि हेरिराख्नू
हरेक घरले गाउने छ
हामीले हिजो गाएकै
मायाको गीत ।
(८.१८.२०१३)


४.अनुहारहीन
पानीमा हेरेँ
एक दिन मैले
आफ्नो अनुहार,
उफ्, ऐना जस्तै
टुक्रिएको रहेछ ।
अचेल
ऐनामै हेर्छु
आफ्नो अनुहार
तर पानीको कुनै अनुहार नहुने रहेछ ।

(मार्च ३,२०१२)




५.अभाव
कैलेकाहीँ
पुरानो डायरी
या कुनै पुरानो कापीका
पुछारतिरका पानामा
भेटिन्छन्
कुनै मित्रले
तिम्रो अध्ययन कक्षबाट लगेका
केही प्रेम कविताका
किताबका नामहरु ।
अनि,
तिमी सोच्छौ
किन आउँदैन अचेल
त्यो मित्र
तिम्रो घरमा ।
के मित्रले बिर्सिसक्यो
तिम्रो प्रेमलाई ?
कि छैनन्
तिम्रो अध्ययन कक्षमाअचेल

प्रेम कविताका किताबहरु ?

(९.२४.२०१२)




६.आँशु

कति सस्तो बनायौँ
हामीले
आँशुलाई
मोती भनेर ।

(मार्च ३,२०१२)




७.आँशु-२

आँशु
कहिले पनि चुपचाप
बग्दैन,
हल्ला गरिरहन्छ ।

(मार्च ६,२०१२)




८.आमा
आफ्नै गर्भबाट
जन्मिरहन्छे
पटक पटक –आमा ।

(१.२०.२०१४)


९. उक्लनुअघि
उक्लँदा
थाक्यौ ?
भनेर प्रश्न गर्ने
कोही छैन भने
उक्लिनु हुँदैन पहाड,
र थाकेर
निर्जन ठाउँमा
वास माग्नु हुँदैन
र गर्नु हुँदैन
आफ्ना भरियाहरुसित
पसिनाको कुरा ।

(मार्च,६,२०१२)




१०. पाखण्ड

उनीहरु उठ्छन्

मध्यरातमा
र टलक्क आकाशमा टल्किरहेको चन्द्रमालाई
टपक्क टिपेर
र आफ्नो अध्ययन कक्षमा रहेको फ्रिजमा जमाउछन् ।
र त्यही चन्द्रमाको आइसक्युब हालेर
प्युँछन् मातिने गरी नशालु कविता
दिउँसो तारेको
सूर्यको पापडसित ।
धेरै कवि यसरी नै बौलाएका छन् शहरमा
र फलाकिरहेछन्
क्रान्तिका कविताहरु ।

(२०६९ असार २९ शुक्रवार । भानुजयन्ति )




११. चेतना
ऊ रोएको बेला
म उसलाई हाँस्न भन्दिन
ऊ सुस्ताएको बेला
म उसलाई हिँड्न भन्दिन
ऊ पानीमा रूझ्न खोज्दा
म उसलाई छाता दिन जाँदिन
उसले चुपचाप बसेको बेला
म उसको कानमा हल्ला गर्न जाँदिन ।
म उसलाई
कुनै पनि कुरामा बिथोल्दिन
म उसलाई
कुनै कुराबाट पनि रोक्दिन,
म उसलाई कुनै चेतावनी दिन्न ।
धेरै सुतेको बेला
म उसलाई निन्द्राबाट ब्युँझाइदिन्छु
कुनै मीठो गीत सुनाएर
बस् ।

(डिसेम्बर ९,२०१२)




१२. नास्तिक
एउटा वृद्ध
वर्षौँदेखि
आइरहेछ मन्दिरमा,
पच्चिस वर्ष अगाडि हराएको
आफ्नो चप्पलको खोजीमा ।

(मार्च २,२०१२)




१३. अभिनय
उनी भन्छिन्-
प्रिये,
मलाई तिम्रो एसएमएस
कविता जस्तो लाग्छ,
म पनि भन्छु-
प्रिये
मलाई तिम्रो एसएमएस
कविता जस्तो लाग्छ ।
साँझ-
कसैले देख्नुअघि नै
हामी
कवितालाई डिलिट गरिदिन्छौँ ।

(डिसेम्बर,११,२०१२)




१४.आदेश
तिम्रो आँखाअगाडि नै
हिँड्दा हिँड्दै जुलुसमा
नारा लगाइरहेको
युवक
तिमीहरुले चलाएको
गोली लागेर ढल्यो भने,
तुरुन्त उसको नजिक जाऊ
र बन्द गरिदेऊ उसका आँखाहरु
सपना देख्दादेख्दैको आँखा
खतरनाक हुन्छ ।

(मार्च ८,२०१२)




१५. छद्म
कविताको मृत्युमा
आजसम्म
मरेको छैन कुनै कवि ।
ईश्वरलाई मृत घोषणा गर्‍यो
कविता मरेको घोषणा गर्‍यो
तर आजसम्म
आफ्नु मृत्युको घोषणा गरेको छैन
कुनै कविले ।
भनेपछि
कवितालाई
कहिले पो माया गरेको रहेछ र कविले ?
उसले त कवितालाई
आफू माथि माथि उक्लने भर्‍याङ पो बनाएको रहेछ
आफू अमर हुने प्रपन्च पो रचेको रहेछ उसले
बडो योजनाबद्ध ढंगले ।
तर बुझ्नु पर्ने एउटा कुरा
बुझेकै रहेनछ कविले
कि-
कविता मरेर
कुनै कवि बाँचेको छैन

आजसम्म ।

(२०६९ साउन ३ । बुधवार । July 18, 2012)




१६. को झूठो ?
ऐना अगाडि उभिएको छु
तर प्रतिबिम्ब छैन मेरो
ऐनामा ।
थाहा छैन,
कसले झूठ बोलिरहेछ ?
ऐनाले
या मैले ?
या बोलिरहेछौँ
हामी दुबै सत्य ।
शायद प्रतिबिम्ब बन्न छाडेको छ
दुनियाँमा अचेल ।

(२०१३ मार्च १७ आइतबार)




१७. अक्षरसित सम्बाद
खल्तीमा
सम्हालेर राखेको थिएँ
केही अक्षरहरु
भोलि नयाँ कविता लेख्नका लागि
लुगासँगै धोइएछ ।
कविता घुमिरहेको थियो
वासिङ्ग मसिनभित्र फन्फनी
आत्तिएर ।
अब केही दिनका लागि
बन्द गर्नेछन् बोलचाल
अक्षरहरुले
मसँग ।

(डिसेम्बर ११,२०१२)




१८. गद्दार
यी सर्पहरुलाई
निमिट्यान्न पार्नु पर्छ
र विस्थापित गर्नु पर्छ
समाजबाट,
हेर त
कसरी खुट्टा उचाली उचाली
नाचिरहेछन् ।

(डिसेम्बर ९,२०१३)




१९. गरिबको कविता
गरिबहरुको
प्वाल परेको छतमाथि माथिबाट पनि
हिँड्छ
चन्द्रमा,
तर गरिबहरु
चन्द्रमाको कविता लेख्दैनन् ।
गरिबहरुको
पाइतालाले
सधैँ छोइरहेको हुन्छ माटो
तर तिनीहरु
माटोको पनि कविता लेख्दैनन् ।
उनीहरु पसिनाको पनि
लेख्दैनन् कविता
जबकि पसिना निरन्तर बगिरहेको हुन्छ
उनीहरुको शरीरबाट ।
ऊ आफै हो
टिठलाग्दा शब्दहरुको
आदिम शब्दकोश,
तर आजसम्म
कुनै गरिबले लेखेको छैन
भोक, रोग र शोकको कविता,
उसले लेखेकै छैन
जाडो, गर्मी, लू र शितलहरको कविता ।
तर पनि गरिब
हामी सबैभन्दा
असल र इमान्दार कवि हो ।
र उसको आँसु
हाम्रो युगको सबैभन्दा
खतरनाक कविता हो ।

(डिसेम्बर ९,२०१२)




२०. घर
तिनीहरुले
सल्काए आफ्नै घर
तापे आगो
र भने-
यसपालि पोहर जस्तो जाडो छैन ।

(मार्च ८,२०१२)

http://nayanrajpandey.blogspot.com/2014/01/blog-post_20.html

Sunday, January 5, 2014

गाजलु ले सजिएका परेली

गजल

नजरको प्यासी थिए भिडमा तिमि खास लाग्यो
कर्के नजर पार्दै हेर्थ्यौ त्यसैले त आश लाग्यो 

तस्बिर चोरी दिलमै राख्दा पत्तै पाइनौ तिमीले 
त्यो आँखामा म देखिन्थे त्यसैले त साहास लाग्यो 

गाजलु ले सजिएका परेलीको बात आखिर 
सुन्दै भन्थ्यो यो मुटुले मायाको नै आभास लाग्यो 

कालो अनि लामो केश मनै चोर्ने सृङ्गार तिम्रो 
बसन्तको बहार बाट निस्किएको सुभास लग्यो 

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु