बूँद राना
हजारौं नाममा एउटा छ प्यारो नाम सम्झन्छु !
गज़लको बन्दना गर्दै म मोतीराम सम्झन्छु !
कतै एकान्तमा पर्दा मलाई aपीर लाग्दैन ,
म संगै साथमा हिंडने युवाको लाम सम्झन्छु !
कहाँ भौंतारिंदै जानु र गोता के भनी खानु ,
म मैले पूजने माटो धराकै धाम सम्झन्छु !
तुवाँलोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो ,
म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु !
हमेशा मात दी ठग्ने मदीरा के गरूँ मैले ,
नशा हो सिर्जना मेरो गज़ल हो जाम सम्झन्छु !
अरू पालो गरी आए खडेरी चैं मिची आयो ,
अझै पत्तो न लागेको बसन्ती याम सम्झन्छु !
उसैको चोटले गर्दा छ आफै घाइते किन्तु ,
शहरमै जिन्दगी छर्ने गरेको गाम सम्झन्छु !
पराइ स्वार्थमा जीवन दिनेको नाम के बिर्सुं ,
चिठीको नाममा शूली सकार्ने खाम सम्झन्छु !
कुनै केही कुरा आफ्नो भनेको ठाउँमा छैन ,
यहाँ आराम के सम्झुं छ धेरै काम सम्झन्छु !!!!
No comments:
Post a Comment