कविता मनमायाका सपना
उज्यालोको पर्खाईमा
अध्यारो लाई चिर्दै
बसेकि छन् मनमाया
थुप्रै सपनाहरु आँखामा बोकेर
शहर पसेकि मनमाया
रहर कै आँदिले अलपत्र बनाएको
उनको सपनाहरु
कहिले सित झैँ खस्छ
र
मुस्कुराउदै हराउछ आफ्नो वरिपरि
आफ्ना शरिरका केहि अंग
असुरक्षित ठान्दछिन् मनमाया
वरिपरि चिहाईरहेका गिद्दका
आँखाहरु देखेर
मन तर्सिंन्छ चट्याङको आवाज झैँ
उनको ओठबाट मुस्कान हराएको छ
तै पनि बिहानी भेट्नु छ उनले
अनुहारमा त्रास बोक्दै
लय हराएको गीत गाउदै
यस्ता रातहरु मारेको दाग ब्युँझन्छ
उनको आँखामा बिहान,
रहरका बिस्कुन सुकाएर मनमा
घामको प्रतिक्षा गरिरहेकी छन्
बादल र तुवाँलो पनि उनको
बिस्कुन भिजाउने दाउ हेरिरहेका छन्
तरपनि मुस्कुराउँछिन मनमाया
किनकि सदियौ देखि
यहि जुहारी चलिरहेको छ
बर्षौ अघि सपनाको सिंगो आकास बोकेर
गाउँ छाडेकी मनमाया
हत्केला भरि सास बोकेर
फेरि फर्कन्छीन् उहि प्रिय शहरबाट
अनि मुक्तिको सास फेर्छिंन्
बचेको शरिरको केहि भागहरुको
सुरक्षा महसुस गर्दै
उहि गाउँमै सपनाको महल बनाउने
योजना गर्छिन मनमाया /
रामकृष्ण पौडेल 'अनायास'
कविडाँडा,भरतपुर
फोटो -मनमाया तमाङ