सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Sunday, August 25, 2013

कथा : वर्गसङ्घर्ष






                             कथा : वर्गसङ्घर्ष

-लेखक रामकृष्ण पौडेल ‘अनयास’
ramkrishnap1@yahoo.com

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।
प्रभा एक्लो बाबुको आमाबिनाकी टुहुरी छोरी थिई । त्यसैले, बिचरी प्रभा एक्लै बर्बराउने गर्थी । आफ्नो छोरीलाई आफ्नो खुशीले छाडेर गएकी होइनन्, उनलाई भगवान्ले आफूसँगै बोलाएर उनी गएकी हुन् । त्यसैले आमाको होइन, दोष भगवान्को हो जसले प्रभा ३ वर्षकी हुँदा आमालाई खोस्यो । प्रभा प्रायः भन्ने गर्छे–
‘यो कस्तो अन्याय हो ? यो कस्तो सजाय हो ? यो कस्तो अत्याचार हो ? एउटा सानो बच्चासँग उसको आमा खोस्नु योभन्दा ठूलो अत्याचार अरु के हुन सक्छ !’
जब ईश्वरले नै यति ठूलो अन्याय गर्छ, तर ईश्वरलाई नै दोषी ठह¥याउने साहस कसैको हुँदैन । यसलाई भाग्यको खेल, विधिको विधान भनिन्छ । जे भए पनि भातको माड ख्वाएरै भए पनि आज १८ वर्षकी पु¥याउँछन् प्रभालाई उनका बाबुले । त्यसैले, यो १८ वर्षको कलिलो बैँस देखेर भुतुक्क हुन्छ प्रशान्त । सधैँ आफ्नो घरको कौशीबाट चिहाएर हेर्छ प्रभाका हरकुरा । सायद, घर पनि आमुन्ने–सामुन्ने भएर उसलाई धेरै सजिलो भएको छ ।
प्रशान्तको हेराइमा कता–कता स्वार्थको आभाष लुकेको थियो । वर्षौंदेखिको तिर्खाको प्यास मेट्ने जवानीको मीठो रसको खोजीमा मात्र तड्पिरहन्थ्यो । त्यसैले, आँखाअगाडि नै सुन्दरी, राम्री अनि अल्लारे र सोझी मायालुपन बोकेकी प्रभालाई के छाड्थ्यो र ! धेरै समयको पर्खाइ, हेराइ र कुराइपछि आज पाएरै छाड्यो प्रशान्तले प्रभालाई र आफ्नो मायाजालमा फसाइहाल्यो । नारी कोमल हृदयकी हुन्छे, कसैको आग्रह र भावुकतालाई किन नकार्थी र ऊ ।
ऊ पनि माया चाहन्थी । प्रभाको आँखामा प्रशान्तका लागि माया सलबलाइरहेको थियो । दुःखी र बेसहारा मान्छेको जीवन जति शून्य हुन्छ, त्यसैले पनि बाबुबाहेक अरुको मायाबाट वञ्चित थिई । अझ त्यमसा आज प्रशान्तले आफूप्रति माया दर्शाएपछि मन पग्लिएको पत्तै पाइन प्रभाले । प्रशान्तले अनेक तरहले उसको नौनीझैँ मनमा सानो आगोको झिल्को फाल्दथ्यो । नौनी नै हो, पग्लिहाल्थ्यो मन ।
प्रशान्तले प्रभालाई भन्थ्यो– ‘एउटा दुःखीको दुःखलाई कुनै अर्को दुःखीले नै बुझ्न सक्छ । मलाई पनि यस घडीमा तिम्रो जरूरत थियो र तिमी पनि आमाबिनाकी टुहुरी छोरीका रुपमा एक्लो मायाबिना भौँतारिरहेको देख्छु । अब हामी दुई जना सँगै मिलेर एकअर्काको दुःख आपसमा बाँड्नुपर्छ । आजैदेखि तिमी र म दुःख र सुख मिलेर बाँड्नुपर्छ ।’
धन–सम्पत्ति, ऐश–आराम सबै थियो, किनकि डाँडागाउँको मुखियाको छोरो यति पनि नहोस् कसरी ! मुखिया गरिब किसानको घाँटी निचोरी–निचोरी आफ्नो भण्डार भर्दथ्यो । मुखियाकी श्रीमती ठूलो छोराबुहारीसँग अमेरिका बस्ने गर्थी, त्यसैले पनि प्रशान्त बाबुको व्यवहार अनि आमासँगको बिछोडले एक्लो थियो । तर, मुखियाको छोरो नै हो, अलिअलि रगत त गइहाल्थ्यो नि । ऊ पनि गरिब किसानको तमसुकको मिति हेरेर बस्थ्यो । हुन त, बाबुले काम गराएपछि उसले पनि त गर्नैप¥यो नि ।
मुखियाले जालझेल गरी धेरै किसानको खेत आफ्नो नाममा पारेको थियो । त्योभन्दा पनि गाउँका सरकारी जग्गा उसकै नाममा थिए । चुनावमा मनग्य पैसा खर्च गथ्र्यो र आफ्नै मान्छेलाई जिताउँथ्यो । सबै उसकै थिए, प्रधानपञ्चदेखि अड्डासम्म ।
प्रभाको बाबु मुखियाको घरमा काम गर्थे र ऋण पनि मुखियाबाटै चलाउँथे । प्रभा पढाइमा पनि तेज र सुशील थिई । स्कुलमा सबैकी प्यारी साथी, प्यारी छात्रा बन्न सफल थिई अनि हरेक बाहिरी क्रियाकलापमा पनि अगाडि थिई । सधैँ खेलकुद, नाचगान आदिमा स्थान पहिलो नै ओगट्थी । स्कुलको छुट्टी र घरको कामबाट फुर्सद हुनासाथ प्रभा र प्रशान्त डाँडागाउँ तलको सुनसान, मनोरम र निकै सुन्दर अनि आकर्षक सुन्दरी मादीको छेउको खोलामा भेट्ने गर्थे । उनीहरु लुकीछिपी माया साटासाट गर्थे, धेरै सपनाहरु सजाउँथे, सुन्दर भविष्यको कल्पना गर्थे । प्रभा प्रशान्तको काखमा बसेर सारा जिन्दगी सुम्पिने भइसकेकी थिई । उसका चाहना, भावना, इच्छा सबै प्रशान्तकै भैसकेको थियो । यस्ता हरेक पल भेट्ने क्रियाकलापले निकै नजिक भएका थिए उनीहरु । नजिक हुँदाहुँदै प्रभाको यौवनको रस प्रशान्तले बिस्तारै–बिस्तारै सिध्याइसकेको थियो । उसले उत्तेजनामा संसार बिर्सेकी थिई । दिन जति ढल्दै गएको थियो, उति नै प्रभाको पेट बढ्दै गएको थियो । बिचरी आत्तिन्छे, उसको खुट्टाले जमिनसम्म टेक्न पनि गाह्रो हुँदैथियो । अनुहार फुङ्ग उडेको जस्तो देखिन्थ्यो, जस्तो कि ऊ बिरामी भएकी छे ।
यी सबै लक्षणले आफू आमा बन्ने कुरा सहजै अनुमान लगाउन सक्थी उसले । त्यसैले, आजको भेटमा प्रशान्तलाई घरको बुहारी बनाएर भित्र्याउने आग्रह गर्दछे उसले । प्रभा भन्छे– ‘नत्र, मेरो संसारमा बाँच्नका लागि कुनै ठाउँ छैन, यदि तिमीबिना मलाई एक पल पनि बाँच्न गाह्रो हुन्छ ।’ अब प्रशान्त नाजवाफ हुन्छ । अनुहारबाट पसिनाका धारा बगाउँछ उसले । प्रभाबाट पाउनु पर्ने हरेक कुरा पाइसकेको थियो, अब के नै छ र उसमा ! रित्तोसिवाय ।
त्यसैले, प्रशान्त पन्छिन पुग्छ । त्यसमा पनि पेटको बच्चा उसका लागि ठूलो चुनौती थियो । मुखियाले के बुहारी बनाई भित्र्याउला, आफ्नो घरमा काम गर्न बसेको एक मामुली हर्कनाथको छोरीलाई । त्यसैले, बाबुको शासनमा ऊ डराउँथ्यो । त्यसैले पनि प्रभालाई अपनाउने कुरामा इन्कार गर्न खोज्छ । प्रभाको विकल्प अब मर्नुसिवाय अरु केही बाँकी छैन । बिचरी रून्छे, कराउँछे, आत्तिन्छे, आफैँलाई धिक्कार्छे । भाग्य र कर्मले ठगेपछि दैवले पछ्याउँदो रहेछ । बिचरी प्रभा, प्रशान्तको खुट्टा छाड्नै मान्दिन । तर, प्रशान्त प्रभाको जिउँदो लास र पीडामा चिच्याइरहेको स्वर अनि केही आशाका नजरबाट ओझेल पर्दै प्रशान्त डाँडागाउँतिर ठडिन्छ ।
बिचरा, के मुख लिएर जाओस् घरमा । उसको हालत र अवस्था देखेर बाबु हर्कनाथ निकै आत्तिन्छ । छोरीका हरेक खुशीका लागि आफैँ बन्दगी बसेर उसको चाहना, आवश्यकता पूरा गरिदिएका थिए । आजसम्म आफैँ आमा बनेका थिए । आँखामा एक थोपा आँसु पनि देख्न नसक्ने हर्के आज छोरीको अवस्थाप्रति चासो दिँदै सोध्छन्– के भएको हो ? एकाएक हर्के छाँगाबाट खसेजस्तो हुन्छ । पूरा ब्रह्माण्ड नै हल्लिएको अनुभव गर्छ । सारा आकाश खसेर टाउकोमा थिचेको अनुभव गर्छ । सबै रहस्य पत्ता लागेपछि के गरोस् हर्के, तत्काल मुखियाको घरमा गई आफ्ना सारा कुरा बिन्ती के बिसाएको थियो, मुखिया मेघ गर्जिएझैँ गरी गर्जिन लागिहाल्यो–
‘कसको पापको भारी बोकेर मेरी बुहारी बनाउन खोज्दैछ छोरी । दुनियाँसँग जीउ बेच्दै हिँड्छे, अन्तिममा कोही पाइनस् र भिडाउने मेरो छोरालाई ? टाँसो लगाउने कुरा गर्छस् तँ ? यहाँबाट जाने भए जा, नत्र म संसारबाटै टाढा पु¥याइदिन्छु ।’
यस्ता कडा शब्दले हर्कनाथ डराउँछ, बिलौना गर्छ । प्रशान्त पनि उसकै बाबुको स्वरमा स्वर मिलाउँछ । बिचरा हर्कनाथ, के पो गरोस् ! गरिबको आफ्नो को नै पो हुन्छ र, जता गए पनि रित्तो नै हो । रूँदै न्यायका लागि प्रत्येक गाउँको ढोका ढकढक्याउन पुग्छ, तर सबैले बलेकै त आगो ताप्छन् । त्यो बिचरो गाउँको मुखियाको कमैयाको उल्टै नानाभाँती कुरा गर्दै फर्काउँछन् । यता, बाबुछोरीमाथि अन्याय र अत्याचार छ भने उता मुखिया षड्यन्त्र र जाल रच्दैछ । निकै रिस र क्रोधमा प्रशान्तलाई निकै थर्काउँछ– ‘चुनावको बेलामा मेरो अनुहारमा कालो पोत्ने गर्छस् ?’
मुखिया तत्काल आफ्ना भरौटेलाई घरमा बोलाउँछ, उसका नजिकका मान्छे काजी रामनाथ र गोविन्द पण्डित । काजी रामनाथलाई आफूले पैसा खर्च गरी–गरी चुनावमा उठाएर जिताउँथ्यो र काम लगाउँथ्यो, काम लिन्थ्यो । जालझेल, नियम कानुन उसको हातमा थियो । बेइमानीको धन्दा गथ्र्यो र उसलाई नै त्यसमा फसाउँथ्यो मुखिया । काजी रामनाथ नेताले बोलेपछि कसको मुख चल्ने । गोविन्द पण्डित गाउँका सम्पूर्ण मान्छेका एक–एक रिपोर्ट राख्दथ्यो र नानाभाँती कुरा लगाउन निकै चलाख थियो । गाउँको प्रधानपञ्च भैकन हैकम जमाउँथे ।
आज यहाँ त्यही प्रभा र हर्कनाथको विषयमा बहस छ । यी तीन जनाको त्रिपक्षीय वार्ता षड्यन्त्रका योजनाकार काजी रामनाथ भन्छ– ‘त चुनावको मुखमा यस्ता समस्यालाई पन्छाउनुपर्छ । त्यसका लागि प्रभा र हर्कनाथलाई हाम्रो बाटोबाट सिध्याउनुपर्छ ।’
होमा हो मिलाउँदै गोविन्द पण्डितले बीचैमा मुख फो¥यो– शत्रुलाई रहन दिएर हाम्रो सुखमा कहिल्यै पनि जिउँदो रहन सक्दैन । बरू, शत्रुलाई एकैचोटि स्वाहा पारिदिए सधैँको झमेलाबाट मुक्त हुन्छौँ ।’
मुखियाले सोच्दै भन्छ– ‘ठीकै छ, यसपालिको चुनाव पनि जित्नुपर्छ । यदि हारियो भने तल स्कुलको नाममा रहेको जग्गा पनि खुस्किन्छ । जितियो भने हाम्रो कब्जामा आउँछ । र, यी गाउँलेका लालपुर्जा सबै हाम्रो नाममा पार्नुपर्छ । त्यसैले, यस्ता साना झिनामसिना कुराले हाम्रो योजनामा हानि पु¥याउँछ । त्यसैले, आजै राति हर्कनाथलाई यो संसारबाट मुक्त गरिदिनुपर्छ । छोरीको कुकर्म देख्न नसकेर आत्महत्या ग¥यो भनेर मुचुल्का उठाइदिऊँ । त्यो प्रभालाई गाउँबाट भगाइदिऊँ ।’
योजनाअनुसार नै उसका भरौटे लगाएर बिचरा हर्कनाथलाई रातमै हत्या गरी बिहान आत्महत्याको अभिनय गराउँछन् र गाउँलेको अगाडि आत्महत्या नै सावित गरी हर्केलाई सदासदाका लागि बिदा दिन्छ । बिचरी प्रभा पागल हुन्छे, एकसुरे हुन्छे । दुनियाँ गाउँलेले प्रभाकै मुखमा थुक्छन् । दुनियाँलाई शरीरमा चढाएर पेटमा कसको पापलाई पाल्दैछस् ? गाउँबाट तँ गइहाल । हाम्रा छोराछोरी सबै बिगार्छे फेरि भन्दै लखेट्छन् । बिचरा, ओरालो लागेको बाच्छालाई मृगले पनि लखेट्छ भन्थे, आज प्रमाणित हुँदैछ ।
आफूले चुनाव जितेर गाउँलेको सारा जग्गा र सरकारी जग्गा कब्जा गर्नका लागि कसैलाई संसारबाट मुक्ति दिन्छन् र कसैलाई पागल बनाउँछन् । हुन त, जहानियाँ शासन गरिखान पल्केका यी पञ्चेका पूजारीहरु हुन त कतिलाई बर्बाद गर्लान् र ! अब चारैतिर क्रान्तिको चर्को ज्वाला पनि सल्केको छ । पञ्चायत व्यवस्था ढाल्नका लागि धेरैले विरोधका स्वरहरु चर्काउन थालेका पनि छन् ।
हर्कनाथ र प्रभामाथि भएको अन्यायका कारण पक्कै एक दिन ठूलै दशा लाग्नेछ । बिचरी प्रभा ! अबोध र अबला, कसले सुन्छ र उसका कुरा ! ऊ त अन्यायमा पिल्सिएकी नारी नै त परी । यो पुरूषप्रधान समाजले यस्ता पीडित र आफन्तविहीनका कुरा सुन्न कहाँ जानेको छ र, बरू उल्टै घाउमा अझै नुनचुक छर्केला । तर यो समाजको आँखाबाट कहिल्यै न्याएको पक्षमा बोल्ने हिक्मत उठ्दैन । प्रशान्तजस्ता यौनपिपासु र नारीको चरित्र हत्या गर्न खोज्ने, स्वच्छ माया गर्ने मुटुको अन्त्य गर्ने खोज्ने नरपिचाशहरु धेरै छन्, यही समाजमा । अत्याचारी मुखिया, दमनकारी काजी रामनाथ र गोविन्द पण्डितजस्ता नरपिचाशहरुको अत्य गर्न युगको अन्त्य हुनैपर्छ, पञ्चायती व्यवस्था ढल्नैपर्छ ।
आज पनि पागलझैँ गरी एक हातले माग्दै र अर्को हातले शरीरको खस्नै लागेको कपडा समाउँदै माग्दै हिँड्छे प्रभा । उसलाई रूने, माग्ने त कहिले हाँस्ने आदत भैसकेको छ, किनकि उसको दिमागले पूर्ण रुपमा काम गर्दैन । तर, दिन प्रतिदिन पेटको बच्चा यो संसारमा आउने बेला पनि नजिक भैसकेको छ । उसको पेटको आकारले गर्दा अनुमान गर्न सकिन्छ ।
त्यो डाँडा गाउँभन्दा केही माथि ढकाल गाउँको सानो मन्दिरमा आफ्नो पीडा खपेर रूँदै रात कटाउँछे प्रभा । बिचरा ! उसको रूवाइ, पीडा र दर्द देखेर त्यस मन्दिरका पूजारी सधैँ खानेकुरा दिन्थे । आफूलाई खान मागेर ल्याएको दूध प्रभालाई दिन्थे पूजारी । कहिलेकाहीँ सुर पाउँदा पण्डितलाई सबै व्यथा सुनाउँथी । आफ्नो जीवनमा घटेका सारा यथार्थ भन्थी, बिचरी प्रभा । पूजारीले के नै गर्न सक्थे र, सुन्थे अनि आफू पनि मलिन हुन्थे ।
प्रभाले आफूले संसार त्यागेर एउटा छोराको जन्म दिई । त्यसै दिनको भोलिपल्ट बिहानीपख त्यस ढकाल गाउँका मान्छेले प्रभाको मृत शरीरलाई त्यहीँ नजिकको बाङ्गे पीपलको फेद रहेको बगरमा सनाखत गरिदिन्छन् । तर, त्यो बच्चालाई कसैले आँट गर्दैन पाल्न । बिचरा पूजारी ! जसरी हर्कनाथले प्रभालाई पालेको थियो, त्यसरी नै पाल्छन् बच्चालाई । आफ्नो गाँस काटेर माग्दै भए पनि पेट भराउँथे । नाम पनि कानुन राखिदिएका थिए, ताकि भोलि ती राक्षससँग लडेर आफ्नो अधिकार, हक पाउन सकोस् अनि पञ्चायतको जञ्जीरबाट यो देशलाई मुक्ति दिलाउन सफल होस्
पण्डितले दिन प्रतिदिन बच्चालाई कथा, प्रवचन, देश, राज्यका हरेक कहानी बताउँदै हुर्काउँछन्, बढाउँछन् । उसको आमा र बाबुमाथिको चिथोमिचो र आमा अनि हजुरबाप्रतिको मुखिया, काजी, पण्डितजस्ता अपराधीसँग लड्न दह्रो र बलियो मुटु बनाउन कानुनलाई हौसला दिन्छन् ।
पण्डित भन्छन्– ‘समाजमा, देशमा क्रान्तिको राँको बालेर ती हत्याराहरुलाई त्यही क्रान्तिको आगोमा जलाउनुपर्छ र देशलाई मुक्ति दिलाउनुपर्छ, तबमात्र तिम्रो आमा र हजुरबाबाको आत्माले शान्ति पाउने छ ।’
कानुन अन्यायको विरूद्धमा आवाज निकाल्न सक्ने भैसकेको थियो । पण्डितले दुःखले हुर्काउँदै देशलाई मुक्ति दिलाउने एक कर्मठ युवालाई ठूलो बनाइसकेका थिए ।
त्यही डाँडागाउँमा पढाउँदै छ आज कानुन । क्रान्तिको आगो फुक्न डाँडागाउँमा सामाजिक परिचायकजस्तो बनेर गएको थियो ऊ । क्रान्तिको आगो हातमा बोकेर बिस्तारै गाउँलेको पक्षमा बोल्दै जान्थ्यो र सबै गाउँलेले त्यस्तो भावनाको कदर गर्थे । भित्रभित्र गाउँको अत्याचार, अन्यायको विरूद्धमा लड्न र बोल्न हौसला दिँदै हिँड्थ्यो । कतिले त कानुनको साथ दिए भने कति कानुनकै विरूद्धमा उल्टै विद्रोह गर्दथे ।
ती मुखिया, काजी, रामनाथ, गोविन्द पण्डितका भरौटे थिए । उनीहरुको वृद्ध अवस्था भए पनि उनीहरुको व्यवहार उही अत्याचार गर्ने नै थियो । कति प्रभाहरुको चरित्रलाई हत्या गरे, कति हर्कनाथहरु अकालमै मर्नुप¥यो । उनीहरुको दमन आज पनि ठूलो जरो गाडेर बसेका छ ।
यस समयमा प्रशान्त गाउँको मुखिया भैसकेको थियो । उसको व्यवहार पनि उही आफ्नै बाबुको जस्तै थियो । कानुन सबै गाउँलेका घरघरमा साँझ–बिहान पुग्थ्यो र उही दमन, अत्याचार र पञ्चायती व्यवस्थाले दिएको अन्यायको कुरा उठाउँथ्यो ।
समय पनि कोल्टे फेर्दै जान्छ । कानुन पनि गाउँलेको मन जित्न सफल हुन्छ । काुननका विरूद्धमा ती सबै मुखियाका मान्छे एक हुन्छन् । तर, विगतका दिनहरुमा घटेका उनीहरुका कुकृत्य समाजको आँखाअगाडि नै छ । गाउँका सोझा र अबोध नारीलाई हातपात गर्ने, हर्कनाथजस्ता सोझा गरिब किसानलाई घाँटी दबाएर मार्ने, किसानको माटो लुट्ने र समाजमा हजार रुढीवादी होहल्ला फैलाएर फाइदाको खेती गर्ने त्यस्ता दमनकारी, हत्यारा, लुटेरा, बलात्कारीहरु पञ्चे युगका आदर्श बनेका थिए । यही आदर्शका कारण मुखियाको युगले जरा गाडेको थियो । आफ्नो युगको अस्तित्वका लागि भए पनि काजी, गोविन्द पण्डित, मुखिया यी आदर्शसँगै आज हौसेका हुन् । उनीहरुको आदर्शलाई आगामी दिनमा पनि जीवित राख्न कयौँ हर्कनाथहरु मर्नुपर्छ । कयौँ प्रभाहरु बलात्कृत हुनुपर्छ । कयौँ किसानको माटो खोसिनुपर्छ । यी अमानवीय क्रियाकलापहरु नै उनीहरुको बाँच्ने आधार हो ।
तर, कानुनले सबै कुरालाई नाङ्गेझार पार्दछ । उनीहरुको अस्तित्वको अन्त्य गर्न विद्रोहको राँको बाल्दछ । चारैतिरबाट दमन र अत्याचारका विरूद्धमा चर्को स्वरसँगै विद्रोहको राँको बलिसकेको छ । त्यो आगोको रापले भतभती पोल्न थाल्छ, ती अत्याचारीहरुलाई । अन्त्यमा, जरा गाडेर बसेको आफ्नो शासनसत्ता पञ्चायतको यात्राबाट आफ्नो मुख र मुठीमात्र लिएर गुहार–गुहार गर्छ ।
उनीहरुका निम्ति वर्तमानमा महाखडेरी सिर्जना भएको छ । हार र पराजयको वर्तमानले उनीहरुलाई भतभती पोल्न थाल्छ । कानुन आज उनीहरुको कात्रोका रुपमा भविष्य भनेर आएको छ । सबै गरिबहरुले मुक्तिको लामो स्वास फेर्छन् । सबैले आफ्नो माटोमा आज पसिना बगाउन पाउँछन् । कानुनले आफ्नो युद्ध जितेरै छाड्छ । त्यो युगको अन्त्यपछि आजको युगको सुरूवात गराउँछ ।

 साभार चितवनपोस्ट

चर्चा परिचर्चा कार्यक्रम

हरेक हप्ताको आईतबार बिहान १० बजे रेडियो अर्पण बाट प्रासरण हुने कार्यक्रम "मेरो रचना " मा मिति: २०७०/5/9 गते चितवनका गजलकार रामकृष्ण पौडेल "अनयास" र फुच्ची जमुना सँग दिपेन्द्र जी ले गर्नु भएको भलाकुसारी जस्ताको त्यस्तै अनि नेपाली गज़ल ईतिहाँसमा नौलो क्रीती सवाल जबाफ गजल संग्रह धमिलिएका डोबहरुको चर्चा परिचर्चा कार्यक्रम सुन्न नभुल्नु होला